पोषण स्तरोन्नति गर्ने दृढ सोचका साथ ‘सोचाई-पोषणका लागी युवा’

यो युवा समूहले के गर्यो त ?

सधैँ समस्याबारे मात्र कति छलफल गर्नु भनेर समाधानको धार प्रति लम्किदै यी युवाहरुले सुरुमा पोषण सिकाउने माला (न्युट्रिबिड्स ब्रेस्लेट) को निर्माण गरे । यस पोषण मालाको निर्माण समुदायका सयौं गर्भवती सुत्केरी आमाहरुसंग पटकपटकको छलफल पश्चात गरिएको हो ।

हाम्रो कथा २०७५ माघ १ गते १५:४८

तस्वीर: SOCHAI facebook

संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) का अनुसार नेपालमा करिब ५० प्रतिशत बालबालिकाको मृत्यु कुपोषणको कारणले हुनेगरेको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ को प्रतिवेदनले पनि नेपालमा कुपोषणको बिकराल अवस्था दर्शाउछ । नेपालमा पाँच वर्ष मुनीका ३६ प्रतिशत बालबालिकाहरुमा पुड्कोपन (उमेर अनुसार कम उचाई) , १० प्रतिशतमा ख्याउटेपन (उचाई अनुसार कम तौलका) र २७ प्रतिशतमा उमेर अनुसार कम तौल रहेको देखाएको छ । त्यसैगरी किशोरी तथा महिलाहरुमा पनि कुपोषणका विविध अवस्थाहरु ब्याप्त रहेकोले गर्दा यसले मानिसको जीवनचक्र भरिनै शारिरीक, मानसिक, सामाजिक र आर्थिक रुपमा पनि नकारात्मक असर परिरहन्छ ।

पोषण तथा यस सम्बन्धि जानकारीको अभावले हाम्रो गाँउ–समाजमा गम्भिर समस्याहरु निम्त्याएको महसुस गरेपछि, जनस्वास्थ्य, फार्मेसी, समाजसेवा र मिडिया जस्ता विविध पृष्ठभूमिका ४ युवा विद्यार्थीहरू, बोनिता शर्मा, नेहा मल्ल, मन्जिता राजोपाध्याय र आशुतोष कार्कीमा नेपालीहरूको स्वास्थ्य र पोषण स्तरोन्नति गर्ने दृढ सोचका साथ “सोचाई – पोषणका लागी युवा”, एक सामाजिक अभियानको सुरुवात भयो ।

तस्वीर: SOCHAI facebook

विश्व स्वास्थ्य संगठनका अनुसार बच्चालाई जन्मेदेखि ६ महिनासम्म आमाको दुधमात्रै खुवाउनु पर्दछ । तर लुभुमा एउटी आमाले यो कुरा नजान्दा आफ्नो दुई महिनाको दुधे बालकलाई काजु घोटेर खुवाइन् । काजुको सानो टुक्रो शिशुको घाटीमा अड्केर अकालमै मृत्यु भएको दुखद् घटनाका बारेमा थाहपाएपछि यस्तो अवस्था फेरी आउन नदिन सोचाइका चार  संस्थापक सदस्यहरुलाई पोषणको क्षेत्रमा डटेर लाग्न प्रेरणा मिल्यो ।

हामी सबैलाई थाहा छ कि रोगको उपचार गर्नु भन्दा रोग लाग्न नदिनुनै बुद्धिमानी हो । यहि मन्त्रलाई आत्मसाथ गर्दै पोषण र स्वास्थ्य सुधारको निम्ति नविनतम सिर्जना, शिक्षा, जनचेतना र पैरविमा केन्द्रित रही सोचाइ समूहले आफ्ना कार्यहरुको थालनी गर्यो ।

सुरुमा यो युवा समूहले के गर्यो त ? – नविनतम सिर्जना

सधैँ समस्याबारे मात्र कति छलफल गर्नु भनेर समाधानको धार प्रति लम्किदै यी युवाहरुले सुरुमा पोषण सिकाउने माला (न्युट्रिबिड्स ब्रेस्लेट) को निर्माण गरे । यस पोषण मालाको निर्माण समुदायका सयौं गर्भवती सुत्केरी आमाहरुसंग पटकपटकको छलफल पश्चात गरिएको हो ।

आमा गर्भवती भएको नौ महिना र बच्चा जन्मेको पहिलो २ वर्ष जोड्दा १००० दिन हुने गर्दछ । बालबालिकाको सुरुवाती जीवनको यो १००० दिन बच्चाको स्वास्थ्य र पोषणको मजबुत जग हाल्ने सुनौलो मौका हो । त्यसैले यी सुनौला १००० दिनमा बच्चालाई कस्तो, कति र कसरी पोषिलो खाना खुवाउने भन्ने जानकारी यो पोषण मालाले दिन्छ ।

तस्वीर: SOCHAI facebook

यो पोषण मालामा पाँच रङ्गहरु छन् । हरेक रंगले छुट्टाछुट्टै पोषणयुक्त खाना जनाउछ जुन बच्चाको समग्र विकासका लागि अत्यावश्यक छ ।

(क) सेतो अर्थात आमाको दूध

(ख) खैरो अर्थात अन्न तथा कन्दमूल

(ग) पहेंलो अर्थात दाल, गेडागुडी, बदाम

(घ) हरियो अर्थात सागसब्जी, तरकारी तथा फलफूल

(ङ) निलो अर्थात पशुजन्य आहार  (माछा, मासु, अण्डा, दुध दही आदि)

यससंगै मालामा अंकहरु पनि अंकित छन् जसले बच्चाको उमेर (महिनामा) जनाउछ । विभिन्न रंगका दाना तथा अंकहरुलाई मालामा क्रमबद्ध रुपमा राखिएकोे छ जसले पोषणका महत्वपूर्ण सन्देशहरु दिन्छन् । जस्तै जन्मेदेखि देखि ६ महिनासम्म शिशुलाई दैनिक ८ देखि १२ पटक आमाको दूध मात्र खुवाए पुग्छ । त्यसपछि ६ देखि २४ महिनाको समयमा शिशुलाई आमाको दूधसंगै उचित मात्रामा अन्न, गेडागुडी, सागसब्जी/फलफूल र पशुजन्य आहार मिलाएर थप नरम र सन्तुलित खानेकुरा खुवाउन जरुरी हुन्छ । बच्चाको उमेरको वृद्धि संगै खुवाउने मात्रा र पटक पनि बढ्दै जान्छ । यो कुरा अझै प्रष्टसंग बुझ्नका लागि मालासंगै दिइने पोषण कार्डले परिपुरक भूमिका खेल्छ ।

सोचाइ समूहका चार युवाद्वारा सिर्जित यो मालाले अन्तर्राष्ट्रिय पुरस्कार पनि जित्न सफल भइसकेको छ । २०१६ मा युनिसेफद्वारा मलेसियामा आयोजित एसिया प्यासिफिक युथ इनोभेसन च्यालेन्जमा सोचाइको प्रतिनिधित्व गर्दै टिम लिडर बोनिता शर्माले पोषण सिकाउने पोषण मालाको आइडिया प्रस्तुत गरेर प्रथम पुरस्कार सहित ५००० अमेरिकी डलर जितेकी थिइन् ।

तस्वीर: SOCHAI facebook

युवा सशक्तिकरण

अन्तर्राष्ट्रिय पुरस्कार पाएपश्चात, सोचाई समूहले समुदायका जोशिला युवाहरुलाई भेला गराई स्वास्थ्य र पोषण सम्बन्धि तालिम दियो । हाल सोचाईबाट तालिमप्राप्त २० युवा स्वयम्सेवकहरु आफुले आर्जन गरेको ज्ञान र सिपमार्फत समुदायको पोषण सुधार गर्नमा लागिपरेका छन् ।

मातृशिशु पोषण शिक्षा

यदि आफ्नो सानो प्रयासका कारण ठूलो परिवर्तन ल्याएर शिशुहरुको ज्यान नै जोगाउन सकिन्छ भने समाज सेवा गर्ने इच्छा कुन युवामा पलाउँदैन होला र ?

तस्वीर: SOCHAI Photography competition entry

लुभुको घटनाबाट मर्माहत सोचाइ समूहले आफ्नो ‘पोषणका लागि युवा’ परियोजनाको पाइलटिङ्ग लुभु समुदायमै गर्यो । ललितपुर जिल्ला जनस्वास्थ्य र लुभु प्राथमिक स्वास्थ्य केन्द्रको सहकार्यमा गर्भवति तथा सुत्केरी महिला, महिला स्वास्थ्य स्वयमसेविका, आमा समूहहरुलाई पोषण मालाको प्रयोग गरेर विविध जनचेतनामूलक कार्यक्रमहरु गरिसकेको छ । जानकारी संगसंगै सुन्दर र गुणकारी पोषण माला पनि लगाउन पाइने भएकाले यस्ता कार्यक्रमहरुमा महिलाहरुको उल्लेखनीय सहभगिता हुने गरेको रहेछ ।

आफूले दिएको ज्ञान रोचक, स्मरण योग्य र व्यवहारिक होस् भनेर सोचाईले माला सँगै डाईट चार्ट, पोषणका चित्रहरू, पोषण गीत, नाटक, खाद्यवस्तु प्रदर्शनी आदि मार्फत जानकारी प्रवाह गर्न थाले । सोचाइको समूहले आफ्नो पोषण लक्षित कार्यक्रमहरुमा जीवनकालका खुड्किला अनुरूप कुन उमेर समूहलाई कस्तो र कति आहाराको आवश्यकता पर्छ ? , कस्तो खुराकले त्यस्तो पोषण पाइन्छ , हाम्रो वरपर सजिलै उपलब्ध हुने पोषणयुक्त खानेकुरा के के छन् ? र त्यस्ता खानेकुरा कसरी बनाउने लगायत विविध विषयमा ज्ञान प्रवाह गर्ने काम गर्दै आइरहेका छन् ।

यस मालाको प्रभावकारीताका बारेमा गरिएको अध्ययनले पनि समूदायका महिलाहरुमा पोषण सम्बन्धि ज्ञानको अभिवृद्धि भएको देखाएको छ । व्यवहार परिवर्तनको पहिलो खुड्किलो नै चेतना हुने हुँदा यस मालाले वास्तवमै पोषण शिक्षाको अभावले निम्त्याएको कुपोषणको समस्यासंग जुध्न अहम भूमिका निवार्ह गर्न सक्दछ ।

किशोर किशोरी पोषण शिक्षा

सुनौला १००० दिन जस्तै मानिसको जिवनचक्रमा अर्को संवेदनशिल अवस्था भनेको किशोरावस्था हो । यस समयमा तीव्र शारीरिक, मानसिक, सामाजिक तथा भावनात्मक विकास तथा परिवर्तन भई पोषिलो खानाको पनि बढी मात्रामा आवश्यकता हुने हुनाले सोचाई समूहले थुप्रै विद्यालय लक्षित कार्यक्रमहरु पनि गरिरहेको छ । यी कार्यक्रमहरुमा विद्यार्थी वर्गलाई सशक्तिकरण गर्दै , उनीहरु मार्फत विद्यालय, परिवार र समुदायलाई नै स्वास्थ्य, सरसफाई, महिनावारी र पोषणका बारेमा सचेत गराइने हुनाले यस्ता कार्यक्रमलाई व्यापक रुपमा रुचाइएको छ ।

जनचेतना तथा अन्तरक्रिया कार्यक्रमको प्रतिक्रिया स्वरूप किशोरीहरूको यस्तो प्रतिक्रिया आए, कस्तो मन खुसी नहोला र !

तस्वीर: SOCHAI facebook

सामाजिक संजालमार्फत् स्वास्थ्य र पोषणको वकालत

यस्ता प्रत्यक्ष कार्यक्रमहरु संगसंगै सोचाइले सामाजिक संजाल तथा ब्लगहरु मार्फत पनि स्वास्थ्य सम्बन्धि थुप्रै विषय वस्तुहरुमा वकालत गर्दै आइरहेको छ । गत वर्ष स्तनपान सप्ताहको अवसर पारेर सोचाइले स्तनपानलाई प्रोत्साहित गर्ने तथा बालबालिकाको स्वास्थ्य सुधार्ने उद्देश्यका साथ रोचक फोटोग्राफी प्रतिस्पर्धाकोे आयोजना गरेको थियो ।  त्यस्तै एच.आइ.भी. बाट पीडित महिलाले आफ्नो शिशुलाई कसरी स्तनपान गराउने , महिनावारी हुदा कस्तो खानेकुरा खाने , स्तनपान सम्बन्धि गलत धारणहरु के के छन् भन्ने बारे लेख तथा रचनाहरू पनि प्रकाशित गर्दै आएको छ ।

सामाजिक उद्यम

दिगो विकास लक्ष्य २०३० प्राप्तिका लागि शिक्षा , सिर्जना र सशक्तिकरण सम्मिलित यी युवाहरुको नविनतम रणनितीले सकारात्मक प्रभाव देखाउन सुरु गरिसकेको थियो । तर यससंगै आफ्नो अभियानलाई आर्थिक रुपमा सबल बनाउन, सोचाईले आफ्नो ब्रेसलेट – पोषणमालाको निर्माण तथा बेचबिखन पनि गर्ने गरेको छ । हाल पोषणमाला जस्तै सोचाइद्वारा सिर्जित अर्को ब्रेसलेट रेड साइकल वा महिनावारी माला पनि बजारमा किन्न पाइन्छ । यी मालाहरु किनेर जोकोही ले पनि अप्रत्यक्ष रुपमा महिला, बालबालिका तथा किशोरीहरुको स्वास्थ्य सुधारमा पनि सहयोग पुर्याउनु भइरहेको हुनेछ किनभने एउटा माला बेचेबापत सोचाइ समूहले एउटी महिलालाई सित्तैमा माला तथा स्वास्थ्य शिक्षा प्रदान गर्दछ । यसरी माला बेचेर गत वर्ष सोचाई समूहले मोरङ जिल्लाको विपन्न वर्गका बाढी पिडित गर्भवती र सुत्केरी महिलाहरुलाई पोषण शिक्षा संगै लिटो , ज्वानो, गेडागुडि लगायतका पोषिलो खानेकुरा दिएर सहयोग गरेको थियो ।

के हो महिनावारी माला ?

महिनावारी एउटी महिलाको शरिरमा हुने प्राकृतिक प्रकृया भएर पनि हाम्रो परिवार तथा समाजमा यसबारे खुलेर कुरा गरिँदैन । अझ धेरै किशोरीहरुलाई त आफू महिनावारी नभइन्जेल यसबारे थाह नै हुन्न । यसकारण कतिपय किशोरीहरुका लागि महिनावारी एउटा त्रासपूर्ण , घृणित र लान्छनाको विषय बन्न जान्छ ।

त्यसैले रजस्वलाको व्यक्तिगत तथा सामाजिक सङ्कोचलाई हटाउन र महिनावारीको प्रकृयाबारे सहज रुपमा सिक्न/सिकाउन यो ब्रेस्लेटको निर्माण गरिएको हो ।

यो ब्रेस्लेटमा २८ वटा दानाहरू छन् जसले औसतमा २८ दिनको महिनावारी चक्रका बारेमा बताउछ । पहिलो ५ वटा राता दानाहरुले महिनावारीको रगत बग्ने समय बुझउछ । सामान्यतया ५ देखि ७ दिनसम्म महिनावारीको प्रक्रिया चलिरहेको हुन्छ । त्यसपछि १० देखी १७ दिनसम्मको समय भनेको गर्भधारण गर्नको लागी निकै उचित समय हो किनकी १४ दिनमा ओभुलेसन प्रकृया हुने गर्दछ । १४ दिनमा रहेको सुन्तला रंगको दानाले यो प्रकृयालाई जनाउछ ।  त्यसैगरी २३ देखी २८ दिनसम्मको समयमा रजस्वला हुनु पूर्वका लक्षणहरू देखा पर्ने गर्दछन् जस्तै ढाड दुख्ने , भावनात्मक परिवर्तनहरु हुने, डन्डिफोर आउने आदि ।

तस्वीर: SOCHAI

यी कुराहरु बुझ्न सके, किशोरीहरुले महिनावारीलाई एउटा सामान्य शारिरीक प्रकृयाको रुपमा स्वीकार गर्न सक्छन् । यो आकर्षक माला गर्वसाथ आफ्नो नाडिमा लगाई उनीहरुले महिनाको कुन दिन कस्तो परिवर्तन देखा पर्छ भन्ने कुरा बुझेर, महिनावारीको रगत व्यवस्थापन र  हेरविचाहका लागि पनि पूर्वतयारी गरी चनाखो हुन सक्दछन् । यसका साथै, मालाको साहराले यो कुरालाई सहजै अन्य साथी , दिदी बहिनी र परिवारलाई पनि मज्जाले बुझाउन सक्छन् ।

सेवाको कुनै निश्चित सिमाना हुदैन । यदि कुनै समूह पोषण क्षेत्रमा केन्द्रित रहेर पनि यति फराकिलो ढंगले काम गर्न सक्छ भने तपाईहामी पनि आफ्नो निश्चित क्षेत्रलाई आधार बनाई नवीनता पस्किन थाले परिवर्तन हाम्रै प्रयासले सम्भव छ ।

जसरी थोपा – थोपा मिलेर समुन्द्र बन्छ , त्यस्तै सोचाई – सोचाई मिलाएर परिवर्तनको सुरुवात गरौँ ।

प्रतिक्रिया