साउन आउदै छ – मेहन्दीमा अवसर छ

एक पिस मेहन्दीलाई २० देखी २५ रुपैंया पर्छ । यस्तै एक पिस मेहन्दीले २ देखी ३ जनासम्मलाई लगाउन पुग्छ । बुट्टा भरिएको स्तरिय मेहन्दी लगाउँदा ३ सय सम्म पर्छ भने, साधारण मेहन्दी १५० सम्म लगाउन सकिन्छ ।

हाम्रो कथा २०७६ असार २२ गते १५:३२

असारमा रोपाई गरेर हिलोले खाएको हातलाई मुलायम बनाउन मेहन्दी लगाउने चलन सुरुभएको मान्न सकिन्छ । अझ साउनको सोमबारलाई त विशेष दिन नैै पनि मान्न सकिन्छ मेहेन्दीको कारोवारका निम्ति ।

साउनले वातावरण नै हरियो बनाएको बेला मेहेन्दी व्यवसाय निकै फस्टाएको छ । मेहन्दी लगाउनुको पछाडी धार्मिक सांस्कृतिक कारण भएपनि अहिले यो एउटा फेसनको रुपमा स्थापित भएको छ । मेहन्दीले हातलाई कोमल बनाउनुका साथै यसमा भएको आयुर्वेदिक तत्वले छाला सम्बन्धी रोगको पनि रोकथाम गर्ने विश्वास छ ।

मेहेन्दी जति गाढा भयो उति धेरै श्रीमानबाट प्रेम पाउने विश्वास गरिन्छ । त्यसैले अधिकांश युवतिहरु एक पटक मात्र लगाएर चित्त बुझाउँदै बुझाउँदैनन् ।

मेहन्दीलाई कपालमा लगाए कपाल झर्ने तथा चाँया पर्ने समस्या पनि नरहने मुम्बई मेहन्दी ट्रेनिङ्ग सेन्टरका सञ्चालक कुलदिप कुमार वर्सने बताउँछन् ।

अहिले मेहन्दीको बजार यति सम्म फस्टाएको छ कि साउनको छ गतेसम्म मात्र उनले मेहन्दी लगाइदिएर  ५० हजारको कारोवार गरिसकेका छन् । करिव ११ वर्ष अघि जम्मा डेढ लाखको सुरुवाती लगानीमा स्थापना गरेका यिनले साउनभरिमा अझ ७५ हजारको कारोवार गर्ने बताउँछन् ।

यसरी न्युरोड क्षेत्रतिर लहरै बसेका यस्ता मेहन्दी लगाइदिनेहरुले दिनमै १५ सयसम्म कमाउने गरेको छन् । सोमबार र सनिबार त झन् ५ हजारसम्म व्यापार हुने गरेको छ ।

एक पिस मेहन्दीलाई २० देखी २५ रुपैंया पर्छ । यस्तै एक पिस मेहन्दीले २ देखी ३ जनासम्मलाई लगाउन पुग्छ । बुट्टा भरिएको स्तरिय मेहन्दी लगाउँदा ३ सय सम्म पर्छ भने, साधारण मेहन्दी १५० सम्म लगाउन सकिन्छ ।

यस हिसावले हेर्दा साउनको मेहेन्दी बजारले ‘सिजनल इम्प्लोइमेन्ट’नै सृजना गरेको छ । दुई देखी ३ हजारको लगानी गरेर अहिले धेरैले यसलाई व्यापारको स्वरुप दिएका छन् ।

यत्तिको कारोवार हुन्छ भने पक्कै पनि बजार अझै छ साउन अनि मेहन्दीमा भनेर बुझिन्छ । यसरी नै हामीले सँस्कृति र बजारलाई चिन्यौं भने व्यवसायमा अपार सम्भावना छ ।

कतै यो व्यवसायमा तपाईले हात हाल्ने पो हो कि ? सँस्कृतिको पनि संरक्षण हुने अनि आम्दानी पनि मनग्य हुने यो मेहेन्दी लगाइदिने व्यवसाय काइदाको छैन त ?

 

 

प्रतिक्रिया

सम्बन्धित

बिजनेस लिडरको हातमा किताब !

२ दिन अगाडि ५८ सेकेन्डमा पढिने