महाराष्ट्रका भारतीय बौध्दिकहरुको नेपाल प्रतिको धारणा

एक प्राध्यापकको ट्राभल डायरीका केहि अंश !

एकप्रसाद दुवाडी २०७६ असार ७ गते १७:३८

मैले गत पुस २२ देखि माघ २ गतेसम्म भारत (मुख्यगरी महाराष्ट्र का केही ठाउँहरु) को यात्रा गर्ने अवसर पाएको थिएँ। अङ्ग्रेजी साहित्यका दुईवटा सम्मेलनहरु र अरु तीनवटा शैक्षिक तालिमहरु मा बोल्नुपर्ने निम्तो त थियो तर केही कलेजहरुले आफ्नो गक्षले केही पारिश्रमिक पछि उपलब्ध गराएपनि कुनै सरकारी कोष या प्रायोजन बिनाको कार्यक्रमहरु थिए ती । जनता जनता बिचको सहयोग जस्तो थियो । आयोजकहरु र आगन्तुकहरुमा भने नेपाल र नेपाली अनि भगवान पशुपतिनाथको बारेमा जान्न र सुन्न निकै कौतुहलता रहेको पाएँ।

पहिलो सम्मेलन औरंगाजेबमा भयो । औरंगजेबको पुरानो सहरमा ताजमहलको कपिमात्रा होइन, धेरै उद्योगहरु र एलोरा तथा एजान्ता जस्ता विश्वसम्पदा सूचीमा परेका सम्पदाहरु पनि रहेछन् । शहरको एउटा कुना मौलिक मुसलमान वस्तिहरु र सम्पदाहरुले भरिएका भए पनि अरु भागमा भने हिन्दुहरको बसोबास पनि बग्रेल्ति पाइयो । प्रमुख वक्ता भएकाले हुनसक्छ भारतीय समकक्षीहरु र विद्यार्थीहरुको राम्रो आतिथ्य पाइयो। बाबासाहेब अम्बेडकर विश्वबिध्यालयको गेस्टहाउसको बसाइको क्रममा थाहा भयो – सरकारी पारा नेपालको जस्तै । भौतिक सम्पति जस्तो भएपनि उचित व्यबस्थापनको कमीले धेरै ठाँउमा ऐजेरु पलाउने । सँगै बास बस्ने तामिनाडु इन्स्टिट्युट अफ टेक्नोलोजीमा काम गर्ने प्रोफेसर भन्दै थिए, “यहाँ सबै सुबिधाहरु हुन्छन् तर काम बिरलै हुन्छन्” । नभन्दै टिभि सेट थियो हेर्न मिल्दैनथ्यो, इन्टरनेटका राउटर थिए तर काम गर्दैनथ्यो । त्यसैले २ दिनपछि वासस्थान फेरिएर होटेलमा पुगियो ।

“नया समयसँगको सामना: मानवीय प्रकृति, संस्कृति र साहित्य” भाव रहेको सम्मेलनमा मैले अङ्ग्रेजी साहित्यका नेपाली विद्यार्थीहरुले धमाधम साहित्यसँग पारपाचुके गरेर अरु नै काम गर्ने गरेका छन् भनेर प्रकाश पारेको थिएँ । सुरुमा मलाई हीनता थियो तर थाहा भयो त्यो क्रमभङ्गता त्यहा झन तीब्र रहेछ । नयाँ नयाँ प्राविधिक विश्वविद्यालयहरु र क्याम्पसहरुका कारण अङ्ग्रेजी साहित्य पढाएर मात्रा दालभात डुकु नजुट्ने रहेछ । अर्को आश्चर्य तब लाग्यो जब मैले केही प्रध्यापकहरु भेटेँ जसको हालत हाम्रा बोर्डिङ स्कुलमा काम गर्ने शिक्षकहरुको जस्तै नाजुक। साकारी दरबन्दी नपाएका वा पास नगरेकाहरु भारु १०,००० जतिमा काम गर्न वाध्य रहेछन् जतिसुकै वटा डिग्री भए पनि तर सरकारी दरबन्दी पाएकाहरु को आधारभुत तलव नै १- डेढ भारु त्यसैले उनीहरुको सान बेग्लै।

सम्मेलनमा आएका मानिसहरुको भीड देख्दा लाग्थ्यो संसारका अरु देशमा मानविकी पढ्ने पढाउने बौध्दिकहरुको संख्या घटेपनि भारतमा त्यसको न्युन असर छ । अझ उनीहरुको आफ्नो विषयको पकड जति लोभलाग्दो थियो, त्यतिनै लोभलाग्दो उनीहरुको पढ्ने बानी लाग्थ्यो । तर पनि कक्षाकोठा र पठनपाठन बिधि भने नेपालकै जस्तो । सबभन्दा बिकसित र मुम्बइ र पुना जास्ता शैक्षिक केन्द्र नगिज को यो अवस्थाले दूरदराजको अवस्था आँकलन गर्न सहयोग हुन्थ्यो । दिमाग खाने टेम्पु ड्राभरहरु भेटिए पनि विध्यार्थी भने निकै अनुशासित- पौराणिक कालका एकलब्य जस्तै ।

सिटी बोरा कलेज शिरुरमा भएको दोस्रो सम्मेलन साहित्यतिक र राजनीतिक दुवै थियो । अल्पसंख्यक साहित्य भावमा प्रमुख ५ जना (जेएनयु लगायत ) स्रोतव्यक्ति पाहुनाहरु र करिब ५० जनाले शोधपत्रहरु प्रस्तुत गरे ।  शोधपत्र प्रस्तुतकर्ताहरुले साहित्यका विविध आयाम विशेसगरी डायसपोरा साहित्यमा केन्द्रित गरे पनि स्रोतव्यक्ति पाहुनाहरुले भने एन्टोनी ग्रम्सीका विचारहरुले आआफ्ना तर्कहरु पोषित पार्दै थिए । मेरो पालो आउदा मैले नेपालका दलितहरु र नेपाली राजनीतिक इतिहासको बारेमा बोलेको थिएँ। नेपाल एक पुरानो इतिहास भएको  स्वतन्त्र देश हो । पहिले जातपात नभएपनि पछि छिमेकी भारतमा रहेको चरम छुवाछुतको बाछिटा लागेर नेपालमा पनि त्यो फैलिएको थियो। दलित साहित्य भर्खर बामे सर्न थालेकोले यसले कुनै मूर्त रुप लिइनसकेको कुरा गरिरहदा नेपालमा स्व. पृथ्विनारायण शाह जयन्ति मनाउदै गरेको समाचार पढियो । मेरो भाषण सकिने वित्तिकै परर्रर्र प्रश्नहरु सोधिए- नेपालमा कम्युनिष्टहरुको संख्या बढेकोले राजसंसथा र हिन्दुधर्ममाथि प्रहार भएकोले धर्मनिरपक्ष भएको होइन त? नेपालीहरु उच्च शिक्षा हासिल गरेर बौध्दिक भए किन मुम्बाइ र पुनाका लाखौ पसलमा सानातिना काम गर्थे ? नेपालीहरुको चीनसँग निकै राम्रो छ रे हैन?

यी प्रश्नहरुले इङ्गित गर्ने कुराहरु भनेको के हो भने भारतमा पनि नेपाल प्रति उत्सुकता छ र उनीहरुका केहि बुझाइ गलत छन् । उनीहरुको पहिलो प्रश्न को उत्तर मैले होइन भनेर सुरु गरेँ किनकि नेपालमा भएका फेरबदलहरु आन्तरिक पक्षहरुले मात्र नभएर पर्दा पछाडिका खेलाडीहरुले गर्दा हुने गरेका उदाहरणहरु ताजा छन् । उनीहरुको दोस्रो बुझाइ पनि गलत थियो किनकि भारतमा काम गर्ने लेबलका नेपाली मात्र होइन अरु खालका लाखौ नेपाली पनि छन् । जसरि नेपालमा खाली सिसिको व्यापार गर्ने भारतियले सम्पूर्ण भारतीयको पहिचान बोक्न सक्दैन उसैगरि गार्डको काम गर्ने नेपाली हेरेर विश्लेषण गर्नु नजरअन्दाजमात्र हो।

कलेजबाट कारमा बाहिरिदै गर्दा साथिले हर्न बजाए तर गार्डले खोल्दै खोलेन । रिसाउदै ढोका खोलेर गार्डतिर झम्टिए पछि बल्ल बल्ल कानमा घुसारेको एयरफोन तुङरुङग झुन्डाउदै विस्तारै गेट खोल्यो। साथिको रिसको पारो सेलाएको थिएन, “भारतीयहरु कामै गर्देन उता नेपाली केटाहरु कति मेहनति छन् “ । म मुसुमुसु हाँसिरहेँ किनकि नेपालमा नेपाली हरु पनि उति काम गर्दैनन् आजभोलि ।

अर्को उल्लेखनीय कुरो पनि  भयो । जब एक महिला ले नारीवादी विचारले ओतप्रोत शोधपत्र प्रस्तुत गरेर सकिन् एउटा प्रोफेसर जो त्यो सेसनको अध्यक्षता गर्दै थिए जङगिए, “के सबै नारी लता मङगेसर वा इन्दिरा गान्धी हुन सक्छन्? यदि सक्दैनन् भने साधारण नारी कसरी असाधारण पुरुष भन्दा विशेष भए?” यसबाट देखिन्छ कि भारतमा अझै महिलाका बारेमा नेपालमा भन्दा बढी संकुचता छ ।

अर्को समानता पनि पाएँ कि उनीहरु सरकार र राजनीतिकहरु प्रति बेखुशी रहेछन् । मोदिकालको जगजगि भएको बेला हिन्दु मूलका भारतीय बौध्दिकहरु भन्दै थिए, “नेताहरुलाई चुनाव बाहेक अरु कुराको वास्ता छैन ।”

यसरी मेरो भ्रमण यस मानेमा उल्लेखनीय रह्यो कि मैले त्यहाँको सामाजिक, शैक्षिक, राजनीतिक र संस्कृतिक ज्ञान मात्र प्राप्त गरिनँ बरु नेपालका बारेमा जनतामा रहेका केही गलतफहमीहरु दूर गर्ने कोशिस गरैँ। वास्तबमा उनीहरु नेपालीहरुलाई माया गर्दा रहेछन् !

(एकप्रसाद दुवाडी काठमाडौँ विश्वविद्यालयमा अंग्रेजी विषयका प्राध्यापक हुन्।)

 

प्रतिक्रिया

सम्बन्धित

अंग्रेजी किताब, नेपाली सारांश

५ असोज , २०७६ १७ सेकेन्डमा पढिने

स्वस्थ रहनका निम्ति !

८ भदौ , २०७६ १ मिनेटमा पढिने
लोकप्रिय