आत्मसुरक्षाको एक अभियान : ‘फाइट ब्याक’

विक्रान्त भन्छन्, "हाम्रो उद्देश्य अझै धेरै टाढा देख्छु I हामी विश्वमा वीर गोर्खालीको नामले प्रख्यात छौँ I तर के हामी वास्तविक रूप मै बहादुर छौँ त ? वा हामी केवल वीर पुर्खाको बहादुरीलाई ढाल बनाइरहेका छौं ? हो यहि यथार्थलाई टेकेर हामी काम गर्दै छौँ I विश्वमा बहादुर भनेर कहलिएका सबै नेपालीमा हाम्रा वीर पुर्खाको गोर्खालीपन फर्काउनु नै हाम्रो एक मात्र लक्ष्य हो I"

हाम्रो कथा २०७६ असार ५ गते १५:१६

विक्रान्त पाण्डे पेशाले ‘सफ्टोवर इन्जिनियर’ हुन् I उनी बैङ्कमा काम गर्थे I यो आजभन्दा ९/१० वर्ष अघिको कुरा हो I त्यस समयको कुरा हो, जब उनको दृष्टिमा एकाएक सामाजिक सुरक्षाको झझल्को पर्‍यो I

सुरक्षा क्षेत्र हेर्दा जनचेतना र वकालतमा राम्रो काम भएको छ  I असुरक्षाका घटना घटे पछी पिडितलाई आश्रा चाहिए सेल्टर हाउसको व्यवस्था पनि राम्रो छ  तर उनको चासोको विषय बन्यो – असुरक्षाका घटना कसरी घट्न नदिने ? कसरी त्यसलाई प्रतिकार गर्ने ? घटना घटेको खण्डमा चाहिँ किन स्किल बेसको  नभएको ।

आत्मसुरक्षाको कुरा आउँदा हामी सजिलै भन्दिन्छौं – “कराँते गर्नु पर्छ I जुडो गर्नु पर्छ I” हाम्रो चेतनामा आउनु पर्ने कुरा यो हो कि कराँते या जुडो सिक्न वा गर्न सम्भवको विषय नहुन सक्छ I  कराँते या जुडो गर्न सबैले सक्दैनन् I

त्यसो भए सुरक्षाका निम्ति शिक्षा, चेतना, सीप कसरी विकास गर्ने त ? शारीरिक, मानसिक र  बौदिक रूपले कसरी मान्छेमा सुरक्षाका कुरा अन्तरमन गर्ने ? सोचेर करिब दुई वर्षको अध्ययन पश्चात् सन २०१३ मा विक्रान्तले ‘फाइट ब्याक’ को अवधारणा प्रस्तुत गरे I

तस्वीर: फाइट ब्याकको फेसबुकबाट

त्यति बेला उनी सोच्थे, “व्यक्तिका लागि ‘सेल्फ डिफेन्स’ भनेको यस्तो महत्त्वपूर्ण कुरा हो जुन हरेक व्यक्तिका निम्ति उत्तिकै महत्वपूर्ण छ I त्यसकारण यसलाई शिक्षाको एक अङ्ग नै बनाएर सेवा क्षेत्रको स्वरुपले विस्तार गरेको खण्डमा एक प्रकारले समाजको आवश्यकतालाई पूर्ति गर्दै यसलाई व्यवसाय कै रूपमा विकास गर्न सकिन्छ I यसरी व्यक्तिको आत्म सुरक्षा जस्तो सम्बेदनशील विषयका निम्ति व्यक्तिलाई पैसै तिरेर सेवा लिन केही अप्ठ्यारो हुँदैन I”

आत्म-सुरक्षाका निम्ति मानिस पैसा खर्च गर्न सक्छन् I सँगै पैसा तिर्न नसक्नेका लागी पनि ‘फाइट ब्याक’ त्यही बजेटबाट कम शुल्कमा फरक किसिमले सक्षमहरुलाई प्रशिक्षण दिने कामबाट अगाडी बढ्न थाल्यो I

‘फाइट ब्याक’ अभियान मार्फत दक्षिण एसिया मै पहिलो चोटि दृष्टि विहीन महिलाका निम्ति ‘सेल्फ डिफेन्स’ अर्थात् आत्मसुरक्षाको प्रशिक्षण दिइएको थियो I जसलाई अलजजिरा, न्यु योर्क टायम्स लगायत अन्तर्राष्ट्रिय मिडियाले पनि उक्त विषयको समाचार सम्प्रेसण गरेका थिए I यस अभियानलाई ‘फाइट ब्याक’ ले प्रत्येक वर्ष  निरन्तरता दिँदै आएको छ I

सन् २०१६ पश्चात् भने ‘फाइट ब्याक’ ले विभिन्न विद्यालय मै गएर समुहगत ट्रेनिंग दिने काम पनि सुरु गर्‍यो I यस संस्थाले हाल सम्म १० हजार महिला तथा केटीहरूलाई प्रशिक्षण द्वारा आफ्नो सेवा प्रदान गरिसकेको छ I

‘फाइट ब्याक’ ले दुई किसिमका प्रशिक्षण द्वारा आफ्नो सेवा प्रदान गर्ने गर्छ I एउटा विभिन्न विद्यालयहरूमा पुगेर दिइने प्रशिक्षण I यस प्रशिक्षण अन्तर्गत न्यूनतम सय देखि ८ सय जनालाई एक साथ प्रशिक्षण दिइन्छ I  अर्को समूहगत रूपमा दिइने प्रशिक्षण I जस अन्तर्गत ३० भन्दा कम सङ्ख्याका व्यक्तिलाई एक समूह बनाएर प्रशिक्षण दिने I

यस संस्थाले केवल तालिम मात्र प्रदान गर्दैन I तालिम पश्चात् व्यक्तिमा त्यसको प्रभाव कस्तो पर्‍यो त ? उसमा के-कस्ता कुरामा परिवर्तन देख्न पाइयो ? मानसिक रूपमा प्रशिक्षणले के परिवर्तन ल्यायो त ? यस सम्बन्धी विषयमा समेत ‘फाइट ब्याक’ले अध्ययन गर्ने गरेको छ I

विक्रान्तको बुझाई छ कि व्यक्ति सबैभन्दा पहिले मानसिक रूपमा बलियो हुनु जरुरी छ I यदि व्यक्ति मानसिक रूपमा बलियो भएको खण्डमा शारीरिक तथा अन्य विषयमा स्वत: मजबुत हुन्छ I

उनी भन्छन्, “हाम्रो उद्देश्य अझै धेरै टाढा देख्छु I हामी विश्वमा वीर गोर्खालीको नामले प्रख्यात छौँ I तर के हामी वास्तविक रूप मै बहादुर छौँ त ? वा हामी केवल वीर पुर्खाको बहादुरीलाई ढाल बनाइरहेका छौं ? हो यहि यथार्थलाई टेकेर हामी काम गर्दै छौँ  I विश्वमा बहादुर भनेर कहलिएका सबै नेपालीमा हाम्रा वीर पुर्खाको गोर्खालीपन फर्काउनु नै हाम्रो एक मात्र लक्ष्य हो I”

तस्वीरमा : विक्रान्त पाण्डे

प्रतिक्रिया

सम्बन्धित

बिजनेस लिडरको हातमा किताब !

३ दिन अगाडि ५८ सेकेन्डमा पढिने