चौरी गोठालोबाट चिज फ्याक्ट्रीको मालिकसम्म

सरकारी डेरी सपना जस्तै भयो । करिव ३ वर्ष बसेपछि सरकारी डेरी उठ्यो । चिज उत्पादन पनि बन्द भयो । त्यस पछि फेरी चौरीपालक किसानहरुका पुरानै दिन सुरु भए । उनीहरु घ्यू, दुर्खा र छुुर्पिकै उत्पादनमा लागे । ‘त्यो सरकारी डेरी त हामीलाई सपना जस्तो भयो । छिनमा आयो छिनमा गयो’, उनले भने ।

नवराज पथिक / रामेछाप २०७६ जेठ २९ गते १७:१७

बीस वर्ष अघि हिमालको फेदमा चौरी चराउन छिर्दा रामेछापको गोकुलगंगा गाउँपालिका–१ खहरेका डुक्पा शेर्पाले अहिले यो ठाउँमा पुगिएला भन्ने सोचेकै थिएनन् । त्यतिबेला चौरीको दुधबाट मोही पार्ने, घ्यू बेच्ने । अनि मोहीबाट छुर्पी बनाएर बेच्ने बाहेक उनले अरु कुरा सोचेका थिएनन् । तर अहिले समय निक्कै अघि बढेको छ । चौरीगोठमा रमाउने डुक्पाको आफ्नै चिज फ्याक्ट्रि छ । अनि चार⁄पाँच जना मानिसहरुले दैनिक रोजगारी पनि पाइरहेका छन् ।

अठार बर्ष चौरी गोठमा

लेकको शेर्पा परिवारमा जन्मिएका डुक्पाको परिवारको मुख्य पेसा चौरीपालन थियो । त्यसैले डुक्पा पनि सानैदेखि चौरीगोठमा जान लागे । ठूलो भएर हुर्किए पछि त उनी चौरी गोठालो नै भए । उनले लगातार १८ वर्ष चौरीको गोठ राखे र चौरीसँगै जंगलमा बसे ।

‘अठार वर्षसम्म त पुरै जंगलमा नै बसियो । चौरी छाड्न मिलेन । कहिलेकाहीँ कुडो, सामल सकियो भने लिन घरमा आउने हो नत्र त जंगलकै बास हो’, उनले भने ।

चौरी गोठको बसाई कम सास्ति छैन । जंगलको बास, जंगली जनावरले आक्रमण गर्ला भन्ने डर । पानी झरीमा गोठमा पानी चुहिएर बस्न सुत्न गारो । चिसो त्यतिकै । कुहिरोले ढाकेर दिउँसै अध्यारो हुने । लगातार १८ वर्षसम्म यी सबै कष्ट झेले डुक्पा शेर्पाले । ‘चौरी गोठको दुःख गोठमा बस्नेलाई मात्र थाहा हुन्छ’, उनले भने ।

डुक्पा चौँरी गोठमा बस्दा अहिलेको जस्तो प्रविधि थिएन । चौरीको दुधबाट घ्यू, दुर्खा र छुुर्पि बनाउने बाहेक अन्य परिकार बन्दैनथ्यो । अन्य चौरी गोठका गोठालाहरुले जस्तै डुक्पा पनि दुधबाट घ्यू, दुर्खा र छुुर्पि बनाउँथे । अनि सामान उठाउन आउने ठेकेदारलाई सस्तै मुल्यमा सामान विक्रि गर्दथे । फोन सम्पर्क हुँदैन थ्यो । जंगल र घरको सम्पर्कको लागि आउने जाने मान्छे नहुँदा कहिले काहीँत सञ्च विसञ्च पनि थाहा हुँदैन थियो ।

सपना जस्तै भयो सरकारी डेरी

यसै बिचमा किसानहरुको दुघ संकलन गरी चिज बनाउने भरेर गाउँमा सरकारी डेरी स्थापना भयो । त्यस पछि डुक्पा र अन्य चौरीपालक किसानले उत्पादित दुधबाट राम्रै आम्दानी लिन लागे ।

दुग्ध विकास संस्थानले स्थापना गरेको दुध डेरीले चौरीको दुध संकलन गरि चिज उत्पादन सुरु गर्यो । यसले गर्दा गाउँमा चौरीको दुधको नयाँ परिकार बन्न लाग्यो । किसानहरुले पनि दुधको राम्रै मुल्य पाए ।

सरकारी डेरी सपना जस्तै भयो । करिव ३ वर्ष बसेपछि सरकारी डेरी उठ्यो । चिज उत्पादन पनि बन्द भयो । त्यस पछि फेरी चौरीपालक किसानहरुका पुरानै दिन सुरु भए । उनीहरु घ्यू, दुर्खा र छुुर्पिकै उत्पादनमा लागे । ‘त्यो सरकारी डेरी त हामीलाई सपना जस्तो भयो । छिनमा आयो छिनमा गयो’, उनले भने ।

दुग्ध विकास बोर्डले दिएको तालिमले ल्याएको परिवर्तन

चौँरी गोठको बसाईमा रमाई रहेका शेर्पालाई २०७४ सालमा दुग्ध विकास बोर्डले आयोजना गरेको चौरीको दुध प्रोधन सम्बन्धि तालिममा सहभागि हुन निम्तो आए । जुनबेला दुग्ध विकास बोर्डको प्रमुख थिए रामेछापकै कैलाश प्रसाद ढुँगेल । जो अहिले प्रदेश नं ३ का आर्थिक मामिला तथा योजना मन्त्री छन् । सो तालिमा भाग लिए पछि भने शेर्पाको जीवनमा नयाँ मोड आयो ।

हुनत कति मान्छे तालिममा सहभागि हुन्छन् । तालिमबाट घर फर्कदासम्म तालिममा सिकेको कुरा विर्सि सक्छन् । तर १८ वर्षसम्म जंगलमा बसेर हण्डर खाएका डुक्पाले त्यो दुःख के विर्सन्थे । घर फर्कने वित्तिकै तालिममा सिकेको कुरा व्यहारमा उतार्ने सोच बनाए । त्यही सोचबाट जन्मियो हिमायलयन शेर्पा चिज उद्योग । अनि त्यसका संचालक बने डुक्पा शेर्पा  ।

करिव ३० लाख रुपैयाँको लागतमा स्थापना भएको सो उद्योगले याकचिज मात्र उत्पादन गर्ने गर्दछ । ४ वटा चौरी गोठबाट दैनिक ४० लिटर दुध उनको उद्योगमा संकलन हुन्छ । सोही दुधबाट याकचिज उत्पदन हुने गर्दछ । याकचिज लामो समयसम्म राखेर खाँदा पनि नबिग्रिने डुक्पा बताउँछन् । याकचिज बनाएको दुई वर्षसम्म खान मिल्ने उनको भनाई छ । त्यस्तै गाईको दुधबाट बनेको चिज ६ महिना र भैसीको दुधको चिज ३ महिनासम्म खान मिल्ने उनले बताए । अहिले उनले आप्mनो चौरीगोठ भाइलाई बेचिदिएका छन् । उनी पूर्णरुपमा चिज उत्पादनको काममा जुटेका छन् ।

वार्षिक २५ लाखभन्दा बढीको व्यापार

अहिले डुक्पाको चिज उद्योगमा ४ जना कर्मचारीहरुले नियमित काम गरि रहेका छन् । कारखानाबाट वर्षको ६ महिना चिज उत्पादन हुन्छ । त्यो पनि ३ महिना गाउँमा तल अर्थात् खहरेमा उद्योग चल्छ भने बाँकि ३ महिना चौरी गोठमा नै अर्थात माथि मानेडाँडामा उद्योग चल्छ । चौरीपालक कृषकलाई दुध ओसार्न गारो नहोस् भनि जंगलमानै गएर दुध संकलन गरी चिज बनाउने गरेको उनले बताए ।

चिज उद्योबाट बार्षिक २५ देखि ३० लाखसम्मको ब्यापार हुने गरेको डुक्पा बताउँछन् । उनको कारखानाबाट वार्षिक २ हजार ५ सयदेखि ३ हजार किलोसम्म चिज उत्पादन हुन्छ । जुन प्रतिकिलो ९ सयदेखि एक हजार २ सय रुपैयाँ किलोसम्म बिक्रि हुन्छ ।

‘फ्याट अनुसार बिक्रि हुन्छ । कम्तिको पनि किलोको ९ सय आउँछ । बढिमा १२ सय रुपैयाँ किलोसम्म जान्छ’, उनले भने ।

सबै खर्च कटाउँदा वार्षिक ३⁄४ लाख रुपैयाँ बच्ने उनी बताउँछन् । भर्खरै सुरु गरेकोले ठूलो आम्दानी नभए पनि गाउँका चौरीपालकको दुधको राम्रो मुल्य दिएर आफ्नै गाउँमा चिज उत्पदान गर्न सकेकोमा उनी गर्व गर्छन् । ‘भर्खर काम सुरु गरेको छ, पैसा त विस्तारै कमाउँलानी’, उनले गर्वका साथ भने ।

स्थानीय सरकारको पनि प्राथमिकतामा

हालसम्म राज्यबाट खासै सहयोग नपाएका चौरीपालक कृषकको लागि स्थानीय सरकारले अनुदान सहयोग दिएको छ । गोकुलगंगा गाउँपालिकाले चौरी प्रवर्धन कार्यक्रमको लागि यस वर्ष ५ लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिका अध्यक्ष खड्गबहादुर सुनुवारले बताए । यसैगरी प्रदेश नं ३ सरकारले पनि चौरी प्रवर्धनको लागि बजेट विनियोजन गरेको छ । यसले यो पेसामा लाग्न अझ उत्प्रेरित गरेको शेर्पाले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित