आउँदो बर्षको बजेट उद्यमीहरुको लागि कस्तो रहने छ त !

हाम्रो कथा २०७६ जेठ २२ गते १५:५७

आउँदो बर्ष सरकारले ८३ हजार युवालाई विभिन्न सीपमुलक तालिम प्रदान गर्दैछ । प्राविधिक तथा व्यवसायिक शिक्षा परिषद् र व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि योजनाले यस्तो तालिम दिनेछन् । ७५३ वटै स्थानीय तहमा कम्तीमा एक वटा प्राविधिक विद्यालय स्थापना गर्ने सरकारको नीति अनुसार आगामी आर्थिक बर्ष भित्रमा बाँकि रहेका २१२ वटै स्थानीय तहमा अध्ययन शुरु हुनेछ । जसका कारण तपाईले आफ्नै ठाउँमा सीपमुलक तालिम वा प्राविधिक शिक्षा लिन सक्नुहुनेछ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत रोजगार सेवा केन्द्रहरुमा सुचित बेरोजगारहरुलाई सार्वजनिक विकास निर्माणमा परिचालन गर्ने सरकारको योजना छ । विभिन्न स्थानीय निकायहरुले अहिले स्थानीय स्तरमै रोजगारीको सिर्जना गरि वेरोजगार युवाहरुलाई रोजगारी दिन शुरु गरेको छ । केहि साता अघि गुल्मिको मुसिकोट र धुर्कोट गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत २४० जनालाई पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा खटाएको थियो ।

यसैगरि सरकारले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनालाई पुर्नसंरचना गरि विस्तार गर्दैछ । आउँदो बर्ष ६९ हजार हेक्टरमा प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजनाको कार्यक्रम विस्तार हुनेछ । दुध, माछामासु र ताजा तरकारीमा आत्मनिर्भर हुनेगरी सरकारले पशुपालन, मत्स्यपालन र तरकारी खेती प्रबद्र्धनको कार्यक्रम पनि सञ्चालन गर्दैछ । आलु र प्याजको उत्पादन बढाउन बिशेष कार्यक्रम ल्याउने भएको छ । सरकारको बिशेष प्राथमिकतामा रहेको कृषिको यि क्षेत्रहरु उद्यमका अवसर हुन् ।

पहाडमा सय रोपनीभन्दा बढी र तराईमा सय बिघा भन्दा बढी जमिनमा व्यवसायिक खेती, पशुपंक्षि पालन र जडिवुटी खेती गर्नेलाई सरकारले अनुदान र प्राविधिक सहयोगको व्यवस्था गरेको छ । खेतीका लागि आवश्यक पर्ने मेशिनरी आयातमा कर सहुलियतको व्यबस्था छ ।

यदी तपाई सहकारी मार्फत रेशम, कपास र ऊन खेतीको लागि उत्पादन र प्रशोधन कारखाना खोल्न चाहनुहुन्छ भने सरकारले तपाईलाई अनुदान उपलब्ध गराउने भएको छ । मझौला तथा साना किसान उद्यमीलाई सजिलै सहुलियतपुर्ण कर्जा प्रवाह गर्न १ अर्ब रुपैंया बजेट विनियोजन भएको छ ।

फलफुल खेतीमा सम्भावना खोजिरहनुभएका उद्यमीहरुका लागि खुशीको खबर । सरकारले आउँदो पाँच बर्ष भित्रमा फलफुलले ढाकेको क्षेत्रफल दोब्बर बनाउँदैछ । जसका लागि सरकारी स्तरबाट फलफुलको विरुवा उत्पादन र वितरणका कार्यक्रम सञ्चालन हुनेछन् । यदी तपाई फलफुल खेती गर्न चाहनुहुन्छ भने यो तपाईको लागि यो महत्वपुर्ण अवसर हो ।

सम्भावनाको अर्को क्षेत्र हो अग्र्यानिक कृषि फार्म । अग्र्यानिक कृषि फार्म सञ्चालन गर्न चाहने कृषि उद्यमीका लागि सरकारले प्रोत्साहन गर्नेछ । सरकारले बजेट भाषणमार्फत सबै प्रदेशमा नमुना अग्र्यानिक कृषि फार्मको अवधारणा ल्याएको छ । अझ कृषि सम्बन्धि सीप सिकेर बैदेशिक रोजगारीबाट फर्कनुभएको छ भने त तपाईको लागि यो कार्यक्रम झन् बढी प्रभावकारी हुनेछ ।

सरकारले स्थानीय तहमा सामुदायिक वन उपभोक्ता समुहसँगको सहकार्यमा वनमा आधारित उद्यमको विकास गर्दैछ । उच्च पहाडी जिल्लाका ग्रामीण क्षेत्रमा जडीबुटी सुकाउने प्रविधि र जडीवुटी भण्डारका लागि सामुायिक वन उपभोक्ता समुहका लघु उद्यम स्थापना गर्दैछ । वनमा आधारित उद्यम गर्ने ईच्छा राख्नुभएको छ भने तपाईकै लागि हो यो अवसर ।

रोजगारी सिर्जना हुने अर्को ठुलो क्षेत्र हो पर्यटन । सरकारले पर्यटन बर्ष २०२० मनाउँदैछ । यसका लागि पर्यटन क्षेत्रको विकासमा सरकारले बिशेष जोड दिएको छ । पर्वतीय पर्यटन, कृषि पर्यटन, ग्रामिण पर्यटन, जलयात्रा पर्यटन, पर्या–पर्यटन, धार्मिक–साँस्कृतिक पर्यटन, खेल पर्यटन तथा स्वास्थ्य पर्यटन जस्ता क्षेत्रलाई समेटेर सरकारले एकीकृत पर्यटन विकासमा जोड दिएको छ । पर्यटनमा सम्भावना खोजि रहनुभएका हरुका लागि यो महत्वपुर्ण अवसर हो ।

यसैगरि सरकारले स्वदेशी वस्तुको उपयोगलाई अभियानको रुपमा अघि बढाउँदैछ । सार्वजनिक सेवामा उपलब्ध भएसम्मको स्वदेशी वस्तुनैं उपयोग गर्नुपर्ने व्यवस्था गरिदैछ । यो  एक बर्ष भित्रमा दुई दर्जन औद्योगिक वस्तुहरुमा आत्मनिर्भर हुनेगरि स्वदेशी उद्योगहरुको विकास, विस्तार र आधुनिकिकरणका लागि सरकारले प्रोत्साहन गर्नेभएको छ । यसको अर्थ हो अब सरकारले स्वदेशी वस्तुको संरक्षण गर्नेछ । स्वदेशी उत्पादन सम्बन्धि उद्यम गर्न चाहनुहुन्छ भने अब तपाई निराश हुनुपर्ने छैन ।

उद्यमका लागि सबैभन्दा महत्वपुर्ण हो पुँजीको व्यवस्थापन । पुँजी व्यवस्थापनमा सहजताका लागि सरकारले सहुलियतपुर्ण कर्जा कार्यक्रमलाई निरन्तरता दिएको छ । सरकारले सहुलियतपुर्ण कर्जा कार्यक्रममा बढीभन्दा बढी युवाहरुको पहुँच वृद्धि गर्ने भएको छ । यो कार्यक्रमको लागि सरकारले ५ प्रतिशत व्याज अनुदान र बीमा तथा कर्जाको सुरक्षणमा ७५ प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको छ ।

तपाईले अहिलेसम्म करको दायरामा नआएको कुनै नविनतम उद्यम सुरु गर्नुभएको छ भने यसको पनि बाटो यहि बजेटले खुलाईदिएको छ । नविनतम सोच, सीप उद्यमशीलता र प्रविधिको उपयोग गरी स्टार्ट अप व्यवसाय गरेका तर करको दायरामा नआएका व्यक्तिहरुले २०७६ पौष मसान्त भित्र मुल्य अभिवृद्धि कर र आयकरको दायरामा आए आर्थिक बर्ष २०७५/०७६ भन्दा अघिका कर, जरीवाना, थप दस्तुर, शुल्क तथा व्याज मिनाहा हुने भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित