गुलजार बन्दै मरुभूमि

कहिल्यै पानी नबग्ने खोलाको बगर लाखौँ रुपैयाँ किन लगायो होला ?

नवराज पथिक / रामेछाप २०७६ जेठ १४ गते १७:३५

रसिलो मुहान भए पो पानी हुनु । त्यसै त वातावरण परिवर्तनको प्रभावले पानीका मुहान सुक्दै गएका छन्, त्यस माथि मुहानै नभएको खोला । वर्षामा पानी पर्दा बाढी आई हाल्ने पानी रोकिए पछि खोला पनि सुक्यो । २०६० साल पछि त स्थानीयले पानी नभएर खेतिपाति गर्न छाडेर खोलाको शिरदेखि पुछारसम्म जग्गा बाँझै छाडेका छन् ।

यसरी बाँझिएको मन्थली नगरपालिका–१ सुकारजोर खोलाको जग्गा २०७१ सालमा किन्न लाग्दा चन्द्रबहादुर मानन्धरलाई सबैले नकिन्न सुझाए । बगरमा कनि पैसा खन्याउँछस् भनेर सबैले गाली गरेका थिए ।

‘कहिल्यै पानी नबग्ने खोलाको बगर लाखौँ रुपैयाँ खर्च गरेर किन किन्नु : आफन्त र शुभचिन्तकले यस्तै सल्लाह दिन्थे’ चन्द्रबहादुर विगत सम्झन्छन् । सबैले काम नलाग्ने भनेको खोलाको बगर अहिले सबैको आँखाको केन्द्र भएको छ । मरुभूमि जस्तै खोलाको बगर अहिले मरुद्यान बन्दै गएको छ ।

मरुभूमि छेडेर पानी

सुकाजोर खोलाको शिरपुछार अहिले पनि बाँझै छ । खोलामा पानी छैन । दिउँसो घाम लाग्दा खोलाको बगर धपक्कै बल्छ । तर त्यही खोलाको बिचमा एउटा मरुद्यान  बनेको छ । त्यो मरुद्यान चन्द्रबहादुर मानन्धर र उनका सहकर्मी तथा सहयोगिको श्रम, सिप र पसिनाले बनेको हो ।

२०७१ सालमा १६ रोपनीको बगर किन्दै एउटा सपना देखेका थिए चन्द्रले । खोलामा गहिरो इनार खन्ने, त्यहाँबाट पानी निकाल्ने र मरुभूमि जस्तो बगरलाई हराभरा बनाउने । त्यही सपनालाई पुरा गर्न उनले जग्गा खरिद गर्ने बित्तिकै इनार खने । नभन्दै पानी निस्कियो, अनि बालि बिरुवा र कुखुरा पालनको लागि वरदान बन्यो । हेर्दा हेर्दै मरुभूमि जस्तो खोलाको बगर मरुद्यान  बन्यो ।

‘दुई इञ्चको पाइपमा चौविसै घण्टा पानी चल्छ । तानेको पानी जम्मा गर्न जग्गाको शिरानमा पोखरी बनाएका छौँ । अब यो पाखरीलाई स्विमिङ् पुलको रुपमा विकास गर्ने, पोखरीकै छेउमा पिकनिक स्पट  बनाउने र पोखरीको पानी खोलेर अर्काे पोखरीमा हाली माछा हाल्ने र त्यहाँबाट खोलेको पानी सिँचाइमा प्रयोग गर्ने योजनमा छौ’, आफ्नो योजना यसरी सुनाए चन्द्रबहादुरले ।

अहिले उनको जग्गामा स्विमिङ पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पिकनिक स्पोर्ट निर्माणको लागि पनि विरुवाहरु हुर्किएका छन् । उनको जग्गामा अहिले विभिन्न जातका फलफुलका विरुवाहरु हुर्किदै छन् । आँप र लिचि फल्न लागेका छन् । लहरे आँपले उत्पादन दिन थालेको छ । केरा, अनार, कागती, एभोकार्डाे, रुद्राक्ष, वुद्धचित्त लगायतका विरुवा हुर्कदै छन् । माहुरीका घार विस्तार हुँदैछन् । अनि कुखरा फार्म रार्मैसँग चलेको छ ।

अब त्यहीँ सुविधासम्पन्न रिसोर्ट बनाएर पाहुनाहरुलाई सबै खालको सुविधा सहित अर्ग्यानीक तरकारी उत्पादन गरि खुवाउने योजनाका साथ काम अघि बढेको छ ।

आफूमात्र हैन अरुलाई पनि समेट्दै

सुरुमा जिल्ला कृषि विकास कार्यालय रामेछापको ८० हजार रुपैयाँ अनुदान सहयोगमा एक्लै काम गरेका चन्द्र अहिले यो काम एक्लै छैनन् । अहिले उनले वरिपरिका केही गरौँ भन्ने सकारात्क सोच राख्नेहरुलाई समेत आफ्नो अभियानमा समेटेका छन् । बहुआयामिक कृषक समुह गठन गरि सो अभियानमा अन्य कृषकहरु पनि मिसिएका छन् ।

‘राम्रै होला जस्तो देखेर सबैजना लागेका छौँ । सोचे भन्दा पनि राम्रो भएको पनि छ । यो खोलाको बगर यसरी हराभरा होला भन्ने कसैलाई पनि लागेको थिएन । अहिले चमत्कार जस्तै भएको छ’, सो कृषक समुहका उपाध्यक्ष जयबहादुर कठायतले बताए ।

राम्रो काम देखेपछि सरकारको पनि सहयोग

चन्द्रले काम सुरुगर्दा सबैले के होला र भनेका थिए । तर ५ / ६ वर्षको बिचमा नै राम्रो नतिजा देखिएपछि स्थानीय मात्र हैन सरकार समेत खुसी भएको छ । उनीहरुका कमलाई प्रोत्साहन गर्न ३ नं प्रदेश सरकारले जग्गाको तटबन्ध र तारवारको लागि ३० लाख रुपैयाँ उपलब्ध गराएको छ । सोही रकमबाट अहिले तटबन्धको काम भई रहेको छ ।

प्रदेश नं ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुँगेल चन्द्र मानन्धर र उनको समुहले गरेको कामबाट आफु निक्कै प्रभावित भएको बताउँछन् । उनीहरुले गरेको कामले सुकाजोर खोलाको बगरलाई पुरै उद्यान बनाउन सकिने पाठ सिकाएको उनको भनाई छ ।

‘सुकाजोर खोलको सिरदेखि पुछारसम्म हजारौ विगाहा जग्गा पानी नभएर बाँझो बगर बनेको छ । सबै किसानहरु मिलेर समुह बनाई जे फल्छ त्यही लगाउने हो भने करोडौँ रुपैयाँ आम्दानी गर्न सकिन्छ । चन्द्र र उनको समुहको प्रयासले सो कुरालाई प्रमाणित गरेको छ’, मन्त्री ढुँगेलले भने ।

‘किसानहरुले नरिवल, सुपारी, अनार केही नभए काठजातकै विरुवा लगाउने गरी योजना बनाएर प्रस्ताव ल्याउन । उनीहरुको काममा सघाउन प्रदेश सरकार तयार छ । पैसाको खाँचो हुँदैन’, ढुंगेलले भने ।

चन्द्रको सिकाइबाट १३ करोडको परियोजना सुरु

चन्द्रले सुरु गरको अभियान अब सुकाजोर खोलाको १६ रोपनी जग्गामा मात्र सिमित हुँदैछैन । त्यहाँ भएको उपलब्धिलाई देखेर सुकाजोर खोला क्षेत्र विकासको लागि परियोजना नै सुरु भएको छ । सुकाजोर खोला क्षेत्रलाई हरियाली तथा फलफूलको उत्पादन क्षेत्र बनाउने गरि अष्ट्रेलिन सरकारको सहयोगमा १३ करोड रुपैयाँको परियोजना सुरु भएको पनि मानन्धरले बताए । ‘हिजो म बगरमा एक्लै खट्दा सबैले मलाई मुर्ख भन्थे । तर आज समय फेरिएको छ । मैले गरेको काम देखेर परियोजना नै सुरु हुँदा गर्व महशुस भएको छ’, उनले भने ।

 

प्रतिक्रिया

सम्बन्धित