यसरी गरे त हुदो रहेछ – सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर सुधार

उचित व्यवस्थापन, पद्धती र गुणस्तर उन्नती

नवराज पथिक / रामेछाप २०७६ जेठ ७ गते १७:५०

सामुदायिक विद्यायलको शिक्षाको गुणस्तर खस्किएको आवाज सर्वत्र उठेपछि रामेछापका स्थानीय सरकार शिक्षाको गुणस्तर सुधारमा लागेका छन् । जिल्लाका २ वटा नगरपालिका र ६ गाउँपालिका सहित ८ वटै स्थानीय सरकारहरु शिक्षामा गुणस्तर कायम गर्न विन्न विधि बनाएर अघि बढेका छन् ।

जिल्लामा गुणस्तरीय शिक्षा र विद्यालय सुरक्षाको सवालमा मानवअधिकार संरक्षण सञ्जालले पैरवी समेत चलाई रहेको छ । हुराडेक नेपाल दोलखासँगको समन्यमा मानवअधिकार र सामाजिक क्षेत्रका अभियान्ताहरुको पैरवी जारी रहेको छ । जसले शिक्षाको गुणस्तर सुधारको लागि सम्बन्धित क्षेत्रलाई दवाव समेत र्सिजना गरेको छ ।

खाँडादेवी गाउँपालिकामा शैक्षिक गुणस्तरको सुधारका लागि वृहत कार्यशाला गोष्ठिको अयोाजना गरि २४ वुँदे प्रतिवद्धतापत्र जारी गराएको छ । गाउँपालिकाको शैक्षिक क्षेत्रका समस्याको पहिचान गरी त्यसको समाधानको उपाय खोज्न निर्वाचित जनप्रतिनिधि, शिक्षक, अभिभावक तथा सरोकारवाल समेतको सहभागितामा कार्यशाला गरी घोषापत्र तयार गरेर कार्यान्वयनमा गएको गाउँपालिका अध्यक्ष प्रेम तामाङले बताए । गाउँपालिका भित्रका ५९ वटा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक तथा निर्वाचित जनप्रतिनिधिहरु समेतको सहभागितामा विज्ञहरुको सहजिकरणबाट घोषणापत्र तयार गरिएको थियो ।

गाउँपालिकाले अहिले गाउँपालिका भरिका सबै सामुदायीक विद्यालयको प्राथमिक तहमा अंग्रेजी भाषाबाट पठनपाठन सुरु गरेको छ । प्रतिवद्धताको व्यवहारीक कार्यान्वयनको लागि विद्यालय विद्यालयमा छलफल तथा अनुगमन भई रहेको गाउँपालिका उपाध्यक्ष मखमली श्रेष्ठले बताइन् ।

अब विद्यालय नगई घुमेर हिँड्ने शिक्षकलाई कुनै पनि हालतमा तलव नदिने गाउँपालिका अध्यक्ष तामाङ बताउँछन् ।

माविमा कार्यरत शिक्षकको गाउँपालिकाले प्रत्यक्ष निगरानी गर्ने

गुणस्तरीय शिक्षाको लागि जिल्लाको गोकुलगंगा गाउँपालिकाले माध्यामिक विद्यालयमा कार्यरत शिक्षकहरुको प्रत्यक्ष निगरानि सुरु गरेको छ । सो गाउँपालिकाले गाउँपालिकाका सबै ७ वटा माविहरुमा विद्युतिय हाजिरी मेशिन राखिदिएको छ ।

समयमा विद्यालय नआउने र विद्यालय समय नसकिदै विद्यालय छाड्ने शिक्षकहरुलाई नियन्त्रण गर्न गाउँपालिकाले सो-कार्य गरेको गाउँपालिका अध्यक्ष खड्बहादुर सुनुवारले बताए । अब सो गाउँपालिकाका माविमा कार्यरत शिक्षकहरुले बिहान १० बजे र बेलुका विद्यालय छुटेपछि हाजिरी गरेर निस्कनु पर्ने छ । त्यसको गाउँपालिकाले नियमित अनुगमन गर्ने उनले बताए ।

विद्यार्थीहरुको प्राथमिक तहमा अंग्रेजी भाषाको जग दरो नहुँदा अंग्रेजी, गणित तथा विज्ञान जस्ता अंग्रेजी शब्दको बढी प्रयोग हुने विषयमा विद्यार्थी अनुतिर्ण हुने गरेको पाइएकोले प्राथमिक तहमा अंग्रजी भाषाबाट पठनपाठन सुरु गरिएको उनले बताए ।

जिल्लाका अधिकांश गाउँपालिका तथा वडा कार्यालयले गुणस्तरीय शिक्षाको लागि शिक्षक, विद्यार्थी तथा अभिभावकहरुका बचिमा समेत छलफल चलाउन सुरु गरेका छन् ।

शिक्षामा शिक्षक, विद्यार्थीहरुका साथै अभिभावकहरुको समेत चासो बढाउन यस्तो छलफल प्रभाकारी देखिएको दोरम्बा गाउँपालिका अध्यक्ष कमानसिंह मोक्तानले बताए । यस्तो छलफल क्रमश हरेक विद्यालयहरुमा चलाउन र विद्यालयको शिक्षा सुधारको लागि शिक्षक र अभिभावकलाई समेत प्रतिवद्ध गराउने योजना रहेको उनले बताए ।

‘शिक्षा क्षेत्र एकदमै कमजोर भएको छ । शिक्षक नपढाउने , अभिभावक छोराछोरीको पढाइमा चासो निदिने, व्यवस्थापन वास्ता नगर्ने । यसरी शिक्षा सुधार हँदैन । त्यसैले हामी सबै जिम्मेवार हुनुपर्छ भनेर लागेका छौँ’, उनले भने ।

शिक्षाको गुणस्तर सुधारका लागि प्रधानाध्यपक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा अन्य सरोकारवालासँग नियमित छलफल तथा अनुगमनको काम गरि रहेको उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवार बताउँछन् । ‘हामी केही गरौँ भनेर लागेका छौँ, हेरौँ के हुन्छ’, उनले भने ।

जनप्रतिनिधि, शिक्षक र विद्यार्थीले शैक्षिक सुधारको लागि काम गर्ने

मन्थली नगरपालिकाकाका जनप्रतिनिधि, शिक्षक र विद्यार्थीहरुले नगरपालिकाभित्रको शैक्षिक सुधारको लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मन्थली नगरपालिकाको आयोजनामा २ दिने सार्वजनिक शिक्षा सवलीकरण कार्यक्रममा यस्तो प्रतिबद्धता जनाएका हुन् ।

मन्थली क्याम्पसको मिडिया हलमा आयोजित कार्यक्रममा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेले हरेक स्थानीय सरकारले पहिलो बजेट शिक्षाको लागि विनियोजन गर्नुपर्ने बताए । अनेरास्ववियुका पूर्वअध्यक्ष समेत रहेका ढुंगेले शिक्षक संगठन, र विद्यार्थी सगठनहरुले अब अधिकार माग्ने मात्र भन्दा पनि रचनात्मक काममा लाग्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा तीन नम्बर प्रदेशका सांसद शान्ति पौडेल, मन्थली नगरपालिकाका नगर प्रमुख रमेश वस्नेत, मनोपरामर्शदाता डा. शुशिल कँडेल, उत्कृष्ट सामुदायिक विद्यालय जनज्योति मावि सुर्खेतका प्रधान अध्यापक नारायण सिग्देल, रामेछाप जिल्लाको उत्कृष्ट सामुदायिक विद्यालय डहु मावि डहुका प्रधान अध्यापक दलबहादुर लामा, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मी,मन्थली क्याम्पसका पूर्व क्याम्पस प्रमुख गुञ्जबहादुर श्रेष्ठ, शिक्षाविद्य नारायण बहादुर श्रेष्ठले शैक्षिक क्षेत्रको सुधारको लागि आ–आफ्नो धारणा राखेका थिए ।

‘मन्थली नगरपालिकाले शिक्षाको गुणस्तर सुधारको लागि कार्ययोजना बनाएर अघि बढेको मन्थली नगरपालिका प्रमुख रमेश बस्नेत बताउँछन् । जनप्रतिनिधि, शिक्षक, विद्यार्थी र अभिभावक नलागि शिक्षामा सुधार हुन सक्दैन । त्यसैले हामी सबै पक्षलाई समावेस गराउने गरी योजना बनाएर लागेका छौँ’, मन्थली नगरपालिका प्रमुख रमेश बस्नेतले भने ।

शिक्षकहरुको क्षमता विकासको कार्यक्रम सञ्चालन

स्थानीय सरकारले गुणस्तरी शिक्षाको कुरा मात्र गरेका छैनन् । गुणस्तरीय शिक्षाको लागि भौतिक पूर्वाधार तथा क्षमाता विकासका कार्यक्रमहरु समेत सञ्चालन भएका छन् । भूकम्पले क्षति भएका रामेछापका कुल ३ सय ९७ विद्यालय मध्य ६० वटा विद्यालय बाहेक अन्य विद्यालयमा नयाँ संरचना बनेका छन् । कतिपय विद्यालयमा अति सुविधासम्पन्न विद्यालय भवनहरु समेत बनेका छन् ।

नयाँ पुर्वाधार निर्माणका साथै शिक्षकहरुलाई अंग्रजी भाष तथा मण्टेश्वरी विधिबाट पढाउने तालिम समेत प्रदान गरेर दक्ष बनाउने काम भई रहेको लिखु तामाकोसी गाउँपालिका ७ का वडाध्यक्ष सुवास बोहोरा बताउँछन् ।

माध्यामिक विद्यायको प्रधानाध्यमक समेत भई जिल्लामा कुनै समय नमुना विद्यालय बनाउन सफल खाँडोदवी गाउँपालिका ६ वडाअध्यक्ष पुष्कर कार्की स-साना कुरामा सुधार गर्ने हो भने पनि शिक्षामा धेरै सुधार गर्न सकिने बताउँछन् । उनीहरु अहिले त्यसै अनुसार योजना बनाएर अघि बढेको उनले बताए ।

प्रतिक्रिया
लोकप्रिय