थोरै श्रम, धेरै दिमाग – प्रविधिले जितेको कृषि !

प्रविधिले जितेको कृषिको उपलब्धि भनेको थोरै क्षेत्रफलमा धेरै गुणस्तरीय उत्पादन गर्न सक्नु हो

इजरायल जस्तो मरुभूमिमा त खेती गरेका छन् I हाम्रो नेपालमा त सुन पाल्ने माटो I बिउ मात्र फाल्दियो भने पनि उब्जनी हुने हिम्मत राख्ने भूमि पो हो त ! यति बुझेर सन् २०११ मा श्रीकृष्ण र उनकी श्रीमती नेपाल फर्के I नेपाल फर्कन साथ आफ्नो लक्ष्य पुरा गर्न तर्फ लागे I त्यहीबाट सुरु भएको हो - सलोम एग्रीकल्चर ।

हाम्रो कथा २०७६ जेठ २ गते १६:५५

“जबसम्म कुनै मानव समाज वा समुदायले खेत र खेतीको औचित्यलाई कलमको औचित्य सरह बुझ्दैन तबसम्म त्यस समुदायको प्रगति  हुँदैन ।”   – ब्रुकर वासिङटन, अमेरिकी लेखक

श्रीकृष्ण अधिकारी हेटौडाबाट काठमाडौँ आए I काठमाडौँमा केही समय काम गरे पछि कृषि कामदारका रूपमा इजरायल गए I उनले सोचे, “कृषिको काम भनेपछी त्यही धान रोप्ने, चुट्ने, खन्ने, आली लाउने काम गर्नु पर्ने होला I तर इजरायल पुगेपछी थाहा भयो कि त्यहाँको कृषि प्रविधिले जितेको कृषि रहेछ I दिमाग लगाउनु पर्ने, शारीरिक बल कम लाग्ने रहेछ I”

प्रविधिले जितेको कृषिको उपलब्धि भनेको थोरै क्षेत्रफलमा धेरै गुणस्तरीय उत्पादन गर्न सक्नु हो I

मरुभूमिमा त खेती गरेका छन् I हाम्रो नेपालमा त सुन फल्ने माटो I बिउ मात्र फाल्दियो भने पनि उब्जनी हुने हिम्मत राख्ने भूमि पो हो त ! यति बुझेर सन् २०११ मा श्रीकृष्ण र उनकी श्रीमती नेपाल फर्के I नेपाल फर्कन साथ आफ्नो लक्ष्य पुरा गर्न तर्फ लागे I त्यहीबाट सुरु भएको हो-सलोम एग्रीकल्चर ।

नेपाली किसानहरू आफै विदेश गएर आफूलाई चाहिने प्रविधि ल्याउन सम्भव हुँदैन I त्यसैले श्रीकृष्ण अधिकारीको कम्पनी सलोम एग्रीकल्चरले किसान र प्रविधि बीच मध्यस्थकर्ताको काम गर्दछ I सलोम एग्रीकल्चरले अन्तर्राष्ट्रिय कम्पनी फिनोलेक्स प्लाज्म सँग सम्झौता गरेर थोपा सिचाई प्रविधि नेपालमा ल्याएर किसानहरूमा वितरण हुन्छ I

श्रीकृष्णालाई ८ वर्ष अघि किसानहरूलाई थोपा सिचाई बारे बुझाउन निकै गाह्रो परेको थियो I उनी काभ्रे, झापा, दाङ, सुर्खेत लगायत देश भर विभिन्न ठाउँ पुगे I बरु, उधारो मै भए पनि प्रविधि जडान गरि दिए हुन्थियो जस्तो लाग्दियो I अहिले भने देश भरका किसानहरूको फोन आउँछ थोपा सिचाई चाहियो भनेर I उनलाई यही कुराले खुसी लाग्छ I

उद्यमी श्रीकृष्ण अधिकारी अहिले एक्लै छैनन् । उनले भित्र्याएको यही नयाँ प्रविधि देखेर उत्साहित भएका केही युवाहरू उनलाई फार्ममा साथ दिन तम्तयार भएका छन् । सहकार्य बढेको छ । साँच्चै परिवर्तन देखाउन युवाको मन लागेको छ ।

इजरायलको प्रविधि नेपाल भित्राउँदा कृषिले कस्तो स्वरूप लिन्छ भनेर बुझ्न काठमाण्डौको गोल्ढुङगा पुग्नुपर्छ । जहाँ इजरायलमा प्रयोग हुने जस्तै प्रविधिको प्रयोग गरेर कृषि उद्यममा एउटा चमत्कार फलिरहेको छ । जहाँ लाग्छ तरकारी मात्र होइन, पैसै पैसा फलिरहेको छ । साना साना यस्ता ड्याङ । जसलाई प्लास्टिकले छोपिएको छ । माटोको यही ड्याङको दुवै तिर यसरी प्लास्टिकमा निश्चित ठाउँमा स साना प्वाल पारेर बिरुवा रोपिएको छ । गजज्बका काँक्रो  अनि रायोको साग छन् । यस्तै गरी हाल सिजनका समयमा गोलभेँडा, अकबरे खुर्सानी , क्याप्सिकम तथा स्ट्रबेरी फलिरहेका छन् ।

व्यवसायीक दृष्टिकोणले पनि यो फार्मको कारोबार यतिकै लोभलाग्दो छ । दैनिक २५ हजार रुपैयाँ बराबरको त अहिले काँक्रो लगायत विभिन्न उत्पादन बेचबिखन भइरहेको छ ।

पञ्चशील एग्रोका संस्थापक सदस्य हरि प्रसाद रेग्मीका अनुसार “अहिले ५०० किलो काँक्रो फलाए। किलोको ४५ देखि ५० रुपैयाँमा बिक्री हुन्छ। यसरी टमाटर, साग, स्ट्रबेरी सबै बेच्दा दैनिक २५ हजार रुपैयाँ फार्ममा भित्रन्छ।

हरि बताउँछन् कि छोरोले माटो खेल्न नपरोस् भनेर पढाउनु भएको I उनले २० वर्ष वाईट कलर स्टाफ भएर काम गरे पछि उनी कृषि क्षेत्रमा फर्के I २० वर्षमा उनले बुझे कि माटो नै सबै कुरा रहेछ I माटोले नै प्राण धानेको छ I

फार्मको नाम हो – पञ्चशील एग्रो  किनकि फार्मका पाँच सह-संस्थापकहरू छन् I

फार्म सुरु गर्न १५ / २० लाख लगानी गरिएको थियो I अहिले फार्मको सफलता र विस्तार संगै फार्ममा मात्र ४५ / ५० लाख लगानी भएको छ I त्यस बारेक अन्य व्यापार विस्तारमा लागी अन्य केहि रकम लगानी भएको छ I

फार्ममा काम सिक्दै गरेका एक विद्यार्थी व्यक्त गर्दछन्, “यहाँ मैले सीप सिके। ग्रिन हाउस बनाउन सिके, थोपा सिकाई प्रविधिको प्रयोग सिके। आमा बुबाले हाकिम बनाउन छोरो पढाएको भन्नुहुन्छ । तर अब सम्भवतः सानो फार्म सुरु गरेर उद्यमी नै बन्छु ।”

यो फार्मको सफलताको कथासँग यसका सञ्चालकले विदेशमा दशक बगाएको पसिना र सिप मिसिएको छ । सिप सिकाइका हिसाबले रोजगारीका लागि विदेशीनु पनि आफैमा नराम्रो भने होइन रहेछ ।

थोपा सिचाई भनेको के हो ?

बिरुवालाई पानी आवश्यक पर्‍यो भने यसरी मेसिन खोल्नासाथ जडान गरिएका पाइपको प्वालबाट बिरुवा भएको ठाउँमा पानी झर्न सुरु गर्छ । थोपा थोपा झर्ने यही पानीका कारण केही मिनेटमै बिरुवा भएको स्थान भिज्छ । यसरी बिरुवाले पानी पाउँछ । यही हो थोपा सिचाई प्रविधि ।

बिरुवाको उमेर अनुसार आवश्यक पर्ने पानी, मल खाद यही प्रविधि मार्फत पुर्‍याउन सकिन्छ । थोपा सिँचाई प्रविधि अपनाएर कृषि उद्यम गर्नुभयो भने तपाईँले यस्ता फाइदा लिन सक्नुहुन्छ ।

१.पानीको बचत

२.मल खादको बचत

३.कामदार र श्रमको बचत

४.गुणस्तरीय उत्पादनका लागि

५.बिरुवाको समान वृद्धि विकास हुने ।

नेपालमा कृषि उद्यमका लागि यो प्रविधि निकै उपयुक्त हुने कृषि उद्यमीहरूको अनुभव छ । उद्यमी श्रीकृष्ण अधिकारीले बताए अनुसार थोपा सिचाई तथा अन्य सबै उपकरण गरेर प्रति कट्ठा ३० हजार देखी ३५ हजारको लगानी लाग्छ I

 

प्रतिक्रिया

सम्बन्धित

स्वस्थ रहनका निम्ति !

८ भदौ , २०७६ १ मिनेटमा पढिने

आफ्नो लक्ष्य प्राप्तका लागी एक जुक्ति

१ भदौ , २०७६ १ मिनेटमा पढिने
लोकप्रिय