‘काठमाडौँ स्कुल अफ ल’ मा बिताइएका केही घण्टा

पढाई, करियर, व्यक्तिगत जीवन र असल जिन्दगीलाई बुझ्न सिक्यौँ

प्रा. डा. युवराज संग्रौलाले बताउनु भयो, “मेरो मान्यता छ कि एउटा गुरुले त दुनियाँ बनाउने हो । गु - को अर्थ अँध्यारो, रु - को अर्थ प्रकाश I गुरुले अँधेरो ठाउँमा प्रकाश ल्याउने हो I”

हाम्रो कथा २०७६ वैशाख ३१ गते ११:३९

प्रा. डा. युवराज संग्रौलाले पढाउने शैली र उनले ‘ल’ पढिरहेका विद्यार्थीको भविष्य कस्तो देख्नुहुन्छ भनेर ‘काठमाडौँ स्कुल अफ ल’ गयौँ I भक्तपुरको सुर्यविनायक स्थित ‘काठमाडौँ स्कुल अफ ल’ पुग्न साथ प्रा. डा. युवराज संग्रौलाको कार्यकक्षमा पुग्यौँ I युवराज सरलाई अन्तरवार्ताको विषयवस्तु बुझायौँ I त्यसपछि, अपेक्षा गरे भन्दा भिन्न माहोल बन्यो I आफ्नो अफिसको बार्दलीमा निस्केर तल खाना खादै गरेका करिब ९ जना विधार्थीलाई, “तिमीहरू माथि आऊ” भनेर बोलाउनु भयो I

उनीहरू युवराज सरको कोठामा आए I त्यसपछि बल्ल अन्तर्वार्ता सुरु हुने रहेछ I यो अन्तर्वार्ता होइन, अन्तरक्रिया बन्यो I उहाँलाई एकोहोरो आफ्नो विचार राख्नु थिएन I विद्यार्थीको अनुभव, प्राध्यापकको लक्ष्य र कलेजमा पारिवारिक वातावरण; यी ३ को मिश्रणले हामीले प्रा. डा. युवराज संग्रौलाले पढाउने शैली र उनले ‘ल’ पढिरहेका विद्यार्थीको भविष्यबारे बुझ्यौँ I

माथि आएका विद्यार्थी बि.ए.एलएल.बी दोस्रो वर्ष अध्यनरत रहेछन् I उनीहरूले पालै पालो उनीहरूले कानुन शिक्षा रोज्नुको कारण, कलेजमा अहिले सम्मको अनुभव र आफ्नो भविष्यको लक्ष्यबारे बताए I

आफ्नो अनुभव र सिकाइबारे कुरा गर्ने क्रममा एक जना बी.ए.एलएल.बी दोस्रो वर्ष अध्ययनरत एक छात्राले भनिन्, “यति सिके – आफूलाई यति सम्म चाहिँ विकास गरे कि आफ्नो छर-छिमेकमा कसैको ट्याङ्की भरिएर पानी खेर गई रहेको छ भने त्यस घरमा मान्छे बोलाएर पानी खेर गएको खबर गरिदिन्छु I कुनै पटक त घर भित्रै गएर पनि पानी भर्ने मोटर बन्द गर्दिनु भन्ने जानकारी गराएको छु I”

यस अभिव्यक्तिले झल्काउँछ कि त्यस्तो कलेजको वातावरणमा हुर्कँदा साहस बढ्दछ I आफ्नो दायित्व बोध हुन्छ I हाम्रो समाजमा सही काम-कुरा गर्न लाज मान्नेको जमात पनि ठुलै छ I तर ‘काठमाडौँ स्कुल अफ ल’ ले नैतिक शिक्षाका पनि जोड दिएको पाइयो I

आफ्नो पेसागत ज्ञानमा विवेक, नैतिकता र आचरण थपिए एक कर्मठ व्यक्तिवको सिर्जना हुन्छ I

प्रा. डा. युवराज संग्रौलासँग विद्यार्थीहरू आफ्नो प्रेम सम्बन्धका कुरा, पारिवारिक गतिविधिका कुराहरू साह्रै रुचाउने रहेछन् I विद्यार्थीहरूले आफ्नू भावना पोख्न युवराज सरको खोजी गर्दा रहेछन् I

युवाराज सरले पनि प्रेम जोडीहरूलाई मज्जाले जिस्काउने I उनीहरूको मायाका क्रियाकलापबारे सबै सामु खुलस्त वर्णन गरी दिनु हुँदो रहेछ I उहाँ भन्नुहुन्छ, “यो उमेरमा माया-प्रेममा संग्लग्न हुनु गलत हो भनेर भन्यो भने त्यो एउटा ठुलो मुद्दा बन्छ I त्यसैले म फरक शैलीबाट पाठ पढाउँछु I विद्यार्थीहरू बिच विपरीत लिङ्गी आकर्षण, प्रेम सम्बन्ध, कलेज सकिए पछि बिहे-बारीको बन्धन जस्ता कुराहरूबारे विद्यार्थीसामु धेरै बोली राख्छु I कक्षामा पनि बिहे-बारी, प्रेम सम्बन्धका उदारहण दिएर पढाउँछु कि मेरा विद्यार्थीहरूलाई प्रेम र विवाहको कुरा हलुका लागोस् I”

यसो गर्नुको औचित्य रहेछ कि यदि प्रेम र विवाहित गाँठोलाई भारी जिम्मेवारी, समाजको ठुलो परिवन्धका रूपमा दिएँ आफ्नो पेसागत जीवनलाई न्यायपूर्वक माथि लैजान सकिँदैन I प्रेम र विवाहलाई आफू भित्रको एक अंश बनाई दिए यसले पीडादायी आकार लिँदैन I यसलाई काठमाडौँ स्कुल अफ ल परिसरमा प्रेम र विवाहलाई निकै सहज र हलुका ढङ्गले हेर्ने दृष्टिकोण बनाइन्छ I

यसै सन्दर्भमा युवराज सर थप्नुहुन्छ, “मलाई विद्यार्थीहरुले आफ्नो बिहेमा निम्तो गर्दछन् I बिहेमा मज्जासँग जान्छु I बेहुलीलाई सासुको खुट्टा मिच भनिदिन्छु I यदि बेहुली खुट्टा मिच्न निहुरी भने चाहिँ जिस्केको मात्र क्या ! भनेर रोकिदिन्छु I”

यसो उनले किन भन्ने रहेछन् भने उनी आफ्ना छात्राहरूको सम्बन्ध आफ्नो सासु आमा सँग मिजासिलो राख्ने पहल गरेका रहेछन् I सासु-बुहारीको सम्बन्धलाई इतिहासले जति जटिल रूपमा हेर्न सिकाए पनि यसलाई पनि हलुका र सहज रूपमा लिन उनले सिकाएका रहेछन् I

यसो गर्न उनलाई के कुराले प्रेरित गर्छ भनेर सोध्दा उहाँले बताउनु भयो, “मेरो मान्यता छ कि एउटा गुरुले त दुनियाँ बनाउने हो । गु – को अर्थ अँध्यारो, रु – को अर्थ प्रकाश I गुरुले अँधेरो ठाउँमा प्रकाश ल्याउने हो I”

विद्यार्थीका कुन समस्यालाई प्राथमिकता दिने भनेर मुल्यान्कन गर्ने पनि उनको अनौठो जुक्ति रहेछ I उनी धेरै जसो विद्यार्थीका गुनासो, समस्या, अभिव्यक्तिहरूलाई सुरुवाती केही दिन बेवास्ता गरिदिनु हुदो रहेछ I किनकी, कति समस्या आफै समाधान हुन्छन् I प्राकृतिक रूपमा कति समस्या आफै समाधान हुन्छन् I यदि ३/४ दिन सम्म पनि स्थिति उस्तै भए मात्र युवराज सरले विद्यार्थीका घाउमा मलम लगाई दिनु हुने रहेछ I

त्यसपछि हामीले कुरा गर्‍यौँ विद्यार्थीहरूमा नेतृत्व विकासका बारेमा,

युवराज सरले एउटा उदाहरणीय अभ्यास बारे बताएर नेतृत्व विकासलाई बुझाउनु भयो, “हाम्रो कलेजको वार्षिक उत्सव ‘एनुवल डे’ को सम्पूर्ण जिम्मेवारी पहिलो वर्षका बि.ए.एलएल.बी का विद्यार्थीहरुलाई दिने हो I कार्यक्रमलाई चाहिने पैसा र सामग्री उपलब्ध गराई दिने हो I त्यसपछि जसरी सुकै गर भनेर छोडिने हो I सम्पूर्ण जिम्मेवारी पाएँ पछि, लडाइको तयारी गरे झैँ जस्तो गर्छन् I कस्तो मज्जाले खट्टिन्छन् र उनीहरूको दक्षताले भ्याए सम्मको प्रस्तुति दिन्छन् I पहिलो वर्ष नै कलेजको एउटा अहम जिम्मेवारी पुरा गरे पछि अन्तरक्रिया, व्यवस्थापन, टीमवर्क, टाइम म्यानेजमेन्ट सबै सिके पछि समस्त नेतृत्वकर्ताको सीप आफूमा रहेछ भन्ने कुरा आफै बुझ्छन् I”

कानुनी पेसा वा ‘ल’मा करियरको कुरा गर्दा प्रा.डा युवराज संगौला बताउनु हुन्छ कि यस क्षेत्रमा अहिले पनि ‘ओभर सप्लाईड जब्स’ छन् I ल को विद्यार्थी त्यो पनि बेरोजगार कोही हुँदै हुँदैन I अहिलेसम्म पनि सरकारी क्षेत्र, बैङ्किङ क्षेत्र, कर्पोरेट सेक्टरले आफूलाई चाहिने जति वकिलको माग पुरा गर्न सकेका छैनन् I

नेपालमा कानुनी पेसाकर्मीहरूले काम गर्ने ठाउँ थुप्रै छन् I त्यसो हुँदा पनि अन्य युवाहरू विदेश पलाएन हुँदा आफ्ना विद्यार्थीहरूलाई पनि त्यही हावाले छोयो कि भनेर बुझ्न पनि उनले आफ्नो फरक शैली प्रयोग गर्दा रहेछन् I विधार्थीहरलाई विदेश गएर प्रतियोगिता, सभासमारोहमा भाग लिने मौका टन्न उपलब्ध गराएका छन् I यसले गर्दा केही पढ्न र सिक्नका लागे दुनियाँ गुम्नु पर्छ भन्ने कुरा विद्यार्थीले व्यवहारिक रूपमा सिक्ने भए I तर विदेशमै काम गर्ने घर जाम गर्ने सोच भएको विद्यार्थी काठमाडौँ स्कुल अफ ल पुगी हाल्यो भने “विदेशमा  कतै तिमीहरूलाई त्यसरी भने धिक्कार्छु I विद्यार्थीको शिक्षाको उद्देश्यलाई पनि प्रश्न गर्छु I” यस्ता कुराहरू हजारौँ पटकसम्म भनेर विद्यार्थीलाई विदेश पहाएन हुने रहर जति मरी सके I देशमै केही गर्नु पर्छ भन्ने भावनाको बिउ सबै विद्यार्थीको मनमा रोपि सकियो I

उनले कानुनी क्षेत्र र विद्यार्थीहरुको करियरबारे अर्को एक रोचक कुरा बताए I उनी भन्छन्, “यसो सरकारी कार्यालयको कानुनी प्रस्तुति, धारणा, समस्या समाधानको शैली देख्दा कता-कता मेरै शब्द, मेरै विचार, मेरै सपनाहरू कसरी यहाँ पोखिए जस्तो लाग्छ I पछि कुरा बुझ्दै जाँदा थाहा हुन्छ कि मेरै विधार्थीहरुले गरेको काम रहेछ I त्यसैले पनि अनुमान गर्न सक्छु छु कि अबको १५ वर्षमा कानुनी पेसा र क्षेत्र नेपालले गौरव गर्न सक्ने क्षेत्र बन्नेछ I यसको अर्थ यो होइन कि म हजारौँ युवराज संग्रौला जन्माउन चाहन्छु I मेरा विद्यार्थी युवराज संग्रौला जस्तै बनुन् भन्न खिजेको होइन I उनीहरू त आफू स्वयम् जस्तै बन्ने हो I आफ्नो स्वयम्, एक असल व्यक्ति, एक असल पेसाकर्मी बनुन् I सबै विद्यार्थीको अ-आफ्नै अस्तित्व छ त्यसैलाई बुझेर असल व्यक्ति बन्नेछन् भन्ने खोजेको हुँ I”

तर यस सँगै कानुनी शिक्षाको क्षेत्रमा एउटा ठुलो कमजोरी पनि देखेका छन् I एउटै ब्याचमा १२ हजारसम्म विद्यार्थी ल पढ्न भर्ना हुँदा, नियमित क्लास नै नलिएर परीक्षा मात्र पास गर्ने गर्दा – के त्यसरी उत्पादन भएका वकिलले ल प्राक्टिस गर्दा आफ्नो असल जिम्मेवारी बहन गर्न सक्लान् त ? भन्ने शंकाले उनलाई पिरोलेको रहेछ I उनी कल्पना गर्दछन् कि यदि यस्तो खुल्ला भर्ना प्रविधि बन्द गरिएन भने ल शिक्षामा अनियमितताको मुद्दा उठाएर अनसन बसेर सरकारलाई कुरा राख्नु पर्ने दिन नआउला भन्न सकिन्न I यो निकै नै गम्भिर र संवेदनशील विषय बनी सकेको छ भन्ने उहाँको अभिव्यक्ति छ I

अन्तयमा उहाँले आफ्नो भावी सपना बारे पनि केही भन्नु भयो, “मैले पढाएको अनुभव र विद्यार्थीहरुसँगको सम्बन्ध बारे किताब लेख्न चाहन्छु I”

आशा गरौँ कि उहाँले किताब मार्फत हस्तान्तरण गर्ने ज्ञानलाई पढी तपाईँ-हामीले पनि आफ्नो सन्ततिलाई सक्षम र सु-संस्कृत बनाउन योग्य हुने छौँ I

विद्यार्थीहरुको अभिव्यक्ति, युवराज सरको सपना र हाम्रो कथाको केही घण्टाको सक्रिय सुनाइले अविश्मर्निय अनुभव प्रदान गर्‍यो I जीवन जिउने एउटा नयाँ शैली सिकायो I करियर र जिन्दगी बुझ्ने दृष्टिकोणमा मिठास भरि दियो I

प्रा. डा. युवराज संग्रौलाको पढाउने शैली र दृष्टिकोणबारे हामीले पहिले पनि एउटा कथा लेखेका थियौं I पढ्नका लागी :- एउटा प्रोफेसरका निम्ति राम्रो शिक्षक भनेको उसको विद्यार्थी नै हो : युवराज संग्रौला

प्रतिक्रिया

सम्बन्धित

अल्छी – सृजनशीलताको प्रतिबिम्ब !

१५ घन्टा अगाडि २ मिनेटमा पढिने

बिजनेस लिडरको हातमा किताब !

२ दिन अगाडि ५८ सेकेन्डमा पढिने