उद्यमशीलतालाई सरकारले कसरी प्राथमिकता दिदैं छ ?

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उद्यमशीलता र रोजगारीको विषयलाई प्राथमिकता

हाम्रो कथा २०७६ वैशाख ३० गते १७:०२

संसदमा पेश भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उद्यमशीलता र रोजगारीको विषयमा यी मुद्धाहरुलाई प्राथमिकता दिएको छ I

१) उद्यमशीलता विकासका लागि प्रकृयागत सुधार

यस अन्तगर्त व्यवसाय गर्ने लागत उल्लेख्य रुपमा कम गर्न व्यवसायको दर्ता सहज बनाइने, सञ्चालन प्रकृया सहज हुने, कर्जा परिचालन मितव्ययी बनाईने विषयलाई नीति तथा कार्यक्रमले सम्वोधन गरेको छ । साथै आवश्यक पूर्वाधार निर्माण गरिने, व्यवसाय सञ्चालन गर्न आवश्यक जग्गा प्राप्ति प्रकृयालाई छिटो र सरल बनाइने तथा कर भुक्तानी लागत घटाइने तथा विवाद निरुपण प्रणलीमा सुधार गरिने विषयलाई समेत नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समेटिएको छ ।

२) उद्यममा उत्पादन लागत कम गर्ने

उत्पादक र उपभोक्ताबीचको मध्यस्थकर्ता व्यवस्थापन , प्रतिस्पर्धी ब्याजदर तथा ढुवानी लागत, उत्पादन अवरोध न्यूनिकरण र आवश्यक पूर्वाधारको व्यवस्था गर्ने विषय उल्लेख छ ।

३) स्थानिय कच्चापदार्थमा आधारीत उद्योगलाई विशेष संरक्षण

सरकारले स्थानिय कच्चापदार्थमा आधारित लघु, घरेलु, साना तथा मझौला उद्योगहरुलाई प्रवद्र्धन गर्ने, मुल्य शृङखलामा आधारित उद्यमशील र उत्पादनशील संस्कृतिको विकास गरी लघु घरेलु तथा साना उद्योगहरुको मझौला तथा ठूला उद्योगहरुसंग अग्र तथा पृष्ठ सम्वन्ध कायम गरिने व्यवस्था मिलाउने उल्लेख छ ।

४) कृषि उद्यमशीलता विशेष प्राथमिकतामा

कृषिको आधुनिकीकरण, यान्त्रीकरण, विशिष्टीकरण र व्यवसायीकरण गरी उत्पादन तथा उत्पादकत्व बृद्धिमा जोड दिईएको छ । व्यवसायीक सामूहिक सहकारी र करार खेतीमा युवाहरुलाई प्रोत्साहित गरिनेछ ।

५) कृषि उत्पादन, प्रशोधन तथा बजारीकरणका कार्यक्रम सञ्चालन गरिने भएको छ ।

६) अनुदान प्रणालीमा सुधार

कृषकहरुलाई उपलब्ध गराईने अनुदानबाट बास्तविक कृषकहरुले लाभ लिनसक्ने व्यवस्था गरिदैछ ।

७) अर्ग्यानिक खेती प्रवर्द्धन  

यदि तपाई अर्ग्यानिक खेती गर्ने सोचमा हुनुहुन्छ भने सरकारको यो योजना तपाईका लागि निकै फलदायी बन्न सक्छ । निर्वाहमुखी खेती प्रणालीलाई व्यवसायिक खेती प्रणालीमा परिणत गर्ने तथा स्थानिय मौलिक ज्ञान र प्रविधिको संरक्षणमा संवद्र्धन गरिने विषय तपाईले गर्न चाहनुभएको उद्यमका लागि कोशे ढुङगा बन्न सक्छ ।

८) आउँदैछ युवालाई कृषिमा आकर्षित हुने कार्यक्रम

सरकारले कृषिलाई प्रविधिमैत्री, व्यवसायीक उच्च प्रतिफल एवं मर्यादित पेशाको रुपमा रुपान्तरण गर्ने नीति अघि सारेको छ । यसले कृषि उद्यममा लाग्ने अवसर सिर्जना गरेको छ । साथै कृषि उपजहरुको उत्पादन, प्रशोधन र भण्डारणमा सहयोग पुर्याउन स्क्रीन हाउस, भण्डार गृह, बिउ प्रशोधन केन्द्र र साना सिँचाई संरचना निर्माण गर्दैछ । जसका कारण कृषि उद्यममा लागेका किसानहरु उत्पादनले बजार नपाउने समस्याबाट मुक्त हुनेछन् । के यो कृषि उद्यममा लाग्ने अवसर हुन सक्दैन र ?

प्रतिक्रिया