यिनिहरुलाई बरु घामले पोल्छ, आगोले चाहिँ पोल्दैन

खुवा व्यवसायको कथा

उद्यमी राजु बानियाँका अनुसार खुवा व्यवसाय र यसको बजार सम्भावना अपार छ । गाई भैसी पाल्न मिल्ने स्थानमा व्यवसाय अघि बढाउने हो भने त त्यति धेरै खर्चिलो पनि हुँदैन । गाउँघर केन्द्रित गरी यो व्यवसाय गर्ने हो भने यसमा बजारका दृष्टिकोणले निकै खुवा व्यवसायमा निकै अवसर रहेको छ ।

हाम्रो कथा २०७६ वैशाख ११ गते १६:१९

भक्तपुरको कमलबिनायकबाट ३ किलो पूर्व भत्केको पार्टी हुदै नगरकोट जाने नयाँ बाटोमा पर्छ जितपुर । त्यहि जितपुर गाउँको बाटोमा पसलको बोर्ड देखियो “दक्षिणकाली खुवा पसल” I धेरै नेपाली मन र पर्यटकलाई समेत यहि वोर्डले यो घरसम्म डोहोर्याउछ । यो कथा हो भक्तपुरको जितपुरमा रहेको खुवा व्यवसायको ।

दक्षिणकाली खुवा पसल पुग्ने बाटोमै झलक्क हेर्दा घर र घर अगाडी मिलाएर राखिएको दाउराको कुन्यू छ। एउटा कोठाको दुबैतिर ४/४ वटा गरी ८ वटा कराई बसाल्न मिल्नेगरी अगेनो बनाईएको छ । यहि आगोमा दुध तताईन्छ अनी खुवा घोटिन्छ । खुवा भाडामा लाग्ला र डडला भनेर उनीहरु निकै सजक भईरहेका थिए । उनीहरुको यो हात त्यतिखेर मात्र रोकिन्छ जतिखेर खुवा बनाउने दुध सकिन्छ । उनीहरुको यो काम बिहान ९ बजेबाट सुरु हुन्छ र सामान्यतया ३ बजेसम्म चल्छ । कराइमा दुध हाल्ने । आगो बाल्ने र यहि दुध घोट्दै खुवा बनाउने काम उनीहरुको दैनिकि हो ।

यो खुवा व्यवसायका बारे त्यहाँका गाउँलेले भन्छन्, “यिनिहरुलाई त बरु घामले पोल्छ आगोले अहँ पोल्दैन ।”

राजु बानियाँ र उनको परिवारले यसरी खुवा घोटेरै ४ दशक विताएका छन । यहाँ अहिले दैनिक सरदर ५० किलो खुवा बन्ने गरेको छ । आफुले बनाएको खुवा नबिकेर बाकि बस्यो भन्नुपर्ने अवस्था अहिलेसम्म भएको छैन । १ किलो खुवा को मुल्य ६ सय २५ रुपैयाँ रहेको छ । यस हिसावले दैनिक करिव ३२ हजार र मासिक १० लाख रुपैयाँ र वार्षिक १ करोड रुपैयाँ भन्दा बढिको खुवा विक्रि हुने गरेको छ ।

दक्षिणकाली खुवा पसलका सञ्चालक राजु बानियाँ बताउछन्  , “दैनिक २० किलो खुवा घरबाटै बिक्रि हुन्छ । झन अहिले यो ठाउँ नगरकोट जाने बाटोले छुन्छ । त्यसैले पनि ग्रहकको चहलपहल झन बढेको छ । भक्तपुरको २ वटा होटेलहरुमा पनि नियमित खुवा सप्लाई गर्छौं।”

पहिले पहिले त खुवा बनाएर बेच्नका लागि लैजानुपर्ने वाध्यता थियो । तर अहिले नगरकोट जाने नयाँ बाटो बनेसंगै उनीहरुको खुवा व्यापार घरमै पनि फस्टाउदै गएको छ ।

अहिले दैनिक केहि भएन है भन्दा पनि करिब २० किलो खुवा त घरबाटै बिक्रि हुन्छ । यस अर्थमा दैनिक करिब १३ हजार, मासिक करिब ४ लाख  रुपैयाँ बराबरको खुवा त उनको आफ्नो घरबाटै बिक्रि हुने गरेको छ ।

राजु बानियाँ बताउछन्  , “दैनिक २० किलो खुवा घरमा किन्न आउँछन्। झन अहिले यो ठाउँ नगरकोट जाने बाटोले छुन्छ । त्यसैले पनि ग्रहकको चहलपहल झन बढेको छ । भक्तपुरको २ वटा होटेलहरुमा पनि नियमित खुवा सप्लाई गर्छौं।”

यो खुवा व्यवसाय कसरी सफल भएछ त ?

एक पटक सम्झौ, व्यवसायमा सफलताका लागि मुख्य रुपमा सम्बोधन गर्नुपर्ने कुरा ग्राहकको चाहना हो । यससंगै व्यवसायीक ईमान्दारीतालाई पनि उनले निकै राम्ररी प्रस्तुत गरेका रहेछन ।

अब यसरी आगोमा खुवा घोटिरहेको कुरा सुन्दा तपाईहामीलाई लाग्छ कि – अहिले त खुवा बनाउने अन्य सहज प्रविधि पनि भित्रिएका छन । ग्यास चुल्हो पनि छन । आखिर किन यो आगोको रापनै उनीहलाई प्यारो भएको होला त ?

यहि त हो उनको ग्राहकको ध्यान तान्ने पहिलो कला ।

राजु बानियाँ बताउछन्, “मान्छेलाई दाउरामै पकाएको स्वाद मन पर्छ । दाउरामा पकाउन दु:ख त अलि बढी हुन्छ, तर ग्राहकको रोजाई यहि हो । त्यसैले दाउरा मै पकाईन्छ ।”

अनी उनको व्यवसायको सफलताको अर्को सुत्र हो व्यवसायीक ईमान्दारीता ।

राजु बानियाँले बताए ,”यदि कसैले खुवा शुद्ध दुधले मात्र बनेको होइन होला भनेर शंका गरे म उनीहरूलाई यहि पकाउने भन्सामा ल्याउछु । उनीहरूको आँखा सामु खुवा बनाउछु । अनि विश्वास गर्नु हुन्छ ।”

अब यति गरेपछि ग्राहक आफै यो खुवा खोजि खोजि आई हाल्छन्।

व्यवसायीक सफलता पछाडीको संर्घष

उद्यमी राजु बानियाँको व्यवसायीक सफलताको पछाडी धेरै संर्घष पनि छन् ।

यो खुवा व्यवसाय कसरी जन्मियो भनेर जान्न भने करिव ३० वर्ष अगाडी फर्कनुपर्छ । राजु बानिँयाका बुवा कृषि पेशामा आवद्ध थिए । त्यतिखेर उनी भक्तपुरबाट काठमाण्डौको बागेश्वरीसम्म दुध बेच्न पुग्ने गरेका थिए । एक दिन भएछ के भने आफुले दुध दिएका व्यक्तिसँग उनले पैसा मागेछन ।  तर दुध लिनेले पैसा दिएनछन । आफुलाई आवश्यक परेको समयमा पैसा नदिएपछि उनको चित्त दुखेछ ।

यहि दिन देखि उनले अव आफुले उत्पादन गरेको दुध अलाई नदिने निणर्य गरे । अनी सुर भयोे आफै खुवा घोट्ने काम ।  खुवा बनाउन सुरु गरेको केहि समयमै दिनकै सय धार्नी भन्दा बढि खुवा उत्पादन गर्न थाले उनीहरुले । बुबाले सुरु गरेको व्यवसायमा राजु बानियाँ पनि सानैदेखि लागिपरे । बुवालाई व्यवसायमा सघाउदा सघाउदै व्यवसायका बारेमा बुझे ।

राजु बानियाँले सम्झनछन् ,”त्यतीबेला भोटाहिटिमा ९ रुपैयाँ प्रती किलो खुवा बेच थियौं । २०३० साल देखि मेरो बुबाले खुवा बनाउन सुरु गर्नु भएको हो । मेरो उमेर त्यति बेला १० वर्ष थियो । १० वर्षको उमेरबाट नै बुबालाई व्यवसायमा सघाए ।”

खुवा व्यवसायलाई थप व्यवस्थित बनाए उनले । भ्याउने किसानले दुध नै बोकेर आउथ्ये । दुध ल्याउन नभ्याउने टाढा टाढा घर हुने किसानहरुले घरमै खुवा घोटेर समेत ल्याउने गर्थे । खुवाको बजार व्यवस्थापन भने उनले गरिदिन्थ्ये । कुनैसमयमा त दैनिक १ सय धार्नीसम्म खुवा उत्पादन हुन्थ्यो ।

व्यवसाय राम्रै चलिरहेको थियो । तर २०६२ / २०६३ सालको १९ दिने राजनीतिक आन्दोलनको समयमा व्यवसायमा उनले नराम्ररीे घाटा बेहोर्नुपर्यो । १९ दिनको सोहि अवधिमा झण्डै ७ लाख रुपैयाँ  घाटा लाग्यो ।

फेरी २०७२ सालको भूईचालोले उनको व्यवसालाई अर्को झड्का दियो । मान्छे कहा बस्ने टुङगो छैन । पालिएका गाँई भैसीलाई कसरी संरक्षण गर्ने ? कहा राख्ने ?किसानले धमाधम बेच्न थाले । त्यतिखेरै हो उनलाई अब भने खुवा व्यवसाय गर्न सकि दैनकी के हो भन्ने लागेको  ।

तर केहि दिनमै फेरी उनले हिम्मत जुटाए । आफुले जानेको काम यहि हो । अब अरु के गर्ने । फेरी किसानलाई समेत गाई भैसी किन्नका लागि सहयोग गर । खुवा घोट्ने उनको दैनिकी पहिलाकै जस्तो अघि बढ्यो ।

अहिले करिव ८० किसान परिवार दैनिक दुध लिएर बानिया कहाँ आउछन । उनले खुवा व्यवसाय गर्दा किसानले पनि आफुले उत्पादन गरेको दुधको मुल्य राम्रो पाएका छन ।

आफ्नो कमाई र आर्थिक सन्तुष्टिबारे उनी बताउँछन्, “जति कमाई भयो, यसैबाट हो । ३ जना छोराछोरीलाई मस्टर्स डिग्रीसम्म पढाए । घर व्यवहार यसैबाट चलेको छ ।”

अब त उनले आफ्नो उत्पादन बोकेर काठमाण्डौ धाउनु नपर्ने भएको छ । अहिले त सडक घरै अगाडी आईपुगेको छ ।  घरैबाट खुवा धमाधम विक्रि हुन थालेको छ । आफ्नो उत्पादनको बजार खोज्दै हिडने दिन सकिएको छ ।

उद्यमी राजु बानियाँका अनुसार खुवा व्यवसाय र यसको बजार सम्भावना अपार छ । गाई भैसी पाल्न मिल्ने स्थानमा व्यवसाय अघि बढाउने हो भने त त्यति धेरै खर्चिलो पनि हुदैन । गाउँघर केन्द्रित गरी यो व्यवसाय गर्ने हो भने यसमा बजारका दृष्टिकोणले निकै खुवा व्यवसायमा निकै अवसर रहेको छ ।

राजु बानियाँ आफ्नो आस्था व्यक्त गर्नुहुन्छ, “काभ्रे, सिन्धुपाल्चोक, हेटौंडा जस्ता ठाउँमा खुवा बनाएर काठमाडौं ल्याए बिक्रि मज्जाले हुन्छ । काठमाडौंमा राम्रो नहुने केही छैन । भगवान पशुपतिनाथले बाँस गर्ने ठाउँ हो । काठमाडौंमा कर्म गर्दा नराम्रो कसैको हुँदैन ।”

प्रतिक्रिया