कसरी स्थापित हुदैछ नेपालमा कालिज व्यवसाय ?

एभरेष्ट वाइल्ड लाइभ एग्रो एण्ड रिसर्च सेन्टरको व्यवसायिक यात्रा

यो समयमा उनीहरुले २ हजार कालिज बेचे । यो भनेको ३५ सय रुपैयाका दरले करिब ७० लाख रुपैया जतिको हो । तर यसको माग यति बढ्यो की उनीहरुले माग अनुसार कालिजको मासु दिनै सकेनन । अहिले त फार्ममा बिक्रि बन्द भनेर यसरी टास्न बाध्य भएका छन् ।

हाम्रो कथा २०७६ वैशाख ४ गते १५:५३

चिल्ला र रंगीचंगी पखेटा । कति सुन्दर । चञ्चले पनि त्यतिकै । एक ठाउँमा त बस्दै बस्दैनन् । तर चाहरा हाल्न के खोज्नुपर्छ यसरी झुमिन्छन । कहिलेकाही त एक अर्कामा रिस पनि गर्छन । यिनलाई आफ्नो ठाउँमा अरु कोहि आएको मनै पर्दैन रे । र त बाझा बाझ गर्न पनि पछि पर्दैनन् । यहाँ चराको यो चर्तिकला हेर्न थाल्ने हो भने समय कतिखेर जान्छ पत्तो नै पाईदैन । यो चराको नाम हो कलिज ।

कालिज नेपालीहरुको जनजिब्रोमा झुण्डिएको छ तर मासु खाने प्रयोजनका लागि सहज पाउन नसकिने पंक्षी हो । अहिलेसम्म नेपालमा कालिजको पनि व्यवसाय गर्न सकिन्छ भन्ने सोच नै थिएन ।

एभरेष्ट वाइल्ड लाइभ एग्रो एण्ड रिसर्च सेन्टर एक कालिज फार्म हो I करिब १ वर्ष अघि मात्र सुरु भएको हो । दक्षिणकाली नगरपालिका ४ चाल्नाखेलमा ११ रोपनी जग्गा भाडामा लिएर व्यवसायीका लागि भौतिक संरचना बन्यो । यहाँ ६ जनाको एक समुहले संयुक्त रुपमा डेढ करोड रुपैयाँ लगानी गरेका छन ।

कालिज व्यवसाय सुरु गरेर यो टिमले एउटा नयाँ उद्यमलाई चिनाएको छ । उनीहरुको यो व्यवसायीक टिमको संयोग पनि गज्जबको छ ।

पाल्पाका बाबुराम श्रेष्ठ जो १८ वर्षको इटलीको बसाई बिट मार्दै नेपाल फर्किए ।

१२ वर्ष इटलीमै विताएका चितवनका ज्ञानेन्द्र तिमिल्सीना । एक कार्यक्रमका लागि इटली जादा कालिज फार्म देखेर व्यवसाय ठम्याएका बाजुराका नरेश कुमार शाही ।

केहि नयाँ काम सुरु गरौ भन्ने सोच बनाएका अर्घाखाचीका सुशील भट्टराई, दिपक दुवाडी र पोखराकी दिलु कुमारी पन्त ।

बाबुराम श्रेष्ठ करिब ५ वर्ष अघि  आफ्नै गाउँ पाल्पामा बाख्रा पालन व्यवसाय गर्ने भनेर नेपाल आएका थिए । उनले सोचे जस्तो भएन । उनी फेरी इटाली फर्के । तर उनको मनले मान्दै मानेन। होइन नेपालमै जानुपर्छ । केही त गर्नै पर्छ । अब भने उनको ध्यान कालिज व्यवसायले तान्यो । उनी यसबारे अध्ययन गर्न थाले । यहि बिचमा उही रहेका ज्ञानेन्द्र तिमिल्सीनासंग आफ्नो योजना साटे । यहिबाट यो टिम तयारीको योजना बन्यो ।

ज्ञानेन्द्र आफै पनि नेपाल फर्केर यहि केहि गरौ भन्ने सोचमा थिए । तर नेपाल फर्केपछि केहि नयाँ काम उद्यम नै गर्नुपर्छ भन्नेमा उनको ध्यान गयो । त्यहि फरकपनको खोजिमा पर्यो कालिज व्यवसाय ।

इटलीमा जादा कालिज फार्म देखेर व्यवसायका लागि निकै उत्साहित बनेर फर्केका थिए नरेश कुमार शाही । तर यहाँ रहेको कानुनी अड्चनका कारण यसले मुर्त रुप लिन सकेको थिएन । त्यतिखेरसम्म कालिजको व्यवसायीक उत्पादन गर्ने र बेचविखन गर्न पाउन अवस्था थिएन । विस्तारै कानुनी व्यवस्थाले पनि साथ दियो ।

बाबुरामले कालिजको अण्डा खरीद गरे, अण्डा ह्याचिङ गर्न सिक्न उनी फ्रान्स गए I व्यवसाय वारे थप अध्ययन अनुसन्धान गरे। फ्रान्सबाटै १० हजार २ सय ७५ वटा अण्डा लिएर बाबुराम श्रेष्ठ गत वर्ष नेपाल आए । यहिवाट सुरु भयो नेपालमा कालिजको व्यवसायिक यात्रा ।

त्यतिखेर कालिजको अण्डाबाट चल्ला निकाल्ने ह्याचरी मेसिन उनीहरुसंग थिएन ।

कुखुराको चल्ला निकाल्ने मेसिनमै ह्याचिङ गरे । जम्मा अण्डाको ४५ प्रतिशत जति मात्र चल्ला निस्कियो । यो घटनाले उनीहरुको मन केहि कुडिएको पक्कै थियो ।

र पनि उनीहरु भएका चल्लाहरुको रेखदेखमा लागे । तर त्यतिखेर उनीहरुलाई मौसमले पनि साथ दिएन । भएका कालिजका चल्ला मध्येपनि १ हजार चल्ला गुमाउनु पर्यो ।

तर उनीहरुले हिम्मत हारेनन । बरु यसवाट पाठ सिके । नोक्सान कम कसरी गर्ने भन्नेतर्फ ध्यान केन्द्रित गरे ।

व्यवसाय सुरु भएको १ वर्ष पुग्दै छ । अहिले त उनीहरुको व्यवसायको दायरा निकै फराकिलो भयो । ह्याचिङका लागि अब अन्त भर पर्नुपर्दैन । आँफैसँग ह्याचिङ मेसिन छ । जति लागत खर्च कम भयो फाईदा त्यतिनै निकाल्न सकिन्छ । यो टिमलाई यो कुरा राम्रो सँग थाहा छ । त्यसैले त अब उनीहरु आँफैले खोल्दैछन् दाना फ्याक्ट्रि । कालिजलाई चाहिनेजति दानाको उत्पादन आफ्नै फ्याक्ट्रिबाट हुनेछ ।

कालिजको मासु, अण्डा, र चल्लाको पनि त्यतिकै माग छ । विदेशदेखि अण्डा ल्याउन निकै महँगो पर्छ । यसको उपाय पनि जुर्यो, अब यहिं अण्डा उत्पादनका लागि उनीहरु लागेका छन् ।

बाबुराम श्रेष्ठ थप बताउछन्, “कालिजको मासु किन्न होटेल, रेस्टुरेन्टहरुको घुईचो रहन्छ I काम गर्दै जाँदा थाहा भयो कि यहाँ उपलब्ध कालिजले १०० मा मात्र ०.५ प्रतिशत मार्केट डिमाण्ड पूरा गर्न सकेको छ I”

यी उद्यमीहरुको यस वर्षको लक्ष्य बुझौँ । एभरेष्ट वाइल्ड लाइभ एग्रो एण्ड रिसर्च सेन्टरका संञ्चालक बाबुराम श्रेष्ठ भविष्यको योजनाबारे बताउछन् “अब हामी ४० हजार देखी ६० हजार सम्म चल्ला उत्पादन गर्ने क्रममा छौँ I इलाम, बनेपा, सुर्खेत, पोखरा र पाल्पा गरी अन्य ५ ठाउँमा फर्म विस्तार गर्ने क्रममा पनि छौँ I”

कामको रफ्तार यसरी अघि बढ्दैछ की थप ५ ठाउँमा यसको शाखा खुल्दैछ ।

उनलाई रोजगारीको खोजी थिएन I उनलाई रोजगारी सिर्जना गर्नु थियो I अहिलेको कालिज उत्पादनले बजारको माग पुरा गर्न सकेको छैन I तर, यदि ६० हजार कालिज उत्पादन गर्ने हो भने मार्केट पनि आफ्नै बनाउनु पर्ने हुन सक्छ I नेपाली बजारमा ६० हजार कालिजको माग कत्तिको छ भन्ने कुरा हेर्न बाकिं नै छ I

करिब ४५ सय कालिजबाट व्यवसाय सुरु भयो । कालिज उत्पादनको अर्को वर्षको लक्ष्य ६० हजार पुग्नु के तिव्र वेग हैन र ?

आफु मात्र अघि बढ्दै छैन यो टीम । अरुलाई पनि साथ लिएर हिंड्न खोज्दैछ । कालिज पालनको सम्भावना भएका क्षेत्रमा उनीहरुले स्थानियलाई समेत सहकार्यमा जुटाउँदैछन् । यसका लागि उनीहरुले स्थानीयसँग आधा शेयरको साझेदारीको व्यवस्था गरेका छन् । तपाई पनि यसमा जोडिन सक्नुहुनेछ ।

कालिज व्यवसायलाई नेपालमा फैलाउनको लागी सुशील भट्टराईले दुईवटा रणनीति बारे बताए, “पहिलो शेयरहोल्डर बनेर काम गर्न सकिन्छ I यदि ५० प्रतिशत सेयर एभरेष्ट फर्मलाई दिने हो भने प्राविधिक सहयोग हामी गर्न तयार छौँ I संरचना निर्माणमा पनि हाम्रो योगदान हुन्छ I अब दोश्रो उपाय भनेको यदि कसैलाई प्रविधित ग्यान स्वयम् छ र मज्जाले छुटै काम गर्न सक्नु हुन्छ भने हामी चल्ला उपलब्ध गराई दिन सक्छौं I”

उनीहरुको यस्तो योजना बन्नुका पछाडी पनि केहि मुख्य कारण छन । भएछ के भने यो फार्ममा पहिलो लटको कालिज  हुर्के । केहि महिना अघि उनीहरुले कालिज बिक्रि खुलाए । यो समयमा उनीहरुले २ हजार कालिज बेचे । यो भनेको ३५ सय रुपैयाका दरले करिब ७० लाख रुपैया जतिको हो । तर यसको माग यति बढ्यो की उनीहरुले माग अनुसार कालिजको मासु दिनै सकेनन । अहिले त फार्ममा बिक्रि बन्द भनेर यसरी टास्न बाध्य भएका छन् ।

तर कालिज व्यवसाय अघि बढाउनका लागि भने उनीहरुकोे सुझाव यस्तो छ ।

कालिज व्यवसायमा ध्यान दिनैपर्ने कुरा,

१.तपाईले जिउँदो कालिज बेच्न भने पाउनुहुने छैन  ।

२.व्यवसायका लागि सरकारले अनुमति दिएका जातको कालिज मात्र पाल्न पाईन्छ ।

सुशील भट्टराई थप बताउछन्, “कालिज पाल्ने हो भने कम्तिमा पनि २ हजार देखी ४ हजार कालिज पाल्दा फाईदा हुन्छ I किनकि, थोरै कालिज पाल्दा वा कम्तिमा २ हजार कालिज पाल्न लाग्ने जनशक्ति र संरचना निर्माणमा लगानी उत्तिकै हुन्छ I कालिजको दाना-पानी, पालन पोषण र अन्य खर्च गरी वार्षिक ९० लाख देखी ९५ लाख सम्म वार्षिक व्यवसाय संचालन खर्च पर्न आउँछ I”

उनीहरु चाहन्छन् कि कालिज नेपाली धनाढ्यको भान्सामा मात्र नभएर सर्वसाधारणले उपभोग गर्ने मासु बनोस् I

अहिले कालिजको मासु  भन्ने वित्तिकै गाउँदेखि शहरसम्मका धेरै मान्छेको ध्यान तानेको छ । यहि कालिजको मासु खान चाहनेहरुको सपना बागबजारमा रहेको यो रेष्टुरेन्टले पुरा गर्छ ।

रेष्टुरेन्ट करिब ४ महिना अघि एभरेष्ट वाइल्ड लाईफ एग्रो एण्ड सिर्च सेन्टरले नै सुरु गरेको हो । आफ्नो उत्पादन र ग्राहकसम्मको पुहंच आफै स्थापित गराउने उद्देश्यले यो रेष्टुरेन्ट खुलेको हो । यहाँ कालिजको सुप, छोयला, फ्राई, साधेको तास तथा करी जस्ता परिकार बन्ने गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित

बिजनेस लिडरको हातमा किताब !

२ दिन अगाडि ५८ सेकेन्डमा पढिने