तीन सय बालबालिको भाग्य र भविष्य कोर्दै दुर्गमको शेर्पा स्कुल

निशुल्क पढाई कसरी सम्भव भएको छ त ? ‘हाम्रो व्यवस्थपानको टिम छ । उहाँहरुले विभिन्न दातृनिकायहरुबाट सहयोग लिनु हुन्छ । कतिपयले यो राम्रो काम भनेर दान गर्छन् । कतिपयले चन्दा सहयोग गर्दछन् । यसैगरि विद्यालय चलको छ । अनि यी बालबालिकाहरुले पढ्ने मौका पाएका छन् I’

नवराज पथिक / रामेछाप २०७५ चैत २८ गते १२:०४

रामेछापको बाम्तिकी पासाङ डोमा शेर्पाका बाबुको ९ बर्ष अघि मृत्यु भयो । उमेरमै उनका बाबुको मृत्यु भएपछि पासाङकी आमाले अर्काे बिबाह गरिन् । बाबुको मृत्यु अनि आमाले अर्काे बिबाह गरेपछि उनी टुहुरो मात्र भइनन् एक्लै पनि परिन् । उनको पठनपाठनको त कुरै छाडौँ खानपान तथा स्याहार सुसारको समेत व्यवस्था हुन सकेन । यस्तो अवस्थामा पुगेकी उनलाई स्थानीयले बाम्ति भण्डारमा रहेको शेर्पा स्कुलमा ल्याइ दिए ।

अहिले पासाङ डोमा त्यही शेर्पा स्कुलको कक्षा ७ मा पढ्छिन् । ८ वर्ष अघि शेर्पा स्कुलमा आएकी उनको खानपान, लुगाफाटो तथा पठनपाठन र आवासको समेत सम्पुर्ण व्यवस्था स्कुलले नै गरिदिएको छ । अंग्रेजी माध्यमबाट पढाई हुने सो विद्यालयमा उनको पढाई औषत विद्यार्थीको भन्दा राम्रै छ ।

रामेछापको साविकको प्रितीका पूर्णबहादुर सुनुवारको कथा अझ नरमाइलो छ । गत साल घरायसी विवादमा बाबुले पिर्काले हिर्काउँदा उनकी आमाको घटनास्थलमा नै ज्यान गयो । जतिबेला उनी ६ वर्षका थिए । आमाको ज्यान गएपछि बाबु जेल परे । उनी ६ बर्षको उमेरमा बाबुआमा बिहीन भए । घरमा उनलाई हर्ने कोही पनि भएन । ६ वर्षको उमेरमा पूर्णबहादुर शेर्पा स्कुलमा भित्रीए । उनी अहिले सोही स्कुलमा बसेर नर्सरीको पढाई पढ्दैछन् । विगतको पीडालाई बिर्सिएर उनी साथीहरुसंग रामाउँदै क, ख र ए, बि, सि, डि, सिक्दैछन् ।

कक्षा ३ मा पढ्ने मनोज थापाको विगत पनि त्यति रमाइलो छैन । बाबुआमा दुवै नभएका उनी शेर्पा स्कुलमा प्रवेश गर्दा शरिर भरि घाउ नै घाउ लिएर प्रवेश गरेका थिए । बाबु आमा दुवै गुमाएका उनीको उचित स्यहार हुन नसक्दा शरिरभरि घाउ लिएर विद्यालय भित्रिएका थिए । अहिले उनी कक्षामा अन्य विद्यार्थी भन्दा अब्बल छन् । अनि सरसफाईमा पनि त्यतिकै ध्यान दिन्छन् ।

रामेछापको अति दुर्गम हिमालको छेउमा रहेको बाम्ति भण्डारमाको शेर्पा स्कुलमा पढ्ने यी ३ जना विद्यार्थी उदाहरण मात्रै हुन् । उनीहरुजस्ता २ सय ९० जना विद्यार्थीहरु यस्तै खालका आफ्नै कथा बोकेर विद्यालयमा भित्रएका छन् र आफ्नो भाग्य र भविष्य निर्माणको लागि मेहनेतको साथ पढि रहेका छन् ।

२० वर्षदेखिको सेवा

रामेछापको हालको उमाकुण्ड गाउँपालिका २ बाम्ति भण्डारमा खुलेको शेर्पा स्कुलले आफ्नो स्थापनाको २० वर्ष पार गरेको छ । स्थानीय सामाजिक अगुवाहरु आङ्छिरिङ शेर्पा लगायतको प्रयाशबाट सो विद्यालय स्थापना गरिएको हो ।

काठमाडौँको शेर्पा स्कुलसँगको सहयकार्यमा स्थापना भएको सो विद्यालय रामेछाप, सोलु, ओखलढुंगा लगायतका क्षेत्रका असहाय र विपन्न बालबालिकाको सहारा मात्र हैन जीवनको ज्योती पनि बन्दै गएको छ ।

विद्यालयले असहाय विद्यार्थीहरुको लागि आवास, खाना, लुगा, विद्यालय सामाग्रि लगायतको सम्पूर्ण व्यवस्था गरेको विद्यालयका प्रिन्सिपल विकल थोकरले बताए । ‘विद्यालय कम्पाउण्ड भित्र नै उनीहरुको आवास छ । त्यही भित्र खाने, बस्ने, लेखपढ गर्ने र खेल खेल्ने लगायतका सम्पूर्ण सुविधाहरु निशुल्क छन्’, उनले भने ।

शिसु कक्षादेखि सात कक्षासम्मको यात्रा

शेर्पा स्कुलमा अहिले ७ कक्षासम्म पठनपाठन भई रहेको छ । आउने शैक्षिक सत्रबाट विद्यालयलाई ८ कक्षामा अपग्रेट गर्ने गरि तयारी भई रहेको छ ।

शिशु कक्षा अर्थात् नर्सरीबाट २० वर्ष अघि सेवा सुरु गरेको विद्यालयले यस बिचमा धेरै विद्यार्थीहरुलाई शिक्षा प्रदान गरिसकेको छ । सुरुमा काठमाडौँको बौद्ध स्थित शेर्पा स्कुलको शाखाको रुपमा रहेको यो विद्यालयले ५ काक्षा उत्तिर्ण गरेका विद्यार्थीलाई सो विद्यालयबाट काठमाडौँको सोही विद्यालयमा पठाउने गरेको थियो । उनीहरुले काठमाडौमा पनि आवासिय सुविधा सहित निशुल्क पढ्ने सुविधा पाउँदथे । तर अब एसइई सम्मको पढाई बाम्तिमै गर्ने सोचका साथ काम भई रहेको प्रिन्सिपल थोकरले बताए ।

गाउँकै विद्यालयमा संस्थागत विद्यायल अर्थात् बोर्डिङ स्कुलको सरह निशुल्क पठन पाठनको व्यवस्थापन गर्न पाउँदा आफु हरुलाई गर्वानुभुती भएको प्रिन्सिपल थोकरले बताए ।

दान, चन्दा र सहयोगबाट चलेको शिक्षामन्दिर

निशुल्क पढाई कसरी सम्भव भएको छ त ? ‘हाम्रो व्यवस्थपानको टिम छ । उहाँहरुले विभिन्न दातृनिकायहरुबाट सहयोग लिनु हुन्छ । कतिपयले यो राम्रो काम भनेर दान गर्छन् । कतिपयले चन्दा सहयोग गर्दछन् । यसैगरि विद्यालय चलको छ । अनि यी बालबालिकाहरुले पढ्ने मौका पाएका छन्’, प्रिन्सिपल थोकरले भने ।

[यो सकारात्मक कथा निर्माणमा काठमाडौं स्कुल अफ ल ले आर्थिक सहयोग गरेको छ । समाजका यस्तै अन्य सकारात्मक कथाहरु निमार्णका लागि काठमाडौं स्कुल अफ लले जस्तै तपाई पनि सहयोग गर्न सक्नुहुन्छ । समाजकै सहयोगमा समाजकै सकारात्मक कथा भन्ने हाम्रो प्रयत्न छ । आउनुहोस् हातेमालो गरौं ।]

 

प्रतिक्रिया

सम्बन्धित

स्वस्थ रहनका निम्ति !

८ भदौ , २०७६ १ मिनेटमा पढिने

आफ्नो लक्ष्य प्राप्तका लागी एक जुक्ति

१ भदौ , २०७६ १ मिनेटमा पढिने
लोकप्रिय