नेपालीको मौलिकता झल्काउने : पोते व्यवसाय

अहिले पोतेलाई महिलाहरूको वैवाहिक शृङ्गारको आवश्यकता मात्र नभएर एउटा ग्लोबल ट्रेन्ड बनेको छ I विदेशमा गिफ्ट पठाउनु पर्दा, कुनै उत्सवमा गिफ्ट दिनु पर्दा पोते सबैभन्दा रुचाइने विकल्प बनेको छ I

हाम्रो कथा २०७५ फागुन २८ गते १८:२९

पोतेको परिभाषा बदलिएको छ । पोते – हिन्दु विवाहित महिलाको विवाहसँग जोडिएको शृङ्गार मात्र नभएर अहिले पोतेका दाना केवल घाटीमा लगाउने पोतेका रूपमा सिमित रहेन । यी पोतेमा प्रयोग हुने ग्लास बिडका दानाले धेरै कुरा बन्दछन्  I ती सबैलाई हामी पोते भनेर नै वर्णन गर्न रुचाउँछौँ I त्यसैले पोते मौलिक छ, पोते सबै नेपालीको मन मस्तिष्कमा बसीसकेको छ I

यसका विभिन्न सामान बन्ने गरेका छन् । औलामा लगाउने अ‍ैठीदेखि कानमा लगाउने झुम्का र हातमा लगाउने बाला यस्ता धेरै प्रकारका सामान पोतेको प्रयोगबाटै बन्ने गरेका छन् । ग्लास बिडका दाना विदेशबाट आयातित भएपनि पोतेलाई व्यवसायिक ढाँचामा लैजाने श्रेय नेपाली उद्यमीहरुलाई नै जान्छ I

विभिन्न सजावटका सामान समेत पातेकै प्रयोगबाट बन्ने गरेका छन् । पोतेको यस्तै सामाग्री बन्ने र ग्राहकले मन पराउने भएपछि  यो काम व्यवसायकै रूपमै अघि बढेको हो । पोतेको प्रयोगबाट यस्ता विभिन्न प्रकारका सामान बनाउने यो पेसा अहिले ग्लास बिडको एक्सेसरी र ज्वेलरी व्यवसायका रूपमा परिचित छ ।

उद्यमी कुञ्जना मिश्र । उनले बिडको काम थालेको २५ वर्ष भयो । २२ वर्षे बैङ्कको जागिर छोडेर २०५० सालमा उनले यो व्यवसायमा हात हालेकी हुन् ।

कुञ्जना आर्ट बिड क्राफ्टकी संस्थापक कुञ्जना मिश्र बताउनुहुन्छ, “मैले बैङ्कमा २२ वर्ष जागिर खाए I केही असुन्तुष्टि महसुस हुन् थियो I म अरू केही गर्न सक्छु जस्तो महसुस भई रख्थियो I त्यसैले स्व-अवकाश लिएँ I”

कत्ति जागिर खानु । केही व्यवसाय गर्न पाएनी हुन्थ्यो भन्ने लाग्यो उनलाई । आफू पनि उद्यमी बन्ने र केहीलाई रोजगारी दिने सोचका साथ उनले गरिरहेको जागिर छोडिन् । काम त छोडियो तर अब के व्यवाय गर्ने होला ?

उहाँ थप बताउनुहुन्छ, “मैले फिनायल बनाउने प्रयास गरे I तर, प्राविधिक ज्ञान नपुगेर काम गर्न सकिन् I त्यति बेला मेरो श्रीमानले पनि मेरो काम मन पराउन सक्नु भएन I उहाँलाई पनि झर्को लग्यो I त्यसपछि पापड पनि बनाए, व्यावसायिक रूपमा अघि लग्न सकिन I औषधि पसल पनि चलाउन प्रयास गरे I जे गरे पनि कुनै कामलाई निरन्तरता साथ अघि बढाउनै सकिन I”

तर पनि उनले हार खाईनन । बरु काम सुरु गर्नु अघि केही कुरा सिक्नुपर्छ भनेर त्यसको खोजीमा लागिन् । एक विजनेश ट्रेनिङमा सहभागी भइन । त्यहीँबाट उनले ग्लास बिडको काम सुरु गर्ने मेलो पाएकी हुन ।

उनी एक व्यावसायिक तालिममा संग्लग्न भइन I ‘न्यु बिजनेस क्रीएसन ट्रेनिंग’ मा सहभागी भइन I व्यवसाय बारे जानकारी र व्यावसायिक ज्ञान प्राप्त गरे पनि सीपको स्तर त एउटै रहने हो I त्यसपछि, एक महिला उद्यमीको सुझाव अनुसार उनलाई पोते व्यवसाय गर्न सक्छु र यसको लागी चाहिँ सक्षम छु भन्ने उनलाई लाग्यो I

थोरै लगानीमा आफ्नै घरको एउटा कोठा खाली गरेर उनले काम सुरु गरिन् । त्यति बेलै उनले ५ जनालाई रोजगारी दिएकी थिइन् । काम सुरु त भयो अब समस्या पर्‍यो बजारको । बजार सम्बन्धी ज्ञान पनि थिएन । उत्पादन भएका सामान बिक्री भएनन् । तर उनले हिम्मत हारिनन् । बरु बजारको माग बुझेर आफ्ना उत्पादनलाई परिष्कृत गरिन् ।

उनले अलि गाह्रो कामबाट सुरुवात गरिन् I चेस बोर्ड र डेकोरेटिभ आइटमको बजार खोज्न गाह्रो भयो I त्यति बेला पोतेका डेकोसेटिभ आइटम बिक्री हुन गाह्रो हुन् थियो I त्यसपछि उनी पोतेमा केन्द्रित हुन थालिन् I फेसन मार्केटमा सृजनशीलताले निकै महत्त्व राख्छ I एउटै आइडिया र डिजाइन लामो समय चल्दैन I यस क्षेत्रमा काम गर्दा आफूलाई अपग्रेड गर्दै जानु पर्छ I

अहिले कुञ्जना मिश्रलाई पनि महसुस हुन्छ कि उनले केही सन्तुष्टिजनक हदसम्म नाम र दाम दुवै कमाउन सफल भएको उनलाई महसुस हुन्छ I

त्यसपछि उनको व्यवसाय उकालो लाग्न थाल्यो । विभिन्न डिजाइनका सामानहरू बन्न थाले । उनले तयार गरेको यी सामानको माग यति धेरै हुन थाल्यो की उत्पादन गरेर भ्याई नभ्याई पो हुन थाल्यो । वार्षिक ४० लाख भन्दा बढिको कारोबार गर्ने अवस्थामा उनको व्यवसाय पुग्यो । ३ सय भन्दा बढी डिजाइनका पोतेको सामान यही बन्यो ।

कुञ्जना मिश्र थप बताउनुहुन्छ, “सुरुमा कसैले पनि यो कामको प्रशंसा गरेको होइन I मेरो प्रयास भनेको आफ्नो सीपले पनि आय-आर्जन राम्रो गर्न सकिन्छ भन्ने कुरा स्थापित गर्न चाहन थिए I काम गर्दै जाँदा र समय बित्दै जाँदा सबैले कुरा बुझे अनि बल्ल सबैको सहायता प्राप्त भयो I”

उनले सुरुवाती दिनको लगानी र अहिलेको आम्दानी स्तर बुझाउँदै भन्नुभयो कि उनको लगानी निकै थोरै थियो I घर कै एउटा कोठामा पुरानो फर्निचर राखेर काम गरेको हो I त्यति बेला मात्र ५ सयको लगानीमा काम सुरु गरेको हो I काम गर्दै जाँदा अन्य सर-समान व्यवस्थित हुँदै गए I

काम बढ्दै गएपछी आफूलाई विस्तार गर्दै गएपछी, परिस्थिति परिवर्तन हुँदै गयो I उत्साहजनक दिनहरूमा उनी व्यक्त गर्दछिन्, “आफ्ना समान धमाधम बिक्री हुँदा, सोकेसहरु खाली हुँदा मलाई रात भारी निन्द्रा नलाग्ने हुन् थियो I छटपट्टि हुन् थियो कि मेरो कलेक्सन रित्तियो I यस्ता सोच पनि नआएको होइन I”

बाला, कोष्टर, ब्रासलेट, इयरीङ ब्रोच, नेक्लेस, चोकर, पाउजु, औँठी, बेल्ट तथा अन्य विभिन्न सजावटका सामान समेत यही पोतेको प्रयोग गरेर बन्छन् । अहिले यहाँ ग्राहक चाहना बमोजिम विभिन्न डिजाइनका यस्ता सामान बन्ने गरेका छन् । ५० रुपैयाँ देखि ३ हजार रुपैयाँसम्मका सामान यहीँबाट उत्पादन हुन्छ ।

अहिले उनले यो व्यवसायलाई आफ्नो पुस्तामा हस्तान्तरण गरेकी छन् । कुन्नम पोखरेल उद्यमी मिश्रकी छोरी हुन् । आमाले व्यवसाय सुरु गर्दा उनी विद्यार्थी नै थिइन । त्यतिखेर यो व्यवसाय त्यति मन परेको थिएन । तर बिस्तारै आमालाई सहयोग गर्ने क्रममा उनीले यो व्यवसाय बुझिन । यही व्यवसायमा रमाउन थालिन । अहिले कुन्नमले नै व्यवसाय अघि बढाई रहेकी छिन ।

लगानी, कमाई र बजारको माग !

यो व्यवसाय गर्ने हो भने लगानीको चिन्तै लिनु पर्दैन । ग्लास सिड बिडको एक्सेसरीज र ज्वेलरी व्यवसाय केही हजार लगानीमै सुरु गर्न सकिन्छ । अनि कमाई पनि राम्रै हुन्छ ।

कुञ्जना आर्ट बिड क्राफ्टकी सञ्चालक कुन्नम पोखरेल बताउनुहुन्छ, “मैले नै काम गर्न थालेको अहिले २० वर्ष भयो I पहिले प्रतिस्पर्धा कम थियो I आमाले सम्पूर्ण जिम्मेवारी हस्तान्तरण गरेको ३ वर्ष भयो I तर अहिले पोतेलाई महिलाहरूको वैवाहिक शृङ्गारको आवश्यकता मात्र नभएर एउटा ग्लोबल ट्रेन्ड बनेको छ I विदेशमा गिफ्ट पठाउनु पर्दा, कुनै उत्सवमा गिफ्ट दिनु पर्दा पोते सबैभन्दा रुचाइने विकल्प बनेको छ I”

जस्तो नेपाली बजारमा निकै लोकप्रिय रहेको झुत्तो पोते ‘बन्च नेक्लेस’को कुरा गरौँ । यसको बजार मूल्य ३ सयदेखि ३ सय ५० रुपैयाँ सम्म रहेको छ । यसमा प्रयोग हुने धागो, पोते, गोटी , ज्याला र बाँध्ने खर्च जोड्दा यो २ सय ४५ रुपैयाँमा तयार हुने रहेछ । यदि यसलाई ३ सय रुपैंयामैं बिक्री भयो भने पनि यो १ वटा झुत्तो पोते ‘बन्च नेक्लेस’  बनाएर ५५ रुपैयाँ कमाउन सक्छौ ।

यस्ता सामानको बजार नेपालमा मात्र नभई विदेशमा समेत निकै राम्रो छ । चुरा लगायत अन्य विभिन्न डिजाइनका सामानहरू विदेशीको रोजाइमा पर्ने गरेको छ ।

यो व्यवसायको अर्को गज्जबको फाइदा भनेको यो सामान ल्याएर फुर्सदको समयमा घरमै बसेर काम गर्छु भन्दा पनि हुने । आफूलाई आय आर्जनमा जोड्नका लागि निकै उपयुक्त माध्यम बन्न सक्छ यो व्यवसाय ।

सुरुवात गर्न चाहने अन्य सम्भावित उद्यमीहरूलाई कुन्नम पोखरेलको संदेश :
हामीले जसरी ५ सयको लगानीमा सुरु गर्‍यौँ I अहिलेको समयमा त्यस्तै स्केलको व्यवसाय सुरु गर्ने भए २५ हजार पर्याप्त हुन्छ I लगानी भनेको जति पनि राख्न सकिन्छ I आफ्नो विस्तार योजना अनुरूप राख्ने हो I

यदि अन्य महिला दिदीबहिनीहरूले पनि राम्रो र स्तरीय उत्पादन गर्नु भएको छ भने, बजार खोज्ने, मार्केटिङ गर्ने काममा अन्य महिलाहरूको उत्पादन आफ्नो सञ्जाल मार्फत उनी प्रवर्धन गर्न इच्छुक छिन् I यस क्षेत्रमा उत्पादन बढाउनु र उद्यमी महिलाहरू यस क्षेत्रमा स्थापित गराउन सके धेरै फलदायी हुनसक्छ I

प्रतिक्रिया

सम्बन्धित

बिजनेस लिडरको हातमा किताब !

३ दिन अगाडि ५८ सेकेन्डमा पढिने