पीडामुक्त भएपछि पीडितहरु भन्छन् ‘मेरा लागि हजुर नै भगवान हुनुभयो’

धेरैजसो आफुकहाँ महिला हिंसा, बलात्कारका घटनाहरु आउने गरेको गीताले बताइन् । बलात्कारमा पनि आफ्नै नातेदारबाट भएका छन् भने कतिपय अवस्थामा विवाह गर्ने शर्तमा बलात्कार भएपछि उनीहरुबाट जन्भिएका बच्चालाई स्वीकार नगरेको अवस्था छ ।

लक्ष्मी भण्डारी/ सुर्खेत २०७५ फागुन ३ गते १५:२८

वकिलहरुले लगाउने कालो कोटको बारेमा सबैको आ —आफ्नै चर्चा रहेको छ । भनिन्छ कतिपय कालो कोट  लगाउने वकिलले कालै धन्दामा संलग्न हुन पछि पर्दैनन् । उनीहरुको पोशाक र कामसँग तुलना गरिन्छ । कतिपय अवस्थामा उनीहरु आफ्नो स्वार्थका लागि मुद्दाहरु बंग्याउन पनि पछि पर्दैनन् । तर, यही समाजमा यस्ता पनि वकिल छन् जसले पेशालाई भन्दा पनि सेवालाई केन्द्रमानि काम गरिरहेका छन् । पीडितको मलमको रुपमा स्थापित बनेका छन् उनी हुन् सुर्खेत वीरेन्द्रनगरकी अधिवक्ता गीता कोइराला । न्यायको लागि उनीसँग आउने पीडितहरुको जाहेरी लेखेवापत पैसा लिन त परै जाओस् उनीहरुलाई सहयोग समेत जुटाउँछिन् । त्यसैले सबै पीडितको रोजाईमा उनी परेकी छन् ।

सुर्खैतको वीरेन्द्रनगरमा जन्मिएर हुर्किएकी उनको सानैदेखि फरक स्वाभावको थियो । उनको चाहाना थियो मानव सेवा गर्ने । जसको निम्ति उनी बालापनदेखि नै यो स्वाभाव व्यवहारमा व्यक्त गर्दथिन् । बालापनदेखि नै दिनदुःखीको सहयोग गर्दै आएकी उनले मानव सेवा गर्ने अठोट बोकिन् । न्याय सेवा तिर उनको बढी झुकाव थियो । बुवाको पनि छोरीलाई न्यायतिर लैजाने सोच थियो  । त्यसमाथि उनले कानुनी अनविज्ञताका कारण पीडितहरुले न्याय नपाएको देख्थिन् र उनको मन जलेर आउँथ्यो र कानुन पढ्नैपर्छ भन्ने जलन भएर आयो । यही जलन पुरा गर्न उनी कानुन विषय रोजिन् ।

कानुनमा स्नात्तकोत्तर गरेपछि २०५५ सालयता उनी न्यायको निम्ति काम गर्दै आइरहेकी छन् । केही समय विभिन्न मानवअधिकारवादी संघसंस्थामा संलग्न रहदै आएकी गीता विगत दुई वर्षयता गीताञ्जली ल फर्म  सञ्चालन गर्दै आएकी छन् । उनी आफ्नो फर्म सञ्चालन मात्र होइन । दुःखी र हिंसापीडित महिलाहरुको लागि मलम बनेकी छन् । जब उनी सामु न्यायको लागि जाहेरी लेखाउन आउँछन् तब उनी पीडितसँग बसेर छलफल गर्छिन् । हिंसापीडित महिलाहरुको पीडा सुनेपछि उनको मन परिवर्तन हुन्छ र जाहेरी निःशुल्क लेख्छिन् । त्यतिमात्र होइन कतिपय महिलालाई घरमै बसालेर कयौ दिनसम्म खाना खुवाएर पठाउँछिन् । उनीहरुका कपडा नभए दिएर पठाउँछिन्  भने कतिपयलाई औषधी समेत गर्नुपर्ने अवस्था आउँछ ।’

‘न्यायको लागि आउने महिलाहरु बिजोग अवस्थामा देख्छु अनि उनीहरुको जाहेरी लेखिदिएवापत रकम लिन मन लाग्दैन’ उनी भन्छिन्, ‘सुत्केरी महिला बच्चा समाएर पनि जाहेरी लेखाउन आउँछन् उनीहरु खाना खान नपाएर बच्चालाई दुध नआएको हुन्छन्  अनि उनीहरुको समस्या देख्दा आफ्नै मन रुन्छ र सहयोग गर्न मन लाग्छ ।’

धेरैजसो आफुकहाँ महिला हिंसा, बलात्कारका घटनाहरु आउने गरेको गीताले बताइन् । बलात्कारमा पनि आफ्नै नातेदारबाट भएका छन् भने कतिपय अवस्थामा विवाह गर्ने शर्तमा बलात्कार भएपछि उनीहरुबाट जन्भिएका बच्चालाई स्वीकार नगरेको अवस्था छ । यसमा कुमारी आमाको दर्दनाक अवस्था छ भने अर्काेतिर उनीहरुबाट जन्मिएको बच्चाको विचल्ली भएको अवस्था छ । यस्ता बिजोग अवस्थाका किशोरी आमा र बच्चाको सहयोग जुटाउने मात्र होइन आफैले पालनपोषण गरेर धेरैको उद्धार समेत गरेकी छन् । कतिपय यस्ता किशोरीहरु आत्महत्या गर्नबाट समेत जोगाएर पुर्नजिवन दिएकी छन् ।

आफुसँग भएसम्म सहयोग गर्छिन् र नभएर कुनै संघसंस्थामा पठाउने तथा सहयोगी निकाय खोजेर भएपनि पीडितलाई व्यवस्थापन गर्दै आएकी छन् । ‘मानव सेवा भन्दा ठूलो धर्म केही छैन’उनी भन्छिन् ‘वकिल होइन सामाजिक वकिल बनेर सेवा गर्ने रहर छ’

कतिपय पीडितहरु पीडामुक्त भएपछि उनलाई भेट्न आउँछन् र भन्छन् ‘मेरा लागि हजुर नै भगवान हुनुभयो’ यतिबेला उनलाई स्वर्गीय आनन्दको अनुभव हुन्छ । भन्छिन् ‘संसारमा यो भन्दा ठूलो खुसी कहाँ हुन्छ र’ I

प्रतिक्रिया

सम्बन्धित

दिमागी शक्तिको चमत्कार : ‘एड्गार काइसि’

२१ घन्टा अगाडि ४ मिनेटमा पढिने

सिस्नुको सुप !

१ दिन अगाडि ४ मिनेटमा पढिने

नराम्रा बानी कसरी हटाउने ?

२ दिन अगाडि १ मिनेटमा पढिने