सहर बजारको समस्या समाधान गर्न जन्मिएको- लुगा धुने व्यवसाय !

लुगा धुन पानीको समस्या छ ? कामकाजीहरुका लागि समय व्यवस्थापनमा समस्या छ ? यसको समाधान के हुन सक्ला ?

दैनिक १ सय ५० देखि २०० केजि कपडा धुने काम भईरहेको छ । पहिले त कुनै दिन २० केजि आयो भने रमाउनपर्यो । अहिले खाली कुनैपनि दिन बस्नु परेको छैन । वास एण्ड आईरन प्रति केजि १ सय ५० ब्लाङकेट प्रति केजी १०० र केजी थपिदै जाँदा ५० रुपैया थप हुदै जान्छ ।

हाम्रो कथा २०७५ माघ २२ गते १७:५५

एक पटक सोचौं त काठमाडौँमा – लुगा धुन पानीको समस्या छ ? लुगा सुकाउने समस्या छ ? कामकाजीहरुका लागि समय व्यवस्थापनमा समस्या छ ? यसको समाधान के हुन सक्ला ?

चिसोमा लुगा धुन पक्कै पनि हामी धेरैलाई मन लाग्दैन । कस्तो हुन्थ्यो होला, हाम्रो मैलो लुगा लिन घरमै कोहि आईदिए । अनी सफा बनाएर घरमै ल्याईदिए ।

समस्या र समाधानको बीचमा व्यापार व्यवसाय लुकेको हुन्छ । यस्तै समस्या भोगेर, सुनेर यसको समाधानका लागि जन्मिएको व्यवसाय हो – वासमाण्डु डट कम ।

वासमाण्डु डट कमका संस्थापक मृगेन्द्र कर्ण व्यक्त गर्दछन, “म बस्ने घरमा पानीको समस्या थियो I त्यसमाथि केटाहरुलाई लुगा धुन मन नलाग्ने I १ / २ महिना सम्म लुगा नधुने बानी हुने I”

उद्यमशीलता तर्फ मृगेन्द्र कर्णको यात्रा कसरी सुरु भयो ?

जनकपुरमा हुर्केका मृगेन्द्र कर्ण उच्च शिक्षा अध्ययनका लागि काठमाडौ आए । उनका बुबा एक सरकारी संस्थानमा जागिरे थिए । प्लस टु को पढाई सके लगत्तै उनी चार्टर्ड एकाउन्टेन्ट सिए पढ्न भारत गए । उनले सुनेका थिए सिए पढ्यो भने धेरै पैसा कमाउन सकिन्छ । कुरा केहि नबुझि लहैलहैमा लागेर उनी भारत पढ्न गएका थिए । सिएको पढाई कहा सजिलो थियो र । उनले राम्रो गर्न सकेनन । ५ वर्षपछि नेपाल फर्किए ।

पढेर राम्रो जागिर खानुपर्छ भन्ने थियो उनको परिवारमा । पढाइलाई निरन्तरता दिन परिवारबाट दबाब आईरह्यो । तर उनको रुचि पढाईतर्फ मोडिन सकेन । यतिकै २ वर्ष वित्यो । न उनको पढाई अघि बढ्यो न अरु केहि काम नै भए । अब विस्तारै मृगेन्द्रलाई लाग्न थाल्यो यसरी त हुदैन । केही गर्नै पर्छ । तर गर्ने के ?

चार बर्ष अघि उनी काठमाडौँ आए । केहि त गर्छु भन्ने सपना बोकेर । यहाँको बसाईमा उनले पानी अभावको महशुस नजिकबाट गरे । नियमितजसो उनले लुगा धुने नुहाउने पानीको अभाव भोगे । यो समस्या उनलाई मात्र थिएन । यहाँका लाखौं सर्वसाधारणको नियती थियो यो ।  के यो समस्याको समाधान छैन र ? उनी घोत्लिन थाले ।

मृगेन्द्रले बुझे कि यहाँका मानिसहरुलाई लुगा धुने पानीको समस्या छ । अनि मानिसहरु यति व्यस्त छन् की आफ्नो कपडा धुने फुर्सद समेत छैन । यस्तोमा उनले लुगा धुने अर्थात लौन्ड्री व्यवसायको सम्भावना देखे । तर लगानीका लागि पैसा थिएन । व्यवसाय यसैगरी अघि बढ्छ र राम्रो नै हुन्छ भन्ने विश्वास पनि थिएन । किनकी न उनको पारिवारीक पृष्ठभूमि व्यवसायीक थियो न उनीसँग कुनै व्यबसायिक योजना । लगानी गर्न परिवार पनि हच्किए । तर जसोतसो केहि रकम जुटाए उनले ।

वासमाण्डु डट कमका संस्थापक मृगेन्द्र कर्ण थप बताउछन्, “मैले परिवारमा आफ्नो आइडिया सुनाउदा दाईले साथ दिनु भयो I साथीहरुले पनि आइडिया मन पराए I त्यसपछी, मैले आफ्नो काम स्थापना गरे I मसँग खासै लगानी थिएन् I यतिक्कैमा काम सुरु गरे I”

वासमाण्डुमा काम सुरु भयो

व्यवसायमा पैसाको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने ज्ञान पनि थिएन उनलाई । बल्ल तल्ल जम्मा गरेको पैसा संरचना निर्माणमै आवश्यक भन्दा बढि खर्च भयो । तरपनि जसोतसो एउटा मेसिन खरिद गरि २०७४ भदौमा उनले सुरु गरे वासमाण्डु डट कम ।

वासमाण्डु डट कमका संस्थापक मृगेन्द्र कर्ण थप बताउनुहुन्छ, “सुरुमा ९ / १० लाखको लगानीबाट सुरु भएको हो I संचालन खर्च (अपरेसनल कस्ट) खासै धेरै गरिन I आफ्नो लागी एउटा बाईक लिए त्यति हो I अन्य सबै संरचना निर्माणमा खर्च भयो I काम गर्ने टहरा, मेसीनहरुमा सबै खर्च लाग्यो I”

कुन लुगा कसरी धुने ? लुगा धुन कस्तो सामान कति प्रयोग गर्ने ? यस्ता ज्ञानको कमि थियो उनीसँग । सुरुका दिनमा युटुबमा राखिएका भिडियो हेर्दै उनले लुगा धुन सिके । त्यसका लागि उनले आफ्नै चिनेजानेका साथीहरुको लुगा बटुल्थे ।

यद्यपी व्यवसायिक जानकारहरुले भने कुनै पनि व्यबसाय गर्नुपुर्व राम्रो अनुसन्धान र तयारी गर्न सल्लाह दिन्छन् । लौन्ड्री व्यवसाय गर्न चाहनेले यसअघि काम गरिरहेकाहरुको अनुभवलाई सुन्नुपर्छ । व्यवसायिक सम्भावनाको अनुसन्धान पनि गर्नुपर्छ । व्यापारिक योजनाको विषयमा तयारी गर्नुपर्छ ।

अलि कम बोल्ने स्वभावका मृगेन्द्रलाई फेरी अर्को फसाद पर्यो । अव लुगा धुने कामका वारेमा ग्राहकलाई कसरी जानकारी गराउने । यसको समाधानका बन्यो अनलाईन सेवा ।

व्यवसायको सुरुवाती दिनमा ग्राहक आउदै आएनन । व्यवसाय गर्न सकिदैनकी क्या हो ? उनको मनमा चिसो पस्यो । तर सामाजिक सञ्जाललाई उनले व्यवसाय प्रवर्द्धनमा भरपुर उपयोग गरे ।

अहिले अवस्था फेरिएको छ I वासमाण्डु डट कमका संस्थापक मृगेन्द्र कर्ण थप बताउनुहुन्छ, “दैनिक १ सय ५० देखि २०० केजि कपडा धुने काम भईरहेको छ । पहिले त कुनै दिन २० केजि आयो भने रमाउनपर्यो । अहिले खाली कुनैपनि दिन बस्नु परेको छैन । वास एण्ड आईरन प्रति केजि १ सय ५० ब्लाङकेट प्रति केजी १०० र केजी थपिदै जाँदा ५० रुपैया थप हुदै जान्छ ।”

अब त दिन फेरियो । पुराना संघर्षका दिन सपनाझैं लाग्छ । अहिले त उनलाई काम भ्याई नभ्याई छ । ९ जनालाई रोजगारी दिएका छन । डिमाण्ड पुरा गर्न गाह्रो भईरहेको छ ।

वासमाण्डुले समस्या पहिचान गर्न सक्यो….

मेसिनहरु सञ्चालन समबन्धि सामान्य ज्ञान छ भने तपाईलाई वासिङ मेसिन चलाउने सम्बन्धमा पक्कै सहज हुनेछ । र, स–साना समस्याहरुमा आँफै समाधान गर्न सक्षम हुनुहुनेछ । यसका लागि वासिङ मेसिन चलाएको औपचारिक ज्ञान हुनैपर्छ भन्ने हैन । यदि तपाईसँग वासिङ मेसिन सञ्चालन सम्बन्धि राम्रो ज्ञान छ भने तपाईको व्यवसायमा हुने मर्मत खर्च पक्कै पनि कटौती हुनेछ । अथवा मेसिनको अनुभव भएका कामदार राख्नुभयो भने पनि तपाईको खर्च कटौतीमा सहयोग पुग्छ ।

लौन्ड्री व्यवसाय सुरु गर्न सामान्यतया पाँच लाख खर्च हुन्छ । अलि ठुलो परिमाणमा व्यबसाय सुरु गर्न त्यहि अनुसारको लगानी जुटाउनुपर्छ । तपाई काठमाडौं उपत्यकामा यस्तो व्यवसाय सुरु गर्न चाहनुहुन्छ भने यो सम्भावनाको खानी हो ।

लौन्ड्रीको ग्राहक को हुन सक्छन् ?

काठमाण्डु उपत्यकामा करिब १० हजार होस्टेल छन् । होस्टेलसँग नियमित सम्झौतामा तपाईले आफ्नो व्यापार प्रबद्र्धन गर्नसक्नुहुनेछ । होटल रेष्टुरेन्ट अर्को ठुलो सम्भावनाको क्षेत्र हो । होटल रेष्टुरेन्ट बाट पनि लौण्ड्री व्यापार पाउन सकिन्छ । यहाँ २० लाख भन्दा बढी बसोबास गर्दछन् । ती मध्ये तपाईसँग नियमित दुई सय ग्राहक भए भने पनि लौन्ड्री व्यवसाय मज्जाले चल्नेछ ।

नेपालका ठुला शहरहरु विराटनगर, धरान, इटहरी, जनकपुर, वीरगञ्ज, हेटौंडा, नारायणगढ, बुटवल, पोखरा, धनगढी, नेपालगञ्ज लगायतका शहरमा पनि लौन्ड्रीको व्यवसायिक संभावना राम्रो छ ।

मान्छेमा नगएर होस्टेल मात्र १० हजार छन् । यसमा सय मात्र गरे पनि हुन्छ । मान्छे त कति छन कति छन । २० लाख जनसंङख्यामा २ सय जनाले मात्र दिए भने पुग्छ नी । यो बजार घट्ने खालको होईन । लुगा धोईरहनु नै पर्ने छ ।

आदानी कसरी हुन्छ ?

डेड वर्ष देखि लौन्ड्री व्यवसाय गर्दै आएका मृगेन्द्र कर्णले यहि व्यवसायबाट गज्जबको आम्दानी पनि गर्दैछन । अनलाईन र फोनबाट लुगा धुने अर्डर आउछ । अर्डर आएपछि वासमाण्डुको डेलिभरी स्टाफ मोटरसाईकल वा गाडि लिएर घरमै पुग्छन । ग्राहकको लुगा तौलिन्छन र धुनका लागि लिएर आउछन । कपडा धोएर सुकिसकेपछि पुनः घरमै पुर्याइन्छ । यो सेवा लिनका लागि तपाईसंग कम्तिमा ५ किलो लुगा भने आवश्यक पर्छ ।

वासमाण्डुले ग्राहकको चाहना बमोजिम कपडा वास एण्ड फोल्ड, वास एण्ड आईरन गरी २ प्रकारको सेवा दिने गरेको छ । धुने र पट्याउने सेवा प्रति किलो १ सय २० रुपैयाँ र आईरन समेत गरेको प्रति किलो १ सय ५० रुपैया लिन्छ । ब्याङकेट भने प्रति किलो सय रुपैयाँ र त्यसपछि भने प्रति किलो ५० रुपैयाँ थपिदै जानेछ ।

वासमाण्डुले अहिले मासिक ४५ सय किलो लुगा धुने गर्छ । यो भनेको करिब ६ लाख रुपैयाँ बराबरको कारोबार हो ।

विद्यार्थी, सर्वसाधारण , अपार्टमेन्ट, होस्टल लगाएत वासमाण्डुको नियमित ग्राहक हुन ।

लौन्ड्री र ड्राई क्लिनिङ बीचको फरक याद राखौं

हामीले लौन्ड्री व्यवसायका सम्वन्धमा कुरा गरीरहदा तपाईलाई लागिरहेको होला लौन्ड्री र ड्राई क्लिनिङमा के फरक छ भनेर । लौन्ड्रीमा लुगा धुन केहि सस्तो पर्छ । लुगा सफा गर्नका लागि पेट्रोलियम पदार्थ प्रयोग हुने भएकाले ड्राई क्लिनिङमा लुगा धुन अलि महङगो पर्ने गर्छ । यसमा लुगा धुने प्रकृया समेत अलि ढिलो हुने गर्छ । तर सबै कपडा भने लौन्ड्रीमै धुन मिल्दैन । साधारणतया कोट, साडी, बुट्टा  भरेका लुगा ड्राई क्लिनिङमा नै धुनुपर्छ ।

 

प्रतिक्रिया

सम्बन्धित

बिजनेस लिडरको हातमा किताब !

१९ मिनेट अगाडि ५८ सेकेन्डमा पढिने

आफु र अरु बीचको सन्तुलन !

२ दिन अगाडि १ मिनेटमा पढिने

द ब्याडेष्ट म्यान अन द प्लानेट

२ दिन अगाडि ४ मिनेटमा पढिने