दुना-टपरीको व्यवसायिक उत्पादन – महिला उद्यमशीलताको एक नमुना

सुरुवातमा ५ / ७ जना रहेको यो समूह उद्योग सञ्चालन यता १३ जना पुगेका छन् । २०७१ साल यता श्रीनगरका महिलाहरु यसरी नै दुनाटपरी उद्योग स्थापना गरेका छन् । उद्योगमा १३ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । अहिले उद्योगमा दिउँसो १२ बजेदेखि चार बजेसम्म उद्योगमा टपरी बनाउने गर्दै आएका छन् ।

लक्ष्मी भण्डारी / सुर्खेत २०७५ माघ १२ गते १६:५९

औसत स्तरको जीवनशैली व्यतित गर्दै आएको साधारण नेपालीले जागिर खान के गर्नुपर्छ ? सबैको उत्तर आउँछ धेरै पढ्नुपर्छ । लोकसेवा पास गर्नपर्छ या अन्य तोकिएका प्रक्रियाहरु पार गर्नुपर्छ तर, सामान्य साक्षर महिलाले  आफुले जागिर खाने मात्र होइन अन्य व्यक्तिलाई पनि जागीर खुवाएका छन् भन्दा अनौठो लाग्ला । सुर्खेत वीरेन्द्रनगर वडा नम्वर पाँच श्रीनगरका महिलाहरुले यस्तै अनौठो काम गरेका छन् । सामान्य साक्षर महिलाहरुले उद्योग सञ्चालन गरेर अन्य व्यक्तिहरुलाई रोजगारी दिएका छन् । प्रत्येक महिना उनीहरुलाई तलव खुवाउँदै आएका छन् । महिलाहरुले सञ्चालन गरेको दुनाटपरी उद्योगमा अहिले प्रत्यक्ष रुपमा १३ जनाले रोजगारी पाएका छन् ।

चार वर्ष अघिसम्म घरभित्रको काममा मात्र सिमित महिला अहिले आफु सँगै अन्य महिलालाई पनि रोजगारी दिएपछि गाउँका अन्य व्यक्तिहरु समेत अचम्म मानेका छन् । ती मध्येकी एक हुन् नन्दा गुरुङ । केही वर्ष अघिसम्म नन्दालाई सानोतिनो घरायासी काम चलाउन पनि श्रीमानकै भर पर्नुपर्थियो । अहिले आफु मात्र होइन अन्य व्यक्तिहरुलाई समेत रोजगारी दिन पाउँदा खुसी छन् उनी । घरायासी सामान होस् या बच्चाबच्चीको पढाईको खर्च चाहियो भने श्रीमानलाई भन्नुपर्ने अवस्था थियो । घरभित्रको काममा मात्र सिमित नन्दाको जिवन आजभोली बेग्लै छ । उहाँ साँझ विहानको घरको काम बाहेक दिनभर दुनाटपरी बनाउन थालेकी छन् । जसको कारण उनले घरखर्च आफै चलाउँछिन् । ‘पहिले हातमा पैसा नहुँदा तनाव हुन्थ्यो, सानो काममा पनि अरुकै भर पर्नुपथ्र्याे’ उनले भनिन्, ‘आजभोली आफैसँग पैसा हुन्छ, दिनभर घरमा बस्नुभन्दा दुनाटपरी बनाउन थालेपछि आम्दानी हुन थालेको छ ।’

गाउँमा गठन गरेको महिला समूहमार्फत रोजगारमुलक केही काम गर्नुपर्छ भन्ने लाग्यो यो समूहलाई र दुना टपरी उद्योग सञ्चालनको लागि छलफल भयो । छलफल पश्चात उद्योग सञ्चालनको लागि जुट्यो यो समूह । रामजानकी दुनाटपरी उद्योग मार्फत यो समूह दुनाटपरी बनाउँदै आएका छन् ।

सुरुवातमा पाँच/सात जना रहेको यो समूह उद्योग सञ्चालन यता १३ जना पुगेका छन् । २०७१ साल यता श्रीनगरका महिलाहरु यसरी नै दुनाटपरी उद्योग स्थापना गरेका छन् । उद्योगमा १३ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । अहिले उद्योगमा दिउँसो १२ बजेदेखि चार बजेसम्म उद्योगमा टपरी बनाउने गर्दै आएका छन् ।

नन्दासँगै कृष्णा रोकाय पनि उद्योगमा आउँछिन् र दुनाटपरी बनाउछिन् । उनकोे दैनिकी पनि कुनै समय घरायसी कामकाज गर्नुबाहेक फुर्सदमै बित्थ्यो । तर अहिले व्यस्तता यति बढेको छ कि दिनभर उहाँलार्ई भ्याइनभ्याइ हुन्छ । रोकायको व्यस्ततासँगै आम्दानी पनि बढेको छ । टपरी उद्योग सञ्चालन गर्न थालेपछि उहाँको दैनिकी मात्र बदलिएको छैन, जीवनशैली नै फेरिएको छ ।

नन्दा र कृष्णा मात्र होाइन सोही गाउँकै हरिकला रम्तेल पनि चार वर्ष यता दुनाटपरी उद्योगमा रोजगारी पाउनुभएको छ । उद्योगमा काम गरेवापत उहाँहरुलाई प्रति व्यक्तिले मासिक रुपमा सात हजार रुपियाँ सम्म पाउने गरेका छन् । ‘दिनभर खेर जाने समय उद्योगमा रोजगारी पाएका छौ’ हरिकलाले भन्नुभयो, ‘त्यतिमात्र होइन यहाँ आएपछि दीदीबहिनीहरुसँग भेटघाट हुन्छ र सुख दुःखका कुराहरु साटासाट हुन्छ ।’ उद्योगमा आएदेखि आफ्नो जीवनमा खुुसी आएको उनी बताउँछिन् ।

उनीहरुले पातको लागि गाउँकै सामुदायिक वनसँग सम्झौता गरेका छन् । उद्योगमा ठूलो र साना दुई थरीको टपरी र दुनाहरु बनाउँछन् । ठूलो  टपरीलाई प्रति टपरी १० रुपियाँ र सानोलाई तीन र चार रुपियाँ निर्धारण गरेका छन् । त्यसैगरी प्रति दुनालाई एक रुपियाँका दरले बिक्री गर्ने गरेका छन् ।

‘दैनिक टपरी र दुनाको माग अत्याधिक छ तर पुर्याउन सकिएकै छैन ।’ हरिकलाका अनुसार दुना–टपरीको लागी बजार अभाव छैन । उहाँले भन्नुभयो, ‘व्यावसायीहरु उद्योगमै लिन आउंछन् तर सालको पातको अभावका कारण भने उत्पादन बढाउन सकिएको छैन ।’

दिनमा २ सय टपरी र ३ सय दुना उत्पादन गर्ने गरेको हरिकलाले बताउनुभयो, ‘दिनमा ५ सय दुना–टपरी उत्पादन गर्दा पनि बजारको मागलाई धान्न सकेका छैनौँ ।’

प्रतिक्रिया

सम्बन्धित

सेनाले सिकाउने विशेष ५ रणनीति !

१ दिन अगाडि ३ मिनेटमा पढिने

व्यवसायको सारथी सहकारी संस्था

२ दिन अगाडि ५ मिनेटमा पढिने
लोकप्रिय