१ करोड पुस्तक उपत्यका बाहिर भण्डारण

यसपटक पनि समयमै विधार्थीको हातमा पुस्तक

हाम्रो कथा २०७५ माघ १० गते १८:०४

जनक शिक्षा सामग्रि केन्द्र लिमिटेडले एक करोड विद्यालय पुस्तक उपत्यका बाहिरका कार्यालयमा भण्डारण गरिसकेको छ । गएको बर्ष जस्तै यो बर्षपनि नयाँ शैक्षिक सत्रमा पुस्तक अभाव हुन नदिन पुस्तकहरु प्रदेशस्तरका कार्यालयहरुमा भण्डारण गरिएको हो । विराटनगर, जनकपुर, भरतपुर, पोखरा, बुटवल, धनगढी, नेपालगञ्ज र सुर्खेत कार्यालयहरुमा पुस्तक भण्डारण गरिएको छ । वितरण प्रणालीको समस्याका कारण पाठ्यपुस्तक अभाव नहोस् भनेर केन्द्रले पुस्तक छाप्दै प्रदेश स्तरका कार्यालयमा भण्डारण गर्दै आईरहेको हो ।

आउँदो शैक्षिक सत्रका लागि २ करोड २५ लाख थान किताब आवश्यक पर्ने अनुमान केन्द्रको छ । जसमध्ये अहिलेसम्ममा १ करोड ५५ लाख किताब तयार भैसकेको छ । आगामी चैत्र दोस्रो साता भित्रमा लक्ष्य अनुसारको छपाईको काम सकिने केन्द्रले जनाएको छ । केन्द्रसँग दैनिक २ लाख किताब छाप्ने क्षमता छ । अहिले दैनिक १ लाख २५ हजार थान छपाई भइरहेको छ ।

साथै केन्द्रले उपत्यका बाहिरबाट पनि पुस्तक छपाईको तयारी गरिरहेको छ । यसका लागि नेपालगञ्जको खजुरामा पुर्वाधार निर्माण भैरहेको छ । आगामी शैक्षिक सत्रमा यहाँ बाट पुुस्तक छपाई सुरु गर्ने केन्द्रको लक्ष्य छ । पुर्वतर्फ भने ईटहरी वा विराटनगर आसपासमा जग्गा उपलब्ध गराउन केन्द्रले एक नम्बर प्रदेशलाई अनुरोध गरेको छ ।

केन्द्रले अहिले कक्षा १ देखि १० सम्मका बिद्यालय पुस्तकका साथै एसईई, ११ र १२ को प्रश्नपत्र, सिटिईभिटि अन्र्तगतका प्रश्नपत्र र उत्तरपुस्तिका छाप्ने काम गरिरहेको छ । यो बर्षदेखि ११ र १२ को पुस्तक तथा उत्तरपुस्तिकाको छपाई प्रयास भैरहेको केन्द्रले जनाएको छ ।

जनक शिक्षा सामग्रीका प्रवक्ता चित्र आचार्यले जानकारी गराउनु भयो, “हामीले स्कुल लेभलको पुस्तकहरु प्रकाशन गर्ने हो I अब कक्षा ११ र कक्षा १२ ले पनि स्कुलकै मान्यता बोक्ने भएकाले आउदो शक्षिक सत्रबाट कक्षा ११ र  १२ को पनि पुस्तक प्रकाशन गर्ने छौँ I कक्षा ११ र १२ को लागी वैशाखबाट छपाईको काम सुरु गर्छौं I श्रावणबाट शक्षिक सत्र सुरु हुने भएकाले बैशाख, जेठ र आसारको समयमा काम गर्ने छौँ I ”

प्रतिक्रिया