एउटा प्रोफेसरका निम्ति राम्रो शिक्षक भनेको उसको विद्यार्थी नै हो : युवराज संग्रौला

पुर्व महान्यायाधिवक्ता प्रा. डा. युवराज संग्रौलाको प्राध्यापनको अनुभवमा आधारीत मन्तव्य I शिक्षण क्षेत्र प्रति उनको लगाव, भोगाई र बुझाईमा आधारीत यो लेख I

हाम्रो कथा २०७५ माघ २ गते १७:३५

म आफू शिक्षक हुँ जस्तो लाग्दैन । प्राध्यापक हुँ जस्तो पनि लाग्दैन । आफूलाई विद्यार्थीको अभिभावक भएको महसुस गर्दछु । यिनीहरू अरु कसैका छोरा-छोरी हुन् जस्तो मलाई लाग्दैन । अहिले एउटै परिवार भएर बसिएको छ I त्यसैले म उनीहरू प्रति जिम्मेवार महसुस गर्छु । म बिहान ७ बजे यहाँ आउँछु; बेलुका ६/७ बजे घर जान्छु । र यो काममा मलाई पूर्ण सन्तुष्टि अनुभूति हुन्छ । पुरा समय अध्यापन मै बिताइरहेको छु I

कहिले-काहि चाहिँ मेडिकल साइन्सको प्रोफेसर अप्रेसन गर्न गए जस्तै वकालतमा जाने गर्छु ।

गुरुकुल अवधारणालाई २१ औं सताब्दीमा ढाल्ने प्रयास

म यो पेसामा आउनका निम्ति हाम्रो पुर्खाको गुरुकुल अवधारणाबाट प्रभावित भएको छु । अनि त्यही अवधारणालाई अपनाउन पनि सम्भव भएसम्म प्रयास गर्छु । जहाँ गुरुले विद्यार्थीलाई जीवन जिउने संस्कार दिन्थे, गुरुआमाले पकाउने/खुवाउने, हुर्काउने लगायत कामहरु गर्थे I

मेरो मान्यता छ कि; वकिलले फुलबारीमा बस्नु पर्छ I उसले गीत पनि गाउनु पर्छ I किन भने वकिलले सबैका पीडालाई टाउकोमा राखेर हिँड्नु पर्ने हुन्छ I त्यो अवस्थामा पनि आफूलाई खुसी राख्न सक्नु, वकिलको मुख्य चुनौती रहन्छ ।

हामीले कलेजमा नेपाल आइडल जस्तै शैलीमा सङ्गीतकारहरूलाई राखेर विद्यार्थी बिच आइडल चलाई रहेका छौ I ५/ ६ वर्ष अगाडी देखि फुटबल खेलाउन थालेका छौ । यो सबै हामीले विद्यार्थीलाई सकारात्मक शैलीबाट अगाडी बढाउन गरिरहेका हौ I

पहिला कलेज सुरु गर्दा १८ जना विद्यार्थी थिए। जो एक परिवार जस्तै भयो। विद्यार्थी सँगै हीडेउ, सँगै बसेऊ, सँगै खायौं ! कक्षामा शिक्षक, अरुबेला हामी साथी जस्तै भयौ । सानो संस्थाबाट विकास भएर आएको हुनाले त्यसरी सिकियो । म मात्र हैन अधिकांश शिक्षकले पनि यस्तै गर्छन् ।

तपाईको नेतृत्वमा कसरी पढाई हुन्छ ?

ग्रुप-ग्रुप भएर बसेका विद्यार्थीहरू; एक-एक वटा च्याप्टरको अभ्यास गर्छन् । शिक्षक भित्र हुन्छन् र दस मिनेटमा अभ्यास गरेर भित्र गएर विधार्थीले प्रस्तुति दिन्छन् I गल्ती भएको खण्डमा फेरि बाहिर आएर पूर्ण अभ्यास गर्न थाल्छन् । त्यसैले हामी व्यवहारी तवरले अभ्यास गराउँछौ । यो चाहिँ हाम्रो आफ्नै अनुभवको प्रक्रिया हो।

कलेज पढ्दा परिवारबाट छुट्टिएर बस्न नपरे राम्रो

मलाई चाहिँ पुरै आवासीय कलेजहरू पनि ठिक लागेन । किन भन्दा उनीहरू परिवारबाट एक्लिन्छन् ।  एक्लै कोठामा बस्ने बानी विकास हुन्छ ।

घरमा आमा-बुवा सँग कुरा सेयर गर्ने मौका नभएको हुनाले जीवन उपयोगी कुराहरू उनिहरूले सिक्दैनन् । एक प्रकारले परिवारमा अभाव नै भनौँ; मलाई चाहिँ आमा-बुबाले वास्ता गर्दैनन् भन्ने खालको मनोविज्ञान केटा-केटीहरूमा पैदा हुने रहेछ ।

वकिलले मनोविज्ञान पनि बुझ्न सक्नु पर्छ
कानुनमा मनोविज्ञानको पाटो बडा महत्त्वपूर्ण हुन्छ । जुन कुरा विद्यार्थीलाई बुझाउन सकिएन भने, उँ राम्रो वकिल बन्न सक्दैन । हाम्रो ठाउँमा त्यो शिक्षा प्रभावकारी बनि सकेको छैन । यसको असर बाहिर देखिन थालियो । त्यस कारण दलाली बढ्यो, भ्रष्टाचार बढ्यो ।

मेरा ८०% पास आउट विद्यार्थी शाखा अधिकृत हुँदै छन् । हामीले बाहिर कानुनी पेसाका रूपको असर त देखाउन सकेका छैनौ तर सरकारी क्षेत्र र बैङ्किङ क्षेत्रमा काम गरेर चाहिँ प्रभाव देखाएका छौ। अब यसलाई कसरी अझै समाजसँग नजिक बनाउने र अब १० वर्ष पछाडि नेपालमा कुन चाहिँ व्यवसाय भन्दा खेरि एउटै विश्वासिलो व्यवसाय भनेको कानुनी पेसा भन्ने हामी बनाउँछौ । त्यसैकारण हामी अहिले चुपचाप काम गर्दै छौ ।

म र मेरा विद्यार्थीको भावनात्मक सम्बन्ध

हिजोको मात्र घटना;  मलाई केही समय अघि संसदमा बोलाइएको थियो । मलाई फोन आयो ‘ बहस सुनवाई छ, तपाईँ आउनु पर्ने भयो।’

तब म कलेजबाट हिँड्नु पर्ने भयो। अनि विद्यार्थी के भन्छन् भन्दा खेरि “कस्तो बोर क्या, आज यो मुद्दा नभएको भए हुन्थियो I कस्तो राम्रो कुरा भइरहेको थियो।” मलाई अनुभूत हुन्छ तर गम्भीर प्रकृतिको काममा जानु बाहेक अरूमा त जाँदिन ।

मेरो एउटा सिद्धान्त के छ भने मेरो विद्यार्थीको समय काटेर प्रधानमन्त्रीले बोलाए पनि म जाँदिन । अदालत पनि जान्न । बिहेमा पनि जान्न । घरमा भात खान सम्म जान्न । किन भने १०० जना विद्यार्थी हुन्छन् र एक जनाको २ घण्टाले २०० घण्टाको बर्बाद हुन्छ । त्यसबाट मलाई के फाइदा भन्दा भोलि म मर्दा मलामी कति हुन्छन् ? रुने कति हुन्छन् ? म त यिनीहरूको दिमागमा छु । म त कहिल्यै मर्दिन । म मेरा विद्यार्थीको मनमा सधैँ भरीका लागी छु नि !

म भन्छु “हेर्नुहोस् संसदमा आएर १ घण्टा बसेको महत्त्व तपाईहरू देख्नुहुन्छ । तर तपाईहरू अहिलेका प्रशासक हो, म यो देशको भविष्य बनाइरको छु । तपाईहरूले त अहिले देश बनाउँदै हुनुहुन्छ छ कि के छ ? त्यो मलाई थाहा छैन I तर भोलि मेरा विद्यार्थीले भने देश बनाउने छन्।” यसको सकारात्मक पक्ष पनि छ नकारात्मक पक्ष पनि छ । कति निम्तामा उहाँहरूले ‘यो आउँदैन भनेर बुझेरै पठाउनु हुन्न’ ।

पुरुष वकिल भए, ऊ एक्लै वकिल हुन्छ ; महिला वकिल भए पुरै परिवार वकिल हुन्छ

मैले कानुन पढ्दा ‘नेपाल ल क्याम्पस’मा २०३६ सालको हाम्रो ब्याचमा ३०० जना विद्यार्थी थिए । त्यस मध्य, ६ जना महिला थिए ।

अहिलेको समयमा ८०% कानुनका विद्यार्थी महिला छन् I यसको मनोबैज्ञानिक असर सानो छैन । अहिले म के देख्छु भने त्यो महिलाहरूको सङ्ख्या राम्रो भएको हुनाले पहिल्लो चोटि मैले नै पढाएका ५ जना केटीहरूले आफ्नो ल फर्म  खोले । जुन नेपालको पहिलो ल फर्म हो I

एक महिला वकिन बेलुका घर फर्के पछी, परिवारसँग खाना खाँदा – उसले दिन भरी गरेका काम बारे परिवारलाई बताउछिन् I यसरी परिवारका सबैले कानुनी ज्ञान प्राप्त गर्छन् I जसले ठुलो भूमिका खेल्छ I

महिला वकिलहरुले सेवा-ग्राहिको मनका कुरा सुन्छन्

एउटा के हुन्छ भने मानिसले बाहिर हेर्ने दृष्टिकोण जे सुकै होस्,

व्यावसायिक अपराध बाहेक अन्य अपराध गरिसके पछि जुनसुकै मानिसलाई पनि पश्ताप हुन थाल्छ । उसले अपराध गरेको कुरामा सजाय पनि हुनुपर्छ तर पूर्ण उसलाई समाजमा आउने मौका नदिने भने हैन।

महिलाहरू धैर्यताका साथ सेवा-ग्राहिको कुरा मज्जाले सुन्छन् I त्यसैले, सेवा-ग्राहिले सबै आफ्नू कुरा बताउन खोज्छन् । प्राय: पुरुष छ भने उसलाई वकालतका लागी चाहिने कुरा मात्र बताए हुन्थियो जस्तो व्यवहार गर्छन् । सेवा-ग्राहिले अलिकति बोल्ने बित्तिकै रोकि दिन्छन् I

वकिलले सेवा-ग्राहिको कुरा सुनि दिए सेवा-ग्राहिले धन्यवाद दिदै भन्छन्, “मैले २ घण्टा बोले I तपाईले कसरी सुन्नु भयो? त्यसकारण म अहिले ठिकठाँउमा आए जस्तो लाग्यो।” वकिलको धर्म हो यो । कतिपय अवस्थामा उनीहरूले अपराधी र मानिसलाई छुट्ट्याएर व्यवहार गर्नु हुन्न । अपराध जीवनको एक भाग मात्र हो, मानवको अस्तित्व त्यो भन्दा धेरै माथी छ I

वकालत गर्दा शारीरिक हाउभाउ मिलाउन पनि विद्यार्थीलाई सिकाऔ

वकिलको शारीरिक हाउभाउ पनि हेरिन्छ। बलात्कारको केस बहस गरिरहेको छ एकदम हाँसी रा’छ ,ठट्टा गरी रा’छ । यो सान्धर्भिक (मेक्यानिकल) हुन्छ ? पीडितले पिडाको कुरो गर्‍यो भने वकिलको अनुहारमा पनि पीडा आउनुपर्छ ।

मुख्य कुरा हाम्रो विज्ञानले के भन्छ भन्दा एउटा रङ्गमञ्च र अदालत उस्तै हो । कलाकारले जसरी अभिव्यक्त गरी, कथाको भाव प्रस्तुत गर्छन्, ठिक त्यसरी नै केसलाई पुरै बुझेर एक्सनमा ल्याउदा खेरी प्रभावकारी हुन्छ भन्ने मेरो विश्वास छ । विशेष गरी यही कुरामा जोड दिएर विद्यार्थीलाई सिकाउँछु ।

युवराज संग्रौला भन्नुहुन्छ – म शिक्षक भएकाले नै जीवनमा निकै सन्तुष्ट छु

म ५८ वर्षको भए । अब एक-दुई वर्षमा प्रशासकको पद चाहिँ छोड्छु I पढाउन चाहिँ छोड्दिन। मैले पढाएको ३४ वर्ष भयो। मलाई लाग्छ अब २० वर्ष अझैँ पढाउछु। मैले शिक्षक भएकै कारण ‘फिलोसोफी’ (दर्शन शास्त्र) पढे I जसले मलाई र मैले अंगालेको पेसाबाट मलाई सन्तुष्टी दिएको छ I मलाई लाग्छ कि, म संसारकै सबैभन्दा सन्तुष्ट व्यक्ति हुँ I

मैले भर्खरै फिलोसोफीमा “Right to have Rights” (राइट टू ह्याभ राइट्स) भन्ने किताब लेखे। राष्ट्र विकासलाई कसरी आगाडि लैजानु पर्छ भन्ने कुरामा विकास उन्मुख मुलुकहरू – थाइल्याण्ड, भुटान, चिन, केन्या आदिको “डेबलभमेन्टको मोडालिटी” हेरेर हाम्रो विकास उन्मुख मुलुकहरूहरूको विकासको मोडालिटी के हुन्छ भन्ने एउटा विषयमा नयाँ मोडलमा फिलोसोफी नै तयार गरेको छु । त्यो अहिले विचाराधीन छ ।

विद्यार्थी मेरा सबैभन्दा ठुला गुरु हुन्  

बेलाबेला म विद्यार्थीलाई भन्छु, तिमीहरू मलाई शिक्षक ठान्छौ वास्तवमा ‘मेरा शिक्षक चाहिँ तिमीहरू हौ’। उनीहरूले २० वटा किताब पढेर प्रोजेक्ट तयार गरेर मलाई ल्याएर देखाउँछन् I अनि त्यो पढेर म किताब लेख्छु । २० वटा किताब पढ्ने फुर्सद त मलाई छैन नि ! मेरो गुरु त उनीहरू भए । जसले गर्दा एउटा प्रोफेसरका निम्ति राम्रो शिक्षक भनेको उसको विद्यार्थी नै हो।

त्यसकारण यो जिन्दगीसँग म एकदमै सन्तुष्ट छु, म मेरो काममा खुसी छु ।

लेखन: ईश्वर लुईटेल

[यो सकारात्मक कथा निर्माणमा काठमाडौं स्कुल अफ लले सहयोग गरेको छ । समाजका यस्तै अन्य सकारात्मक कथाहरु निमार्णका लागि काठमाडौं स्कुल अफ लले जस्तै तपाई पनि सहयोग गर्न सक्नुहुन्छ । समाजकै सहयोगमा समाजकै सकारात्मक कथा भन्ने हाम्रो प्रयत्न छ । आउनुहोस् हातेमालो गरौं ।]

प्रतिक्रिया

सम्बन्धित

आफ्नो लक्ष्य प्राप्तका लागी एक जुक्ति

१ भदौ , २०७६ १ मिनेटमा पढिने

अफिसियल रुपमा ‘खुशी’ !

३१ साउन , २०७६ ४ मिनेटमा पढिने