२ हजार ऋण लिएर सुरु भएको व्यवसायले, यसरी बनायो मालामाल !

जे पनि भोग्न तयार छु भन्ने हो भने यो ह्याण्डिल गर्न दिन्छु हैन भने दिन्न श्रेष्ठले श्रीमतीलाई भने । ‘जे गर्न परे पनि परोस् । सहन्छु । पैसा ह्याण्डिल गर्न दिनुस् । ’ उनले श्रेष्ठसँग अनुरोध गरिन ।

हाम्रो कथा २०७५ पुष ११ गते १७:२३

बागलुङमा जन्मिएका उद्यमी पुष्पमान श्रेष्ठ पढाइमा कहिले उत्कृष्ट भएनन् । उनको ध्यान खेल र नयाँ नयाँ विषयमा जान्थ्यो । बाल्यकालका सम्बन्धमा उद्यमी श्रेष्ठ भन्छन्, ‘मेरो बुवालाई मैले भेट्दा डेथ बेडमा हुनुहुन्थ्यो । म बुबासँग २ महिना मात्र रहे । मेरो बाल्यकाल बाजे बजू र फुपूसँगै बित्यो । मैले एसएलसी पास गर्दा मेरो घरको आर्थिक अवस्था अत्यन्तै कमजोर थियो । कमाउने कोही थिएनन् । मैले पहिलो पल्ट अञ्चलाधीश कार्यालयमा बहिदारको रूपमा काम गरे । त्यो बेलाको मेरो तलब ८५ रुपैयाँ थियो । १० रुपैयाँ मेरो खर्च राखेर ७५ रुपैयाँ घर खर्च दिन्थ्ये  । पछि अनिवार्य प्राथमिक पाठशाला कार्यक्रम अन्तगर्त सचिव सँगै ५ वटा स्कुलको हेडमास्टर भएर काम गरे । यस्तै माध्यमिक शिक्षक भएर काम गरे ।’

बिहे गरे । परिवार बढ्यो । अब उनलाई लाग्यो शिक्षक पेशाको यो पैसाले परिवार धान्न गाह्रो हुन्छ । एक जना चिनको दाइसँग सल्लाह गरे । उनी २०३७ सालमा जनमतसंग्रह आईसकेपछि काठमाडौँ आए । श्रेष्ठको परिवारलाई उनैले  कोठा दिएर बस्ने व्यवस्था मिलाइदिए ।

श्रेष्ठको व्यवसायीक यात्रा

काठमाडौँ आईसकेपछि श्रेष्ठलले जागिरकै रूपमा वरियन्टल कोल्डस्टोरमा काम गरे । यही कामलाई उनी आफ्नो जीवनको पहिलो विजनेस क्लास मान्छन् । उनी थप्छन् ‘यति खेरसम्म मलाई सामानको कति पैसा पर्छ , कति पैसामा बेच्छ भन्ने कुरा थाहै थिएन । किन्ने बानी मात्र त थियो नि । यही व्यापारले हो मलाई सिकाएको किन्ने मुल्य कति १० रुपैयाँ । कतिमा बेच्ने १३ रुपैयाँमा । ए ३ रुपैयाँ नाफा रहेछ नि ।’ उनले त्यहाँ २ वर्ष काम गरे ।

फेरी उनलाई अर्को प्रस्ताव आयो । पस्मिना व्यवसायको । स्वदेश बजारका साथै विदेशमा समेत निर्यात हुने पस्मिना व्यवसाय अघि बढाउन उनलाई तिनै दाई पर्नेले प्रस्ताव गरेका हुन । व्यवसाय सम्बन्धी केही ज्ञान नभएका उनलाई पहिला त काम अघि बढाउने आँटै आएन । तर फेरी उनलाई काम जान्न त पहिला काम गर्नुपर्छ । पौडी नखेली कसरी पौडिन आउँछ । उनले हिम्मत गरे पस्मिना व्यवसाय सुरु भयो । व्यवसाय सुरु गर्दाको क्षण अहिले पनि सम्झन्छन् श्रेष्ठ ‘आफूलाई म्यानेजिङ डाइरेक्टर भनेर पोस्ट दिएको छ । एउटा एकाउन्टेन दिएको छ । उत्पादन केही भएको छैन । काम भनेको भुवा केलाउने र सामान बनाउने हो । एकाउन्टेनलाई कुर्सीमा यतिकै बसेर के गर्ने । सामान नै बनेको छैन । आउनुस् न काम गरौँ भनेको काम नै छाडिदियो । छालाबाट भुवा निकाल्ने म आफैले , वास गर्ने काम र फिनिसिङ गर्ने काम आफै गरे । बल्ल मलाई थाहा भयो पस्मिना के हो भनेर ।’

पस्मिनाको यो उद्योग २ वर्षमा बन्द भयो । यसले श्रेष्ठलाई निकै आघात पुर्‍यायो । ६ महिनासम्म के गर्ने के गर्ने सोची छटपटीमै बित्यो । यही समयमा उनलाई आँखाको समस्या समेत भयो ।

उद्यमशीलताको यात्रा

अब जागिर खाएर के गर्ने । काठमाडौँ आएर सिकेको कुरा पस्मिना बनाउने नै हो । ‘अब हामी मिलेर एउटा पस्मिना उद्योग सुरु गरौँ । होटेल सोल्टी यही छ । पस्मिना बनेको आवाज टकर्याक ट्याक, टकर्याक ट्याक ठक ठक सुनेर ती पर्यटकहरू यहाँ आउँछन् । तान हेर्न आउँछन् । देखेपछि त हामीले बनाएको सामान बिक्री हुन्छ । उनले श्रीमतीसँग सल्लाह गरे । ’

व्यापार त गर्ने तर पैसा छैन के गर्ने । तान लगायतका केही सामान बन्द भएको पस्मिना कम्पनीबाट ल्याए । त्यसपछि २ हजार रुपैयाँ ऋण लिएर पस्मिनाको कच्चा पदार्थ किनेर काम सुरु गरे । सामान बनाएर बेचेर जे पैसा आयो त्यहीबाट ऋण तिरे । वेरेण्टल पस्मिना बन्द भयो, अव श्रेष्ठको आफ्नै नयाँ काम सुरु भयो ।

सफलताको त्यो समय

श्रेष्ठ अहिले पनि उत्साहित हुँदै सुनाउँछन् ‘ हो हामीले जे सोचेका थियौ, ठ्याकै त्यस्तै भयो । पस्मिना बन्यौ, पसलमा झुण्ड्याउथ्यौ । सोल्टीबाट पर्यटक आउथ्ये ।  फोटो खिच्थ्ये । अनि सामानको मूल्य कति हो भनेर सोध्द थिए । सय रुपैयाँ भन्यो त्यति नै दिए । भोलि २ सय भन्यो , पर्सि ३ सय, सय हुँदै ५ सयमा सल बिक्री हुने अवस्थामा पुग्यो । यो भनेको ४ सय ५० रुपैयाँ फाइदा हुन्थ्यो त्यतिखेर । यो त जिन्दगीमा नदेखेको पैसा भयो । जम्मा ४/५ सय तलबमा बसेको मान्छे  एउटा सल बेचेर ४ सय कमाउने भनेको कुरा त ठुलो भयो नि । २ वटा बेचे ८ सय भयो ३ वटा बेचे १२ सय भयो । अनि मैले भन्थे । आज त यतिको बिक्री भएको छ मासु खाने । ’

२०४६ सालसम्म त उनको पस्मिनाको व्यापार यति बढ्यो कि २०४८ सम्म आउँदा त ६ वटा पसल ठमेलमा खोले । एउटै पसलमै १ लाखको सामान बिक्री हुन्थ्यो । २०४९ सालमा जग्गा किनेर घर नै बनाए । ‘यस्तो लाग्यो अब यो पस्मिनाको जे जति छ सबै मैले नै गर्ने हो । कमाउने हो भनेर ठमेलका केही क्षेत्र त रेखाङकन नै गरे । घर बनाउने दोकान बढाउने, स्टक सामान राख्ने काम सबै यही समयमा नै भयो ।’

व्यवसाय धराशायी भएको त्यो समय

भनिन्छ, सफलताको चुचुरोमा पुग्न जति सहज छ त्यहाँ अडिरहन निकै कठिन हुन्छ । उद्यमी श्रेष्ठको व्यवसायीक यात्रामा पनि यस्तै भयो । उनले व्यवसाय बढाउने र घर बनाउने लगायतका काम एकै चोटि अघि बढाए।  व्याजमा पैसा लिए । त्यतिखेर साथीहरूले ल म सँग पैसा छ लिऊ भनेर भन्न आउँथे रे । २४ प्रतिशत देखि ३६ प्रतिशतसम्मको व्याजमा पैसा लिएका थिए उनले । जब २०५० सालमा मदन भण्डारीको मृत्यु भयो । त्यसपछि तोडफोड बन्द हडताल सुरु भयो । पर्यटक आएनन् । व्यापार ठप्प भयो । व्याजमा लिएर स्टकमा राखेको सामान बेच्न पाइएन । त्यही बिचमा ८५ लाख कमाउँदा पनि एक पैसा रहेन । ‘यसो हेरे यो पैसा कहाँ गयो भनेको त सबै व्याजमा गएछ । अब पैसै छैन । गडबड भएन । ठुलै गडबड भयो । एक पछि अर्को पसल बेचियो ।

बजारमा हिजो जसरी मलाई राम्रो भन्थे अव त्यसै गरी नराम्रोमा गनिन थाले । अव बिग्रिएकोमा गनिन थाले । ऋण दिएकाहरू घरमा आएर कचकच गर्न थाले । आफ्ना मान्छेहरू दुस्मन बन्न थाले , यसले पैसा दिएन भनेर ।’ आफ्नो व्यवसायीक असफलताको कथा सुनाउँछन् श्रेष्ठ ‘यस्तो लाग्यो अब काठमाडौँ, नेपाल बस्न सकिन्न । सबै सम्पत्ति बेचेर पनि २ करोड ऋण छ । कसरी तिर्ने । अब अमेरिका जान्छु भन्ने सोच बनाए । त्यही बेला मैले सोचे अरे यार पुष्प किन यसरी डराएको छस् । राजासँग लड्छु भन्ने मान्छे पो होस त । साथी भाईले दिएको ऋणको व्याज त दिएकै छ । अहिले दिन सक्दिन भनेर भन् न  । खाने त होइन नि । त यहि लड्ने हो I यही गरेर खाने हो भनेर आँटे  ।’

फेरी सफलतातर्फ …..

श्रेष्ठले व्यवसायमा सिर्जना भएको यस्तो परिस्थितिबाट उठाउन उनको श्रीमतीले गरेको आर्थिक व्यवस्थापनले निकै महत्व राखेको छ । पस्मिनाका सामान बनाउने र बेच्न पसलमा बस्ने उनले श्रेष्ठलाई पसलबाट बिक्री भएको सामानको पैसा कहिले १ लाख , कहिले डेढ लाख दिइनै रहेकी हुन्थिन । एक दिन उद्यमी श्रेष्ठलाई उनले सोधिन यत्रो पैसा दिन्छु यो कहाँ जान्छ ? यो कुरा मैले सबै भने भने त हार्टअट्याक भएर मर्छस् । जे पनि भोग्न तयार छु भन्ने हो भने यो ह्याण्डिल गर्न दिन्छु हैन भने दिन्न श्रेष्ठले श्रीमतीलाई भने । ‘जे गर्न परे पनि परोस् । सहन्छु । पैसा ह्याण्डिल गर्न दिनुस् । ’ उनले श्रेष्ठसँग अनुरोध गरिन ।

त्यसपछि चेक, पैसा सबै उसैको हातमा गयो । कोही मान्छे पैसा माग्न आयो भने उनले १ हप्ता पछिको मितिमा चेक दिन थालिन । पैसा माग्नेलाई २ महिना पछि दिन्छु भन्न थालिन । यसले धेरै पैसा बच्दो बच्यो ।

अनि बिस्तारै पैसा चलखेल गर्न सजिलो भयो उनलाई । यसरी पैसा म्यानेज हुँदै गयो । २०५५ सालपछि त फेरी पस्मिनाको यति बुम भयो की ६ महिनामै २ करोड ऋण तिरेर अन्य सम्पत्ति पनि जम्मा गरे आज त्यही कुरा लिएर अघि बढिरहेका छन् उद्यमी पुष्पमान श्रेष्ठ ।

प्रस्तुती: रोजिना थापा

प्रतिक्रिया

सम्बन्धित

संस्कृतिको ताज !

४३ मिनेट अगाडि २ मिनेटमा पढिने