ग्यालरीमा मात्र होइन सहरका भित्ता-भित्तामा चित्रकला !

धनीले मात्र होइन कलाको आनन्द लिने मौका त गरीबलाई पनि उत्तिकै हुनुपर्छ

हाम्रो कथा २०७५ मंसिर २९ गते १७:५७

शान्ति, खुसी, ऊर्जा, ज्ञान, स्नेह, सरलता ; यी सबैको बोधलाई कला भन्न सकिन्छ I कला र कलाकारलाई यति परिचय पर्याप्त छ  I

 

हाम्रो कथा : विभिन्न बोधि तथा अन्य चिन्ह, आकृतिहरू किन तपाईँ भित्तामा बनाउँदै हिँड्न रुचाउनुहुन्छ ?

बिमल बोलखे : एउटा मध्यम वर्गीय किसानको छोरो म ! आज भन्दा सात वर्ष अघि काठमाडौं आएको थिए। यहाँका विभिन्न ग्यालरीहरू घुम्दाखेरी; कलाकारहरूले प्रदर्शनीहरू त गरिरहनु भएको छ। जहाँ पहुँच वाला मान्छेहरू पुगेका छन्, उनीहरूले मात्र त्यो कलालाई हेरेर आनन्द लिने अथवा बुझ्ने मौका पाएका छन्। जुन कुरा देख्दाखेरि मेरो सोचमा के आहिसकेको थियो भने मैले बनाएका चित्रहरू चाहिँ सबैले देख्न पाउनुपर्छ, गरिबले पनि मध्यम बर्गिले पनि र धनीले पनि । अनि यसो बिचार गर्दै जाँदा बाटोमा चित्र बनाउँदा सबै भन्दा उपयुक्त होला जस्तो लाग्यो। अझै बढी घोत्लिएर अध्यन गर्दै जदाखेरी “पब्लिक आर्ट” चाहिँ विधा नै रहेछ।

चित्रकलामा सन् १९६० तिर सुरु भएको एउटा अभियान नै रहेछ । अझै गहिरेर अध्यन गर्नुको साथै आफ्नू समाज बुझ्न पुरै नेपालका गाउँ घुम्न थाले जसबाट आफैलाई पनि बुझ्ने अवसर पाए । जब मैले चित्र बनाउन थाले तब मेरो चित्रलाई कुनै धनी मान्छेको घरको भित्तामा मात्र नटासियोस मेरो चित्रलाई सबैले देखुन् बन्ने उदेश्यले  यसरी काम गर्न थाले।आज सर्वसुलभ रूपमा आम-समुदायसम्म आफ्ना चित्र पुर्‍याउन कै निम्ति भित्तामा नै चित्र कोर्ने गर्छु।

 हाम्रो कथा : तपाईं  आफ्नू कलालाई कसरी परिभाषित गर्न चाहनुहुन्छ ?

बिमल बोलखे : मेरो बुझाइमा त्यो मलाइ बोध भएको कुरा हो,मेरो भोगाई हो । मैले कतै पढेर,देखेर,जानेर वा सिकेको कुरालाई दृश्यमा देखाउन खोजिरहेको हुन्छु । जुन मलाइ ज्ञान भएको कुरा हो जस्तो लाग्छ ।

हाम्रो कथा : तपाईले आफ्नू बोधी चित्रबाट समाजलाई दिन खोज्नुभएको सन्देश केही छ?

बिमल बोलखे : हाम्रो समाजमा के भइरहेको छ भन्ने कुराको बोध हुन् जरुरी छ। मेरो चित्रकलाको सन्देश पनि  समाजलाई आफ्नू यथार्थता बोध होस् भन्ने नै हो।

हाम्रो कथा : अत्यन्तै सीमित आम्दानी र  महँगो बजार भाउले आज एउटा कलाकारको कलालाई कस्तो असर परिरहेको छ ?

बिमल बोलखे : यो एकदमै मनन गर्न योग्य कुरा हो। नेपालमा एकदमै जटिल छ । जसमा धेरै पक्षले असर गरिरहेको छ । सबैभन्दा प्रमुख कारण चाही राजनीतिक अस्थिरता नै हो । कला भन्ने कुरा कहाँ चाहिँ फल्छ-फुल्छ भन्दा, जहाँ मान्छेका इक्षा-आकांक्षाहरु वा आधारभूत आवश्यकताहरूले पूर्णता पाइसकेका छन् । हामी कहाँ त त्यो हुन सकेको छैन । अर्को चाहिँ हामी कहाँ एकदम पुराना पाठ्यपुस्तक छन्। जुन कुराले एकदमै असर पारेको छ ।

हाम्रो कथा : कहिले देखि यसरी भित्ताहरूमा चित्र कोर्दै हिँड्न थाल्नु भएको ? यो अन्तरालमा यहाँलाई  मिलेका उत्साह र सङ्घर्षका क्षण सम्झिनु पर्दा ?

बिमल बोलखे : राम्रो पक्ष चाहिँ के भयो भने मैले मेरो वरिपरि एकदमै सहयोगी हातहरू पाए। मैले सुरुका दिनहरूमा बाटोमा चित्र कोर्दा सामाग्रीहरू दिने मानिसहरू पाउँदा पनि धेरै प्रेरणा मिल्थियो। चुनौतीको विषयमा भन्दा; घुम्दै जाँदा जन-मानसमा कला प्रतिको एउटा अवधारणा चाही राम्रो नभएका कारण उहाँहरुको नकारात्मक प्रतिक्रियाहरूको सामना गर्नु पर्थ्यो।

हाम्रो कथा : काठमाडौँ बाहेक कहाँ-कहाँ आफ्नू कलाको प्रदर्शन गर्नु भएको छ?

बिमल बोलखे : मुस्ताङ्ग पनि भर्खरै पुगे। त्यस बाहेक कामकै लागि स्थानीय युवाहरू तथा विभिन्न एन.जी.वो लगायतको निमन्त्रणामा म खरे, इलाम, बिराटनगर,धादिङ लगतका ठाउँ पुगेको छु।

हाम्रो कथा : तपाइको चित्रकला ‘बोधी आर्ट’ले के अर्थ दिन्छ?

बिमल बोलखे : यसका चाहिँ चरणहरू छन्। सुरुमा रेखाहरूको प्रयोगबाट मात्रै चित्रहरू बनाउँथे, बोधी ज्ञानलाई नै म चित्रबाट उतार्ने गर्छु र अहिले  चाहिँ म क्यालीग्राफीमा चित्र बनाइरहेको छु। मेरा व्यक्तिगत, मलाई ज्ञान भएका ,मैले आर्जन गरेका कुराहरूलाई रेखा र चिन्हको मध्यमद्वारा देखाउँछु। र अहिले म रञ्जना लिपि; जुन चाहिँ नेपालको आफ्नो एउटा वास्तविकपन हो। यही अन्तरगत केही कामहरू गर्दैछु।

हाम्रो कथा : यहाँको बुझाइमा कलाको विषयमा आम मानिसले के बुझ्नु जरुरी छ जस्तो लग्छ?

बिमल बोलखे : एकदम प्रस्ट रूपमा सबैलाई भन्नु पर्दा, कला भनेका ती कुराहरू हुन; जसले मान्छेलाई मान्छेकै (छाया) दर्पण दिन्छ। अनि यसमा चाहिँ जन-मानिस भन्दा पनि नेतृत्व वर्गले कस्तो अवधारणा फैलाउने र कलाकारहरूले कस्तो अवधारणा समाजमा छर्ने भन्ने कुराले महत्त्वपूर्ण राख्छ जस्तो लाग्छ। त्यसपछि नै आम-समक्ष त्यो कुरा पुग्छ अनि त्यसैलाई उनीहरूले आफ्नू अवधारण बनाउँछन् जस्तो मलाई लाग्छ। मान्छेको अनुहार बनाउने मात्र चित्रकार हैन।

हाम्रो कथा : तपाईले पाएको अहिले सम्मकै धेरै पारिश्रमिक जसले तपाईलाई काम प्रति अझै मेहनत गर्न प्रोत्साहन मिल्यो I त्यस्तो क्षण छ?

बिमल बोलखे : ठ्याक्कै रकम नै त म भन्न चाहन्न। मैले एउटा काम गरेको थियो जुन १५ फिटको थियो। त्यो नै मेरो अहिले सम्मको ठुलो काम र बढी पारिश्रमिक पनि पाएको काम हो।

हाम्रो कथा : प्रश्नमा समेत्तिन नसकेको तर तपाईलाई भन्न मन लागेको केही छ?

बिमल बोलखे : एउटा कुरा के भन्छु भने नेपाली कला क्षेत्र एकदमै आशा लाग्दो छ। आज यहाँ अहिलेका कलाकारहरूले गर्न चाहेको खण्डमा धेरै गर्ने कुराहरू छन्। हामी कहाँ अहिले अवसरहरू एकदमै छन्। केही चुनौती पनि छन् तर त्यो भन्दा धेरै अवसरहरू नै छन्। केवल व्यक्तिगत स्वार्थ बाट उठेर हेरौँ। आफ्नू दायित्वलाई बुझौँ अनि आफूले पाएको या सिकेको कुरा सबैलाई बाँड्न सिकौँ।

प्रस्तुती: ईश्वर लुईटेल

प्रतिक्रिया

सम्बन्धित

स्वस्थ रहनका निम्ति !

८ भदौ , २०७६ १ मिनेटमा पढिने

आफ्नो लक्ष्य प्राप्तका लागी एक जुक्ति

१ भदौ , २०७६ १ मिनेटमा पढिने
लोकप्रिय