अाखिर को थिए सुकरात, कसरी बने दार्शनिक ?

सुकरातको भिन्न सोचलाई एथेन्स सहरका अन्य बासिन्दाले सुन्ने बुझ्ने गर्न थाले । प्रजातन्त्रलाई प्रश्न गर्न थाले । यसैकारण एथेन्सको न्याय सभाले समाजको युवा वर्गलाई बहकाएको भन्दै सुकरातलाई मृत्यु दण्डको माग गरे । सजाय ५२ प्रतिशतको बहुमतबाट पारित भएको थियो । सुकरातले दण्ड स्वीकार गरे ।

हाम्रो कथा २०७५ असोज १ गते १६:३२

सुकरात प्राचीन युनानका एक महान् दार्शनिक हुन् । उनलार्इ दर्शन (philosophy) का महारथी नै मानिन्छ । सुकरातलार्इ पश्चिमी सभ्यताका पिताका रूपमा समेत लिने गरिन्छ । सुकरात ईसापूर्व 469 मा एथेन्समा जन्मिएका दार्शनिक हुन् । आजको २१ औं शताब्दीका मानवले सुकरातबाट के सिकेका छन् ? दुर्इ चारवटा गाँठो पारेर राख्न मिल्ने ज्ञान छन्, जुन हामीले २१ औं शताब्दीमा मात्र होइन हाम्रा आउँदो पुस्ताहरुलाई पनि हस्तान्तरण गर्नुछ ।

सुकरातले आफ्नो पूरा जीवन ग्रीसको एथेन्स सहरमा बिताएका थिए । त्यतिबेलाको समयलाई एथेन्सको गोल्डेन एज (Golden Age) मानिन्छ । त्यसै बेला नै थुप्रै कला, संकृति, विज्ञान, गणितका खोजी अनुसन्धान भएका थिए ।

१) सुकरातबाट ‘माया’ को पाठ

सुकरात भन्छन्, उनलाई मायाको बारे जे-जति थाहा छ, एक डायतामा नामक ज्ञानी युवतीबाट सिकेका हुन् । माया न आत्मीय हुन्छ, न शारीरिक हुन्छ । न राम्रो हुन्छ, न त सुन्दर हुन्छ । माया भनेको त्यो भाव हो जब तपाई कुनै वस्तुको खोजी, व्यक्तिको खोजी वा ज्ञानको खोजीमा लाग्नुहुन्छ । त्यो, खोजमा सायद खोजेको वस्तु, व्यक्ति, ज्ञान प्राप्त नहोला, तर माया प्राप्त हुन्छ ।

२) सुकरातको ‘शिक्षा शैली/ज्ञान प्राप्ति’मा योगदान

सुकरातले प्रतिपादन गरेको ‘Socratic Questioning’ वर्तमान समयमा शैक्षिक सत्रमा निकै प्रयोगमा आएको छ ।  सुकरातले एथेन्स सहरका बासिन्दालाई आफ्नो मूल्य-मान्यतालाई प्रश्न गर अनि बल्ल आफ्नो समस्याको समाधान आफैं पत्ता लगाउन सक्छौं भनेर सिकाएका थिए । त्यसैकारण, आजको वैज्ञानिक अनुसन्धानमा पनि अहिलेसम्म एक मान्यता (hypothesis) अघि सार्ने र सो मान्यता (hypothesis) कति सहि वा गलत छ भन्ने प्रणालीबाट नै संसार अघि बढिरहेको छ ।

सुकरातको प्रश्न गर्ने शैली ‘Socratic Questioning’ धेरै जसो विद्यालयका बालबालिकालार्इ पढाउने शैलीमा पर्न गएको छ । आफूले जाने बुझेको कुरालाई आफै प्रश्न गर्ने शैलीले अाफूसँग भएकाे ज्ञान झनै खारिदै जान्छ ।

३) सुकरात र प्रजातन्त्र (democracy) को अभ्यास  

सुकरातले प्रजातन्त्र (democracy) लाई पनि निकै मज्जाले प्रश्न गरेका थिए । उनले प्रजातन्त्रलाई एउटा ठूलाे पानीजहाजसँग तुलना गरे । यदि त्यो जहाजमा केहि आपत आईपर्यो र जहाज डुब्न लाग्यो भने जहाजलाई बचाउने जिम्मा कसलाई दिने :-

पहिलो विकल्प, ती जहाजमा रहेका सीमित बुद्धिजीवी प्रतिनिधिहरुलाई दिने ?

दोश्रो विकल्प, जहाजमा रहेका मिश्रित हुललाई दिए जहाज पक्कै बच्ला ?

प्रजातन्त्रको अभ्यासमा के भई रहेको भने समाजका मिश्रित हुलले सीमित प्रतिनिधिको निर्णय चयन गर्छन् । तर, ती व्यक्तिले आफ्नो जीवनको अन्य निर्णय पनि आफै लिएका हुँदैनन् । त्यसैले निर्वाचनमा मत हाल्न, निर्णय लिने सीप/तालिम सर्वसाधारणलाई दिए मात्र, प्रजातन्त्र सफल हुन्छ । तर,  निवाचनमा मत हाल्ने, निर्णय गर्ने अधिकार जन्मसिद्ध दिदाँ प्रजातन्त्रको सिद्धान्तले खोजेको परिणाम आउँदैन भन्ने भनाई सुकारतको थियो । आजको युगसम्म पनि हामी यो विषय मनन् गर्दैछौं ।

सुकरातको भिन्न सोचलाई एथेन्स सहरका अन्य बासिन्दाले सुन्ने बुझ्ने गर्न थाले । प्रजातन्त्रलाई प्रश्न गर्न थाले । यसैकारण एथेन्सको न्याय सभाले समाजको युवा वर्गलाई बहकाएको भन्दै सुकरातलाई मृत्यु दण्डको माग गरे । सजाय ५२ प्रतिशतको बहुमतबाट पारित भएको थियो । सुकरातले दण्ड स्वीकार गरे । हेमलक नामक विषालु बोटको विष पिएर मृत्यु स्वीकार गरे ।

४) सुकरात र समाज

सुकरातले न्याय सभाले लगाएको आरोप किन स्विकार गरी विष पिए ? यसमा अर्को रोचक र हामीले सिक्न योग्य ज्ञान छ । सबै विचारलाई प्रश्न गर्ने व्यक्तिले आफूलाई लगाएको आरोपमा चाँहि किन प्रश्न नगरेका त?

सुकरात सधै आफूलाई समाजको एक प्राणी मान्थे । समाजका अंगहरुसँगै अघि बढ्नुपर्छ, सँगै काम गर्नुपर्छ भन्ने मान्यताअनुसार समाजको एक भाग बनेर बसेका थिए । त्यहि समाजको एक अभिन्न अंगले मृत्युदण्डको सजाय घोषणा गरेपछि त्यो जस्तो भए पनि स्वीकार गर्नुपर्छ भनेर उनले विष पिए । समाजको स्तर जस्तो छ, व्यक्तिगत भोगाईको स्तरपनि त्यसैले निर्धारण गर्छ भन्ने आफ्नो दर्शनबाट प्रभावित सुकरातले मृत्यु सजिलै स्वीकार गरे ।

सुकरातले आफैं केहि पनि लेखेर भविष्यका सन्ततिलाई ज्ञान छोडेका थिएनन । सुकरातका मौलिक सिद्धान्त र ज्ञान उनका एक शिष्य प्लेटो (Plato) ले सुकरातसँगको संवादका अाधारमा जे विषय उतारेका थिए, हामीले त्यहि पढ्ने र बुझ्ने अवसर पाएका हौं ।  

समग्रमा यति पढेपछि अब सुकरातको एक प्रसिद्ध वाक्य मनन् गर्न सकिन्छ I उनी भन्छन्, ‘सत्य ज्ञानको अवस्था तब प्राप्त हुन्छ, जब मलाई बोध हुन्छ कि मलाई केहि ज्ञान नै भएको छैन ।’ यो अनुभुती भएपछि बल्ल हामी ज्ञानी सिद्ध हुन्छौं ।

प्रतिक्रिया

सम्बन्धित

विदेशीलाई टक्कर दिँदै नेपाली जुत्ता

१७ घन्टा अगाडि ४ मिनेटमा पढिने

सफलताले नै पछ्याएपछि के लाग्ने र’छ र

२ दिन अगाडि ३ मिनेटमा पढिने