घुम्ने–घुमाउने, पैसा कमाउने !

माथिल्लो मुस्ताङ, छुसाङ भ्याली, गेटवे मुस्ताङसम्म लैजान्छौं । मुक्तिनाथसँगै एक्सप्लोर लोअर मुस्ताङ छ, धौलागिरी ग्ल्यासियरको मुनी सेकङ लेक, टिटी लेक भन्ने छुट्टै मज्जाको ठाउँ छ । पर्यटकको बजेट र समय हेरेर एकै ठाउँमा धेरै कार्यक्रम पनि गर्न सकिन्छ ।

हाम्रो कथा २०७५ भदौ २८ गते १७:१७

नयाँ ठाउँ घुम्ने र आनन्दले रमाउने रहर धेरैको हुन्छ । त्यसैले त कामको थकाई मेटाउन र शरीरमा नयाँ उर्जा प्राप्त गर्न मान्छेहरुले नयाँ नयाँ ठाउँ घुम्ने योजना बनाउँछन् ।

तर, यहि यस्ता व्यवसाय पनि छन्, जसले बर्षैभरी घुम्ने योजना बनाउँछन् र घुम्दै, घुमाउँदै त्यँहिबाट राम्रो आम्दानी पनि गरिरहेका हुन्छन् ।

नेपाल पर्यटकीय आकर्षणका दृष्टिले ठूलो सम्भावना भएको देश हो । नेपालका कतिपय क्षेत्र वर्षैभरी पर्यटकको आवगमन हुने ठाउँ छन् ।

त्यति धेरै गर्मी र असाध्यै जाडो पनि नहुने भएकाले कात्तिकसम्मको मौसम घुमफिरका लागि निकै उपयुक्त मानिन्छ । तर घुम्न जाने ठाँउबारे पर्याप्त पूर्व जानकारी नपाउँदा कहिलेकाँही रमाइलोको स्थानमा हैरानी पनि बेहोर्नुपर्ने हुनसक्छ ।

पहिला–पहिला ‘टुर अपरेटर’ हरुले विदेशी पर्यटकलाई लक्षित गरि प्याकेज नै बनाएर घुमाउन लैजाने गर्थे । केही समयदेखि भने स्वदेशी पर्यटकका लागि पनि यस्तो कार्यक्रम सुरु भएपछि घुम्न जानेले अनावश्यक झण्झट बेहोर्नु पर्दैन भने व्यवसाय पनि मज्जाले चल्ने रहेछ ।

जसबाट अब यस्तै प्याकेज लिएर विभिन्न रमणीय ठाँउ बिना झन्झट, आनन्दले रमाईलो गर्दै घुम्न सकिन्छ । यो पर्यटन व्यवसायमा केही नयाँ अवधारणा ल्याएको छ, घुम्नजाउँ डट कमले ।

यसका सञ्चालक निर सरु भन्छन्, ‘मान्छे घुमाउने पैसा कमाउने हाम्रो उद्देश्य नै हो । कतिपयले हामीलाई घुम्ने र घुमाउने फरक हो भन्छन् । तर म घुम्दा जत्तिकै घुमाउँदा पनि रमाइलो गर्छु । केही समस्या जहाँ पनि हुन्छ । घुम्ने मौसम भन्दा फरक समयमा घुम्नुपर्छ र नयाँ ठाउँ खोजी गर्नुपर्छ । हाम्रो घुमाईचाँहि अध्ययनमा आधारित हुन्छ ।’

हो, यसलाई यसैगरी पनि बुझ्न सकिन्छ । घुम्ने, अरुलाई घुमाउने अनि पैसा कमाउने । नयाँ नयाँ ठाउँमा घुम्न पनि पाईने, पैसा पनि कमाईने । कति गज्जबको व्यवसाय ।

व्यवसायको नाम पनि काम जस्तै गज्जब छ, घुम्नजाउँ डट कम । नामकै कारण आफू र आफ्नो व्यवसायको परिचय गराउँन उनलाई निकै सजिलो भयो ।

कम्पनीको नाम मन छुने खालको थियो । दुई वर्षअघि व्यवसाय सुरु गर्दाको क्षण सम्झिदा अहिले पनि उत्तिकै हौसिन्छन्, निर सरु । उनले बजारमा कसरी जाने भन्ने बारेमा एउटा ब्रोसर तयार पारे ।

उनी सम्झन्छन्, ‘त्यसपछि क्याम्पस र व्यापारिक क्षेत्रमा गयौं । म घुम्नजाउँबाट आएको हो भन्दा ल घुम्न जाउँ, कहाँ जाने त भनेर धेरै मान्छेहरु हाँस्थे । उनीहरुको दिमागमा छोइहाल्ने नामले हामीलाई झनै सहज भयो ।’

अहिले घुम्नजाउ डटकमले १ सय ५० गन्तव्य पहिचान गरेर आफ्नो व्यवसाय चलाइरहेको छ । पर्यटन बोर्डलगायतका निकायले पहिचान गरेका क्षेत्रहरु पनि छन् । हरेक वर्ष ५ वटा नयाँ नयाँ गन्तव्य उनीहरु आफैंले पहिचान गर्छन् । एउटै स्थानमा पनि फरक फरक गन्तव्य बनाएर पर्यटक लक्षित कार्यक्रम गरिहेका छन् ।

उनी भन्छन्, ‘म पनि नगएको क्षेत्रलाई हामी खोज्छौं । पर्यटन बोर्डले खोजी त गरेकै छ । तर पछिल्लो अवस्था कस्तो छ, बाटो कस्तो छ भन्ने कुरा थाहा पाउनुपर्ने हुन्छ । माथिल्लो मुस्ताङ, छुसाङ भ्याली, गेटवे मुस्ताङसम्म लैजान सक्छौं । मुक्तिनाथ भनेको सामान्य स्थान भइसक्यो । मुक्तिनाथसँगै एक्सप्लोर लोअर मुस्ताङ छ, धौलागिरी ग्ल्यासियरको मुनी सेकङ लेक भन्ने छ, टिटी लेक भन्ने छुट्टै मज्जाको ठाउँ छ । उनीहरुको बजेट र समय हेरेर हामीले एकै ठाउँमा पनि धेरै कार्यक्रमहरु अफर गर्छौ ।’

यसरी पर्यटक घुमफिर गराएवापत आउने रकमबाट नै उनीहरुले कार्यालय व्यवस्थापनदेखि नयाँ नयाँ पर्यटकीय गन्तव्य परिचानमा खर्च गर्छन् । आगामी वर्ष ५ हजार विदेशी तथा स्वदेशी पर्यटक घुमाउने उनीहरुको लक्ष्य छ । कमाईलाई हिसाब गर्ने हो भने यो वार्षिक ५० लाख आम्दानी हो ।

उनीहरुले ५ हजार ५ सयदेखिको पर्यटन प्याकेज विक्री गर्छन् । स्थान र समयअनुसार कम्पनीका प्याकेजहरु फरक फरक छन् । आगामी वर्ष ५ हजार पर्यटक घुमाउनका लागि ७ जना टुरिष्ट गाइड हरेक समयमा तैनाथ भएर बस्नुपर्ने हुन्छ ।

घुम्नजाउ डट कम सुरु गर्ने निर सरुले पर्यटन व्यवसाय सुरु गरेको धेरै भएको छैन । पर्यटन व्यवसायमा जोडिएको भने एक दशक पुग्यो । पोखरामा माध्यमिक तहको पढाई सकेर स्नातकको पढाईका लागि उनी काठमाडौं छिरे । उनले विद्यार्थी जीवनदेखि नै ट्राभल तथा ट्रेकिङमा काम सुरु गरे ।

जागिरे जीवनमा उनी रमाउन सकेनन् । त्यहाँभित्र रहेको दायरा उनलाई मन परेन । सन् २०१३ मा अन्य ३ जनासँग मिलेर रिफ्लेक्सन हिमालयन टुर्स एण्ड ट्राभल्स सुरु गरे । कामले राम्रोसँग गति लिन नपाउँदै शक्तिशाली भूकम्पले क्षतविक्षत पार्यो ।

पर्यटन व्यवसायका कतिपय क्षेत्र त तहसनहस नै भए । उनीहरुले वर्षमा मुस्किलले २–३ वटा काम पाए । यसले व्यवसाय चल्ने अवस्था भएन । साथीहरु आत्तिए र अब काम गर्न सकिदैन भन्ने अवस्थामा पुगे ।

उनीहरु विदेश जाने विकल्प सोच्न समेत थालिसकेका थिए । तर फेरि मनले मानेन । एक पटक त यहि केहि गर्नेपर्छ । उनी सम्झन्छन्, ‘भूकम्पपछि व्यवसाय राम्रो नचल्दा साथीहरुमा आलस्यता आयो । हामी सक्दैनौं, साथ दिन्छौं भन्न थाल्नुभयो र सबै शेयरहरु फिर्ता गरेर मैले आफैंले यो सुरु गरेको हो ।’

उनलाई एकदिन ट्रेकिङमा जाँदा पाएको शिक्षाले उद्यमी बन्न प्रेरित गरिरह्यो । त्यतिबेला उनी दुई जना रसियन पर्यटक लिएर जाँदै थिए । उनीहरु श्रीमान् श्रीमती थिए । श्रीमान् हिड्न सक्ने, श्रीमती चाँहि हिड्न नसक्ने थिए ।

उनीहरुलाई हेरचाह गर्दा गर्दै उनी आफैंलाई गाह्रो भइसकेको थियो । उनी भन्छन्, ‘हाम्रो पेशामा रिसाउने कुरा भएन र हाँसेरै कठिन समय गुजारेँ । त्यसबाट नै मैले यो सबै कुरा उमेर छँदा मात्रै त रहेछ नि भन्ने सिकिसकेको थिएँ ।’

उनले साथीहरुसँग सल्लाह गरे । साथीहरुले काम नै गर्ने निधो दिएनन् । सहयोग चाँहि गर्ने वचन दिए । अनि उनले एक्लै काम थाले । अफिस ठमेलवाट नक्साल सारे । नक्सालमा कोठा पाउन निकै गाह्रो थियो । तर उनले भूकम्पले कोठा खाली भएको त्यो अवसर उपयोग गरे । भूकम्प गएको मौकामा कोठा भाडामा लिएर दुई महिना यत्तिकै राखे ।

निकै मेहनत गरेर कम्पनीको नाम र लोगो तयार पारे । पहिले विदेशी पर्यटक केन्द्रित व्यवसाय गरेका उनले स्वदेशी पर्यटक पनि घुमाउन थाले । यसरी काम गर्दा उनले पहिले सिकेको अनुभवले राम्रो काम गर्यो । पर्यटनका सम्बन्धमा पनि अरु यस्तै निकायले गर्ने भन्दा भिन्न प्रकारको काम गरे ।

उनीहरुले विभिन्न प्याकेज दिएर आन्तरिक पर्यटकलाई विभिन्न पर्यटकीयस्थल घुमाउन लैजान्छन् । एक गु्रपमा कम्तिमा ७ देखि १ सय २० जनासम्मको समूह लैजान्छन् । नेपाली पर्यटक उनको व्यवसायको ७० प्रतिशत बजार बनेका छन् ।

भ्रमणका सम्बन्धमा व्यक्तिगत, समूहगत र पारिवारिक प्याकेज उनले दिन्छन् । अबको ५ वर्षमा पक्कै बजार बढ्नेछ । यो क्षेत्रमा काम गर्न त्यतिधेरै जटिलता छैन । तर खट्न चाँहि पर्ने रहेछ । उनले यति बुझेका छन् ।

[यो सकारात्मक कथा निर्माणमा महालक्ष्मी विकास बैंक लिमिटेडले सहयोग गरेको छ । समाजका यस्तै अन्य सकारात्मक कथाहरु निमार्णका लागि महालक्ष्मी विकास बैंक लिमिटेडले जस्तै तपाई पनि आर्थिक सहयोग गर्न सक्नुहुन्छ । समाजकै सहयोगमा समाजकै सकारात्मक कथा भन्ने हाम्रो प्रयत्न छ । आउनुहोस् हातेमालो गरौं ।]

प्रतिक्रिया

सम्बन्धित

जमरा जुसको चमत्कार !

१७ घन्टा अगाडि ३ मिनेटमा पढिने

यसरी बनाउनुस् स्वादिलो फिस एन्ड चिप्स

१७ घन्टा अगाडि ५८ सेकेन्डमा पढिने

विश्व प्रख्यात व्यक्तित्व, उल्लेखनीय योगदान

१८ घन्टा अगाडि १ मिनेटमा पढिने