सीतालाई जनकपुरमा मात्र राख्ने की लंका पनि पुर्याउने ? पर्यटनमन्त्री रबिन्द्र अधिकारीको अन्तरवार्ता

भ्रमण वर्ष २०२० भन्दा अघिनै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई २४ सै घण्टा चल्न सक्ने बनाउछौ । गर्नुपर्ने मर्मत गर्नेछौ । भैरहवा एयरपोर्ट सञ्चालनमा ल्याउने छौ । सडकवाट आउने पर्यटकलाई पनि सजिलो अवस्था बनाउनेछौ । होटल रिसोर्टहरुलाई पनि व्यवस्थित गर्ने गरी काम अघि बढाउने वातावरण तयार गर्दैछौं ।

हाम्रो कथा २०७५ भदौ २२ गते १५:२२

पछिल्लो समय खस्केको पर्यटकको संङख्या यो वर्ष निकै बढेको छ । यो कसरी सम्भव भयो ? सरकारले पर्यटनको क्षेत्रमा नयाँ के कस्ता योजना कार्यान्वयन गर्दै छ ? पर्यटन वर्ष २०२० को तयारी कसरी हुदैछ ? यस्तै विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीसंग रोजिना थापाले गरेको कुराकानीको संम्पादित अंश ।

रविन्द्र अधिकारी
मन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

प्रश्नः विमष्टेक सम्मेलनमा सहभागि हुन आएका विशिष्ट व्यक्तित्वहरु हाम्रो धार्मिक तथा सांस्कृतिक महत्वका स्थानमा घुम्न जानुभयो । यसले नेपालको पर्यटन क्षेत्रलाई कसरी सहयोग गर्छ ?

उत्तरः मलाई लाग्छ म्यानमार तथा श्रीलंकाका राष्ट्रपति लुम्बिनी पुग्नु, भारतका प्रधानमन्त्री तथा श्रीलंकाका राष्ट्रपति पशुपति पुग्नु, विभिन्न राष्ट्राध्यक्षको परिवार पाटन दरवार स्क्वायर पुग्नु र नेपालको धार्मिक, साँस्कृतिकसंगै प्राकृतिक पर्यटनको चासो राख्नु, विमष्टेक सम्मेलनमा पर्यटन सम्वन्धि छलफल हुनु यि सवै कुराले नेपालको पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेलेको छ ।

विमष्टेकको अर्को महत्वपूर्ण कुरा पर्यटन क्षेत्रको विकासका लागि एक आपसको अन्तरसम्बन्ध हो । पर्यटन विकासका लागि विमष्टेकवाट के गर्न सकिन्छ भन्ने सम्वन्धमा पनि छलफल भएको छ । यसले पर्यटकमा बढोत्तरी हुने र पर्यटन क्षेत्रमा मिलेर काम गर्ने कुरा अगाडी आएको छ ।

प्रश्नः विमष्टेक सम्मेलनको घोषणापत्रले ‘बुद्धिष्ट सर्किट’ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । यसको कार्यान्वयन कसरी अघि बढ्छ ?

उत्तरः बुद्धसंग जोडिएका विभिन्न पवित्रस्थलहरु लुम्बिनीभन्दा बाहेकका स्थानहरुमा पनि छन । यो भनेको बुद्धिष्ट कनेक्टिभिटिवाट बुद्धसंग अध्ययन गर्न चाहनेहरुले पनि सवै ठाउँमा पुग्न सक्ने भए । त्यहाको पर्यटकिय विकास पनि हुने भयो । यसमा एक देशमात्र छैन । अन्य देशपनि भएकाले सबैदेशले मिलेर गर्नुपर्छ । यसले बुद्धलाई बुझ्न, चिन्न र प्रबद्र्धन गर्न सहयोग पुग्छ र यो धार्मिक पर्यटनको महत्वपूर्ण पूर्वाधार हुनेछ । त्यसकारण यो विषय अघि देखिनै उठ्दै आएको हो । यसपटक यो सर्किटलाई प्रभाबकारी बनाउने भनेका छौ ।

अव यसको कार्यान्वयनको कुरा गर्दा केहि पत्राचार र पूर्वाधारका काम अघि बढि सकेका छन । २ महिना अघि भारत र नेपालको दुई पर्यटन मन्त्रालय स्तरीय बैठक भएको थियो । यसमा पनि यो सर्किट निर्माणको सुरुवात नेपालको लुम्बिनी अर्थात बुद्धको जन्मस्थलवाटै हुन्छ भन्ने भयो । यसपछि यो सर्किटलाई फाईनल गर्ने, यसका गन्तव्य र ति स्थानमा आवश्यक पूर्वाधार निर्माण गर्ने र यसलाई औपचारिक रुपमा अघि बढाउने तयारी गरेका छौ ।

प्रश्नः नेपाल र भारतबिच ‘रामायण सर्किट’ बनाउने सहमित पनि भएको थियो नि । यो सम्वन्धि काम के भईरहेको छ ?

उत्तरः यो बुद्धिष्ट सर्किट र रामायण सर्किट हामीले नै अघि सारेका विषय हुन । रामायण सर्किटमा अयोध्यासंग जनकपुर जोडने कुरा हो । तर यसमा अयोध्या र जनकपुर मात्र होईन, किनभने सीता लंकामा पनि पुगेको छ । त्यसैले सीतालाई जनकपुरमा मात्र राख्ने होईन श्रीलंका पनि जोड्नु पर्छ । त्यसैले सबैजोडेर रामायण सर्किट निर्माण गरौ भन्ने हाम्रो प्रस्ताव छ । यसका लागि अयोध्या र जनकपुर जोड्नेगरी गाडी र अरु पूर्वाधार निर्माण त अघि बढेको छ । यो रामायण सर्किट पनि प्रभावकारी रुपमा अघि बढ्नेछ । यसमा दुईदेश विचको परराष्ट्र मन्त्रालय विच बुद्धिष्ट सर्किट र रामायण सर्किटलाई प्रबद्र्धन गर्ने सहमति बनेको छ । यसमा काम अघि बढाएका छौ ।

प्रश्नः सन २०२० लाई भ्रमण वर्षका रुपमा मनाउदै छौ । यसको तयारी कसरी भईरहेको छ ?

उत्तरः यसको प्रबद्र्धनको काम अघि बढेको छ । कुटनीतिक नियोग र अरु ठाउँहरुमा पनि संवाद र कार्यक्रमहरु अघि बढेका छन । पूर्वाधारको तयार पनि गरिहेका छौ । यो भ्रमण वर्षभन्दा अघि नै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई २४ सै घण्टा चल्न सक्ने बनाउछौ । भैरहवा एयरपोर्ट सञ्चालनमा ल्याउने छौ । सडकवाट आउने पर्यटकलाई पनि सजिलो अवस्था बनाउनेछौ । होटल रिसोर्टहरुलाई पनि व्यवस्थित गर्ने गरी काम अघि बढाउने वातावरण तयार गर्दै छौ ।

गन्तव्य फराकिलो बनाएका छौ । पहिला काठमाण्डौ, पोखरा र चितवनमा घुमेको पर्यटन अव देशभरी फैलिदै आएको छ । प्रगतिको कुरा गर्दा जुलाई महिनाको मात्र कुरा गर्ने हो भने ७३ दशमलब ५ प्रतिशत पर्यटक बढेको छ । तर यस अघि पर्यटक को हुन भन्ने धेरै पहिचान थिएन । तथ्यांक पनि स्पष्ट थिएन । त्यसले गर्दा सडकवाट आउने पर्यटक, हवाई जहाजबाट आउने पर्यटक र आन्तरीक पर्यटक गरी छुट्याएका छौ । आन्तरीक पर्यटक नै ५० लाख भएको अनुमान छ । हाम्रो पर्यटन धानेकै आन्तरीक पर्यटनले हो । सडकवाट आउने पर्यटक १२ लाख छन । साढे १० लाख भारतवाट र डेढ लाख बंगलादेश, चीन लगाएतका देशवाट आएका छन ।

जहाजबाट आउने पर्यटक अघिल्लो वर्ष ९ लाख ४० हजार छन । मलाई लाग्छ अब यो सवैमा बढोत्तरी हुनेछ । २० लाख पर्यटक भनेको ठाउँमा २५ लाख भन्दामाथि २०२० मा पुग्छ ।

प्रश्नः पर्यटकको बढोत्तरीसंगै पूर्वाधार निर्माण पनि आवश्यक छ । यसका लागि मन्त्रालयले कस्ता कस्ता क्षेत्रमा के काम गर्दैछ ?

उत्तरः पर्यटन पूर्वाधार निर्माणका हिसावले हाम्रो क्षमताले भ्याएसम्म साधन स्रोतलाई वढि भन्दा बढि प्रयोग गरेर मुख्य पूर्वाधार निर्माणको काम धेरै अघि बढाउछौ । यसले जहाज थप भएको छ । एयरपोर्ट बनिरहेको छ । सम्पदाको पूनः निर्माण तिव्र रुपमा अघि बढाएका छौ । धेरै पूनः निर्माण सम्पन्न भएका छन । प्रबद्र्धनको काम भईरहेको छ । प्याकेज निर्माण गर्ने र संसार भर फैलाउने काम गरिरहेका छौं । विभिन्न एक्सपोमा हाम्रो उत्पादनलाई वाहिरसम्म फैलाउने काम गरेका छौ । यसले नेपालका केहि विशेषताहरु देखिएका छन ।

नेपाल वाहृ्ै महिना पर्यटनका लागि ठिक छ । यहाको संस्कृति आफ्नै प्रकारको छ । यसले पर्यटकलाई लोभ्याएको छ । केहि कमजोरी हाम्रा होलान तर पनि त्यसलाई पन्छाएर हाम्रा राम्रा कुरा प्रस्तुत गर्दै पर्यटन क्षेत्रमा अघि बढ्छौ ।

प्रश्नः नयाँ गन्तव्यको खोजी गर्ने भन्नुभएको छ । पुरानै गन्तव्यमा पनि आवश्यकता बमोजिम पूर्वाधार निर्माण नभएको अवस्थामा नयाँमा पूर्वाधार निर्माण कसरी हुन्छ ?

उत्तरः नयाँ गन्तव्यको अध्ययन गरीरहेका छौ । अवको २० दिनजतिमा यो निक्र्याैल भएर आउँछ । त्यसको कतिपयको गुरुयोजना बनेको छ । कतिपय बन्दैछ । यसमा नयाँ एक सय गन्तव्य सहित अहिले भईरहेको गन्तव्यलाई पनि व्यवस्थित गर्ने काम गर्नेछौ ।

प्रश्नः २०२० मा २० लाख पर्यटक भित्र्याउने भन्यौ । तर यस अघि भएका यस्तै प्रकारका कार्यक्रममा लक्ष्य पुरा भएको छैन । यसमा कसरी हुन्छ लक्ष्य पुरा ?

उत्तरः यसमा पर्यटक कसलाई मान्ने भन्ने कुरा छ । यसअघि हाम्रो पर्यटकको तथ्याङ्क व्यवस्थित थिएन । अहिले नै पर्यटक आउने संङख्यामा ७५ प्रतिशत बढिरहेको छ । हाम्रो पूर्वाधार थप भएपछि यसमा अझै बढ्नेछ । त्यसले गर्दा हामी सजिलै यो लक्ष्य पुरा गर्न सक्छौ । यसमा पर्यटकको नम्वरमा मात्र पनि नजाऔं । पर्यटकको गुणस्तरीयतामा जाऔं । यसले कुल गार्हस्थ उत्पादनमा बढि भन्दा बढि योगदान गर्न सक्ने प्रकारले हेर्दै छौ । बढि भन्दा बढि रोजगारी सिर्जना गर्ने र मुलुकको आम्दानीमा सहयोग गर्ने पर्यटनमा हामी जादैंछौ ।

प्रश्नः ‘माउन्टेन टुरिजम’लाई महत्व दिन किन आवश्यक छ ?

उत्तरः यसमा के छ भने संसारमा हिमाल त होला तर नेपालको जस्तो अर्को कहि छैन । यो हाम्रो ‘युनिक’ हो । यसमा कसैले पनि प्रतिस्पर्धा गर्न सक्दैन । यसको आकर्षण पनि धेरै छ । यसले गर्दा जति हिमालबाट हामीले आय आर्जन गरीरहेका छौ । अरु हिमाल पनि खुल्ला गर्नुपर्छ । नामाकरण गर्नुपर्यो । त्यस अनुसारको जनशक्ति पनि तयार हुनुप¥यो । त्यसपछि हिमाली क्षेत्रको पर्यटन बढ्नेछ । हिमाल हाम्रो युनिक विशेषता भएकाले यसको प्रबर्दनमा मेरो विशेष जोड रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित

अल्छी – सृजनशीलताको प्रतिबिम्ब !

१६ घन्टा अगाडि २ मिनेटमा पढिने

बिजनेस लिडरको हातमा किताब !

३ दिन अगाडि ५८ सेकेन्डमा पढिने