फोहोरबाट ग्याँस, ९ सयमै एक सिलिण्डर

अहिले हाई कम्प्रेस गरी सिलिण्डरमा भरेर ग्याँस बिक्री वितरण भइरहेको छ । रामग्राम नगरपालिकाका बजारमा तत्काल पाइपलाइनमार्फत घरघरमा ग्याँस पुर्याउने लक्ष्य छ ।

हाम्रो कथा २०७५ भदौ १८ गते १७:२०

इन्भिपावर एन्ड फर्टिलाइजर प्रा.लि.को फेसबुकबाट  

प्रति सिलिण्डर ९ सय रुपैयाँमा ग्याँस, त्यो पनि नेपालमा नै अनि यही उत्पादन भएको । पत्याउनुभएन ! अब पत्याउनुहोस् । नवलपरासीको शुक्रौलीमा रहेको इन्भिपावर एन्ड फर्टिलाइजर प्रा.लि.ले खाना पकाउने ग्याँसको उत्पादन सुरु गरेर बेच्न थालेको छ ।

भारतले नेपालमाथि २०७२ मा नाकाबन्दी लगाउँदा सबैभन्दा बढी ग्याँसको नै हाहाकार भयो । ‘नाकाबन्दीमा ग्याँसको अभाव देखेर नेपालमा नै ग्याँस उत्पादन गर्ने सोच आयो,’ इन्भिपावर एन्ड फर्टिलाइजर प्रा.लि.का कार्यकारी निर्देशक अभिरथ अग्रवालले भने, ‘अहिले हामी दैनिक १५ सय किलोग्राम बायोग्याँस उत्पादन गर्न थालिसकेका छौं ।’

यसमा कम्पनीलाई जर्मन कन्सलटेन्टले पनि सहयोग गरेका छन् । अनि यसका लागि मेसिन भने भारत, जर्मनी, अस्ट्रेलियालगायतका देशबाट ल्याइएको हो ।

इन्भिपावर एन्ड फर्टिलाइजर प्रा.लि.को फेसबुकबाट

उद्योगका कार्यकारी निर्देशक अग्रवालका अनुसार पहिलो चरणमा यसरी उत्पादन भएको ग्याँस परासीका स्थानीय तथा भैरहवामा औद्योगिक प्रयोजनका लागि र होटलहरुमा बिक्री गरिदै आएको छ ।

उनले भने, ‘अहिले सिलिण्डरमा भरेर ग्याँस बिक्री भइरहेको छ । रामग्राम नगरपालिकाका बजारमा तत्काल पाइपलाइनमार्फत घरघरमा ग्याँस पुर्याउने लक्ष्य छ ।’

यो ग्याँस भारतबाट आयातित एलपी ग्याँसभन्दा निकै सस्तो र वातावरणमैत्री पनि छ । वातावरणका लागि खराब मानिने कार्बनडाइअक्साइड नियन्त्रण गरेर स्वच्छ हावा बनाउन पनि यसले सहयोग पुगेको छ ।

बायोग्याँसका लागि कुहिएर खेर जाने वस्तु कच्चा पदार्थ हो । स्थानीयस्तरबाट फोहोर संकलन गरिन्छ भने कुखुराको सुली, चिनी मिलको छोक्रा, गोबरआदि वस्तु बायोग्याँस उत्पादनका लागि प्रयोग हुन्छ ।

इन्भिपावर एन्ड फर्टिलाइजर प्रा.लि.को फेसबुकबाट

उद्योगले १५ बिघा जग्गा भाडामा लिएर मकै खेती पनि गरिरहेको छ । यसैलाई कुहाएर कच्चा पदार्थ बनाउने उद्योगको योजना छ । बजारमा उपलब्ध हुने एलपी ग्याँस विस्थापन गर्ने उद्देश्यले नै बायोग्याँस उत्पादन सुरु गरिएको अग्रवालले बताए । त्यसैले यो ग्याँस भारतबाट आउने एलपी ग्याँसभन्दा करिब ४ रुपैयाँ सस्तो छ ।

यो ग्याँसको एलपी ग्याँसभन्दा हिटिङ पावर २५ प्रतिशत बढी हुने भएकाले थोरै ग्याँसले धेरै समय पुर्याउन सकिन्छ । उद्योगमा करिब ४ हजार घनमिटरको प्लान्ट निर्माण गरिएको छ । ग्याँसका अतिरिक्त यहाँबाट दैनिक १२ टन जैविक मल पनि उत्पादन हुन्छ ।

फोहर पदार्थ र गोबरबाट ग्याससहित कम्पोस्ट मल बनाउन सकिने भएपछि प्लान्टमा लगानी गरेको अग्रवाल बताउँछन् । मेम्रेन प्रविधिबाट सञ्चालन हुने प्लान्टबाट ५० प्रतिशत ग्याँस उत्पादन हुन्छ । अनि त्यसलाई प्रशोधन गरिन्छ । यसपछि ९५ प्रतिशत ग्याँस हुन्छ ।

इन्भिपावर एन्ड फर्टिलाइजर प्रा.लि.को फेसबुकबाट

फोहोरबाट ग्याँस उत्पादन हुने प्लान्ट निर्माणपछि स्थानीयबासी पनि खुसी बनेका छन् । यसले स्थानीयलाई रोजगारी दिएको छ भने फोहोरबाट आम्दानी पनि हुने गरेको छ ।

हालैमात्र यो बायोग्याँस प्लान्टको जनसंख्या तथा वातावरण मन्त्रालयका सचिव प्रकाश माथेमा, वैकल्पिक ऊर्जा प्रवद्र्धधन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धिताल तथा वैकल्पिक ऊर्जाका प्राविधिकसहित ७ जनाको टोलीले स्थलगत निरीक्षण समेत गरेको छ ।

वेस्ट इनर्जी अर्थात फालिएको कुहिने फोहोरबाट ऊर्जा निस्किने भएकाले यसको उत्पादनमा सहजता पनि छ । नवलपरासीको शुक्रौलीमा प्लान्ट निर्माण सम्पन्न भई गत मार्चदेखि उत्पादन सुरु भएको छ । स्याङ्जाको पुतली बजारनजिकै प्लान्ट निर्माण कार्य सम्पन्न भएको छ । पोखरा, चितवन र धरानमा पनि प्लान्ट निर्माणको प्रक्रिया अघि बढिसकेको छ ।

 

[यो सकारात्मक कथा निर्माणमा सनराइज बैंक लिमिटेडले सहयोग गरेको छ । समाजका यस्तै अन्य सकारात्मक कथाहरु निमार्णका लागि सनराइज बैंक लिमिटेडले जस्तै तपाई पनि आर्थिक सहयोग गर्न सक्नुहुन्छ । समाजकै सहयोगमा समाजकै सकारात्मक कथा भन्ने हाम्रो प्रयत्न छ । आउनुहोस् हातेमालो गरौं ।]

 

 

तपाईसँग पनि यस्ता कथा छन् ? यदि छन् भने हामीलाई लेखेर पठाउन वा टेलिफोन नम्बर ०१४२६००८९, या इमेल [email protected] मार्फत जानकारी गराउँन सक्नुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित

नेपालमा पनि “फरेष्ट थेरापी”!

२ घन्टा अगाडि २ मिनेटमा पढिने