यसरी हुर्काऔं अबका बालबालिका

हामीले बालबालिकाका लागि निर्णय गरिदिनैपर्ने अवस्थामा म के चाहन्छु भन्दा पनि बालक के चाहन्छ, उसले चाहेको कुरा पाउने तरिका के–के छन्, बुझेर मात्र गर्नुपर्छ, त्यसो गर्दा हामी बच्चाको आवश्यकता र चाहनाभन्दा बाहिर गएर कुनै पनि निर्णय गर्दैनौ ।

कृपा आचार्य २०७५ साउन १ गते १६:४२

बालबालिकाहरु कौतुहलताले भरिएका हुन्छन् । उनीहरुले कुनै काम बिगारे भने पनि अधिकांसले गाली होइन माया नै गर्छन् । हामी बालकलाई किन यति धेरै आत्मीय ठान्छौं होला ? के उसका ठूलाठूला सपनाको संसारमा रमाउने बानी नै हो त हामीलाई मोहित बनाउने, या उसमा हुने गरेको कौतुहलता र अबोधपनाले हो हामीलाई उनीहरुको क्रियाकलापमा भुल्याउने ?

सायद यी अनि थुप्रै अरु कुराले नै बालकलाई हामी माझ प्रिय बनाएको छ । प्रिय बनाउँदै, उसलाई सही बाटोतिर हिँडाउन प्रोत्साहित गराउने भूमिकामा समावेश गराएको छ । कहिले परिवारको हिस्साको रुपमा त कहिले विद्यालयको, कहिले समाजको हिस्साको रुपमा त कहिले मानवको । अनेक रुपले हामीलाई बालकको जीवनमा प्रत्यक्ष र अप्रत्यक्ष रुपले समावेश गरिनै रहेको हुन्छ । फृउड, पियाजे, ब्यान्डुरा, भिगोस्कीलेजस्ता मनोवैज्ञानिकले पनि बालकलाई जीवनका सिपहरुमा पोख्त बनाउन उसका नजिकका सम्बन्धहरु र वातावरणले अत्यन्तै महत्वपूर्ण भूमिका खेल्ने गरेको उल्लेख गरेका छन् ।

हामी सहि नियत राखेर, बच्चाहरूलाई अनेक सल्लाह र सुझाव दिने गर्दछौं, केहि सिकाउछौँ, अनि थोरैले केही सिक्छौं । अझ हाम्रो समाजमा त हामी बाच्चाको हरेक निर्णय लिने जिम्मेवारी समेत आमाबुवाको हो, भन्ने बुझ्छौं । जिम्मेवारी लिनु, बच्चाको वास्ता गर्नु, उसको चिन्ता गर्नु जस्ता कुरा असल अभिभावकमा हुनुपर्ने विशेषता पनि हुन् ।

तर जिम्मेवारी पूरा गर्दैगर्दा कहिलेकाही नजानिदो तरिकाले हामी, बच्चाहरूलाई सुझाव दिन भन्दा कर गर्न तिर बढी प्रयत्न गर्दछौं । उसको भलाईको लागि परिवारले गरिदिने गरेको, सरल तथा जटिल निर्णय पछाडिको कारणहरु पनि प्रायः हामी बच्चालाई बुझाउन जरुरी ठान्दैनौं । सरल निर्णय जस्तै कुन लुगा लगाइदिने, घुमाउन कहिले लग्ने जस्ता कुरा देखि जटिल निर्णय जस्तै कुन विषय पढाउने, बच्चालाई घरमा राख्ने कि होस्टेलमा राख्ने जस्ता कुराहरुले, बालबालिकाको जीवनलाई आकार दिने काम गर्दछ ।

उनीहरुले संसारलाइ बुझ्ने तरिका, सहि र गलत बुझ्ने तरिका साथै उनीहरुको व्यक्तित्वको विकासमा यी विभिन्न निर्णयहरुले अनुकुल तथा प्रतिकुल असर पारिरहेको हुन्छ । यस्तै केही सिक्दै गरेका, सपना देख्दै गरेका बालक, ‘दिवस’ संगको कुराकानी मेरो जिज्ञासामा प्रकाश छर्ने काम गर्यो ।

पोखरा, घर भएका ‘दिवस’ तीक्ष्ण बुद्धिका छन् । उनी घरका दुई सन्तान मध्येका कान्छो छोरा हुन् । जो कक्षा ४ मा पढ्दैछन् । उनी उद्देश्य भविष्यमा डाक्टर बन्नु हो । भविष्यमा डाक्टर बन्न चाहनुको कारण मैले सोधिनसक्दै उनले भने, ‘ममीले सधैं डाक्टर बन्नुपर्छ, डाक्टर बन्नुपर्छ भनिराख्नु हुन्छ त्यसैले ।’

उनले फेरि थपे, ‘तर मलाई वकिल मन पर्छ । मलाई म्याथ पढ्नै मन लाग्दैन । तर मेरो म्याथमा पनि राम्रो आउँछ ।’ मैले अझै बढी उसलाई बुझ्न चाहने हेतुले सोधेँ, तिमीलाइ डाक्टर बन्न र बनिसकेपछि के–के गर्नपर्छ थाहा छ ? ‘खै साइन्स पढ्नपर्छ अनि पछि बिरामीलाइ औषधि दिने हो ।’ मैले फेरि सोधें, वकिल बन्न नि ? उनले भने, ‘पहिला पुलिसले आरोपीलाई समात्छ । अनि त्यो मुद्दा बनेपछि अदालतमा जान्छ । कालो कोट लगाउँछ वकिलले अनि केहि वर्ष काम गरेपछि त्यो हम्मरले अर्डर अर्डर गर्न नि पाइन्छ ।’

म सोच्न थालेँ, पक्कै पनि डाक्टर र वकिल बन्न चाहिने कुराको केहि जानकारी अनि आफू के कुरा गरेर बढी खुसी हुन्छु भन्ने कुराको अन्दाज यो बच्चालाई छ । तर आफूलाइ मन्पर्ने कुरा गर्दा, कुनै पनि क्षेत्रमा मान्छे उत्कृष्ट भएर निस्कन सक्ने कुराको विश्वास पर्याप्त मात्रामा उसमा छैन । म सोचिरहे, दिवस त एउटा उदाहरण हो, हाम्रो समाजको । उ जस्तै हजारौं बालबालिका आफ्नो सपना र परिवारको सपना बिचको पर्खाल देखेर अन्योलमा होलान् । कोहि बालबालिका आमाबुवाले लिएको निर्णय पछाडिको परिवर्तन अंगाल्न नसकी आफूलाइ सारा जीवन एउटा पर्दाभित्र लुकाएर बाँचिरहेका होलान् । कोहि भने आफ्नो सपना बिर्सिएर बाँच्न परेकोमा जिउने कला भुलाइ रहेका होलान् ।

आजसम्म बालबालिकालाई हुर्काउँदा जे गल्ती भईरह्यो । हामीले बालबालिकालाई सहजै बुझ्न सक्छौं भन्ने अन्धविश्वासले भयो होला, हाम्रो आज्ञानताले भयो होला, त्यो समयमा अरु उत्कृष्ट हल निकाल्न नसकेर भयो होला । साथै कति गल्ती हाम्रो सपना पूरा गर्ने एउटा मात्र माध्यम हामीले बालबालिकालाई बनाइरहँदा भयो होला । पहिलाको समाजमा बालापनको महत्व कमैलाइ थाहा थियो, जीवन जिउँने आधार खोज्ने बाटाहरु कम थिए, पछि गएर अंगाल्न सक्ने पेशाहरु आजको तुलनामा कम थिए । त्यसैले बालबालिकाको विकासका लागि धेरै गर्न सकिएन ।

तर अब हामी जस्ता चौतर्फी ज्ञान बटुल्ने, जीवनमा खुसी भएर बाँच्नुपर्छ भन्ने विश्वास राख्ने, जीवनलाई सार्थक बनाउनुपर्छ भनेर सोच्ने पुस्ताले बालबालिकालाई गरिने व्यवहार र हुर्काइने तरिकामा परिवर्तन ल्याउन आवश्यक छ । हामीले बालबालिकाका लागि निर्णय गरिदिनैपर्ने अवस्थामा म के चाहन्छु भन्दा पनि बालक के चाहन्छ, उसले चाहेको कुरा पाउने तरिका के–के छन्, बुझेर मात्र गर्नुपर्छ, त्यसो गर्दा हामी बच्चाको आवश्यकता र चाहनाभन्दा बाहिर गएर कुनै पनि निर्णय गर्दैनौ ।

बालबालिकालाई सिकाउने भन्दा पनि बढि सुनिदिने गर्नपर्छ, केही सिकाउनै परेमा, त्यो क्रियाकलाप गर्न पछाडिको कारण पनि भन्ने ग¥यौं भने उनीहरुमा चेतनाको विकास हुनेछ । बालबालिकाको सपनामा कुनै पनि किसिमको घेरा नलगाई, उसलाइ हामीले निःस्वार्थ रुपमा अपनाउनुपर्दछ । र अति आवश्यक कुरा भने हामीले आफ्नो सपना पूरा गर्ने बाटो, सानो बालबालिकालाई बनाएर उसको सपना कुल्चिने प्रवृत्तिको अन्त्य गर्नुपर्छ, उनीहरुलाइ आफूजस्तै अर्को मानवको दर्जामा राखेर व्यवहार गर्नुपर्छ । यसो गरेमा हामी बालबालिकाको जीवनलाई न्याय गरी उसको जीवनको उद्देश्यतर्फका बाटाहरु खोलिदिनेछौं, जसमा उसले अर्को पेले बन्न सक्ने, अर्को बुद्ध बन्न सक्ने, अर्को आइन्स्टाइन बन्न सक्ने, अर्को लक्ष्मीप्रसाद देवकोटा बन्न सक्ने, अर्को लता मंगेस्कर बन्न सक्ने, अर्को सुशीला बन्न सक्ने बिश्वासका साथ सिढी बनाउने छन र त्यसमा चढ्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित

अंग्रेजी किताब, नेपाली सारांश

५ असोज , २०७६ १७ सेकेन्डमा पढिने

आशा, उत्शाह र उत्सबको एक वर्ष !

१ साउन , २०७६ २९ सेकेन्डमा पढिने
लोकप्रिय