‘बक्स अफिस’बाट कसलाई कति फाइदा ?

हलहरुले फिल्मको वास्तविक कमाई निर्माता र वितरकहरुलाई नदेखाउँदा कुन हलमा कतिको टिकट बिक्री भयो भन्ने जानकारी हुदैन थियो ।

विजय सुवेदी, काठमाडौं २०७५ जेठ ९ गते १६:४३

नेपालमा धेरै लामो समयदेखि बहसको विषय थियो, ‘बक्स अफिस’ । कतिपयले त बक्स अफिस भनेको राम्रोसँग बुझेकै पनि थिएनन् । आधा शताब्दीबाट उकालो लागिसकेको नेपाली फिल्मी क्षेत्रमा निर्माता र वितरकहरुले बक्स अफिस लागू नहुँदा आफूहरु सधैं नै ठगिने गरेको गुनासो गर्दै आएका थिए । हलिउड र बलिउडलगायत अन्य देशमा बक्स अफिस नौलो कुरा नभएपनि नेपालमा चलचित्र निर्माताहरुको लामो प्रयासपछि बक्स अफिस लागू हुने भएको हो ।

आगामी साउन १ गतेबाट उपत्यकाभित्र र माघ १ गतेबाट उपत्यका बाहिर पनि बक्स अफिस लागू हुने भएपछि निर्माता र वितरकहरुमा खुसियाली छाएको छ ।

बक्स अफिस के हो ?

बक्स अफिस भनेको सामान्य भाषामा भन्दा फिल्म हेर्न हलमा प्रवेश गर्ने टिकट पाउने सानो स्थान हो । यसलाई बक्स अफिस भनेर सन् १७८६ मा नामाकरण गरिएको हो । धेरै समय पहिले नाटक मञ्चन हुने थिएटरबाट प्रभावित भएर बक्स अफिसको अवधाराणा ल्याइएपनि यसले मान्यता भने करिब २०० वर्षपछि मात्रै पायो ।

चलचित्रले कमाएको वास्तविक कमाइको विवरण देखाउने प्रणाली पनि हो, बक्स अफिस । यो प्रणाली जडान भएपछि कुन हलमा कति टिकट बिक्री भयो, आधिकारिक तथ्यांक लिन सकिन्छ । यसअघि चलचित्र हलहरुले फिल्मको वास्तविक कमाई निर्माता र वितरकहरुलाई नदेखाउने गरेको गुनासो रहँदै आएको थियो । तर बक्स अफिस लागू भएपछि कुन हलमा कतिको टिकट बिक्री भयो भन्ने अनलाइनमा नै देखिने भएकाले हल सञ्चालकहरुले लगानीकर्तालाई झुक्याउन सक्तैनन् र चलचित्रको वास्तविक कमाई देखिनेछ । आफ्नो प्रत्येक शोको पूर्ण विवरण निर्माता तथा वितरकले घरमै बसेर थाहा पाउन सक्नेछन् ।

अर्कोतर्फ यसले निर्माताहरुलाई पनि बाँध्ने छ । किनकी फिल्म निर्माताहरुले आफ्नो चलचित्रलाई ‘हिट’ (राम्रो व्यापार गरेको) चलचित्रका रुपमा देखाउन बढाईचढाई चलचित्रको व्यापारको हल्ला गर्ने गर्थे । जबकी वास्तविक व्यापारको आँकडा देखाउने पद्धति नै थिएन । यस्तो अवस्थामा कि त उनीहरुले पाएको पैसा फिल्मले कमाएको मानिन्थ्यो, कि त हलवालाले दिएको हिसाब नै उनीहरुको चलचित्रको कमाई हुन्थ्यो । अब बक्स अफिस लागू भएपछि भने चलचित्र क्षेत्रको कमाई प्रस्ट हुने भएको छ ।

कसरी सुरु भयो ?

बक्स अफिस भारत, बक्स अफिस मोजो, कोईमोई, शो बिज डाटा र नम्बरहरूमा धेरै चलचित्रहरूको विस्तृत जानकारी पाइन्छ । पुराना फिल्महरूको जानकारी कम भेटिन्छ । जसका अधूरो तथ्यांकका रूपमा बक्स अफिसका रसिदहरू छन् । बक्स अफिसबारे कसरी वास्तविक जानकारी प्रदान गर्ने भन्ने विषयमा विभिन्न देशहरुमा खोज सुरु भयो ।

यद्यपि विभिन्न प्रकाशनहरुमा बक्स अफिसका तथ्यांक प्रकाशित गरेको छ । विशेष गरी अमेरिकामा गरिएको खोज र नियमित रिपोर्टिङले अमेरिकी चलचित्रबारे विस्तृत जानकारी प्रदान गर्छ र भविष्यमा पनि चलचित्र क्षेत्रबारे जानकारी राख्नेका लागि महत्वपूर्ण स्रोत बन्छ ।

सन् १९३० को दशकदेखि विभिन्न प्रकारका प्रकाशनहरुमा वर्षको सबैभन्दा बढी कमाउने, सबैभन्दा बढी अवार्डहरु जितेका उत्कृष्ट चलचित्रहरुको विवरण राख्न सुरु गरिएको थियो । सन् १९४६ मा सर्वाधिक बढी कमाएका फिल्महरुको सूची प्रकाशित भएको थियो । जसमा अमेरिका र क्यानडाका फिल्महरुले मात्रै ४० लाख अमेरिकी डलर कमाएका थिए । ति देशका बक्स अफिसले वार्षिक रुपमा जनवरीको प्रकाशनमा अध्यावधिक गरिएका ५० वर्षका उत्कृष्ट फिल्महरुको सूची प्रकाशित गर्छ ।

बक्स अफिस किन आवश्यक ?

नेपालको चलचित्र क्षेत्रमा लगानी गरेका निर्माताहरु डुबेका र फिल्म हलवाला मालामाल भएका धेरै उदाहरण पाइन्छ । साधारणतया फिल्म हलमा लागेपछि हलवालाहरुले आम्दानीको २५ प्रतिशत राख्छन् भने फिल्म निर्माता र वितरकलाई ७५ प्रतिशत दिने गर्छन् ।

तर बक्स अफिस लागू नभएका कारण कति टिकट बिक्री भएको हो भन्ने वास्तविक तथ्यांक हलवालालाई बाहेक अरु कसैलाई जानकारी हुँदैन थियो । जसको सिधा असर फिल्म निर्माताहरुलाई पर्ने गरेको छ । फिल्मको कमाईमा तलमाथि नहोस् भनेर निर्माताहरुले हिसाब राख्नका लागि आफ्ना सदस्य फिल्म हलमा नै खटाउने गरेका थिए । तर अब बक्स अफिस लागू भएपछि अनलाइन डाटाको माध्यमबाट फिल्मको कमाईको सम्पूर्ण जानकारी प्राप्त हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित

अंग्रेजी किताब, नेपाली सारांश

५ असोज , २०७६ १७ सेकेन्डमा पढिने

आशा, उत्शाह र उत्सबको एक वर्ष !

१ साउन , २०७६ २९ सेकेन्डमा पढिने
लोकप्रिय