जनकपुरलाई कसरी बेच्ने ? यस्तो छ आइडिया

हामी जनकपुर ऐतिहासिक भनिरहेका छौं, तर के अर्थमा यो ऐतिहासिक हो र संसारभरका मानिस किन जनकपुर आउने भन्ने अमूर्त कुरालाई मुर्त गर्नुपर्छ, त्यसलाई लिखित बनाउनुपर्छ ।

रोजिना थापा २०७५ जेठ ३ गते १६:५९

प्राचीन मिथिलाको राजधानी जनकपुरधाम ऐतिहासिक, धार्मिक र पुरातात्विक हिसाबले नेपालको प्रशस्त पर्यटकीय सम्भावना बोकेको स्थान हो । हिन्दू धर्मअनुसार अयोध्याका राजा दशरथका छोरा राम र मिथिलाका राजा जनककी छोरी सीताबीच विवाह समारोहको आयोजना भएको पवित्र धार्मिक स्थल हो, जनकपुर ।

यहि पवित्र तीर्थस्थल जनकपुरधाममा आएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने, ‘जनकपुर बिना धाम अधुरा, सीता बिना राम अधुरा ।’ तर हामीले अझै पनि यस्ता पवित्र स्थानलाई विश्वभर फैलाउन नसक्दा पर्यटनको ठूलो सम्भावना बोकेका क्षेत्रमा पनि पर्यटक भित्र्याउन सकिरहेका छैनौं ।

नेपाली हामी साँच्चै सौभाग्यशाली छौं, जसले सीता र भृकुटीजस्ता नारी जन्मायो, अरनिको जस्ता कलाकार जन्मायो, जसले प्राचीन समयदेखि नै नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराए ।

त्रेतायुगमा नै अयोध्यासम्म जोडिएको जनकपुरलाई हामीले मज्जैसित संसारभर पुर्याउन र पर्यटनका माध्यमबाट राम्रो आम्दानी गर्न सक्छौं । त्यसका लागि हामीले यस क्षेत्रमा भौतिक पूर्वाधारको निर्माण गर्न जरुरी छ ।

कसरी गर्ने जनकपुरलाई मार्केटिङ ?

पहिलो कुरा त जनकपुरलाई संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संगठन (युनेस्को) को विश्व सम्पदा सूचीमा सामेल गराउन सक्ने हो भने यसको विश्वव्यापी चर्चा सुरु हुनेछ ।

देश संघीय संरचनामा गएको वर्तमान अवस्थामा जनकपुर राज्य र केन्द्र दुवैका लागि राम्रो आर्थिक स्रोत बन्न सक्छ । जनकपुरको मार्केटिङलाई नै केन्द्रमा राखेर कुनै मन्त्रालयलाई जिम्मा दिने र त्यसले युनेस्कोको टोलीलाई जनकपुरसम्म ल्याएर विश्व सम्पदा सूचीमा सामेल गराउन पहल गर्ने हो भने सार्थकता पाउन सक्छ ।

मोदीले जनकपुरमा आएर जनकपुर बिना धाम अधुरो, सीताबिना राम अधुरो त्यसै भनेका होइनन् । त्यसमा गम्भीर कुरा लुकेको छ ।

यस्तै थाइल्यान्डका स्व.राजा भूमिबोल अदुल्यादेजले प्राचीन मिथिला राज्य र राजा जनकका बारमा ‘द स्टोरी अफ महाजनक’ नामको पुस्तक नै लेखेका छन् । जुन पुस्तक थाई र अंग्रेजी भाषामा प्रकाशित भइसकेको छ भने नेपाली भाषामा प्रकाशनको तयारी भइरहेको छ ।

जुन पुस्तकमा थाई राजा भूमिबोलले राजा जनकलाई सिताका बाबुको रुपमा मात्रै नभएर तत्कालीन मिथिला राज्यको एक दार्शनिक राजाका रुपमा समेत व्याख्या गरेका छन् ।

सामाजिक उद्यमी अनील चित्रकार भन्छन्, ‘मिथला र राजा जनकको राज्य बारेमा थाईल्यान्डका राजाले किताब लेख्न सक्छन् भने हामीले किन नसक्ने ? जनकपुर, राजा जनक र सीताबारेका पौराणिक कुरालाई पुस्तकका माध्यमबाट समेत संसारभरी पुर्याउन सकिन्छ ।’

उनी भन्छन्, ‘हामी जनकपुर ऐतिहासिक भनिरहेका छौं, तर के अर्थमा यो ऐतिहासिक हो र संसारभरका मानिस किन जनकपुर आउने भन्ने अमूर्त कुरालाई मुर्त गर्नुपर्छ, त्यसलाई लिखित बनाउनुपर्छ ।’

हालैमात्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा ऐतिहासिक जनकपुर ‘रामायण सर्किट’ मा जोडिने कुराले निकै चर्चा पायो । धेरैलाई जनकपुर रामायण सर्किटमा जोडिने भन्ने कुराले हौसला र जनकपुरको विकास र यसबाट अर्थतन्त्र सदृढ बनाउन सहयोग पुग्ने विश्वास समेत जागेको छ । तर, स्रोतलाई धनमा बदल्नका लागि हामीले त्यसलाई व्यवस्थित रुपमा मार्केटिङ गर्न आवश्यक रहेको छ ।

त्यतिमात्रै होइन, राम र सीताको जीवनसँग जोडिएका महत्वपूर्ण क्षेत्रको खोजी गर्ने र त्यसलाई सम्पदास्थलमा जोड्न सक्ने हो भने जनकपुरको महत्व र यसभित्र लुकेर रहका सम्पदास्थललाई थप चिनारी दिन सकिने चित्रकारको भनाई छ ।

उनी भन्छन्, ‘माटोकै हिसाबले केही विघा जग्गा केही पनि होइन, तर यस्ता ऐतिहासिक क्षेत्रको सानो टुक्रा पनि महत्वपूर्ण हुन्छ । मोदीले जनकपुरमा आएर जनकपुर बिना धाम अधुरो, सीताबिना राम अधुरो त्यसै भनेका होइनन् । त्यसमा गम्भीर कुरा लुकेको छ ।’

‘हामीले त्यसबेलाका कतिपय संस्कारहरुलाई समेत छाडिसकेका छौं,’ चित्रकार भन्छन्, ‘हामीले मिथिलाबाट सिकेको बेल विवाहको संस्कारलाई अझै निरन्तरता दिइरहेका छौं । त्यसरी नै त्यहाँका संस्कृति र परम्परालाई कायम राख्न सक्ने हो भने यो हाम्रो पर्यटकीय हिसाबले प्रमुख गन्तव्य बन्न सक्छ ।’

त्यतिमात्रै होइन, हामीले मिथिला क्षेत्रबाट विकास भएर चर्चित भएको मिथिला चित्रकलालाई संसारभरी पुर्याउन सक्ने हो भने पनि य राम्रो आर्थिक उपार्जनको माध्यम बन्न सक्छ । मैथिल नारी मिथिला चित्रकलाका लागि प्रख्यात छन् ।

विशेषतः माटोको भाँडा एवं घरको भित्तामा गरिने चित्रकलाको कला क्षेत्रमा पनि महत्वपूर्ण स्थान छ । माटो र परालद्वारा बनाइने मिथिलाका पारम्परिक घरहरूको विशेष महत्व छ ।

जनकपुरधाम जान लोभ्याउने अर्को विशेषता यहाँ रहेका पोखरी एवं कुण्डहरू हुन् । यहाँ तिथि अनुसार कुण्डमा स्नानको धेरै महत्व छ । जनकपुरधाममा भएका केही महत्वपूर्ण कुण्डहरू बिहार कुण्ड, अग्नि कुण्ड, मध्यमा सर, रत्न सागर, अंगराज सर, सूर्य कुण्ड, गंगा सागर, धनुष सागर, दसरथ तलाउ, पापमोचिनि सर, परशुराम कुण्ड, जनक सरोवर, गोपाल सर, रुक्मिनी सर, मुरली सर, विडाल सर, राम सर, कपाल मोचिनि सर, महाराज सागर, पाकवति सर, धौत–पाप सर आदि हुन् ।

यिनीहरुको महत्व र विशेषताका साथै प्राचीन मिथिलाको शासन व्यवस्था, धर्म, कला र संस्कृतिलाई हामीले संसारभरी बेच्न सक्छौं अर्थात पर्यटक भित्र्याएर पैसा कमाउन सक्छौं ।

जनकपुर क्षेत्रको पछिल्लो समयमा मोदीको भ्रमणले राम्रो मार्केटिङ भएपनि अझै त्यस क्षेत्रमा पर्यटकका लागि सुविधासम्पन्न होटलहरु थप्नुपर्ने आवश्यकता रहेको होटल एशोसिसन अफ नेपालका महासचिव विनायक शाह बताउँछन् ।

नेपाल पर्यटकीय हिसाबले धेरै सम्भावना बोकेको देश हो । गत वर्षमात्रै नेपालमा ९ लाख ४० हजार २१८ पर्यटक भित्रिए । जसमा सबैभन्दा धेरै भारतबाट १ लाख ६० हजार ८३२, र चीनबाट १ लाख ४ हजार ६६४ जना पर्यटकले नेपाल भ्रमण गरे । यसपछि अमेरिकाबाट ७९ हजार १४६, बेलायतबाट ५१ हजार ५८, श्रीलंकाबाट ४५ हजार ३६१ जना पर्यटक नेपाल भित्रिए ।

यसरी नेपाल आउने पर्यटकको ठूलो हिस्सा काठमाडौंपछि पोखरा, लुम्बिनी, जकपुरजस्ता स्थान मुख्य गन्तव्यमा पर्छन् । विवाह पञ्चमीका समयमा जनकपुर आउने तिर्थयात्रीको ठूलो संख्या हुने गर्छ । तर उनीहरुका लागि राम्रो बसोबासको व्यवस्था तथा होटलहरुको विस्तार गर्ने हो भने अर्थोपार्जनको स्रोत बन्न सक्छ ।

प्रतिक्रिया

सम्बन्धित

आज कामको पहिलो दिन

१ दिन अगाडि ४२ सेकेन्डमा पढिने

दिर्घकालिन गार्मेन्ट उद्योग !

२ दिन अगाडि ३ मिनेटमा पढिने

आशा, उत्शाह र उत्सबको एक वर्ष !

१ साउन , २०७६ २९ सेकेन्डमा पढिने