सन्तानलाई उपहार के दिने ?

हरेक आमाबावुले आफ्नो सन्तानलाई दिने सर्वोत्तम उपहार पढ्ने बानी हो । पढ्ने बानी बसाल्न महत्वपूर्ण भूमिका आमाबाबु, अभिभावक र परिवारको हुन्छ । आमाबाबुको काखमा बसेर गीत, कविता, लोरी, विभिन्न जीवजन्तु र पशुपंछीको आवाज सुन्दा बच्चालाई रमाइलो लाग्छ । यसरी उसमा पुस्तकमा रमाउने बानी पर्छ । पुस्तक पढेर सुनाउँदा बच्चामा पढ्ने बानीले जरा गाड्छ । पुस्तक र बच्चाको बीचमा रमाइलो सम्बन्ध गाँसिन्छ ।

विनय कुमार कसजू २०७५ वैशाख १० गते ६:४७

कुनै समाजको संस्कृति समाप्त पार्नु पर्यो भने त्यस त्यस समाजका किताबहरू जलाउनु पर्दैन, त्यस समाजका मानिसहरूको पढ्ने बानी समाप्त पारिदिए पुग्छ ।
— रे ब्राडबरी, उपन्यासकार, सन् १९९३

पढ्ने बानीको महत्व

पढ्नु यस्तो बानी र सीप पनि हो जसले एकातिर आनन्द दिन्छ भने अर्कोतिर जीवनका लागि आवश्यक सीप र ज्ञान दिन्छ ।

पुस्तक पढ्दा बालबालिका कल्पनाशील र जिज्ञासु बन्छन् । उनीहरूमा सिक्ने क्षमता बढ्छ । समाज र संसारलाई हेर्ने दृष्टिकोण फराकिलो हुन्छ । विरानो ठाउँ र विभिन्न सामाजिक, सांस्कृतिक, धार्मिक, भाषिक तथा जातीय परिवेशका मानिसहरूलाई बुझ्न र उनीहरूसँग मिलेर काम गर्न यसले सघाउँछ ।

नपढ्ने बच्चाहरू असामाजिक व्यवहारमा लाग्ने संभावना बढी हुन्छ । त्यस्ता बच्चाहरूले विद्यालयभित्र अरूलाई धम्क्याउने, कुटपिट गर्ने, दुःख दिने गरेको पाइएको छ । कम्प्युटर ह्याकिङ गर्ने काम पनि यस्तै बच्चाहरूले गर्ने गरेको देखिन्छ । नपढ्ने बच्चाहरू सबै यस्ता नकारात्मक प्रवृत्तिका हुन्छन् भन्ने होइन, तर जो बच्चामा पुस्तक पढ्ने रुचि र बानी बसेको हुन्छ तिनीहरूको दिमाग सिर्जनशील हुन्छ, नकारात्मक सोच र व्यवहारको सम्भावना कम हुन्छ ।

स्कुलमा पढाइने विषय राम्ररी बुझ्न र सिकाइएका कुरा राम्ररी सिक्नका लागि पुस्तक नपढी हुँदैन । पढ्ने बानी र क्षमता घट्यो भने पढाइको विषयगत उत्कृष्टता पनि घट्नु स्वाभाविकै हो ।

यसैले पढ्ने बानी नबसेका विद्यार्थीहरूले जाँचमा कम नम्बर पाउनु, पढाइमा निराश हुनु र स्कुल छाड्नु, उनीहरूको बानीमा परिवर्तन आउनु, असामाजिक क्रियाकलापमा लाग्नु जस्ता प्रभाव देखिन थाल्छन् । सारमा भन्नुपर्दा पढ्ने बानी मानिसलाई असल व्यक्ति बनाएर उसको जीवनलाई सफल बनाउनका लागि आवश्यक अत्यन्तै महत्वपूर्ण बानी हो ।

पढने बानीको बाधक तत्व

अहिले आधुनिक सूचना र संचारका माध्यमको विकासले गर्दा केटाकेटीहरूका लागि भुल्ने ठाउँ धेरै छन् । सहरमा जन्मेका बच्चाले आमाको दूध खाँदै मोबाइलफोन, ट्याब्लेट साथै टेलिभिजन सिरियल र विज्ञापन हेरिरहेका हुन्छन् । कम्प्युटर र मोबाइल फोनबाट इन्टरनेट ब्राउज गर्ने, खेल खेल्ने, भिडियो र गेमहरू डाउनलोड गर्ने, साथीहरूसँग च्याट गर्ने, एसएमएस आदान प्रदान गर्ने इत्यादि काममा अहिलेका बालबालिका र किशोरहरूको धेरै समय बित्छ । यसले गर्दा उनीहरूको पढ्ने समय, रुचि र बानी समग्रमा घटिरहेको छ । यो अवस्थालाई बदल्न बालबालिकालाई शिशु अवस्थादेखि नै पढ्ने बानी बसाल्नु अति आवश्यक छ ।

यसैले आमाबाबुले हमेसा शिशुहरूसँग बोलिरहनु पर्छ र उनीहरूको दिमागको शब्द भण्डार बढाउने कोशिस गरिरहनु पर्छ । आमाबाबुले शिशुको दिमागमा यति धेरै शब्द भरिदिनु पर्छ कि त्यो छताछुल्ल भएर बोलीको रूपमा, पढाइको रूपमा र लेखाइको रूपमा बाहिर छचल्कियोस् ।

पढ्ने बानी कसरी विकास गर्ने ?

पुस्तक पढ्ने रुचि र बानी अचानक प्राप्त हुँदैन । यसलाई विस्तारै हुर्काउनु र बढाउनु पर्छ । कसरी पढ्ने भन्ने कुरा जानेपछि पनि बालबालिकालाई पढ्न प्रेरित गर्नु पर्ने हुन्छ । उनीहरूको पढ्ने क्षमता र रुचिलाई बढाउन वाहिरी सहयोग र अनुकूल वातावरण चाहिन्छ ।

अहिले विश्वभरि बालबालिकालाई पुस्तकप्रति आकर्षित गर्ने प्रयास भइरहको छ । उनीहरूलाई सानैदेखि पुस्तक पढ्ने बानी बसाल्न विद्यालय, अभिभावक र सरकारी निकायहरूले पनि विभिन्न कार्यक्रमहरू सुरु गरेका छन् ।

मानिसमा पढ्ने बानीको विकास गर्नका लागि सबैभन्दा पहिलो र महत्वपूर्ण भूमिका आमाबाबु, अभिभावक र परिवारले खेल्छ, त्यसपछि शैक्षिक समाज र राज्यको भूमिका आउँछ । विभिन्न समाज तथा देशमा बालबालिकामा पढ्ने बानी बसाल्नका लागि आमाबाबु र परिवारलाई सघाउन विभिन्न कार्यक्रम संचालन गरिएका छन् ।

पढ्नेबानीको विकास सानैदेखि गराउन बेलायतमा बुक स्टार्ट कार्यक्रमले हरेक आमाबाबुलाई पुस्तक उपहार दिन्छ । बच्चालाई कथाका पुस्तक दिन्छ । साथै ठूलो स्वरले बालगीत र कथा सुनाउन प्रेरित गर्ने र तालिम पनि दिन्छ । त्यस्तै संयुक्त राज्य अमेरिका, जापान, सिंगापुर, दक्षिण कोरियामा पनि यस्ता कार्यक्रमहरू संचलन भइरहेका छन् ।

आमाबाबु र परिवारको भूमिका

वास्तवमा केटाकेटीलाई पढ्न बानी बसाल्ने पहिलो र सबैभन्दा महत्वपूर्ण भूमिका आमाबाबु, अभिभावक र परिवारले खेल्नुपर्छ । आमालाई पहिलो शिक्षक र परिवारलाई पहिलो स्कुल भन्नुको मुख्य कारण पनि यही हो ।

हामीकहाँ हजुरबा, हजुरआमाले नातिनातिनालाई कथा सुनाउने परम्परा छ, तर काखमा बसेका केटाकेटीलाई आमाबाबुले कथा सुनाउने परम्परा नगन्य मात्रामा छ । पुस्तक पढेर सुनाउने परम्परा छँदै छैन भने पनि हुन्छ । आमाबाबुमा शिक्षाको कमी यस्तो भएको हो । तर केही वर्ष यता शिक्षित तथा सन्तानको बौद्धिक विकासप्रति चिन्ता लिने आमाबाबुहरूले पुस्तक पढेर सुनाउन थालेका छन् । युरोप र अमेरिकी देशहरूमा केटाकेटीलाई पुस्तक पढेर, गीत गाएर सुनाउने पुरानो परम्परा छ । तर त्यतातिर पनि मानिसहरूको व्यस्तताले गर्दा यो परम्परा घट्दै गएको छ ।

पैसा, सामान वा वस्तु दिएर फकाएर पढ्न लगाउनु हुँदैन । यसको नकारात्मक फल पाइन्छ । यसको सट्टा उसलाई किताब किनेर उपहार दिनुस् । उसले कुनै कथा वा पुस्तक पढेर सिध्याएकोमा उसको तारिफ गर्नुस् ।

आमाबाबुले शिशुलाई पुस्तक पढेर सुनाउँदा शिशुमा दुइटा प्रभाव पर्छ । एक – ऊ ध्वनि अर्थात् शब्दहरूको उच्चारणबाट परिचित हुन्छ जसले गर्दा पछि अरूसँग कुरा गर्दा वा विद्यालयमा अध्ययन गर्दा शब्द बुझ्न र टिप्न उसलाई गाह्रो हुँदैन । दुई – आमाबाबुको काखमा बसेर गीत, कविता, लोरी, विभिन्न जीवजन्तु र पशुपंछीको आवाज सुन्दा उसलाई रमाइलो लाग्छ । यसरी उसमा पुस्तकमा रमाउने बानी पर्छ ।

शिशुले नयाँ शब्द सुन्दा उसले सुनेको शब्दको अर्थ नबुझे पनि सुनेको शब्द उसको दिमागको शब्दभण्डारमा जम्मा भइरहन्छ । ती शब्दहरू बुझाइ र बोलाइको आधारभूत जग बन्छन् । पछि स्कुलमा पढ्दा पहिले सुनेका र दिमागमा बसेका शब्दहरू सहज र परिचित लाग्छन् । पुस्तक पढ्दा तिनै शब्दहरूले मदत गर्छन् । दिमागमा जमेर बसेका शब्दहरूले उनीहरूलाई पछिसम्म सघाउँछन् ।

पुस्तक पढेर सुनाउँदा बच्चामा पढ्ने बानीले जरा गाड्छ । पुस्तक र बच्चाको बीचमा रमाइलो सम्बन्ध गाँसिन्छ । यसैले आमाबाबुले हमेसा शिशुहरूसँग बोलिरहनु पर्छ र उनीहरूको दिमागको शब्द भण्डार बढाउने कोशिस गरिरहनु पर्छ । आमाबाबुले शिशुको दिमागमा यति धेरै शब्द भरिदिनु पर्छ कि त्यो छताछुल्ल भएर बोलीको रूपमा, पढाइको रूपमा र लेखाइको रूपमा बाहिर छचल्कियोस् ।

पढ्ने कामलाई बच्चाले आनन्दको रूपमा लिन सक्नु पर्छ । शिशुलाई ठूलो स्वरले पुस्तक पढेर सुनाउँदा उसलाई मज्जा आउन थाल्छ । उसलाई पुस्तक पढ्नुको आनन्द अनुभव गर्न सघाउने यो सबै भन्दा उत्तम उपाय हो । यो काम जति चाँडो सुरु गर्यो उति बेस । मूल कुरा कथा सुन्ने सुनाउने कामलाई तपाईँको शिशुले रमाइलो मनोरंजनात्मक गतिविधिको रूपमा लिनु पर्छ ।

पुस्तक पढ्न प्रेरित गर्दा यस्ता काम नगर्नु बेस हुन्छ:

-सँधै पढ पढ भनेर आदेश दिँदा, हप्काउँदा उसमा प्रतिरोधको भावना बढ्छ ।
-पैसा, सामान वा वस्तु दिएर फकाएर पढ्न लगाउनु हुँदैन । यसको नकारात्मक फल पाइन्छ । यसको सट्टा उसलाई किताब किनेर उपहार दिनुस् । उसले कुनै कथा वा पुस्तक पढेर सिध्याएकोमा उसको तारिफ गर्नुस् ।
-कुनै पुस्तकका बारेमा वा उसको कामका बारेमा यो ठिक, यो बेठिक भनेर निरन्तर भनिरहँदा उसमा पढ्ने वा काम गर्ने रुचि हराउँछ । जे गरे पनि बेठिक हुने वा गाली खाइने रहेछ भन्ने उसलाई लाग्न सक्छ ।
-केटाकेटीले आफूले रोजेका पुस्तक पढ्न थालेका छन् भने उसलाई पे्ररित गर्नु पर्छ । सुरुसुरुमा उसले आफ्नो स्तरभन्दा कम वा बढी स्तरको पुस्तक रोज्यो भने पनि आलोचना नगर्नुस् । पछि आफ्नो स्तर अनुसारको पुस्तक रोज्न थाल्ने छ ।
-थोरै समयमा धेरै विषय वा धेरै पुस्तक पढ्ने लक्ष तोक्नु हुँदैन । विस्तारै प्रेरित गर्दै जानु पर्छ ।

आमाबाबु, अभिभावक सबै बच्चाका आदर्श वा रोल मोडेल हुन्छन् । उनीहरूले आमाबा र ठूला मानिसहरूको नक्कल वा देखासिकी गर्छन् । नक्कल गरेर उनीहरूले नयाँनयाँ कुरा सिक्छन् । पुस्तक पढ्ने आमाबाबुका छोराछोरी पनि पुस्तक नपढी बस्न नसक्ने हुन्छन् ।

शैक्षिक क्षेत्रको भूमिका

बालबालिकालाई पुस्तकमा रमाउने बानी बसाल्न शिशु स्याहार केन्द्र, पुस्तकालय, विद्यालय र शिक्षकहरूले धेरै प्रकारले भूमिका खेल्न र योगदान दिन सक्छन् ।

-शिशु स्याहार केन्द्रहरूमा शिशुहरू आफैले पुस्तक पढ्न सक्तैनन् । त्यहाँ शिक्षिका उनीहरूलाई नियमित रूपमा कुरा गर्ने र कथा सुनाउने गर्नुपर्छ ।
-केन्द्रमा सजिलैसँग नच्यातिने र पुस्तकका पाना चपाउँदा शिशुको स्वास्थ्यमा दुष्प्रभाव नपर्ने खालका पुस्तकहरू खेलौनाको रूपमा राख्न सकिन्छ ।
-केन्द्रका ‘केयर गिभर’ले खेलौना पुस्तक पढेको अभिनय गरेर देखाउँदा र साँच्चैको पुस्तक पढेर सुनाउँदा शिशुहरूमा पुस्तकप्रति आकर्षण बढ्छ ।
-केन्द्रका भित्ताहरूमा आकर्षक चित्र र शब्द भएका पोस्टर, क्यालेन्डर, लेबल, संकेतहरू टाँस्नु, झुण्ड्याउनु पर्छ ।
-शिशु स्याहार केन्द्र, पूर्वप्राथमिक विद्यालय र प्राथमिक विद्यालयहरूमा शिशुहरूलाई लेख्नका लागि रंगिन सिसाकलम, साइनपेन, मार्कर, क्रायोन पेन, कागतजस्ता लेख्ने सामग्री पर्याप्त मात्रामा हुनु पर्छ ।
-भित्तामा टाँस्न मिल्ने काठ, प्लास्टिक तथा फोमका अक्षरहरू पनि हुनु पर्छ । बालबालिकाले ती अक्षरहरू प्रयोग गरेर आफैले शब्द तयार गरेको अनुभव गर्छन् र खुशी हुन्छन् ।
-शिशुहरू खेल्ने र पढ्ने शैक्षिक संस्थाहरूमा शिक्षक–शिक्षिकाहरूले बालबालिकालाई पुस्तक पढेर सुनाउने नियमित समयतालिका हुनु पर्छ । दिनको एउटा निश्चित समयमा कथा सुनाउने पिरियड हुनु पर्छ ।
-हरेक शैक्षिक संस्थामा पुस्तकालय हुनु पर्छ । पुस्तकालयमा बालबालिकालाई पुस्तक पढ्न प्रेरित गर्ने वातावरण हुनु पर्छ ।
-विद्यालयका पुस्तकालयमा नियमित रूपमा विद्यार्थीहरूबीच पुस्तक चर्चा (बुक टक) कार्यक्रम राख्नु पर्छ । बुक टक कार्यक्रममा नयाँनयाँ पुस्तक तथा बालबालिकाले हालै पढेका वा रोचक पुस्तकमा भएका विषयवस्तु, कथानक, पात्र आदिको बारेमा छलफल गरिन्छ । बुक टक कार्यक्रममा विद्यार्थीलाई सकेसम्म धेरै बोल्ने अवसर दिनु पर्छ ।

नयाँ नेपाल बनाउनका लागि असल र विवेकशील नागरिक चाहिन्छ । असल र विवेकशील नागरिक बनाउने काम शिशुबाटै सुरु गर्नु पर्छ । शिशुहरूमा पढ्ने बानी बसालेर उनीहरूलाई जीवनभरि अध्ययन र सिर्जनशील कार्यमा रुचि लिने बनाउनु सबैको कर्तव्य हो । यो नै उनीहरूलाई दिन सकिने र दिनु पर्ने सर्वोत्तम उपहर हो ।

प्रतिक्रिया

सम्बन्धित

आज कामको पहिलो दिन

१ दिन अगाडि ४२ सेकेन्डमा पढिने

दिर्घकालिन गार्मेन्ट उद्योग !

२ दिन अगाडि ३ मिनेटमा पढिने

आशा, उत्शाह र उत्सबको एक वर्ष !

१ साउन , २०७६ २९ सेकेन्डमा पढिने