समस्या कसको हुन्न ? अनि समाधान के को हुन्न ?

जिन्दगीमा आउने कतिपय घुम्तिहरु यस्ता हुन्छन् जहाँ कुनै ‘लुकिङ्ग मिर्रर’ हुदैन् । अगाडि के छ, अघि बढे पछि मात्रै देखिन्छ । दुःखलाई प्रेरणाको स्रोतको रुपमा लिने हो । जिन्दगीको गोरेटोमा दुःखलाई नै साथी बनाउने हो । यति भएपछि सुःख कता भाग्ला र ?

सुशिल बुढाथोकी २०७४ चैत २० गते २१:२९


प्रश्नः सानो छँदा जीवनमा के बन्छु जस्तो लागेको थियो ?

उत्तरः मैले जहिलेदेखि जीन्दगीलाई बुझें । त्यहि बेलादेखि अरुलाई सहयोग पुग्ने काम गर्छु भन्ने लागेको थियो । आफू दुःखमा परेर भएपनि अरुलाई खुसी दिनुको मज्जा के हो भन्ने कुरा मैले उत्तम संजेलबाट बुझेकी हुँ । त्यसैले म पनि ठूलो भएपछि अरुलाई खुसी हुने काम गर्दछु भनेर सोच्थे ।

तथ्य: आईतबार भावना तामाङको अनुहारमा अर्कै चमक थियो । मापन गर्ने कुनै यन्त्र हुन्थ्यो भने उनको खुशीको पारो आईतबार सायद निकै माथि चढेको हुने थियो । यसअघि पनि उनको जिवनमा धेरै पटक खुसीका क्षणहरु आए होलान् तर, भावनाको आइतको खुसी भने फरक खालको थियो । कारण, त्यो दिन उनको सपनाले यथार्थ चुमेको थियो । त्यस्तो सपना जुन उनले ६ वर्षदेखि निरन्तर सजाईरहेकी थिईन ।

प्रश्नः जीवनमा आएका यी सारा दुःखलाई कसरी लिनुभयो ?

उत्तरः दुःख सबैको जीबनमा आँउछ । चाहे त्यो धनीको जीबन होस् या गरिबको । फरक यत्ति हो, कसैले सहन सक्छन् । कसैले सक्दैनन् । मैले पनि जीन्दगीमा पाएको दुःखलाई चुनौतीको रुपमा स्वीकार गरे । दुःखदेखि डराएर कहिल्यै भागिन् । त्यही भएर होला बरु अहिले दुःख नै मदेखि भाग्न थालेको छ । समस्या कस्को हुन्न ? अनि समाधान के को हुन्न ?

तथ्यः भावनाको घर सिन्धुपाल्चोक हो । तर उनका बुबाआमा पहिल्यैदेखि नै काठमाडौं बस्दै आएका थिए । भावनाकी आमा मीनाले लगातार तीनवटी छोरी जन्माईन् । भावना जेठी छोरी हुन् । छोरो नजन्माएको भन्दै भावनाका बुवाले आमालाई दुव्र्यबहार गर्न थाले । रक्सी खाएर मानसिक र शारीरिक यातना दिन थाले । पारिवारीक शान्ति खलबलिन थाल्यो । अन्ततः तीन छोरी सहित आमा मीना अलग बस्न थालिन् ।

तीन छोरीको लालनपालन, शिक्षादीक्षा मीनाको काँधमा आयो ।

प्रश्नः दुःख पाउनुमा पनि कतै मज्जा छ ?

उत्तरः दुःख पाउनुमा नै त के मज्जा हुनु र ? तर, दुःखलाई खुसीमा बदल्दाको मज्जा भने अर्कै छ । त्यो भनेको दुःखबाट सिकेर जीवन परिवर्तन गर्ने हो । दुःखलाई सहजै रुपमा लिने हो भने तत्कालको लागि पीडा दिने दुःखले पनि पछि खुसी दिन सक्छ । मैले जहिले पनि दुःख आउँछ, जान्छ भन्ने नै सोचे । दुःखलाई सिक्ने अवसरको रुपमा लिए । तर, ती दुःखलाई कहिल्यै विर्सिन् । विर्सन पनि हुँदैन् ।

तथ्यः आमा मीना भाले नबास्दै अरुको घरमा भाडाँ माझ्न पुग्थिन् । दिनभरी ज्यालादारी गर्न जान्थिन । र राती झमक्क परेपछि मात्र घर फर्कन पाउँथिन ।। आमाले त्यति दुःख गर्दा पनि उनको घरमा अभाव नै थियो । आमाको यो सबै दुःख, पीडा र अभाव उनले नजिकैबाट देखेकी बुझेकी थिईन । ‘मैले पनि सघाउन पाए आमालाई सजिलो हुन्थ्यो भनेर आमासँगै अरुको घरमा काम गर्न थालेँ,’ भावनाले विस्तारै विगतलाई कोट्याईन ।

भावना विहान बेलुका आमासँगै अरुको घरमा काम गर्न जान्थिन । दिउँसो स्कूल । स्कूल थियो समता । भावनाले एसएलसीसम्म त्यही पढिन् । ०६६ सालमा ८८.७५ प्रतिशत अंक ल्याएर उनले समता स्कूलबाट विशिष्ट श्रेणीमा एसएलसी पास गरिन् । भावना अझै पनि अरुको घरमा गएर भाँडा माझ्ने, घर सफा गर्ने, लुगा धुने गर्दै थिईन ।

प्रश्नः जहाँ इच्छा त्यहाँ उपाय भनिन्छ । तपाईलाई कत्तिको विश्वास लाग्छ ?

उत्तरः इच्छा भयो भने उपाय हुने रहेछ भनेर त मैले मेरै जीवनबाट सिकेँ । मैले पनि डाक्टर बन्ने इच्छा नबोकेको भए सायदै उपाय भेट्थेँ । डाक्टर बन्ने सपना बोकेकै कारण मैले मान्छेहरुको हात भेटाएँ । यसो भन्दै गर्दा, आफूले चाहेको कुरामा भने आफू क्षमतावान् हुनैपर्छ । क्षमता छैन् भने बिस्तार गर्नुपर्छ । आफुले क्षमता बनाएपछि उपाय खोजिन्छ । अनि आफ्नो गन्तव्य हिडिन्छ ।

तथ्यः समता स्कूलमा मासिक एक सय रुपैयाँ तिरेर पढ्न पाइन्छ । त्यही कारण एसएलसीसम्म पढ्न भावनालाई सजिलो भयो । तर, एलएलसी पछि के गर्ने ? कसरी पढ्ने ?

आमाको त्यो हदको दुःख, साना बहिनीहरु र आफ्नो पढ्ने ईच्छा । उनलाई कसैगरि पनि पढ्ने उपाय निस्कन्छ जस्तो लागेन् ।

बरु उनले निधो गरिन–आमालाई काममा सघाउने, दुई बहिनीलाई पढाउने र, आफू चाँही नपढ्ने ।

छोरी भावानाले यस्तो मन बनाईरहदा, यता आमा भने अर्कै ध्याउन्नमा थिईन ।

यति राम्रो अंक ल्याएर एलएलसी पास गरेकी छोरीलाई कसरी पढाउने ? आमाको मनमा यही प्रश्न हुरी बनिरहेको थियो ।

जीन्दगीमा आउने कतिपय घुम्तिहरु यस्ता हुन्छन् जहाँ कुनै ‘लुकिङ्ग मिर्रर’ हुदैन् । अगाडि के छ, अघि बढे पछि मात्रै देखिन्छ । आमा मीना उपाय खोज्न अघि वढ्दै थिईन । नदेखिएको कुरा उनले भेटिन् ।

यहीबेला एकदिन भावनको कोठामा अकस्मात् एउटी महिला आईन् । ती महिला स्पेनिस थिईन । जसले भावनाको परिवारमा खुसीको पोको ल्याएकी थिईन् ।

प्रश्नः डाक्टर बनेपछिको योजना के छ त ?

उत्तरः डाक्टर बन्नु त मेरो लागि एउटा खुट्किलो उक्लनु मात्रै हो । जिन्दगीमा मलाई धेरै गर्नुछ । म जस्तै शून्यमा रहेकालाई माथि उक्लानु छ । म शून्यबाट आएँ । नामको अगाडि डाक्टर थपेँ । म अरुको अनुहारमा पनि यही खुशी थप्न चाहान्छु । कसरी अरुको अनुहारमा खुसी छर्न सक्छु भनेर सोचिरहेको छु ।

तथ्यः भएको के थियो भने, आमा मिनाले मदर टेरेसाको पथीक ‘सिस्टर निर्मला फाउन्डेसन’ले महिलालाई सघाउँछ भनेर सुनेकी थिईन् । केही समय अघि त्यही गएर उनले आफ्नो सारा दुःखको पोको विसाएकी थिईन् । उनको कथा सुनेपछि स्पेनिस नागरिक भावनालाई भेट्न कोठासम्मै आएकी थिईन् ।

ती महिलाले राजधानीको एउटा कलेजको छात्रावासमा बसेर प्लस टू पढ्ने व्यवस्था मिलाई दिईन् । त्यही पढ्दा हो, उनले पहिलो पटक डाक्टर बन्ने सपना देखेको । किनकी उनका साथीहरु पनि डाक्टर बन्ने सपना पालिरहेका थिए ।

तर, उनी जब आफ्नो पारिवारीक अवस्था सम्झन्थिन्, उनी आफ्नै सपना देखेर तर्सन्थिन । तैपनि उनले आशा पाल्न छाडिनन् । प्लस टूमा राम्रो अंकका साथ पास गरेपछि उनले आईओएममा ‘इन्ट्रान्स’ दिइन् । छात्रवृत्ति पाईन्छ की भन्ने आश थियो । तर नाम निस्केन् ।

प्रश्नः जीन्दगीलाई पछाडि फर्केर हेर्दा ?

उत्तरः फर्केर हेर्दा आनन्द महसुस गर्दछु । जती कठिन समस्या आउँदा पनि सजिलै लिएँ । त्यही मेरो लागि सफलताको कडी बन्यो । सँधै समस्यासँग जुधेँ । हारेर कहिल्यै भागिन् । आज आएर खुसी लागेको छ । दुःखलाई प्रेरणाको स्रोतको रुपमा लिएको छु । अबको दिनमा पनि जिन्दगीको गोरेटोमा दुःखलाई नै साथी बनाउँछु । यति भएपछि सुख कता भाग्ला र ?

तथ्यः यसपछि डाक्टर बन्ने सपना भावनाले तिनै स्पेनिस नागरिकलाई सुनाईन् । धेरै नै अनुरोध गरेपछि बीस लाख रुपैया शुल्क लाग्ने पाँच वर्षे डाक्टर कोर्स अर्थात बीडीएस पढाउन उनी तयार भईन । काठमाण्डौको जोरपाटी अत्तरखेलस्थित मेडिकल कलेजमा बसेर उनले पाँच बर्ष पढिन । गएको शनिबार मेडिकल काउन्सिलले लिने परिक्षा दिएर पास भएपछि उनी डा भावना तामाङ बनेकी छिन् ।

प्रतिक्रिया