गोजीमा जम्मा १० हजार हुँदा थालेको काम, जसले आज दैनिक ४० हजार कमाउँछ

नेपाल र नेपालीलाई दिइएको अपमानजनक वचनले नवराजको जीवन बदल्यो

असीम तिमल्सिना २०७४ चैत ७ गते १३:४१


‘तिमीहरु नेपाली त गधा हौ, हाम्रो देशमा भारि बोक्न मात्र आउँछौं’– कति अपमानजनक छ यो भनाई । तर, यही अपमानजनक भनाई प्रेरणा सावित भयो । यही वाक्यलाई चुनौती दिएपछि आजका नवराज ढकाल बने ।

‘तिमीहरु नेपाली त गधा हौ, हाम्रो देशमा भारि बोक्न मात्र आउँछौं’– यो वाक्यको सेरोफेरोबाट सुरु हुन्छ नवराजको कथा ।

उनी काठमाडौं मूलपानीका हुन् । जनयुद्धकालमा डेढ वर्ष जेल परे । जेलबाट छुटेपछि मानसिक रुपमा विचलित थिए । विदेश लागे । ०६२ सालमा कतारमा काम गर्न थाले । केही समयपछि सेल्सम्यान जागिर खान दुबई गए ।

कामको सिलसिलामा एकदिन एकजना अरवीले नवराजलाई अपमान गर्दै भन्यो– ‘तिमीहरु नेपाली त गधा हौ, हाम्रो देशमा भारि बोक्न मात्र आउँछौं ।’ नेपाल र नेपालीलाई अपमान गरेर बोलेको नवराजले सहन सकेनन् । देशको माया कति हुन्छ भन्ने विदेश गएपछि अझ धेरै थाहा हुन्छ भन्थे । नवराजले प्रत्यक्ष भोगे ।

अपमान खप्नै सकेनन् नवराजले । आफूलाई व्यक्तिगत अपमान गरिएको भए खप्न सक्थें तर नेपाल र नेपालीलाई नै गाली दिँदा खप्न सकिन र जवाफ फर्काएँ भन्छन् नवराज ।

नवराजले तुरुन्तै दिएको जवाफ यस्तो थियो– ‘अवसर दियौ तिमी भन्दा ठूलो मान्छे बन्न सक्छु ।’ नवराजको कुरा ती अरवीलाई पनि चुनौति जस्तै भएछ । तुरुन्त कम्पनीको साहुकहाँ लगेछन् र उनलाई सम्भव नै नहुने गरी सेल्स्को कोटा तोकिदिएछन् ।

अब नवराजका अगाडि दुईटा बाटो थियो । एउटा बाटो हो जागिर छाडेर हिँड्ने । अर्काे बाटो हो तोकिए अनुसार विक्री गरेरै छाड्ने । नवराजले हिम्मत गरे ।

वाह, नवराजले तोकिएको कोटाभन्दा धेरै विक्री गरेर देखाइदिए । यो चुनौती पार गर्दा कम्पनीलाई कति फाइदा भयो नवराजलाई थाहा छैन तर उनी स्वयंलाई भने अपार फाइदा भयो ।

असम्भवलाई पनि सम्भव बनाउँछु भन्ने आँट आयो । आफूभित्र अपार क्षमता छ भन्ने पहिचान गरे । स्वस्थानी व्रतकथाको नवराजमा झैं आफूमा क्षमता छ भन्ने उनलाई लाग्यो । विश्वाश र आत्मविश्वाशले नै मानिसलाई बनाउने हो । नवराजमा यति आत्मविश्वाश चुलियो कि उनले विक्री बढाउँदै लगे । कतिसम्म भने मासिक तीन लाख रुपैयाँसम्म कमाउने भए ।

आत्मविश्वाश चुलिएका नवराजले सोंचे– अब यसरी हुँदैन, आफ्नै कम्पनी चलाउँछु ।

अरवीले भनेको अपमानजनक वाक्यले नवराजलाई वरदानको काम गरे । त्यहाँबाट सुरु भएको चुनौती सामना गर्ने र आत्मविश्वासाथ काम गर्ने उनको यात्रा आफ्नै कम्पनी खोल्नेसम्म आइपुग्यो ।

नवराजले कम्पनी खोले । सन् २०१५ मा कम्पनी खोल्दा नवराजले ठूलो सपना देखेका थिए । तर, नराम्रोसँग डुबे । हिँड्ने नै लड्छ, डुब्ने नै उक्सिन्छ अनि काम गर्ने नै असफल हुन्छ । नवराज नराम्रोसँग असफल भए ।

सन् २०१६ को मध्यतिर नवराजले दुबईमा गुन्टा कसे । सारा चिज त्यागेर नेपाल फर्कन विमानस्थल गए । आफू चढ्ने गाडि पनि दुबईको विमानस्थलमै छाडेर विमानभित्र पसे । नवराज भन्छन्, ‘मसँग त्यहाँको कानुनी प्रावधान पुरा गरेर नेपाल फर्किन सक्ने समय र अवस्था दुवै थिएन ।’

नेपाल आइपुग्दा उनको साथमा थियो– जम्मा २५ हजार रुपैयाँ । त्रिभुवन विमास्थलमा देखे– दशैं छपक्कै लागेको छ । दुई छोरा सहितको परिवारको रथ गुडाउनु थियो । दशैंको बेला छ । साथमा सिर्फ २५ हजार रुपैयाँ छ ।

त्यसपछि दशैं मनाउँदा १५ हजार रुपैयाँ सकियो । बाँकी रह्यो १० हजार रुपैयाँ ।

नयाँ थालनी

के गर्ने ? केही न केही नगरी भएको थिएन । मःम पसल खोल्ने सोंचे । करिब डेढ वर्ष अघि काठमाडौंको ज्ञानेश्वर रातोपुलमा एउटा सटर भाडामा लिए ।

जब सटर उघ्रियो

सटर त लिइयो, अब मःम पसल कसरी खोल्ने ? केही आइडिया थिएन । आइडिया मात्र होइन, लगानी गर्ने रकम पनि थिएन । हिसाव गर्दै जाँदा मःम पसल खोल्न करिव साढे तीन लाख रुपैयाँ लाग्ने देखियो ।

केही समय अघिसम्म महिनाकै तीन लाख रुपैयाँ कमाउने नवराज लगानी गर्ने तीन लाख नभएर इन्तु न चिन्तु भए ।

आफन्त र चिनेजानेकाहरुसँग ऋण लिए । बडो मुस्किल पर्यो रकम जुटाउन ।

मःम व्यापार सम्वन्धि उनलाई कुनै आईडिया थिएन । युट्युबमा घोत्लिए । चिनजानका तथा आफन्तहरुसँग सिकाइ मागे । त्यसपछि आफैं मःम बनाउँदै खाँदै गरे । निरन्तर विभिन्न स्वादका मःम बनाउँदै खाँदै गए । विभिन्न मसला प्रयोग गरे । विभिन्न उपाय लगाए । अर्थात्, भान्सालाई प्रयोगशाला बनाए ।

यही प्रयोगबाट जीवनमा नयाँ सुरुआत गर्छु भन्ने आँट थियो नवराजमा । र, एकदिन उनले मःम पसलको सटर उघारे । आफै मःम बनाउथे, आफै भाँड माज्थे ।

आफ्नै भान्सामा आविष्कार गरिएको नयाँ स्वादको मःम मज्जासँग विक्री हुन थाल्यो । मःम बनाउने यो फर्मूलको प्याटेन्ट दर्ता गर्न उनी लागिपरेका छन् । ‘मेरो मःमको अचारमा बटर, काजु, लप्सी लगायतका सामाग्री हाल्छु, जुन अरु कसैले गर्दैन’– नवराज गर्वसाथ दावी गर्छन् ।

जब मःम पसलको सटर उघ्रियो, नवराजले सफलताको अर्काे यात्रा थाले ।

मेहनत र सफलताको कथा:

उनी विहान ६ बजेदेखि बेलुका १० बजेसम्म मःम सेन्टरमै हुन्छन् । अहिले दैनिक करिव तीन सय प्लेट जति मःम बिक्री हुन्छ । १० हजार रुपैयाँ बोकेर हिम्मत गरेको अनि साढे तीन लाख रुपैयाँले थालेको मःम सेन्टरमा डेढ वर्ष बीचमा २२ लाख रुपैयाँ लगानी गरेका छन् ।

अहिले उनका दुइ जना छोराहरु सहित ७ जनाको समूह छ । श्रीमती भने रोजगारीकै सिलसिलामा मुलुक वाहिर छिन् । उनी पनि आउँदो वर्ष स्वदेश फर्कंदै छिन्, श्रीमानकै व्यवसायमा साथ दिन ।

दुबईमा अरुले दिएको सेल्सको टार्गेट पूरा गर्ने नवराजले मःम पसलमा आफ्नै लागि पनि टार्गेट निर्धारण गरेका थिए । पहिलो वर्ष दैनिक ३० हजार रुपैयाँको विक्री गर्ने । यो लक्ष्य पूरा भएको छ ।

यो वर्ष दैनिक करिव ४० हजार रुपैयाँको विक्री गर्ने लक्ष निर्धारण गरेका थिए । यो लक्ष पनि पूरा भइसकेको छ ।

अबको लक्ष

नवराजको शैली हो – एउटा लक्ष निर्धारण गर्ने अनि त्यो लक्ष प्राप्तिका लागि मरिमेटेर मेहेनत गर्ने, आइडिया लगाउने ।

अबको लक्ष के ? जवाफमा नवराज भन्छन्– ‘अब झोल मःमको अरु आउटलेट विस्तार गर्ने ।’

आउँदो तीन महिनाभित्र डेलिभरी स्टेसन निर्माण गर्ने उनको लक्ष्य छ । यो स्टेशनले ग्राहकले भनेको ठाउँमा १५ मिनेटभित्र मःम पुर्याइदिनेछ।

उद्यमशिलतामा विश्वास गर्नाले देश बदल्ने सपना देखेको एउटा पूर्व लडाकुको सपनाले अर्कै रुप लिएको छ । कामको खोजीमा विदेशिएको त्यही लडाकू मैले गरेको मःमको अचारको पेटेन्ट राईट लिन्छु भन्छ । अनि, त्यही लडाकू जो केही वर्ष अघिसम्ःम १० हजार रुपैयाँ बोकेर भौतारिंदै थियोे आज सेन्ट्रल किचन बनाउछु, डेलिभरि स्टेसन निमार्ण गर्छु भन्छ ।

गजब छ नवराजको सपना र सपनालाई विपना बनाउने जागर । नवराजको सपना छ– मःमको चेनलाई पाँच वर्षभित्र देशकै एक नम्बर मःम चेन बनाउने ।

[यो सकारात्मक कथा निर्माणमा माछापुच्छ्रे बैंक लिमिटेडले सहयोग गरेको छ । समाजका यस्तै अन्य सकारात्मक कथाहरु निमार्णका लागि माछापुच्छ्रे बैंक लिमिटेडले जस्तै तपाई पनि आर्थिक सहयोग गर्न सक्नुहुन्छ । समाजकै सहयोगमा समाजकै सकारात्मक कथा भन्ने हाम्रो प्रयत्न छ । आउनुहोस् हातेमालो गरौं ।]

प्रतिक्रिया

सम्बन्धित

पाँच वर्षमा १ सय उद्यमी, हजारलाई रोजगारी !

१२ घन्टा अगाडि ५ मिनेटमा पढिने

अाखिर को थिए सुकरात, कसरी बने दार्शनिक ?

१ दिन अगाडि ३ मिनेटमा पढिने

प्रमाणपत्र बोकेर बैंक जाने दिन आयो !

२ दिन अगाडि ४ मिनेटमा पढिने