मजदूर थिए, उद्योगपति बने, डीभी परे पनि अमेरिकाबाट फर्किए

एबी ग्रुपका सञ्चालक भीम घिमिरेको संघर्ष गाथा चलचित्र झैं छ

लक्षिमा योञ्जन / विमला गुप्ता २०७४ फागुन २९ गते १६:२७

मजदुरी गर्थे भिम घिमिरे । आज सातवटा उद्योग व्यवसायका मालिक छन् । परिवारमा गरिबीको कुनै सीमा थिएन । एकदिन यस्तो आयो, भिमलाई अमेरिकाको डिभी चिठ्ठा पर्यो । अमेरिका गए । केही दिनमै नेपाल फर्किएर आफ्नो व्यवसाय समाले ।

काल्पनिक चलचित्र झैं छ विराटनगरका भिमको जीवन संघर्ष ।

भीमको परिवारसँग जग्गा थिएन । बुवाआमा र आठ दाजुभाई तथा दिदी बहिनी थिए । यो ठूलो परिवारसँग अरुको जग्गामा खेती गरेर अँधिया कमाउने बाहेक गुजाराको उपाय थिएन । गरिबी बीच पनि सन्तान पढाउँछु भनेर बुवाआमा खोटाङबाट तराई आएका थिए ।

०४० सालमा भीमले प्रवेशिका दिए । अन्तिम दिनको परीक्षा बिहान ११ बजे सकियो । परीक्षा सकेर उनी सीधै लागे मजदुरी गर्न सडक बनाइँदै गरेको ठाउँमा । त्यसबेला चिनियाँ कम्पनीले सडक बनाइरहेको थियो ।

केही बेर अघि कलम समाएर परीक्षा दिएका भीमले मजदुरका रुपमा वेल्चा समाए । सिमेन्ट बोक्न थाले । ज्याला थियो दिनको ६ रुपैयाँ ।

प्रवेशिका दिने ठूलो बोझ टाउकोबाट हटाएपछि साथीहरु विभिन्न ठाउँ घुम्न गएका थिए, मनोरञ्जन गर्न हिँडेका थिए । भीम चाहिँ मजदुर बने । उनी संघर्ष विश्वविद्यालयमा प्रवेश गरेका थिए ।

संघर्ष र सफलता एउटै रथको दुई पांग्रा हो भन्ने किशोर उमेरका भीमले बुझिसकेका थिए ।

भरखरै प्रवेशिका परीक्षा दिएका फुच्चे भीमले काममा ठगेनन्, सकिनसकी इमादारीसाथ गरे । खन्ने काम गरे, भारी बोके, सिमेन्टका बोरा बोके ।

सुरुमै चमत्कार

मेहेनत र इमानदारी एकै ठाउँ मिसिएपछि चमत्कार हुन बेर लाग्दैन । भीमले चमत्कार भोग्न पाए सातै दिनमा।

उनको प्रमोशन भयो । ज्याला दिनको आठ रुपैयाँ भयो ।

सुपरभाइजर भए । २० जनाको लिडर भएर काम गर्न थाले । लिडर भएँ भनेर काम नगरी बस्दैनथे । सकेसम्म काम गर्थे ।

सुपरभाइजरका रुपमा उनले २० जनाको हाजिरी राख्नुपर्थियो । कामको रेखदेख गर्नुपर्थियो ।

चिनियाँ हाकीमहरु उनको काम नियालिरहेका थिए । तीन महिना पछि उनलाई एउटा अनौठो प्रस्ताव आयो । चिनियाँ भाषा सिक्ने । सिक्ने काममा पछि हट्न हुँदैन भन्ने मान्यताका भीमले हुन्छ भनिहाले ।

चिनियाँ भाषा सिक्ने चारजना थिए, सिकाउँथिन् चिनियाँ गुरुआमा चौले । असाध्यै गाह्रो चिनियाँ भाषा सिक्न । केही समयपछि अन्य तीनजनाले सिक्न छाडे, भीम एक्लै सिक्न थाले । तेजिलो दिमागका भीमलाई चिनियाँ भाषा सिक्न गाह्रो भएन । ६ महिना नबित्दै उनी चिनियाँ भाषा नेपालीमा उल्था गर्न सक्ने भए । यसका लागि थोरै मेहेनत गर्न परेको थिएन ।

यो मेहनत र लगनको पुरस्कार पाए । पुरस्कार थियो अनुवादक पद । यो प्रमोशन मात्र थिएन, त्योभन्दा धेरै थियो । अब उनी चिनियाँहरुसँग हिँड्न थाले भाषा अनुवाद गर्दै ।

दोधारमा भीम

संघर्ष विश्वविद्यालयमा जोडतोडसँग लागिरहेको अनि सफल भइरहेको बेला एउटा ठूलो समस्या आयो । दोधारमा परे ।

प्रवेशिकाको नतिजा आयो । अब कलेज पढ्ने कि जागिर गरिरहने ? दोधारको विषय यही थियो । भीमले के छाने होलान् ? अहिले विराटनगरका चर्चित र सफल उद्योगी व्यवसायी भीमले पक्कै जागिर छाने जस्तो लाग्ला । तर, भीमले पढाई छाने । जागिर छाड्ने निर्णय गरे । भीषण गरिबीमा जागिरको आम्दानीले ठूलो भरथेग गरिरहेको थियो, घरमा सुखको उज्यालो देखिन थालेको थियो । तर, जागिर छाड्ने भए ।

अति नै कठिन थियो त्यो निर्णय । जागिर भनेको जति पनि पाइन्छ तर त्यसका लागि पढ्नुपर्छ भन्ने लागेको थियो उनलाई ।

उनले कम्पनीलाई जागिर छाड्ने सूचित गरे । चिनियाँहरुले बोलाएर कारण सोधे । उनले पढ्नका लागि जागिर छाड्न लागेको सुनाए । फुच्चे भए पनि इमानदार, मेहेनती, मिलनसार अनि चिनियाँ भाषा समेत जानेको भीमलाई चिनियाँहरुले गुमाउन चाहेनन् ।

भीमका लागि विशेष निर्णय गरिदिए । क्याम्पस पढ्ने समय व्यवस्थापन गरि दिए । त्यति मात्र होइन, क्याम्पस आउनजान मोटरको व्यवस्था समेत गरिदिए । आश्चर्यजनक थियो त्यो निर्णय ।
जागिर खाँदै महेन्द्र मोरङ क्याम्पस कमर्स पढ्न थाले ।

नयाँ क्षितिज

०४७ सालपछिको कुरा हो, चिनियाँ कम्पनी र टोयटा कम्पनीले विराटनगरको टंकिसिनवारीमा इँट्टा काराखाना खोल्ने भए । भीमलाई चिनियाँ कम्पनीको तर्फबाट १५ जना प्राविधिकहरुको टिमको लिडर बनाइयो । त्यहाँ काम गर्दै पढाइलाई पनि अगाडी बढाउन थाले ।

पछि चिनियाँ कम्पनीले इँट्टा कारखाना छाड्यो । टोयटा कम्पनीले मात्र चलाउने भयो । भीम यथावत काममा रहे । उनी यति इमादारी र लगनशीलतासाथ काम गर्थे कि मालिकहरुको नजरमा परिहाल्थे । जहाँ पनि काम प्यारो हुन्छ त्यसै भनिएको होइन ।

पछि टोयटा कम्पनीले त उनलाई इँट्टा कारखानाको महाप्रबन्धक नै बनायो । ठूलो जिम्मेवारी समाल्न सिके । त्यसबेला पनि पढाईलाई निरन्तरता दिए ।

अब आफैं

यतिन्जेलसम्म ठूलो पदमा बसे पनि भीम कामदार थिए । उनले आफै व्यवसाय थाल्नुपर्छ भन्ने सोंचे । उनले चिनियाँ कम्पनीहरुको जागिरलाई तिलान्जली दिए । सल्लाहकार मात्र बसे ।

उनले ढुवानी सेवा खोले । त्यसपछि कन्स्ट्रक्सनको काम पनि थाले । ठेक्का पट्टाको काम गर्न थाले । उनले आफ्नो नाममा घर पनि बनाए ।

०५१ सालमा विवाह गरे अजितासँग ।

विस्तारै उनले जग्गा किनबेचको काम पनि थाले । निक्कै फाइदा भयो ।

०५४ सालमा उनले इँट्टा उधोगको सल्लाहकार पद छाडेका थिए । त्यसको एक वर्षपछि उधोग नै बन्द भयो । उधोग बन्द भएपछि उधोगको मेसीन त्यसै बस्यो । उनले त्यो उधोगको मेसिन प्रयोगमा ल्याउने विचार गरे । मेसिन किने । सुनसरीको आफ्नो जग्गामा इँट्टा उधोग खोले ।

टोयटा कम्पनीको पूर्वाञ्चल डिलर पनि बने ।

०६३ सालमा पेट्रोल पम्प किने । एबी पेट्रोल पम्प राखे नाम ।

इँट्टा उद्योग पनि विस्तार गरे । दुईटा इँट्टा उद्योग खोले । र, मकालु टेलिभिजन पनि खोले । मकालु टेलिभिजनका संस्थापक उपाध्यक्ष पनि हुन् ।

बाँचेको मान्छे

आजको भीम घिमिरे दुःखै दुःखको जगमा बनेका हुन् । संघर्षको जगमा बनेका हुन् । मेहेनत र इमानदारीको इँट्टाले बनेका छन् भीम । त्यसैले अतितमा गरेको दुःख भुल्दैनन्, लुकाउँदैनन् । भन्छन्– ‘मैले गरेको संघर्षबाट अरुले प्रेरणा लिउन् भन्ने चाहन्छु ।’

निक्कै आदर्शवादी छन् ।

अँ, शिशुकालको एउटा कुरा । ६ महिनाको हुँदा असाध्यै विरामी परेछन् । परिवारले तुलसीको मोठमा पुराइसकेका थिए । त्यसबेला ज्योतिषले बाँच्न गाह्रो छ, बाँच्यो भने ठूलो मानिस बन्छ भनेका थिए रे । भीम ठूलो र धनी मानिस बनेका छन् । मुख्य कुरा, उनी असल मानिस बनेका छन् । सामाजिक काममा पनि निरन्तर सक्रिय छन् ।

भीमको यो सफलताको रथमा दुईटा चक्का छ । एउटा उनी हुन्, अर्की चाहिँ पत्नी अजिता । सबै कम्पनीको नाम एबी राखेका छन् । पत्नी अजिता र आफ्नो नामको पहिलो अक्षरबाट एबी ग्रुप नाम राखेका हुन् । अजिता कोशी अञ्चल अस्पतालमा नर्सिङ इन्चार्ज छिन् । भीम भन्छन् –‘घरमा शान्ति भयो भने उन्नति हुन्छ । आज म जे छु, यसको श्रेय अजितालाई दिन्छु ।’

सन् २००४ मा उनलाई डीभी चिठ्ठा पर्यो । व्यवसाय छाडेर सपरिवार अमेरिका गए । न अजितालाई अमेरिका चित्त बुझ्यो, न भीमलाई । नेपालमै परिवार र समाजको सेवा गरेर मज्जासँग गरिखाएका थियौं, यो विरानो भूमिमा किन आयौं भन्दै पछुतो गर्न थाले ।

अमेरिकाको वैभव र चमकधमकमा भीम र अजिता झण्डै डिप्रेशनको सिकार बने । देश जति प्यारो केही हुँदैन भन्दै गएको तीन सातामै नेपाल फर्किए । त्यसपछि फेरी व्यवसाय थाले ।

जेसिजमा सक्रिय भीमले उत्कृष्ट प्रेसिडेण्डको अवार्ड पाएका छन् । सन् २०१४ र १०१५ मा लाइन्सको गभर्नर बने । संसारका सात सय ५५ गभर्नर मध्ये उत्कृष्ट १७ को अवार्ड पाए ।

अहिले सातवटा विभिन्न कम्पनी चलाइरहेछन्, सबै कम्पनीको नाम एबी बाट सुरु हुन्छ । सातसय भन्दा धेरै कर्मचारी र मजदुरलाई रोजगार दिएका छन् ।

अब के छ योजना ? भीम भन्छन्–‘एउटा कृषि फर्म खोल्न प्रयास गरिरहेको छु। यसका लागि जग्गा पनि व्यवस्था गरिसकेको छु । मलाई सबैभन्दा मन पर्ने नै कृषि हो ।’

प्रगति कसरी गर्ने ? भीम भन्छन्– ‘मेहनत, इमानदारी, अध्ययन अनि सकारात्मक सोंच ।’

[यो सकारात्मक कथा निर्माणमा सनराइज बैंक लिमिटेडले सहयोग गरेको छ । समाजका यस्तै अन्य सकारात्मक कथाहरु निमार्णका लागि सनराइज बैंक लिमिटेडले जस्तै तपाई पनि आर्थिक सहयोग गर्न सक्नुहुन्छ । समाजकै सहयोगमा समाजकै सकारात्मक कथा भन्ने हाम्रो प्रयत्न छ । आउनुहोस् हातेमालो गरौं ।]

 

यो पनि 

वसन्त सपना: ‘वर्गर चेन बढाउँदै लाने, फैलाउँदै जाने’

चाल पाउनेहरुले सारेका छन् घर डेरा

प्रतिक्रिया

सम्बन्धित

पाँच वर्षमा १ सय उद्यमी, हजारलाई रोजगारी !

१२ घन्टा अगाडि ५ मिनेटमा पढिने

अाखिर को थिए सुकरात, कसरी बने दार्शनिक ?

१ दिन अगाडि ३ मिनेटमा पढिने

प्रमाणपत्र बोकेर बैंक जाने दिन आयो !

२ दिन अगाडि ४ मिनेटमा पढिने