हिजो जनयुद्ध र दुबईमा, आज पाउरोटी उद्योगमा

अँध्यारो वर्तमानमा टेकेर खोजिएको सुन्दर भविष्य

सिर्जना सेन, प्युठान २०७४ फागुन २८ गते १७:०९

जनयुद्धमा लागेका वसन्तराज पोखरेल दुबई पलायन भए । कारण थियो– साथीहरुको हत्या भयो, आफ्नो पनि ज्यान खतरामा पर्यो । दुबईमा पनि उनले राजनीति नै गरे । प्रवासीहरुको संगठन जनप्रगतिशील मञ्चमा सक्रिय भए । अरुले दुबईमा काम गरेर कति कमाए कति, वसन्तले भने खासै कमाउन सकेनन् ।

यहाँ ०४९ सालबाट राजनीतिमा लागेका वसन्तराज पोखरेलको राजनीतिक जीवनको कथा प्रस्तुत गरिन लागेको होइन । वसन्त आज पनि राजनीतिमै छन् तर कुनै पदमा छैनन् । उनी उद्योगी बनेका छन् । यहाँ प्रस्तुत गर्न लागिएको कथा हो उद्योगी वसन्तराजको ।

प्युठानको झिमरुकका हुन् वसन्त । ०६२, ०६३ को लोकतान्त्रिक आन्दोलन सुरु भएपछि उनको मन दुबईमा अडिएन । विदा लिएर नेपाल आए आन्दोलन गर्न । आन्दोलनमा लागे, आन्दोलन सफल भयो । अब के गर्ने ? फर्किए वसन्त दुबई नै ।

दुबईमा पनि राजनीतिमा निरन्तर लागे । ०६७ मा उनी सदाका लागि भन्दै नेपाल फर्किए । नौ वर्ष दुबई बसे तर खासै कमाएनन् । नेपालमा राजनीतिक स्वतन्त्रता थियो तर वसन्तका लागि आर्थिक स्वतन्त्रता चाहिँ थिएन । उनी काम गर्न थाले । दुई छोरा र पत्नी सहितको परिवार चलाउन सजिलो थिएन ।

उनले अर्घाखाँचीको चुत्रावेसीमा राप्ती लुम्विनी लज खोले । लज राम्रै चल्यो । तर, राजनीतिले छाडेन । व्यवसायमा भन्दा राजनीतिमा धेरै समय दिन थाले । खासै कमाएनन् । अर्घाखाँची पनि उनका लागि परदेश जस्तै थियो । त्यसैले आफ्नै जिल्ला प्युठान फर्कने निधो गरे ।

प्युठान त फर्कने तर के काम गर्ने ? योजना बनाउन थाले । कुनै न कुनै व्यवसाय गर्नु नै थियो । ०७२ मा प्युठान फर्किएर लज नै खोले । नाम राखे राप्ती प्युठानी लज । अर्घाखाँचीमा राप्ती लुम्विनी लज नाम राखेका थिए, प्युठान सदरमुकाममा चाहिँ ‘राप्ती प्युठानी’ नाम राखे ।

अहँ, लजमा पनि मन बसेन । केही नयाँ काम गरौं भनेर मनमा हुटहुटी थियो । विदेशमा वेकरी उद्योगहरु देखेका थिए । त्यही गर्ने पो हो की ? वसन्तले अध्ययन गर्न थाले ।

प्युठानका बजारहरु हेरे, अन्य पाउरोटी उद्योगहरु पनि हेरे । आँट आयो । त्यसपछि प्युठानमा ०७२ मा थाले शारदा वेकरी उद्योग ।

पहिलो दिन

उद्योग सुरु गर्नु आधा सफल हुनु हो भन्ने भनाई छ । उद्योगका लागि ठाउँ छनौट गर्नु, मेसिनरी र उपकरण व्यवस्था गर्नु, मिस्त्री व्यवस्था गर्नु, उद्योगको क देखि ज्ञ सम्म बुझ्नु निकै चुनौतीपूर्ण थियो । यी चुनौती सबै पार गरे वसन्तले । त्यसपछि उद्योग थाले ।

पहिलो दिन ९६ पीस पाउरोटी उत्पादन गरे । बजारमा पठाए, बेच्न लगे । अहँ, विक्री भएन ।

लामो तयारीपछि खोलेको उद्योगलाई पहिलो पाइलामै अनि पहिलो दिनमै ठूलो ठक्कर लाग्यो । ९६ पीस उत्पादन गरेकोमा एक दर्जन पनि विक्री भएन । बाँकी रहेका पाउरोटी छरछिमेकी र आफन्तलाई बाँडे ।

बाहिर जिल्लाबाट ल्याइने पाउरोटीले एकछत्र बजार लिएको थियो । शारदा बेकरीको उत्पादनलाई बजारमा कुनै ठाउँ थिएन ।

उद्योग थाल्नु भनेको बाघमाथिको सवारी हो, छाडेर हिँड्दा डुबिन्छ, गरिरहन पनि सकिन्न । उद्योग थालेपछि त्यसलाई नचलाई सुखै छैन । वसन्तले पनि अँध्यारो वर्तमानमा टेकेर सुन्दर भविष्य खोज्दै शारदा वेकरी उद्योग चलाउन थाले ।

तैपनि उद्योग चलेन । उनकी पत्नी हरेक दिन विहान पाउरोटी बेच्न हिँड्थिन् । माइती गाउँको वजार जुम्रीमा पनि पुराइन् । चिनजानका सबैलाई पाउरोटी किन्न अनुरोध गरिन् । त्यसपछि मुस्किलले शारदा बेकरी उद्योगको रथ गुडेजस्तो हुन थाल्यो ।

पाउरोटी उद्योग थाल्दा वसन्तले एउटा समस्याले कति विकराल रुप लिनेवाला छ भन्ने आकलन नै गरेका थिएनन् । त्यो समस्या हो लोडसेडिङ । अहिले जस्तो होइन, त्यसबेला लोडसेडिङ अत्याधिक हुन्थ्यो । पाउरोटी उद्योगको सबै उत्पादन प्रणाली प्रभावित हुन्थ्यो ।

निराशाजनक थिए ती दिन तर हरेश खाएनन् ।

गुड्यो रथ

कुनै पनि उद्योग व्यवसाय थाल्दा त्यसले गति पकड्न समय लाग्छ । उत्पादनले बजारमा ठाउँ बनाउन समय लाग्छ । त्यसैले त भनिन्छ, संघर्ष बिना सफलता हात लाग्दैन । झन, उद्योग यस्तो क्षेत्र हो जसमा निरन्तर संघर्ष गरिरहनुपर्छ । हरेश खाने र मेहेनत गर्न सक्नेका लागि मात्र हो उद्योग ।

व्यवसायमा थिए वसन्त, उद्योगमा हात हाले । व्यवसायको अनुभव थियो, उद्योगको अनुभव थिएन । उद्योगको कठोर वास्तविकताले वसन्तलाई पाठ पढाउँदै लग्यो, वसन्त पढ्दै गए, उद्योग बढ्दै गयो ।

र, यस्तो दिन आयो शारदा वेकरी उद्योगको उत्पादन बजारमा छ्याप्छ्याप्ती भयो । बजारमा मात्र नभएर गाउँगाउँसम्म पुग्न थाल्यो । मोटरमा लादेर गाउँगाउँसम्म पाउरोटी पठाउन थाले । उत्पादन पनि विविधिकरण गरे । पाउरोटी मात्र नभएर बिस्कुट, कुकिज, क्रिमरोल उत्पादन गर्न थाले । त्यति मात्र होइन, वर्फी र रसवरी पनि बनाएर सप्लाई गर्न थाले । १६ प्रकारका सामग्री बनाउँछ शारदा वेकरी उद्योगले ।

प्युठानमा जन्मदिनको केक उत्पादन गर्ने शारदा वेकरी उद्योग नै हो ।

उद्योगले गति लिएपछि बैंकले ऋण पनि पत्यायो । लगानी बढाए, मेसिन थपे, घरेलु कार्यालयले ८० हजार रुपैयाँ बराबरको सहायता पनि दियो ।

अहिले मासिक पाँच लाख रुपैयाँभन्दा धेरैको कारोबार गर्छ शारदा बेकरीले । ६ जना कामदार छन् । बजार हेर्नलाई तीनजना कर्मचारी छन् । वसन्त दम्पत्ति पनि अहोरात्र खट्छन् । भ्याई नभ्याई छ । कतिसम्म भ्याईनभ्याई छ भने उनले लज छाडिसकेका छन् । लज छाडेर पूर्ण रुपमा पाउरोटी उद्योगमा होमिए भनेपछि अनुमान गरौं वसन्तको कमाई कति छ ।

यति मात्र होइन, वसन्तले आफ्नो उद्योगको शाखा पनि बिस्तार गर्न थालेका छन् । उनले जिल्लाकै नौ बाहिनी गाउँपालिकामा शाखा उद्योग खोलेका छन् । चाँडै नै गौमुखी गाउँपालिकामा पनि खोल्दैछन् । राजनीति र उद्योगलाई दिने समयमा सन्तुलन मिलाएकैले आफूले यो प्रगति गरेको वसन्त बताउँछन् ।

वसन्तले उद्योगको नाम ‘शारदा’ किन राखे ? यसको पनि रोचक कारण छ । उद्योग थाल्नु अघि जोतिष हेराउन गए । ज्योतिषले श्रीमतीको नाममा उद्योग चलाउनु भने । वसन्तले त्यसै गरे । ज्योतीषले भनेकै कारणले वसन्त सफल बनेका हुन् त ? अहँ, होइन । हाम्रो निष्कर्ष छ– लगनशीलता र मेहेनतका कारण वसन्त सफल बनेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित

पाँच वर्षमा १ सय उद्यमी, हजारलाई रोजगारी !

१२ घन्टा अगाडि ५ मिनेटमा पढिने

अाखिर को थिए सुकरात, कसरी बने दार्शनिक ?

१ दिन अगाडि ३ मिनेटमा पढिने

प्रमाणपत्र बोकेर बैंक जाने दिन आयो !

२ दिन अगाडि ४ मिनेटमा पढिने