जसले लाखौंलाई ज्ञान दियो, दिँदैछ र दिनेछ

त्रिवि केन्द्रीय पुस्तकालय: जसले ६ दशकदेखि ज्ञान बाँडिरहेछ

उपेन्द्र खड्का / सागर दाहाल २०७४ फागुन २७ गते १६:३९


वौद्धिक रंगशाला हो त्रिभुवन विश्वविद्यालय कीर्तिपुर । ठूलो एरिया छ । सुन्दर अनि शान्त वातावरण छ । ०१६ सालमा स्थापना भएपछि त्रिविले अनेक उतारचढाव भोग्नुपरेको छ । तर, जस्तै उतारचढाव बीच पनि ज्ञान बाँडेको छ ।

काठमाडौंमा तीन हजार ४२ रोपनीभन्दा केही धेरै छ त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको क्षेत्रफल । यो विशाल क्षेत्रको बीचमा छ त्रिविको केन्द्रीय पुस्तकालय ।

जहिले त्रिवि जन्मियो, सँगसँगै जन्मियो त्रिवि पुस्तकालय । अर्थात् ०१६ सालमा । अहिले वल्र्ड ट्रेड सेन्टर रहेको ठाउँमा थियो त्यसबेला त्रिभुवन विश्वविद्यालय र यसको केन्द्रीय पुस्तकालय । त्यसबेला एक हजार दुई सय जति पुस्तक थियो ।

०२० सालमा कीर्तिपुरमा त्रिवि र पुस्तकालय सर्दा पुस्तकको संख्या पाँच गुणा बढिसकेको थियो ।

व्हात्तै पुस्तक बढ्नुका दुई कारण थिए । पहिलो कारण हो, चार वर्ष बीचमा पुस्तकालयमा धेरै पुस्तक थपिए । दोस्रो कारण थियो सेन्ट्रल लाईब्रेरी पनि केन्द्रीय पुस्तकालयमा गाभिनु ।

‘युएसएड’ ले लाल दरबारमा सेन्ट्रल लाईब्रेरी भनेर एउटा पुस्तकालय सुरु गरेको थियो । ०१९ सालमा सो पुस्तकालय त्रिवि केन्द्रीय पुस्तकालयमा भाभियो ।

आज कीर्तिपुरमा ठूलो भवनमा छ पुस्तकालय । तर, ०१६ सालमा यो दुईटा कोठाबाट सुरु भएको थियो । अहिलेको भवन चाहिँ ०२४ सालमा बनेको हो ।

‘विश्वविद्यालय भनेको पुस्तकालय वरिपरि स्थापना भएका भवनहरुको झुण्ड हो, त्यसैले त्रिविको वरिपरि नै राखिएको हो,’ भन्छन् त्रिवि कन्द्रीय पुस्तकालयका प्रमुख इन्द्र प्रसाद अधिकारी ।

०७२ को भूकम्पले पुस्तककालय भवन क्षतिग्रस्त पुग्यो । किताब छरपस्ट भए । छरपस्ट किताब व्यवस्थित गर्न धेरै साता लाग्यो । भूकम्पका कारण पुस्तकालय नै बन्द भयो ।

पुस्तकालयको समस्या मुसा र कागज खाने कीरा हुन् । तर, केन्द्रीय पुस्तकालयले पानी चुहिने छानाको समस्या पनि भोगिरहेको छ । तैपनि पाठक अध्येताहरुको सेवा गरिरहेको छ । दैनिक एक हजार पाँच सय अध्येता पुस्तकालयमा आउँछन् ।

यो पुस्तकाय अवलोकन गर्न पूर्व राष्ट्रपति डा.रामवरण यादव पुगेका छन्, अहिलेकी राष्ट्रपति विद्यादेवी भण्डारी पनि पुगेकी छिन् । प्रधानममन्त्रि के पी ओली पनि पुगेका छन् । सबैजसो पूर्व प्रधानमन्त्रीहरु पुगेका छन् । लब्धप्रतिष्ठित सबै पुगेका छन् । विद्धान र अध्येताहरु त नपुग्ने कुरै भएन ।

पुस्तकालयमा पुस्तक, जर्नल, पत्रपत्रिका तथा विविध सन्दर्भ सामाग्री छन् । कुनै काठका त कुनै फलामका खुल्ला तथा बन्द दराजमा छन् ।

इन्टरनेटको युग सुरु भयो, तैपनि त्रिवि पुस्तकालयको शाख घटेको छैन । पाठक घटेका छैनन् । बरु भूकम्पपछि, पाठक बढेका छन् भन्छन् इन्द्रप्रसाद ।

पुस्तकालयमा चार लाख भन्दा धेरै पुस्तक, जर्नल तथा विभिन्न पत्रिकाको भोलम छन् । पुस्तकालयमा रहेका करिब पाँच सय पुस्तकलाई दुर्लभको सूचीमा राखिएको छ । हस्तलिखित ग्र्रन्थ पनि सयौं छन् । १७ हजारभन्दा धेरै थेसिस छन् । त्यस्ता थेसिसलाई वेवसाइटमा पनि राख्न थालिएको छ ।

अहिले करिब ११ हजार पुस्तकालयका सदस्य छन् ।

आजकाल विरलै पुस्तक चोरी हुन्छ । किनभने सिसी टिभी जडान गरिएको छ । अनि, १५ बर्ष अघि नै ईलेक्ट्रोनिक प्रविधि जडान गरिएको छ । कसैले किृताब चोरेर लगेमा गेटमा साईरन बज्छ ।

यति ठूलो पुस्तकालयमा ५३ जना मात्रै कर्मचारी छन् । करिब २५ जना कर्मचारीको अभाव भएको बताउँछन् उनी ।.तैपनि पुस्तकालय र यसका कर्मचारीले पाठकहरुको सेवा गरिरहेकै छन् ।

पुस्तकालयमा विदेशीलाई पनि सामान्य शुल्क लिएर पुस्तक दिइन्छ । मासिक सय रपैयाँ तिरेर जो कोही सदस्य बन्न सक्छ । एकमुष्ट तिर्दा बार्षिक ६ सय रुपैयाँ तिरे पुग्छ । त्रिवि कीर्तिपुरमै अध्ययन गर्ने विद्यार्थी भने निशुल्क सदस्य बन्न पाउँछन् ।

यो कागजी पुस्तकालय हो, कागजी पुस्तकाललाई भविष्यमा निश्चय पनि डिजिटल पुस्तकालयले विस्थापित गर्नेछ तर अहिले नै चाहिँ होइन । बरु, कागजी पुस्तकालयले नै डिजिटल पुस्तकालयको रुप धारण गरिरहेका छन् । केन्द्रीय पुस्तकालय पनि ई–पुस्तकालयको अवधारणामा अगाडि बढिरहेको छ ।

त्रिवि पुस्तकालयले गर्ने अर्काे महत्वपूर्ण काम हो आईएसबीएन नम्बर (ईन्टरनेश्नल स्ट्याण्डर्ड बुक नम्बर) दिने । आईएसबीन नम्बर दिने एकमात्र राष्ट्रिय एजेन्सी यही पुस्तकालय हो ।

पुस्तकालयले वर्षमा एक करोड रुपैयाँको पुस्तक तथा पत्रपत्रिका किन्छ तर गएर पढ्नेहरुलाई अनमोल ज्ञान दिन्छ ।

यो पुस्तकालयमा पाइला राखेका र हातमा यहाँका किताब बोकेकाहरुले नै आज देश चलाइरहेका छन् । देशविदेशमा नेपालको नाम राखिरहेका छन् । त्रिविको मात्र होइन, देशकै शान हो यो पुस्तकालय ।

प्रतिक्रिया

सम्बन्धित

यसरी बनाइन्छ स्वादिष्ट नेपाली खाना बारा

९ घन्टा अगाडि १ मिनेटमा पढिने

‘पिकल लेडी !’

१ दिन अगाडि १० मिनेटमा पढिने