फेवाताल बिर्साउने एउटा नयाँ पर्यटकीय गन्तव्य

साधुटार क्षेत्र र यहाँ रहेको कृत्रिम पोखरीले गज्जबसँग पर्यटक तानिरहेको छ

लक्ष्मी गौतम, पाँचथर २०७४ फागुन २६ गते १७:३९

पहाडै पहाड अनि अग्लो पहाडको टाकुरामा पोखरी । पोखरीको डिलमा उभिएर पर हेर्दा सेताम्य हिमाल । अहा, कति सुन्दर । समुद्री सतहबाट ८ हजार ३ सय फिट उचाईमा छ साधुटार ।

साधुटारको निलो र कञ्चन पोखरीले अहिले धेरै पर्यटकलाई तानिरहेको छ । साधुटारको सानो र सुन्दर पोखरीको पानीमा हिमालको प्रतिच्छायाँ देख्दा फेवाताल बिर्साइदिन्छ भन्छन् पर्यटकहरु ।

फेवातालको पानीमा माछापुछ्रेको छायाँ देखिन्छ, साधुटारको पोखरीमा कुम्भकर्ण र कञ्चनजंघा हिमालको छायाँ देखिन्छ । यो छायाँको मायाले तानिएका पर्यटकहरु भन्छन्–‘साधुटार स्वर्ग हो ।’

धेरै भएको छैन साधुटार प्रचारमा आएको र पर्यटक ओइरिन थालेको । आजकल पाँचथर र इलाम सहित पूर्वी नेपालबाट हजारौं पर्यटक साधुटार आइरहेका छन् । खासगरी शनिवार र दिाको दिन साधुटारमा एक हजारको हाराहारीमा पर्यटक पुग्छन् । तस्विर र भिडियो खिच्दै सामाजिक सञ्जालमा पोष्ट गर्छन ।

यसरी चर्चित भयो साधुटार

पाँचथरको फिदिम नगरपालिका–८, इथुङका वासिन्दालाई खानेपानी आपूर्ति गर्ने उद्देश्यले साधुटारमा ट्यांकी निर्माण गरियो । ट्याङ्की भरिएपछि बगेको पानीले सँगै रहेको गहिरो भूभाग भरियो, पोखरी बन्यो । त्यो खाल्डोभित्र निलो आकाशसँगै सेताम्य कञ्चनजंघा र कुम्भकर्ण हिमालको छायाँ पर्यो ।

टाकुरामा पोखरी, पोखरीमा हिमालको प्रतिच्छायाँ । वस्, काफी थियो । गत मंसिर पहिलो साता फिदिमबाट पुगेका युवा व्यवसायी गुण काफ्लेले सेल्फी खिचेर ‘हाम्रो प्रेमालय’ भन्दै फेसबुकमा पोष्ट गरे । त्यस अघि नै इथुङका न्यूमुन सुनुवार, फिदिम–२ का फ्रेडरिच तुम्वापो र रानिटारका सूर्य अधिकारी लगायतले साधुटारमा फोटो खिचेर फेसबुकमा हालिसकेका थिए । क्रमश प्रचार बढ्दै गयो अनि ओइरो लाग्न थाल्यो पर्यटकको ।

आजभोली विशेषत पाँचथर र इलामका मानिस विदा मनाउन र रमाइलो गर्न साधुटार पुग्ने गरेका छन् ।

तेह्रथुमको आठराई हुँदै झापाबाट पनि साधुटारमा पर्यटक आइरहेका छन् । शनिवार र सार्वजनिक विदाका दिन व्यवसायी र कर्मचारीहरुको ठूलो जमात गाडी रिर्जव गरेर साधुटार पुग्ने गरेका छन् ।

मेची राजमार्गको इलाम फिदिम सडकको रानीटार खण्डबाट साढे दुई किलोमिटर दूरीमा छ साधुटार । साधुटारमा स्थानीय सुनुवार समुदायले धार्मिक सांस्कृतिक कर्म गर्ने गरेका छन् साधुटारको पोखरी क्षेत्रमा । सुनवार समुदायले होम गर्ने ठाँउ भएकाले ठाउँको नाम ‘साधुटार’ भनिएको स्थानीयको भनाई छ ।

बढ्यो व्यवसाय

यति सुन्दर साधुटारको पोखरी र आसपासको क्षेत्र भने सार्वजनिक होइन, निजी हो । चेतवहादुर मुखियाको नाममा दर्ता भएको निजी जग्गा हो । आफ्नो जग्गामा रारा र फेवाताल विर्साउने पर्यटकीय स्थल निर्माण भएपछि चेतबहादुरका सन्तति खुशी नहुने कुरै भएन ।

पर्यटक आउन थालेपछि यहाँ चिया चमेना पसल खुल्न थाले । अनि, नजिकैको पौवाभञ्ज्याङ वजारका होटलहरुको व्यवसाय तीन गुणा बढेको छ ।

पर्यटकीय स्थलका रुपमा स्थापित भइसकेको यो स्थानमा अव सुविधासम्पन्न होटल, सार्वजनिक सौचालय र फूलबारी निर्माण गर्न आवस्यक देखिएको लेखक रामप्रकाश समथिङ बताउँछन् ।

[यो सकारात्मक कथा निर्माणमा ग्लोवल एकेडेमी अफ टुरिज्जम एण्ड हस्पिटालिटी एजुकेसन (गेट) नामक संस्थाले सहयोग गरेको छ । समाजका यस्तै अन्य सकारात्मक कथाहरु निमार्णका लागि ग्लोवल एकेडेमी अफ टुरिज्जम एण्ड हस्पिटालिटी एजुकेसन (गेट)ले जस्तै तपाई पनि आर्थिक सहयोग गर्न सक्नुहुन्छ । समाजकै सहयोगमा समाजकै सकारात्मक कथा भन्ने हाम्रो प्रयत्न छ । आउनुहोस् हातेमालो गरौं ।]

प्रतिक्रिया

सम्बन्धित

यसरी बनाइन्छ स्वादिष्ट नेपाली खाना बारा

९ घन्टा अगाडि १ मिनेटमा पढिने

‘पिकल लेडी !’

१ दिन अगाडि १० मिनेटमा पढिने