जी फोरकी गायत्री: किरानादेखि भव्य पसलसम्म

आठ सन्तानमध्ये गायत्री मात्र नेपालमा व्यापारी, बाँकी सबै विदेशमा

प्रमिला राई २०७४ फागुन २५ गते १७:०१

वाल्यकालदेखि नै रमाइलो तरिकाले पैसा कमाउन थालेकी हुन् गायत्री कटुवालले । देशकै मुख्य सहर तथा ठूलो वाणिज्य केन्द्र बन्दै गएको इटहरीको शानदार जी फोर कलेक्सनकी सञ्चालिका हुन् गायत्री ।

इटहरी तथा पूर्वाञ्चलमै प्रख्यात नाम बनेको छ जी फोर । चार तले भव्य विल्डिङमा छ जी फोर कलेक्सन । सबै खालका रेडिमेड कपडा, जुत्ता, व्याग पाइन्छ जी फोरमा । जी फोरमा एकपटक पस्नेहरु भन्छन्, ‘काठमाडौंमा पनि छैन यति भव्य पसल ।’

२५ जना कर्मचारी छन् जी फोरमा । सिजन अर्थात् दशैं तिहारमा त योभन्दा धेरै हुन्छन् ।

जी फोर ठूलो पसल हो । तर, ठूलो पसल मात्र होइन । जी फोरसँग प्रशस्त ग्राहक छन् । इटहरी उपमहानगर र टाढाटाढाबाट आएका ग्राहकले जी फोरमा निर्धक्क सामान किन्छन् । ‘ग्राहक मात्र होइन, विश्वाश पनि जितेकी छु, त्यसैले प्रशस्त ग्राहक आउँछन्’ गायत्री भन्छिन् ।

हो, गायत्रीले विश्वाश पनि जितेकी छिन् । नत्र, २०६४ सालमा खुलेको जी फोर कलेक्सन इटहरीको शानदार व्राण्ड बन्ने थिएन ।

जी फोर त्यसै बनेको होइन । जी फोरको जग हो गायत्री रेडिमेड भेराइटी । गायत्री रेडीमेड भेराइटी बुझ्ुन अघि गायत्रीको अतित बुझ्नुपर्ने हुन्छ ।

किरानादेखि गायत्री रेडिमेडसम्म

०३२ सालमा इटहरीको एक व्यापारीक परिवारमा जन्मिइन् । बुवा आमा कपडा पसल गर्थे । सात जना बहिनी र एक भाईमध्ये जेठी गायत्री सानैदेखि आँटिली, बोल्न नहिच्किच्याउने, हक्की र हसिली थिइन् ।

बुवा मेहरमान कटुवाल र आमा रेखा कटुवाल फेन्सी पसल चलाउँथे तर छोरीलाई एक पैसा दिँदैनथे । स्कूल जाँदा विभिन्न चिज खान मन लाग्थ्यो तर बुवाको आदेश थियो, बाहिर नखानू, घरमै खानू ।
तर गायत्री भने साथीहरुसँग बाहिर खाजा खान रहर गर्थिन् । जहाँ ईच्छा त्यहाँ उपाय । गायत्रीको पढाई राम्रो थियो, कमजोर पढाई हुनेहरुलाई सिकाएर खर्च उठाउँथिन् र बाहिर खाने वाल्यकालीन चञ्चल रहर पूरा गर्थिन् ।

हजुरबुवाको ईच्छा पूरा गर्न गायत्रीले कक्षा नौ मा पढ्दै गर्दा १५ वर्षकै उमेरमा विवाह गर्नुपर्यो ।

०४७ साल फागुन ५ मा गायत्री बेहुली बनिन् । बेहुला थिए भोजपुर घर भई काठमाडौंमा अध्ययन गरिरहेका गोपाल भण्डारी ।

बिहेको एक महिनापछि नै गायत्री र गोपालले ०४७ चैत्रबाट इटहरीमा किराना पसल थाले ।

पसलवाट रामै्र आम्दानी हँुदै गयो । पढाइ पनि अगाडि बढाइन् । तर, ०४८ मा आमा बनेपछि पढाई र व्यवसाय अनि घर व्यवहारमा समस्या भयो । सुत्केरी अवस्थामै एसएलसी दिइन् । बच्चाको आमा भएर किन पढ्नुपर्यो भन्नेहरु धेरै थिए तर गायत्रीले एसएलसी पास गरिन् ।

०५० सालमा ‘गायत्री किराना पसल’ छाडिन् । गायत्री रेडिमेड भेराइटी शुरु गरिन् ।

हो, यही गायत्री भेराइटी आजको चर्चित जी फोर कलेक्सनको जग थियो ।

जी फोर नै किन ?

गायत्रीको सफलताको चर्चा गर्दा उनका पति गोपाल भण्डारीको पनि चर्चा गर्नैपर्ने हुन्छ । जी फोर पतिपत्नीकै मेहेनत र इमानदारीको कमाल हो । तैपनि जी फोर भन्नासाथ किन गायत्रीको नाम आउँछ ? यसमा कारण छ ।

गायत्री इटहरीकी लोकल हुन् । उनका बुवा आमा इटहरीका चिरपरिचित व्यापारी थिए । विवाह गरेर पति गोपाल इटहरीमा गायत्रीसँगै बस्न थाले । गोपाललाई सबैले ज्वाईं भन्न थाले । इटहरीमा गायत्रीका कारण चिनिन थाले गोपाल । स्थानीय हुनुको लाभ मिल्यो गायत्रीलाई अनि केही ओझल परे गोपाल ।

अर्काे कुरा,

गायत्रीको इटहरी प्रेम अपार छ । उनी आफूलाई ‘इटहरीकी चेली’ भन्न रुचाउँछिन् । इटहरीको विकास, निर्माण र प्रगतिमा गहिरो चासो राख्छिन् । सामाजिक काममा पनि सक्रिय छिन् । त्यसैले जी फोरले गायत्रीलाई ठूलो पहिचान दिएको छ ।

गायत्री उद्योग वाणिज्य संघ इटहरीकी पूर्व सदस्य हुन् । इटहरी लेडी जेसिसकी कार्यकारीणी उपाध्यक्ष छिन् । रेडिमेड व्यवसायी संघ इटहरीकी संस्थापक अध्यक्ष हुन् । लायन्स, रोटरी लगायतका संघसंस्थामा आवद्ध छिन् । पतिले साथ र समय नदिए यसरी विभिन्न संस्थामा सक्रिय हुन र सामाजिक काममा लाग्न कसरी समय पाउँथिन् ।

जी फोर कलेक्सन गायत्रीको मात्र होइन, गोपालको पनि हो । अनि, गायत्री र गोपालको मात्र होइन । छोरा गौरव र छोरी गुराँशको पनि हो ।

चारजनाको नाम पढेपछि बुझ्नुभयो होला जी फोरको अर्थ । परिवारका चारैजनाको नाम अंग्रेजीको ‘जी’ बाट सुरु हुन्छ । त्यसैले गायत्री–गोपाल दम्पत्तिले जी फोर नाम राखे ।

गायत्री भेराइटी ०६४ सालमा भव्य जी फोर बन्यो । गायत्री भेराइटीको ख्यातिलाई उनीहरुले जी फोरसँग गासे ।

अब जी फोर चेन स्टोर

जी फोरले सामान अनुसार ज्येष्ठ नागरिकलाई २० प्रतिशत, अपांगता भएकालाई २५ प्रतिशत सम्म छुट दिन्छ । त्यसैगरी गर्भवती महिलालाई १५ प्रतिशतसम्म छुट दिन्छ ।

वर्षमा एकपटक जी फोर स्टाफ परिवारको भव्य वनभोज हुन्छ । चाडपर्वमा पनि स्टाफलाई भोज खुवाउँछिन् । भन्छिन्–‘कर्मचारीहरुकै बलमा जी फोर चलेको छ र ग्राहकले सेवा पाएका छन् ।’

जी फोरले ग्राहकलाई त खुसी पारेकै छ, सबैभन्दा खुसी चाहिँ गायत्रीका बुवा मेहेरमान कटुवाललाई पारेको छ । किन थाहा छ ? मेहरमानका आठ छोरी र एक छोरामध्ये गायत्री मात्र नेपालमा छिन्, सबै विदेशमा छन् । देशमै बसेर आँखा अगाडि मेहेनत र प्रगति गर्ने सन्तान हरेक अभिभावकका लागि गौरवको कुरा हो । गायत्रीले परिवारलाई गौरव र गर्व दुवै दिएकी छिन् ।

अर्काे कुरा पनि थपौं, जी फोर रहेको विल्डिङ पनि गायत्री–गोपाल दम्पत्तिकै कमाई हो । र, खासगरी भन्ने हो भने गायत्री रेडिमेडको कमाई हो ।

शानदार जी फोरको भव्य कमाई चाहिँ के गर्ने ? गायत्री भन्छिन्–‘छोराछोरी पढाउने । छोरा गौरव डिग्री पढ्दैछ । छोरी गुराँश अष्ट्रेलियामा नर्सिङ पढ्दैछिन् । परिवार चलाउनुपर्यो । कर्मचारी पाल्नुपर्यो ।’

अब जी फोरले पूर्वाञ्चलका मुख्य सहरहरुमा शाखा खोल्दैछ । अर्थात्, जी फोर कलेक्सन चेन स्टोरको अवधारणामा जाँदैछ । यसका लागि गायत्री–गोपाल दम्पत्तिले योजना बुनिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित

नेपालमा पनि “फरेष्ट थेरापी”!

३ घन्टा अगाडि २ मिनेटमा पढिने