८८ वर्षिय शान्ति भन्छिन्– ‘नेपाल देश र बीरगञ्ज मेरो घर, जनता नै मेरो परिवार’

जीवनको उत्तरार्धमा उच्च सम्मान र स्नेह पाएकी छिन् बीरगञ्जकी उपमेयर शान्ति कार्कीले

बिमला गुप्ता २०७४ फागुन २४ गते १४:५५

नेपाली कांग्रेसका जतिसुकै ठूला नेता किन नहोउन्, उनलाई भेट्दा सम्मान साथ अभिवादन गर्छन् । जहाँ गए पनि सम्मान पाउँछिन्, स्नेह पाउँछिन् । सडकमा हिँड्दा नबोल्ने कोही हुँदैनन्, जसले पनि नमस्ते दिदी भन्छन् । कतै केही किन्न पर्दा पसलेले पैसा लिन मान्दैन । फलफूल खान मन पर्छ तर खान छाडिन्, किनभने फलफूल पसलेले पनि पैसा लिन मान्दैन ।

अहा, बीरगञ्ज महानगरकी उपमेयर शान्ति कार्कीलाई कस्तो दुर्लभ सम्मान ।

यो सम्मान त्यसै प्राप्त भएको होइन । निरन्तर ७४ वर्षको मेहनत र समर्पणपछि पाएकी हुन् ।

८८ वर्षकी भइन् । लोभ छैन, स्वार्थ छैन, कुनै ठूलो चाहना पनि छैन । तैपनि उपमेयर पदमा उम्मेदवार बन्ने मौका पाइन् । चुनाव लड्नि । सजिलै जितिन् ।

शान्ति आजकाल सडकमा हिँड्दा मानिसहरु सोध्छन्, ‘तपाईंको मोटर खोई ?’

शान्ति मुसुक्क हासेर भन्छिन्, ‘देख्नुभएन ? पैदल सवारी गर्दैछु ।’

मोटर पनि चाहिँदैन शान्तिलाई ।

स्थानीय चुनावको बेला थियो । उनलाई नेपाली कांग्रेसले उपमेयर उम्मेदवार बनाउने निर्णय गर्यो । यो निर्णयले बीरगञ्जमा ठूलो तरंग ल्यायो । शान्तिको जित सुनिश्चित भनियो । चुनाव भयो । कांग्रेसका अन्य पदका उम्मेदवारहरु निकै कमजोर मत ल्याएर पराजित भए । शान्ति चाहिँ अत्याधिक मतले विजयी भइन् । यसको दुईटा कारण थियो ।

पहिलो कारण हो– उनको उमेर । दोस्रो कारण हो– निरन्तर समर्पण र निस्वार्थ भाव ।

नेपालको सबैभन्दा धेरै उमेरकी जनप्रतिनिधि हुन् शान्ति । विवाह गरिनन् । सादा जीवन उच्च विचार राख्छिन् । सात दशकभन्दा धेरै निरन्तर कांग्रेस पार्टीमा लागिन् । कहिल्यै पदको आकांक्षा गनिन् । कहिल्यै मागिनन् । बरु, एकदिन पद नै उनलाई खोज्दै आयो । र, त्यो पद थियो उपमेयर ।

साधारण सुतीको धोती लगाउँछिन् । हातमा पूरानो व्याग बोकेकी हुन्छिन् । यही साधारण पहिरनले गर्दा राजनीतिमा ७४ वर्ष टिक्न सकेको बताउँछिन्– ‘म आज जस्तो छु आफ्नो उमेरको बेलामा पनि यस्तै थिएँ । म सधैं सुतीकै धोती लागाउँथे । कुर्ताको चलन भर्खर आएको थियो तर म साह्रै पातली भएकीले कहिल्यै कुर्ता सुरुवाल लगाइनँ । राजनीतिमा लागेकी हुनाले कहिल्यै श्रृङगार गरिन ।’

श्रृङगार नगरे पनि व्यक्तिगत सरसफाइमा असाध्यै ध्यान दिन्छिन् । हरेक साँझ बिहान गहवा माईको पूजा पाठ छुटाउँदिनन् ।

उपमेयर बन्नु अघिको दैनिकी र उपमेयर बनिसकेपछिको दैनिकी खासै फरक छैन । बोलि व्यवहार त झनै फरक छैन ।

विसं १९८६ मा बीरगञ्जको अलखिया मठ नजिक जन्मिएकी हुन् । कलैया हाईस्कूलमा कक्षा आठ सम्म पढिन् । विराटनगरबाट प्रवेशिका उत्तिर्ण गरिन् । त्यो बेला प्रवेशिका उत्तिर्ण गर्नु चानचुने कुरा थिएन । त्यो पनि छोरी मानिसले । अहिले पनि विभिन्न किताब पढिरहन्छिन् । पढ्नमा रुची छ ।

सम्पन्न परिवारकी थिइन् । परिवारमा आमाबुवा र दुई दाजुभाई र दुई दिदी बहिनी थिए । उनी कान्छी थिइन् ।

१४ वर्षकै उमेरमा राजनीतिमा

शान्ति भन्छिन्–‘म १४ वर्षकी थिएँ, एकजना ढुण्डीराजजी हुनुहुन्थ्यो । उहाँको पूरै परिवार कांगे्रसमा लागेका थिए । उनीहरुले नै झण्डा बोकाएर मलाई जुलुसमा हिँडाइदिए । त्यसरी राजनीतिमा लागियो ।’

राजनीतिमा लाग्न थालेपछि संघर्षमय जीवन सुरु भयो, विवाहतिर ध्यान नै गएन । अतित सम्झँदै भन्छिन््– ‘त्यसबेला राजनितिमा लागेका व्यक्तिले अनेक कष्ट सहनुपर्थ्यो । घरको एक सदस्य राजनितिमा लागेको छ भने पूरै परिवार तथा आफन्तलाई प्रशासनले दुःख दिन्थ्यो। त्यसैले घर परिवारबाट बहिष्कृत हुनुपर्थियो ।’

‘जेल जानुभन्दा बढि कष्ट हुन्छ परिवारले बहिष्कार गर्दा’– शान्ति भन्छिन् । आठदस वर्ष जेल बसिन् । प्रहरीको पिटाईबाट पिठ्युँको हड्डिमा चोट लाग्यो । त्यसपछि केही कुप्रो परेर हिँड्न परेको बताउँछिन् ।

संघर्ष कालमा शान्तिले पार्टीका लागि धेरै दुःख गरिन् ।

घर पनि छैन, रोग पनि छैन

भोजपुरी हिन्दी र नेपाली भाषाको राम्रो ज्ञान छ शान्तिलाई । शान्तिको कहिल्यै आफ्नो घर भएन । धेरै समय भूमिगत र प्रवासमा बसिन् ।

बुवाको सम्पतिबाट उनले काठमाडौंको असनमा एउटा घर पाइन् । तर, एकोहोरो रुपले राजनीतिमा लाग्दा त्यो घर बेच्नुपर्यो । बीरगञ्जको माईस्थानमा एउटा कोठा भाडामा लिएर बस्न थालिन् । माईस्थान मन्दिर परिसरमा हुने पूजाआजामा सहयोग गर्थिन्, सघाउँथिन् ।

उपमेयर बनेपछि अहिले एउटा फ्ल्याट भाडामा लिएकी छिन् तर सामान सारिसकेकी छैनन् । अहिले चिनजानको भाई विजय उपाध्यायको घरमा बस्छिन् । अब केही दिनमै फ्ल्याटमा सर्ने बताउँछिन् । उपमेयर हुनुभन्दा पहिले कोठा भाडादेखि घरको खर्च, विजुली, पानी, खाने लगाउने सबै खर्च कान्छो दाइले दिन्थे । बढी सहयोग कान्छो दाईकै पाएको बताउँछिन् ।

उनी भन्छिन्– ‘म जमिन्दार परिवारकी छोरी हूँ । जनताको सेवाका लागि घर त्यागेर हिडेकी हूँ । मलाई केही चहिँदैन, म जनताको सेवक हूँ ।’

८८ वर्षकी भइन् । घर छैन, परिवार छैन । दुःख लाग्दैन ? यो प्रश्नको जवाफमा भन्छिन् –‘नेपाल देश र बीरगञ्ज मेरो घर हो, जनता मेरा परिवार हुन् । यति ठूलो परिवार छ, अनि किन दुःख लाग्नु ?’

बिहान चार बजे उठ्छिन्, गहवा माई मन्दिरमा पूजा गरेर मन्दिरको छेउको चिया पसलमा पुग्छिन् । चिया खाँदै गफगाफ गर्छिन् । भन्छिन्– ‘राजनीति हुन्छ सडकमा, मान्छे पनि सडकमै भेटिन्छन्, अनि ठूला होटलमा बसेर किन खानुप¥यो ? म पैदल कार्यालय जान्छु । पैदल हिँड्दा स्वास्थ्यलाई पनि राम्रो हुन्छ । जीवनमा धेरै हिँडेको भएर होला हिँडेर कहिल्यै थाक्दिँन ।’

यो उमेरमा पनि कुनै रोग छैन । फलफूल खान मन पराउँछिन् तर आजकाल फलफूल खान गाह्रो छ । किनभने फलफूल पसल कसैले पनि पैसा लिन मान्दैनन् । त्यसैले फलफूल खान छाडेकी छिन् ।

उमेरमै पार्टीले अवसर नदिएकोमा गुनासो छ, उमेरमै अवसर दिएको भए केही गरेर देखाउँथे भन्छिन्– ‘तर, मरेर जानु भन्दा पहिले केही गरेर जान्छु भनेर लागिपरेकी छु, जनताले आशा र विश्वाश गरेर दिएको भोट खेर जान दिन्न, यही अन्तिम चाहाना छ मेरो ।’

प्रतिक्रिया

सम्बन्धित

यसरी बनाइन्छ स्वादिष्ट नेपाली खाना बारा

९ घन्टा अगाडि १ मिनेटमा पढिने

‘पिकल लेडी !’

१ दिन अगाडि १० मिनेटमा पढिने