‘तपाईंहरुले स्वर्ग देख्न पाउनु हुनेछ’

सडकमा विजुलीका खम्बा र तार देखिने छैन, जताततै हरियो हुनेछ, इटहरी स्वर्ग हुनेछ

प्रमिला राई २०७४ फागुन २३ गते १६:५३

नेपालमा तिब्र गतिमा फैलिरहेको, व्यापार व्यवसाय र पर्यटनमा समेत गति लिएको सहर हो इटहरी । विगतमा इटहरीको पहिचान राजमार्गमा पर्ने एउटा सानो सहरको रुपमा मात्र थियो । आज इटहरी हरित नगरी, सफा र सुन्दर नगरीका रुपमा स्थापित भएको छ । इटहरीलाई यस्तो बनाउने अगुवा हुन् सर्वध्वज साँवा ।

उनी २०५४ सालमा इटहरीका मेयर थिए, अहिले एक नम्बर प्रदेशका सांसद छन् । देशकै ठूलो र अग्रणी सहरमध्येको एक इटहरी साँवाकै नेतृत्वमा हरित नगरी बनेको हो । विकासका ठूलाठूला सपना देख्ने र देखाउने भनेर कहलिएका साँवा सपनालाई व्यवहारमा उतार्न पनि खप्पीस छन् । जसको प्रमाण हो आजको हरित र सुन्दर इटहरी ।

कसरी सम्भव भयो हरित इटहरी ? यो प्रश्न सोध्दा साँवाको जवाफ:

हो, म मेयर भएको बेलामा हरित नगरी इटहरी बनाउने अभियान सुरु भएको थियो । यसको श्रेय सबैले मलाई दिन्छन् तर म चाहिँ यसको श्रेय एक्लै लिन सक्दिन । किनभने हरित इटहरी बनाउन त्यसबेलाका उपमेयर रेवतीरण भण्डारीको पनि धेरै योगदान छ । त्यसबेलाका वडा अध्यक्ष र सदस्यहरु अगाडि सरेका थिएनन् भने इटहरी हरित बन्ने थिएन ।

हामी जनप्रतिनिधि सबैजना हरित इटहरी बनाउने अभियानमा लाग्यौं । तर, जनप्रतिनिधिले तबसम्म केही गर्न सक्दैन जबसम्म जनताले साथ दिँदैन । जनताले पनि हरित अभियानलाई साथ दिए । इटहरीलाई सुन्दर, सभ्य र हरियो बनाउनुपर्छ भन्ने भावना हामीले जगायौं । मेहेनत गर्यौं । योजना बनायौं, योजना कार्यान्वयन गर्न रातोदिन लाग्यौं । त्यसैले केही हदसम्म इटहरीलाई हरित बनाउन सफल पनि भयौं ।

इटहरीवाट अरुले के सिक्न सन्छन् ?

नक्कल गरेर हुँदैन । हरेक ठाउँको आफ्नै मौलिकता हुन्छ । ठाँउ र आवश्यकता अनुसार चल्नुपर्छ । इटहरीले अरु ठाउँबाट सिक्नुपर्छ भने अरु ठाउँले पनि इटहरीबाट सिक्नुपर्छ । कुन ठाउँले इटहरीबाट के सिक्छ भनेर थाहा हुने कुरा भएन । तर, म चाहिँ इटहरीवाट अरु ठाउँले सिक्न सक्ने मुख्य दुईटा काम देख्छु । एउटा हो मेची महाकाली पोखरी । अर्काे हो अशोक वृक्षको सुरक्षाका लागि लगाइएको फलामे रेलिङमा राखिएको विज्ञापन ल्पेट ।

हामीले इटहरी नगरपालिका कार्यालय (हाल उपमहानगर) क्षेत्रमा रहेको सुकिसकेको ताललाई जोगायौं । त्यसमा पानी भर्यौं । डुंगा चलायौं । डुंगा चलाएर आम्दानी गर्यौं ।

अशोक वृक्ष लगाउनु र इटहरीलाई हरित बनाउनु खर्चिलो काम थियो, त्यसबेला हामीसँग वजेट थिएन । हामीले सडकमा लगाइएको अशोक वृक्षको सुरक्षाका लागि फलामे घेरा लगायौं । त्यसमा विज्ञापन प्लेट राख्न दियौं । यसो गर्दा आम्दानी पनि भयो र अशोक वृक्षको सुरक्षा पनि भयो । सडकको सुन्दरता पनि बढ्यो ।

यी दुई काम अरु ठाउँले पनि सिके हुन्छ जस्तो लाग्छ ।

तपाईंको परिकल्पनाको इटहरी कस्तो थियो ? अहिले कस्तो भयो ?

मैले सोंचे जस्तो इटहरी बन्न बाँकी छ । केही काम पूरा भए । आकाशेपुल बनेको छैन । भ्यू टावर बन्न बाँकी छ । तीन हजार जनासम्म अँट्ने सभाहल बन्न बाँकी नै छ । हेर्नुस्, मेरो कल्पनाको इटहरीमा बन्न र गर्न बाँकी धेरै काम छ । धेरै धेरै नै काम गर्न बाँकी छ । जुन हरित नगरीको कल्पना गरेका थियौं, त्यो बन्न बाँकी नै छ । हरित नगरी त भयो तर हामीले परिकल्पना गरेको हरित नगरी योभन्दा धेरै नै भव्य हो । अहिले वृक्षरोपण र पुष्परोपणमा कमी आएको छ, त्यसले पाउनुपर्ने जति निरन्तरता पाएको छैन ।

विगत र अहिलेको इटहरीमा के फरक छ ?

२० वर्ष पहिले र अहिलेको इटहरी निकै फरक छ । त्यसवेला २३ हजार मतदाता थिए । अहिले ७४ हजार भन्दा वढी छन् । अहिले सबैतिर सडक वन्यो । ठूलाठूला भवनहरु बने । त्यसबेला इटहरी सानो बजार थियो आज विशाल सहर भयो ।

अबको २० वर्षपछि इटहरी कस्तो बन्छ होला ?

अबको २० वर्षपछि इटहरीमा कसैले ट्यूबवेलको पानी पिउन पर्दैन, सबैले धाराको स्वच्छ पानी पिउन पाउनेछन् । सबै सडक कालोपत्रे भइसक्नेछ । सडकमा विजुलीका तार र खम्बा देखिने छैन, सबै तार अन्डरग्राउन्ड हुनेछ । इटहरी सफा, सुन्दर र अझ हरियो हुनेछ ।

तालतलैया अहिले पर्यटकीय गन्तव्य बनेको छ । २० वर्षपछि तालतलैया क्षेत्र टापु नै टापु भएको हङकङ भन्दा कम हुने छैन । पूर्व पश्चिम रेल चल्नेछ र त्यसले इटहरीलाई अझ विकसित बनाउने छ । किमाथाङ्काबाट जोगवनीसम्म चीनका वस गुड्नेछ, त्यसले इटहरीलाई अझ ठूलो व्यापारीक केन्द्र बनाउने छ ।

विराटनगर बेलबारी, इनरुवा, चक्रघट्टी, धरानलाई समेटेर विशाल रिङरोड बन्नेछ । रिङरोड भित्रका सबै सहर स्मार्ट सिटी बन्नेछ र तीमध्ये अग्रणी हुनेछ इटहरी । इटहरीले भारतको बेङलोरमा जस्तै जंगल सफारी चलाउनेछ । बुढीखोलामा तटवन्ध बाँधेर पानीको छेलोखेलो पारिने छ र डुंगा चलाउन सकिनेछ ।

२० वर्षपछि इटहरी स्वर्ग जस्तो बन्नेछ । म मरेर गए पनि तपाईंहरुले स्वर्ग देख्न पाउनुहुनेछ । इटहरीलाई स्वर्ग बनाउन हामी सबै जनप्रतिनिधिहरु एक ठाउँ उभिएका छौं, आपसी छलफल र समन्वय गरिरहेका छौं ।

हेर्नुस्, इटहरी अहिले जस्तो छ त्यो भन्दा धेरै राम्रो हुने अपेक्षा गरेको थिएँ । इटहरीलाई राम्रो बनाउने र देशको विकास गर्ने बाहेक मैले जीवनमा केही सोंचेको थिइनँ । त्यसैले एकपटक अझै मेयर बन्ने चाहना थियो तर प्रदेश सांसद बनेको छु । प्रदेश सांसदको रुपमा पनि म इटहरीको विकासका लागि सबै उपाय लगाउँछु । सांसदको रुपमा म पूरै एक नम्बर प्रदेशलाई विकसित बनाउन लागि पर्छु । प्रदेशको विकास भयो भने मात्र देश विकास हुन्छ । यो कुरा सबैले बुझ्न पर्छ । विकासको काममा राजनीति गर्न हुँदैन । विकासका लागि सबै पार्टी र जनता एक ठाउँ उभिनु पर्छ ।

प्रतिक्रिया

सम्बन्धित

यसरी बनाइन्छ स्वादिष्ट नेपाली खाना बारा

९ घन्टा अगाडि १ मिनेटमा पढिने

‘पिकल लेडी !’

१ दिन अगाडि १० मिनेटमा पढिने