काठमाडौं सहरभित्र एउटा भव्य जंगल

काठमाडौं सहरभित्रको यो जंगल पत्याउनै नसकिने किसिमले संरक्षित छ

उपेन्द्र खड्का / सागर दाहाल २०७४ फागुन २० गते १२:३६

काठमाडौं सहरभित्र एउटा सानो स्वर्ग छ । स्वर्ग अर्थात् जंगल । भब्य छ जंगल । पूरै प्राकृतिक बातावरण छ । अनेक पंक्षी सहित वन्यजीव छन् । ससाना पोखरी छन् । सहरभित्रको यो जंगल साक्षात स्वर्ग नै हो । नाम हो– रानीवन ।

रानीवन नामका जंगल धेरै ठाउँमा छन् । तर, काठमाडौंको बढ्दो प्रदूषण र भीडभाडका कारण मध्य सहरको एकान्त रानीवन वास्तवमै ‘रानी’ भन्न लायक छ ।

काठमाडौंको मध्य सहरबाट उत्तरमा छ यो जंगल । रत्नपार्कबाट केही उत्तर नारायणहिटी राजदरवार छ । राजदरवारको पश्चिम उत्तरमा लाजिम्पाट छ । लाजिम्पाट स्थित सांग्रिला होटलबाट चार सय २४ मिटर पश्चिममा छ रानीवन ।

यो जंगल काठमाडौं महानगरपालिका वडा नम्बर ३ मा छ ।

बाँचेको जंगल

करिब एक सय ३९ रोपनी क्षेत्रफलमा फैलिएको छ । चारैतिर बाक्लो वस्ती छ, उपत्यकाको चक्रपथभित्र यति ठूलो जंगल अरु छैन भन्छन् वन उपभोक्ता समितिका अध्यक्ष सन्तोष विक्रम शाह ।

हजुर, वन उपभोक्ता समितिले यो जंगलको संरक्षण गरिरहेको छ ।

काठमाडौं सहरभित्रको यति विशाल सार्वजनिक जंगल अहिलेसम्म कसरी बाँच्यो होला ? अतिक्रमणकारीहरुबाट कसरी जोगियो होला ? यसको जवाफ हो समुदाय । स्थानीय समुदायले वन जोगाए । सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक कारणले पनि जंगल जोगिएको हो ।
मल्लकालदेखि नै यो जंगलको संरक्षण गरिएको इतिहास देखिन्छ । पछि राजपरिवार तथा राणा शासकहरुको मनोरञ्जल स्थल बन्यो । राजपरिवारले यहाँ कूलपूजा पनि गर्थे । ०७ साल अघि जंगलमा सर्वसाधारण पस्न पाउँदैनथे ।

०७ सालपछि जंगलको ठूलै भाग अतिक्रमणमा पर्यो । एक सय ३९ रोपनी भने बाँच्यो । त्यो बाँचेको जमिनमा जंगल छ । काठमाडौं सहरभित्र खुला हावामा श्वाश फेर्न तड्पिनेहरुका लागि यो जंगल स्वर्ग नै हो । यस्ता खुल्ला ठाउँ संरक्षण गर्ने निकाय आफैले संरक्षणका नाममा भौतिक संरचना बनाएर कुरुप बनाउने गरेका छन् । तर, रानीवारी सामुदायिक वन उपभोक्ता समितिले जंगलभित्र भौतिक संरचना बनाएको छैन । समितिले आफ्नै प्रयोगका लागि भवन बनाउन सक्थ्यो, त्यो पनि गरेको छैन ।

जंगल क्षेत्रमा एउटा सानो टिकट काउन्टर छ । एउटा शौचालय र अध्ययन केन्द्र छ । सानो टहरामा खाजा पसल छ । केही विश्राम स्थल छ । पंक्षी संरक्षण संघले अध्ययनका लागि टहरा बनाएको छ । बस्, यति नै हो भौतिक संरचना ।

त्यसैगरी करिब एक किलोमिटर वन पद पथ बनाइएको छ ।

यो बाहेक जंगलमा अर्काे एउटा शानदार भौतिक संरचना छ जो मन्दिर हो । पोर्पा अजिमाको प्राचीन मन्दिरले जंगलको शान्तिमा धर्म र अध्यात्म पनि थपिदिएको छ, शान्ति थपिदिएको छ । पोर्पा अजिमा अर्थात् रानीदेवीको नाममा रानीवन नाम रहन गएको स्थानीयको भनाई छ ।

अरु ठाउँका लागि एक सय ३९ रोपनी जंगल धेरै ठूलो नलाग्ला तर उकुसमुकुस काठमाडौं सहरका लागि यति जंगल हुनु मरुभूमी बीच मरुद्यान हुनु सरह हो । आकारले भन्दा उपयोगिताले रानीबनलाई विशाल बनाएको छ । अर्काे कुरा, यति सानो क्षेत्रमा पनि ससाना पहाड छन्, उकाली ओराली, समतल ठाउँ र खोल्सा छ । रानी भन्न लायक छ रानीवन ।

भूस्वर्गलाई खतरा

यो सानो भूस्वर्ग मास्न बारम्बार प्रयास नगरिएको होइन । पछिल्लो प्रयासबारे उपभोक्ता समितिका अध्यक्ष शाह भन्छन्, ‘केही वर्ष पहिले बाटो बढाउने नाममा हाम्रो बन पनि मिचियो । वनको पश्चिम सिमाना काटियो । पाँच सय ३० मिटर लम्बाई र तीन मिटर चौडाई काटियो । भू—माफियाको जग्गासम्म पुग्ने बाटो थिएन । वनको बाटो काटेपछि उनीहरुको जग्गा सम्म बाटो पुग्यो , त्यहाँबाट बाटो अघि बढेन ।’

वनको पर्खाल भत्काईयो । वनको सिमाना खुल्ला भयो । जो पनि वनमा पस्न सक्ने भए । नाका बन्दीको समयमा केही काठ दाउरा समेत चोरी भयो । पछि तार जाली लाएर वनलाई घेरियो । वनको एकापट्टी भागमा निक्कै पूरानो पर्खाल देखिन्छ । शाहले बाल्यकालदेखिनै त्यो ईट्टाको पर्खाल देखेका हुन् । पुरानो पर्खाल यथावत छ ।

काठमाडौं उपत्यकामा जसरी सार्वजनिक जग्गा अतिक्रमण गरिएको छ, त्यसलाई ध्यानमा राख्दा रानीबारी खतरा मुक्त छ भन्न मिल्दैन । भविष्यमा रानीबारीमाथि अनेक खतरा आइलाग्न सक्छ । रानीबारी जोगाउने सर्वाेत्तम उपाय हो– स्थानीयको जागरुकता ।

जैविक विविधता संरक्षण

रानीवनको जैविक विविधता संरक्षण गर्न विभिन्न संघ संस्था पनि लागेका छन् । अध्ययन स्थल पनि भएको छ । जैविक विविधताको अध्ययन गर्ने उपयुक्त थलो भएको छ– रानीवन ।

नेपाल पंक्षी संरक्षण संघले पनि वनको जैविक विविधता बारे अध्ययन गरिहेछ । संघले बनाएको बायोडाईभर्सीटी लर्निङ सेन्टरमा महिनामा एक पटक विद्यार्थीहरु ल्याइन्छन् । जैविक विविधताका बारेमा अध्ययन अवलोकन गर्छन् ।

वनलाई जैविक विविधता अध्ययन केन्द्र बनाउने प्रयास गरिएको छ । यसका लागि वन उपभोक्ता समिति र पंक्षी संरक्षण संघले सहकार्य गरिरहेछ ।

वनका वासिन्दा

पंछी संरक्षण संघका अनुसार जंगलमा ८९ प्रजातिका चरा छन् । दुर्लभ मानिएको कर्रा सुगा पनि जंगलमा छ । त्यसैगरी एक सय ३१ प्रजातिका वनस्पति छन् । वनका कतिपय रुख चारसय बर्ष भन्दा पूरानो भएको आकलन गरिएको छ ।

वनका मुख्य वासिन्दा चाहिँ रातो बाँदर, स्याल र लाखेर्के हुन् । पुतली बिनाको जंगल हुँदैन, रानीवनमा २९ प्रजातिका पुतली छन् ।

शानदार संरक्षण

रानीवनमा ठाउँठाउँमा रुखको फेदमा डोको बाँधेर राखिएको छ । फोहोर फाल्ने भाँडो हो यो । प्लाष्टिकका भाँडाको सट्टा चोयाको डोको राखिएको हो । यति साधारण कामले पनि जंगलको मौलिकता र वातावरण भव्य बनेको छ ।

यति शानदार जंगलमा पिकनिक मनाउन, भोजभतेर गर्न कति मानिस आउँदा हुन् ? अहँ, अनुमति छैन । मानिसको भीड लगाएर जंगलको प्राकृतिक स्वरुप विनाश गर्ने पक्षमा छैन उपभोक्ता समिति । जंगलमा प्रवेश गरेको दस रुपैयाँ शुल्क लाग्छ । जंगलमा जान पाइन्छ तर होहल्ला गर्न पाइँदैन । शान्ति नै शान्ति छ जंगलमा ।

जंगललाई पूरै प्राकृतिक अवस्थामा राख्छ जमिन मुनिको पानीको समेत संरक्षण गरिएको छ । यसका लागि ‘ग्राउण्ड वाटर रिचार्ज’ स्टेशन बनाइएको छ । वर्षाको पानी बगेर नजाओस्, जमिन मुनि जाओस् भनेर पोखरीहरु बनाइएको छ ।

सहरभित्रको यो जंगल बाँचिरहोस्, यो जंगलले सबैको मंगल गरिरहोस् ।

प्रतिक्रिया

सम्बन्धित

यसरी बनाइन्छ स्वादिष्ट नेपाली खाना बारा

९ घन्टा अगाडि १ मिनेटमा पढिने

‘पिकल लेडी !’

१ दिन अगाडि १० मिनेटमा पढिने