अस्पताल कस्तो हुनुपर्छ ? तामाकोशी जस्तो हुनुपर्छ

सहकारीका १३ हजार सदस्यले चलाइरहेछन् तामाकोशी अस्पताल

नवराज पथिक, रामेछाप २०७४ फागुन १८ गते १३:४३


एउटा यस्तो अस्पताल जसका मालिक १३ हजार जना छन् । अर्थात्, समुदायले नै सञ्चालन गरेको अस्पताल हो यो । नाम हो तामाकोशी सहकारी अस्पताल । समुदायले सञ्चालन गरेको नेपालकै नमूना अस्पताल हो यो ।

यो अस्पतालको कथा सुरु हुन्छ साहित्यकार जगदिश घिमिरे र दुर्गा घिमिरे दम्पत्तिको त्याग र समर्पणबाट ।

दुर्गाको तिखो टिप्पणी

कुरा २०३९ साल तिरको । जगदीश र दुर्गा रामेछापको मन्थलीमा टुइनअटर विमानबाट उत्रिए । काखमा सानो नानी थियो । मन्थलीमा प्रचण्ड गर्मी थियो । एयरपोर्टबाट मन्थली भञ्ज्याङ्मा रहेको घरमा आइपुग्दा घिमिरे दम्पती पसिनाले लफक्कै भिजिन् । गर्मिले बच्चा वेस्सरी रोयो ।

घरमा आइपुग्ने वित्तिकै दुर्गाले जगदीशलाई सोधिन्,‘नानी रोएको रोएकै छ, केही गरी राति विरामी पर्यो भने उपचार गर्न लैजाने ठाउँ कति टाढा छ ?’

अस्पताल ६ बेडको थियो । सानो थियो अस्पताल तर अस्पतालले दिने सुविधा र उपचार शैली गज्जब थियो । टाढाटाढाबाट विरामी आउन थाले ।

जगदीशले जवाफ दिए, ‘यहाँ त जचाउने ठाउँ छैन । यहाँबाट चार घण्टा टाढा सदरमुकाम रामेछाप बजारमा सानो स्वास्थ्य केन्द्र छ । त्यहाँ पुर्याउनु पर्छ ।’ यसो भन्दा जगदीशको मन चसक्क घोच्यो ।

त्यसबेला रामेछापको सदरमुकाम मन्थलीमा थिएन, रामेछाप बजारमा थियो ।

जगदीशको कुराले दुर्गाको मन आत्तियो ।

रातभरी चिन्ता र सोंचाईमा डुबेकी दुर्गाले बिहान उठ्ने वित्तिकै भनिन्, ‘तपाईँ त कहलिएको साहित्यकार, आफूलाई खुब समाजसेवी पनि भन्नुहुन्छ । तपाईँको आफ्नै जन्मथलोमा एउटा सिटामोल खान नपाएर मानिस मर्छन् । तपाईं केको समाजसेवी !’

दुर्गाको तिखो टिप्पणी जगदीशको मनमष्तिष्कमा वाँण जसरी गढ्यो तर केही जवाफ दिएनन् ।

दुर्गाको भनाईले होइन, गाउँको अवस्थाले जगदिशको ह्रदय विदिर्ण भयो । उनी दुर्गालाई होइन, गाउँलाई जवाफ दिन चाहन्थे । उनको मनले जवाफ खोज्न थाल्यो । र, त्यो जवाफ आजको तामाकोशी सहकारी अस्पतालका रुपमा हाम्रा सामु उभिएको छ ।

तामाकोशी सेवा समितिको जन्म

काठमाडौँ फर्कने बित्तिकै जगदिशले स्थानीय धु्रव सुवेदी, उनकै जेठा दाजु दीनेशराज शर्मा लगायतलाई एउटा संस्था दर्ता गर्न लगाए । २०४० सालमा दर्ता गरिएको संस्थाको नाम हो– तामाकोशी सेवा समिति ।

त्यसबेला नेपालमा गैरसरकारी संस्थाहरु त्यति क्रियाशील थिएनन् । गैरसकारी संस्थालाई हेर्ने सरकारको दृष्टिकोण पनि राम्रो थिएन । जगदीश र दुर्गाको सोंच प्राथमिक उपचारको अभावले मानिसको जीवन जोखिममा नपरोस् भन्ने थियो । त्यसैले उनीहरु सहयोगी निकायको खोजीमा लागे ।

ईश्वरले ‘तँ आँट म पुर्याउँछु’ भन्छन् रे ! जगदीश र दुर्गालाई पनि त्यस्तै भयो । विश्व छिमेकी अमेरिका र क्यानडा नामक अन्तराष्ट्रिय गैरसरकारी संस्थाले मन्थलीमा स्वास्थ्य केन्द्र सञ्चालनको लागि सहयोग दिने भयो ।

त्यस पछि मन्थलीको एउटा सानो कोठामा सुरु भयो स्वास्थ्य केन्द्र । जीवनजल, सिटामोल लगायतका प्राथमिक औषधी वितरण थाल्यो ।

आजको सफल र नमूना तामाकोशी अस्पतालको आधारशिला त्यही थियो ।

कछुवा गति, उच्च उपलब्धी

राजनीतिक खिचातानीको बीच ०४५ मा जिल्लाको सदरमुकाम रामेछाप बजारबाट मन्थली झर्यो । साना खरका छाना भएका झुप्रा घर । सरकारी कार्यालय बस्ने ठाउँ भएनन् । छरिएका घरमा छरिएर कार्यालय बसे ।

सदरमुकाम झरेसँगै मानिसको चाप बढ्यो । स्वास्थ्य संस्थामा आउने विरामीको संख्या पनि बढ्यो । विरामी बढ्नुको अर्थ स्वास्थ्य संस्थालाई आर्थिक भार बढ्नु थियो । स्रोत सीमित थियो, खर्च असिमित हुन थाल्यो ।

जगदिश र दुर्गा समस्यामा परे । स्वास्थ्य संस्था चलाउनै कठिन हुन थाल्यो । बन्द गर्नुपर्ने अवस्था आयो । तर, कसरी बन्द गर्ने ? न बन्द गर्न सकिने, न चलाउन नै सकिने । आपत विपतमा परे जगदिश र दुर्गा ।

स्वास्थ्य संस्था चलाउन यी दम्पत्तिले गरेको संघर्ष उदाहरणीय थियो । जगदिश यो धरतीमा छैनन् तर उनले स्वास्थ्य संस्था चलाउन गरेको संघर्ष अन्तर्मनको यात्रा र सकस कृतिमा पनि उजागर गरेका छन् ।

स्वास्थ्य संस्था समुदायका लागि थियो । समुदायकै सहयोगमा कसरी चलाउने ? उपाय खोज्दाखोज्दै धेरै समय बित्यो । लड्खडाउँदै संस्थाले जनतालाई उपचार दिइरहेको थियो ।

उपाय निस्कियो । सहकारी बनाउने । अनि सहकारीले स्वास्थ्य चौकी होइन अस्पताल नै चलाउने ।

सहकारीमा फड्को

२०५७ सालमा स्वास्थ्य केन्द्र तामाकोशी सहकारी अस्पतालमा परिणत भयो । अस्पताल ६ बेडको थियो । सानो थियो अस्पताल तर अस्पतालले दिने सुविधा र उपचार शैली गज्जब थियो । टाढाटाढाबाट विरामी आउन थाले ।

सहकारीले कमाल गर्यो । अस्पताल सहकारी मार्फत् चलाइन थालेपछि आर्थिक भरथेग बढ्यो । ०६४ सालमा अस्पताल १५ शैय्याको बन्यो ।

अस्पतालले नयाँ जाँच गराउन आउनेबाट २५ रुपैयाँ लिन्छ । पछि फेरि आउँदा १५ रुपैयाँ लिन्छ । आकस्मिक सेवामा एक सय ५० रुपैयाँ लिन्छ ।

२०७४ सालमा २५ वेडको अस्पतालमा परिणत भयो । अत्याधुनिक उपकरण, आप्mनै अत्याधुनिक अप्रेशन कक्षको पनि स्थापना भयो । दाँत तथा आँखा उपचार सेवा पनि सुरु भयो । अस्पतालले दुईटा एम्बुलेन्स सञ्चालनमा ल्यायो ।

तामाकोशी अस्पताललाई काँधमा बोकेर हिँड्ने सहकारीलाई पनि यसैका कर्मचारीहरुले जन्माएका हुन् । तामाकोशी सेवा समितिमा कार्यरत ११ जना कर्मचारीले मासिक वचत सुरु गरेका थिए । त्यसैलाई विस्तार गरेर सहकारी बनाइएको थियो ।

समुदायका विपन्न वर्गसम्म समुदायकै सहभागितामा अत्याधुनिक स्वास्थ्य सुविधा, उनीहरुले धान्न सक्ने, स्वीकार्य हुने र उनीहरुको पहँुचमा पुर्याई स्वस्थ्य समाजको निर्माणमा टेवा पुर्याउने मूल ध्येय राखी समुदायसँगकै सहकार्यमा स्वास्थ्य सेवा थालनी गरिएको थियो ।

यसको लागि जगदीश घिमिरेकै अवधारणामा विकास भएको मन्थली बचत तथा ऋण सहकारी संस्थासँग सहकार्य गरी सेवा सुरु गरिएको हो । ०५४ सालमा स्थापना भएको सहकारीले कमाएको मुनाफा अस्पतालका उपकरण खरिद र अस्पताल सञ्चालनमा खर्च गरिएको छ ।

अस्पतालका निर्देशक डाक्टर सुमन कर्माचार्य भन्छन्, ‘जतिबेला अस्पताल संकटमा पर्न लागेको थियो, त्यसबेला सहकारीले ठूलो भरथेग गर्यो । लगतार १३ वर्षसम्म सहकारीले अस्पताल सञ्चालनको लागि सहयोग गर्यो । त्यसैको परिणम स्वरुप अस्पताल अहिले आत्मनिर्भर भएको छ ।’

सुमन भन्छन्, ‘यो सहकारी अस्पताल हो । यो मुनाफाको लागि खोलिएको हैन, समुदायको हितको लागि खोलिएको अस्पताल हो । यहाँ समुदायकै लगानी छ । समुदायकै हितमा खर्च हुन्छ ।’

स्वास्थ्य बीमा

अहिले सरकारले सुरु गरेको स्वास्थ्य बीमा तामाकोशी सहकारी अस्पतालले १० वर्ष अघि नै सुरु गरि सकेको छ ।

मन्थली बचत तथा ऋण सहकारी संस्थाका शेयर सदस्यले वार्षिक दुई सय रुपैयाँ जम्मा गर्छन् । त्यस वापत तीन हजार रुपैयाँसम्मको उपचार अस्पतालबाट पाइन्छ। अहिले सहकारीमा १३ हजार सदस्य छन् ।

जगदिश, दुर्गा अनि सुमन

आजको सफल र नमूना तामाकोशी अस्पताल बनाउन समुदायले नै योगदान गरेको छ। रामेछापका मनकारी मानिसहरु धेरैको योगदान छ । यसमा अगुवाई गरेका हुन् जगदीश र दुर्गाले ।

तामाकोशी सहकारी अस्पतालको सफलतामा अर्का एक व्यक्तिको निर्णायक भूमिका र योगदान छ । उनी हुन् डा. सुमन कर्माचार्य ।

डा. सुमन त्रिभुवन विश्वविद्यालय चिकित्सा सास्त्रका अब्बल विद्यार्थी थिए । स्ववियू सभापति समेत बनेका डा. सुमनले रोजेको ठाउँमा डाक्टरको जागिर पाउँथे । रामेछापकै साँघुटारमा जन्मिएका सुमनले सेवाका लागि जन्मथलो नै रोजे ।

जगदीशको सपनामा डा. सुमन एकाकार भए । तामाकोशी अस्पताल स्थापना भएसँगै अस्पतालको जिम्मेवारी सम्हाल्न गरी मन्थली आए । विभिन्न दाता र समुदायको विश्वास जित्दै अस्पताललाई यो अवस्थामा ल्याए । सुमन एक्लै छैनन्, उनलाई सघाउने धेरै छन् । जस्तो कि ध्रुव सुवेदी, गोविन्दप्रसाद घिमिरे र सुरेश श्रेष्ठ । गोविन्द अस्पतालका अध्यक्ष नै छन् ।

सुमनका अनुसार अस्पतालले १६ वर्षदेखि वार्षिक २५ हजार विरामीलाई स्वास्थ्य सेवा दिइरहेछ । चौबीसै घन्टा आकस्मिक सेवा दिइरहेछ ।

अस्पतालले गाउँगाउँमा स्वास्थ्य शिवर चलाउँछ । काठमाडौंका महंगा अस्पतालमा हजारौ रुपैयाँ खर्च लाग्ने अप्रेसन स्वास्थ्य शिविरमा निःशुल्क गर्छ ।

यस्ता शिविर संचालन गर्न विभिन्न गैर सरकारी संस्थाहरु, खासगरी, समुदायमा आधारित संस्थाहरुको सहयोग लिने गरिएको छ । वन उपभोक्ता समितिहरु, गाउँ र नगरपालिका, जिल्लापालिका, ग्रामीण स्वास्थ्य विकास परियोजना, रोटरी क्लव, लायन्स क्लव तथा काठमाण्डौंमा रहेका रामेछापका सम्पर्क समाजहरुले सहायता गरिरहेछन् ।

स्वास्थ्य उपचार मात्र हैन प्रवद्र्धन पनि

संस्थाले विरामीको उपचार मात्र हैन रोग लाग्न नदिन पनि विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । स्वास्थ्य सम्बन्धी प्रचारात्मक कार्यक्रमका साथै स्वाथ्य सुधारका लागि जिल्लामा तीन सयभन्दा धेरै सुरक्षित खानेपानी योजना चलाएको छ ।

जिल्लाका करिव २२ हजार घरलाई सुरक्षित पानीबन्द शौचालय निर्माणका लागि सहयोग गरेको छ। रामेछापमा शौचालय निर्माणमा क्रान्ति नै ल्याएको छ ।

यसबाहेक साना सिँचाई, तरकारी खेती, प्राङ्गारिक मल प्रयोग आदि अभियान चलाएको छ ।

अहिले अस्पतालमा तीन जना चिकित्सक छन् । अन्य १९ जना स्वास्थ्यकर्मी छन् । जर्मन रोटरी स्वयंसेवक विशेषज्ञ चिकित्सकहरु र ग्रामिण सहयोग नेपाल, वेलायती चिकित्सकहरुको टोली नियमित रुपमा यो अस्पतालमा स्वयंसेवकका रुपमा आइरहेका छन्।

यी चिकित्सक र स्वास्थ्कर्मीलाई समुदायले पालेका छन् । अनि समुदायका सदस्यलाई यिनै चिकित्सक र स्वास्थ्यकर्मीले उपचार दिएका छन् ।

अब के ?

तामाकोशी अस्पतालका अभिभावक जगदिश छैनन् तर डा. सुमन लगायतको टिमले अस्पताल र समुदायको सेवा गर्ने अभियानको अगुवाई गरिरहेका छन् ।

आउदो पाँच वर्षभित्र अस्पताललाई ५५ शय्याको बनाउने योजना रहेको डा. सुमन बताउँछन् । अनि, अस्पताललाई शिक्षालय पनि बनाउने योजना छ । स्टाफ नर्स र हेल्थ असिस्टेण्ट कोर्सको सुरुवात गर्ने लक्ष्य छ ।

अस्पताल सानो छ, काम राम्रो छ । अस्पताल कस्तो हुनुपर्छ ? यो अस्पताल देखेपछि जो कसैले जवाफ दिन सक्छ– ‘अस्पताल हुनुपर्छ तामाकोशी जस्तो !’

[यो सकारात्मक कथा निर्माणमा माछापुच्छ्रे बैंक लिमिटेडले सहयोग गरेको छ । समाजका यस्तै अन्य सकारात्मक कथाहरु निमार्णका लागि माछापुच्छ्रे बैंक लिमिटेडले जस्तै तपाई पनि आर्थिक सहयोग गर्न सक्नुहुन्छ । समाजकै सहयोगमा समाजकै सकारात्मक कथा भन्ने हाम्रो प्रयत्न छ । आउनुहोस् हातेमालो गरौं ।]

प्रतिक्रिया

सम्बन्धित

यसरी बनाइन्छ स्वादिष्ट नेपाली खाना बारा

९ घन्टा अगाडि १ मिनेटमा पढिने

‘पिकल लेडी !’

१ दिन अगाडि १० मिनेटमा पढिने