पश्चिम बझाङको सूर्याेदय: मदिरा निषेधमा झन कडाई

मदिरा निषेध निर्णय कार्यान्वयनको जिम्मा महिलालाई

बसन्तप्रताप सिंह, बझाङ २०७४ फागुन १५ गते १६:१२

पश्चिमबाट सूर्याेदय ! हजुर, पश्चिम नेपालको बझाङ जिल्लाबाट सूर्याेदय भइरहेको छ । यो सूर्याेदयले परिवार र समाजमा शान्ति ल्याउँछ, उन्नति गराउँछ । यो सूर्याेदयले समाजको चौतर्फी विकासमा योगदान दिन्छ । यो सूर्याेदय हो मदिरा निषेधको ।

मदिराले गर्दा सामाजिक जनजीवन बिग्रन थालेपछि बझाङका स्थानिय तहहरु मदिराको कारोवार रोक्न निर्मम बन्न थालेका छन् । जिल्लाका धेरैजसो गाउँपालिकाले मदिरा नियन्त्रण गर्ने अभियान चलाएका छन ।

मदिरा निषेध भएपछि गाउँमा निकै शान्ति छाएको र मदिराको कारोवार पूर्ण रुपमा बन्द भएको छ ।

बझाङको दौलिचौरबाट छान्ना हुदै यो अभियान दुर्गाथलीसम्म पुगेको छ । वडा कार्यालयको पहल र महिलाहरुको सक्रियतामा मदिरा बन्द भए पछि कुनै वेला झै झगडाको केन्द्र जस्तै बनेको साविकको सैनपसेला गाविसमा अहिले शान्ति छाएको छ ।

कतिपय गाउँपालिका तथा वडाले मदिरा विक्री वितरण गर्नेलाई महंगो नगद जरिवाना तोकेका छन । तर दुर्गाथली गाउँपालिका वडा नम्बर ७ ले भने जरिवानाले मात्र मदिरा नियन्त्रण नहुने देखेपछि निषेध तोड्नेलाई वडावाट दिइने सेवासुविधाबाट बञ्चित गर्ने निर्णय गरेको छ ।

‘मदिरा सेवन गरी होहल्ला गरेमा पहिलो पटक दुई हजार पाँच सय रुपैयाँ, दोस्रो पटक पाँच हजार र तेस्रो पटक सोही व्यक्तिले निषेध तोडेमा वडाबाट दिइने कुनै पनि सेवासुविधा नदिने निर्णय गरेका छौ’– वडा अध्यक्ष ऐनबहादुर दौल्यालले भने।

दुर्गाथली गाउँपालिका मदिरा उत्पादन गर्ने गाउँको रुपमा चिनिएको थियो । यस वडाको समग्र विकासको बाधकको रुपमा मदिरा देखिएकाले निषेध गरिएको दौल्यालको भनाई छ । स्थानीय प्रहरी चौकीको सहयोगमा हाल सम्म ४२ घरबाट घरेलु मदिरा उत्पादन गर्ने भाडाकुडा वरामद गरिएको छ ।

मदिरा पिएर होहल्ला गर्ने पाँच जना र मदिरा उत्पादन गर्ने एकजनालाई कारवाही गरिएको विसौना प्रहरी चौकी इन्चार्ज मानबहादुर बोहराले बताए । उनका अनुसार मदिरा निषेध भएपछि गाउँमा निकै शान्ति छाएको र मदिराको कारोवार पूर्ण रुपमा बन्द भएको छ ।

मदिरा बन्द भएपछि गाउँका महिलाहरुले शान्तिको शास फेर्न पाएको स्थानीय उर्मिला देवी दौल्यालले प्रतिक्रिया दिइन् । उनले भनिन् ‘सबैभन्दा बढी खुशी त हामी महिलाहरुलाई लागेको छ । कतिपयले त कुटाई नखाएको दिनै हुँदैनथ्यो । रक्सी बन्द भएपछि आन्नद भएको छ’ ।

मदिरा निषेधको निर्णय कार्यान्वयनको जिम्मा स्थानीय महिला एकता संजाललाई दिइएको छ । जरिवानाबाट आएको रकम पनि यसै संजालको खातामा जम्मा हुने र महिलाको सीप विकासमा प्रयोग गरिने संजालकी अध्यक्ष कमला कठायतले जानकारी दिइन् ।

उनले मदिरा निषेधका कारण शान्ति र खुसीको सूर्याेदय भएको बताइन् ।

प्रतिक्रिया

सम्बन्धित

नेपालमा पनि “फरेष्ट थेरापी”!

२ घन्टा अगाडि २ मिनेटमा पढिने