पतिलाई गीता भन्छिन्– ‘कतारबाट फर्किए हुन्छ । त्यहाँ भन्दा यतै कमाई हुन्छ ।’

‘आधा पेट खाएर भए पनि सन्तानलाई पढाउनुपर्छ भन्ने शिक्षा मिल्यो ।’

सन्तोष दहित २०७४ फागुन १४ गते १६:३३

दाङको घोराही उपमहानगरपालिकाको व्यस्त चोक हो– ट्राफिक चोक । लमही जाने राजमार्गमा पर्छ यो चोक । चोकमा दर्जनौंले ठेलामा व्यापार गरेका छन् । तिनै मध्येकी हुन् गीता चौधरी ।

आज गीता जे छिन्, सामान्य देखिन्छिन् । अरुले जसरी नै परिवार पालेकी छिन् । तर, जुन अतितबाट गीता आइन्, त्यसलाई हेर्दा आज उनी सफल महिला हुन्, उदाहरणीय महिला हुन् ।

अहिले २७ वर्षकी भइन्, पहिले कमलरी थिइन् । परिवारसँग एक धूर पनि जग्गा थिएन । दुःखै दुःख थियो । भविष्यको कुनै सम्भावना देखिँदैनथ्यो ।

एफ.एन.सी नामक एनजीओले कमलरी मुक्ति अभियान चलाइरहेको थियो । सो अभियानको सहयोगमा उनी कमलरीबाट मुक्त भइन् । त्यसपछि विहे गरिन् ।

१३ वर्ष कमलरीका रुपमा अरुका घरमा काम गरेपछि गीताले स्वतन्त्र जीवन थालिन् । साथमा थिए पति विशाल चौधरी । विशाल र गीता दम्पत्तिको साथमा केही थिएन, अलिकति पनि जग्गाजमिन थिएन । सीप पनि थिएन ।

पहिले गीताले पानीपुरी बेच्न थालिन्, खासै कमाई भएन । त्यसपछि फलफूल बेच्न थालिन् ठेलामा । अरुले पनि फलफूल बेच्छन् तर गीताको व्यापार अलि फरक छ । ग्राहक कमाउनुपर्छ भन्छिन् । ग्राहक धेरै छन् उनका । त्यसैले अरुले भन्दा धेरै व्यापार गर्छिन् ।

दुई छोरा छन् । ठूलो छोरा इशान एक कक्षामा पढ्छ, सानो छोरा एलकेजीमा पढ्छ । दाङको सबैभन्दा चर्चित हिन्दू विद्यापीठमा पढ्छन् दुई छोरा ।

पति विशाल रोजारका लागि कतार गएका थिए, कमाई भएन । केही समयपछि नेपाल फर्कंदैछन् । पतिलाई गीताले भनेकी छिन्– ‘कतारबाट फर्किए हुन्छ । त्यहाँ भन्दा यतै कमाई हुन्छ ।’

१३ वर्ष कमलरी बसेकी, पढाई लेखाई नभएकी, दुई छोराकी आमाको यो भनाई पुन दोहोर्याउँ– ‘कतारबाट फर्किए हुन्छ । त्यहाँ भन्दा यतै कमाई हुन्छ ।’

यो चानचुने वाक्य होइन ।

पढ्ने उमेरमा कमलरी बसिन्, पढ्न पाइनन् । पढ्ने रहर मनभरी छ तर उपाय छैन । अब आफूले पढ्ने होइन छोराहरुलाई पढाउने बाटो लिइन् गीताले ।

‘मैले पढ्न पाइनँ, त्यसैले छोराहरुलाई महंगो वोर्डिङ स्कूलमा पढाएकी छु ।’

छोराहरुको पढाईमा गीता कति दत्तचित्त भएर लागेकी छिन् भन्ने बुझ्न उनको दैनिकी हेर्नुपर्छ ।

गीताको दैनिकी

सबेरै उठ्छिन् । नास्ता बनाइसकेपछि छोराहरुलाई उठाउँछिन् । नास्ता खुवाइसकेपछि छोराहरुलाई होमर्क गर्न लगाउँछिन् र आफू खाना पकाउन लाग्छिन् । बिहान आठ नबज्दै यी सब काम सक्छिन् ।

त्यसपछि छोराहरुलाई ट्यूशन पढ्न पठाउँछिन् । त्यसपछि दिनभरी बेच्नका लागि फलफूल लिन फलफूल गोदाम जान्छिन् । फलफूल लिएर फर्कंदा छोराहरुलाई पनि लिएर फर्कन्छिन् । खाना खुवाएर छोराहरुलाई स्कूल पठाउँछिन् र आफू व्यापारमा लाग्छिन् ।

गीताको व्यापारको ठेगाना हो– ट्राफिक चोक ।

फलफूल बेच्दा आनन्द आउँछ भन्छिन् । र, पानी पनि बेच्छिन् । फलफूल र पानीबाट राम्रो आम्दानी छ ।

‘व्यापारबाट सन्तुष्ट छु, छोराहरुको पढाईबाट सन्तुष्ट छु, राम्रो पढिरहेका छन्, यी छोराहरुलाई धेरै पढाउँछु’– गीता भन्छिन् ।

गीताको शिक्षा

१३ वर्ष अरुको घरमा कमलरी बस्दा के शिक्षा मिल्यो ? गीता भन्छिन्, ‘आधा पेट खाएर भए पनि सन्तानलाई पढाउनुपर्छ भन्ने शिक्षा मिल्यो ।’

यो दस वर्षमा गीताको जीवन धेरै फेरियो । पढाई लेखाई नभए पनि जीवन संघर्षको मैदानमा अगाडि बढिरहेकी छिन् । परिवार पालेकी छिन् । सन्तान बढाएकी छिन् र पतिलाई विदेशमा काम नगरे हुन्छ, स्वदेश फर्किए हुन्छ भन्दैछिन् ।

र, गीता अब सुकुम्वासी रहिनन् । गीता र विशाल दम्पत्तिको कमाईले दुई कठ्ठा जग्गा जोडेकी छिन् । ‘हामीसँग एक धूर पनि जग्गा थिएन, जग्गा किन्न सकेकोमा असाध्यै खुसी छौं’ गीता भन्छिन् ।

‘श्रीमानलाई विदेश पठाउँदा र व्यापार थाल्दा ऋण लागेको थियो, सबै ऋण तिरेर जग्गा पनि किन्यौं, अब श्रीमान फर्किएपछि ठूलो व्यापार गर्छाैं’– गीता भन्छिन् ।

समाजमा गीताले खास पहिचान स्थापित गर्न थालेकी छिन्, कमलरी हुँदा कुनै पहिचान थिएन । स्वालम्बी बनेपछि पहिचान बन्दैछ ।

र, गीताबाट शिक्षा

गीताको जीवन हेरेर थाहा हुन्छ– मानिस जन्मले होइन कर्मले सफल हुन्छ । कहाँ कसरी जन्म लियो भन्ने गौण कुरा हो, कर्म के गरियो भन्ने मुख्य कुरा हो । शिक्षा लिन शिक्षालय नै जानुपर्छ तर ज्ञान चाहिँ जीवनका हरेक क्षेत्रबाट लिन सकिन्छ । शिक्षा लिन पाइनन् गीताले तर ज्ञान बटुल्दै छिन्, व्यवहारिक ज्ञान । त्यसैले सफल र सन्तुष्ट छिन् ।

प्रतिक्रिया

सम्बन्धित

यसरी बनाइन्छ स्वादिष्ट नेपाली खाना बारा

९ घन्टा अगाडि १ मिनेटमा पढिने

‘पिकल लेडी !’

१ दिन अगाडि १० मिनेटमा पढिने