सर्वध्वज, अशोक र शिरिष: एक सहरको हरित संघर्ष गाथा

किन इटहरीको अशोक र शिरिष अन्य ठाउँको भन्दा फरक र उन्नत देखिन्छ ?

प्रमिला राई २०७४ फागुन ११ गते १७:३१

नेपालमा एउटा यस्तो सहर छ जो रुखकै कारणले पनि सुन्दर बनेको छ, अनि, चर्चित पनि बनेको छ । त्यो सहर हो इटहरी । अनि रुख हो अशोक र शिरिष । नजाने के कारणले हो, अशोकलाई रुख भन्ने चलन छैन, ‘वृक्ष’ भनिन्छ । अर्थात् अशोक वृक्ष । अशोक र शिरिषले सुन्दर बनेको छ इटहरी ।

महेन्द्र राजमार्गमा पर्ने इटहरीको मुख्य चोकमा चारैतिर झ्याम्म अशोक वृक्ष छ । चोकमा शिरिष चाहिँ छैन । इटहरीका सबैजसो सडकमा अशोक र शिरिष लगाइएको छ । सर्वत्र अशोक र शिरिष देखिन्छ । आफैं अशोक र शिरिष फैलिएर इटहरी हरियो बनेको हो त ? अहँ, होइन ।

कसरी इटहरी अशोक वृक्षमय बन्यो त ? यसको रोचक कथा छ ।

सर्वध्वजले थाले

०५४ सालमा इटहरी अहिलेजजस्तो थिएन, सानो बजार थियो । अहिले उपमहानगर बन्यो, त्यसबेला नगरपालिका थियो । त्यसबेला मुख्य चोकको उत्तर पट्टिको सडकमा १३ वटा विरुवा रोपियो । विरुवा थिए अशोकको । स्थानीयले खासै महत्व दिएनन् ती विरुवामा ।

अर्काे वर्ष थप विरुवा लगाइए । अनौठो के थियो भने सानो विरुवाका लागि निकै ठूलो फलामे बार लगाउन थालिएको थियो ।

जाबो डेढ दुई फिटको सानो विरुवाका लागि चार फुट अग्लो फलामे बार ! भ्रष्टाचार गर्न खोजियो भन्दै आलोचना हुन थाल्यो । आलोचनाको केन्द्र थिए तत्कालीन मेयर सर्वध्वज साँवा ।

विरुवा रोप्दा पनि आलोचना, विरुवा जोगाउन खोज्दा पनि आलोचना, सबैले देख्ने ठाउँमा खर्च गर्दा पनि अपारदर्शि खर्चको आरोप !! तैपनि हताश भएनन् सर्वध्वज ।

चोकमा विरुवा रोपिसकेपछि मुख्य चोकको उत्तर दक्षिण र पूर्व पश्चिमको सडकमा सर्वध्वज लम्किए । त्यता पनि विरुवा लगाउन थाले । मुख्य चोक र व्यस्त सडकमा झ्याम्म फैलने शिरिषभन्दा हाँगाविगा नफैलने, ठाडो बढ्ने अशोक नै लगाउनु उपयुक्त ठहर गरेका थिए सर्वध्वजले । फलामे बारभित्र अशोक वृक्ष लगाउन थालेपछि विरोध पनि बढ्दै गयो ।

विरोधको मुख्य दुई कारण थिए । पहिलो थियो– विरोधका लागि विरोध । दोस्रो थियो– अशोकका विरुवा हुर्किएपछि आफ्नो पसल छेकिने व्यवसायीहरुको चिन्ता । पहिलो विरोधमा सर्वध्वजले आँखा चिम्लिए, वास्तै गरेनन् । दोस्रो विरोधमा चाहिँ प्रतिकार गरे, सम्झाई बुझाई गरे ।

सर्वध्वजको तर्क दमदार थियो तर त्यसले वर्तमानलाई सम्बोधन गर्दैनथ्यो, भविष्यलाई मात्र सम्बोधन गर्न सक्थ्यो । उनको भनाई थियो, ‘हरियो इटिहरी बनायौं, सर्वत्र रुख लगायौं भने इटहरी स्वर्ग बन्छ, हामी सबैको भविष्य बन्छ, इटहरीको विशिष्ट पहिचान बन्छ ।’

सर्वध्वजको यो कुराको समर्थन गर्ने धेरै थिए । राम्रो र रचनात्मक कामको सबैले समर्थन गर्छन् नै, अनि सानो जमातले विरोध पनि गर्छ । हरियो इटहरी बनाउने सर्वध्वजको अभियान अगाडि बढ्दै गयो ।

हरियो इटहरीको अर्काे पक्ष पनि थियो । सहरी क्षेत्रका सडकमा अशोक र शिरिष लगाउने, गाउँ वस्तीमा अमला, आँप लगाउने । त्यति मात्र होइन, सडक किनारमा विभिन्न खाले फूल पनि लगाउँदै जाने ।

हरियो इटहरी बनाउन सर्वध्वज यति प्रतिवद्ध थिए कि उनले एउटा अनौठो निर्णय गरे जसको धेरैले आलोचना पनि गरे । निर्णय थियो, घरको नक्सा पास गर्दा अनिवार्य रुपमा अशोक, शिरिष, आँप, अमला लगायतका वनस्पती लगाउनै पर्ने ।

वाहियात निर्णय भन्नेहरुको कमी थिएन । समर्थन गर्नेहरु पनि प्रशस्तै थिए ।

ठूलो धक्का

सर्वध्वज तथा त्यतिबेलाका उपमेयर, वडा अध्यक्ष तथा सदस्यहरुले चलाएको हरित अभियानमा एउटा नराम्रो धक्का लाग्यो ।

मुख्य सडक किनारका विरुवा मर्न थाले । विरुवा उखेलिन थाले । भाँचिन थाले । रोगकीरा लागेको थिएन, अघिल्लो दिनसम्म विरुवा ठिक हुन्थ्यो, भोलिपल्ट कि हराउँथ्यो, कि मथर््यो ।

एउटा दुईटा होइन धेरैवटा विरुवा नास हुन थाल्यो । हरित अभियानलाई ठूलो धक्का थियो । यस्तै हुनसक्छ भनेर सर्वध्वजले बलियो फलामे बार लगाएका थिए । तैपनि विरुवा नजोगिने छाँट देखियो ।

सर्वध्वज भन्छन्, ‘त्यसबेला म अत्यन्त चिन्तित भएँ ।’ चिन्ता स्वाभाविक थियो, धेरै विरुवा लगाइएको थियो, विरुवा लगाउने अभियान चलाइएको थियो । केही ठाउँमा त्यसरी विरुवा मार्न र उखेल्न थालियो भने अन्य ठाउँमा पनि त्यसै गरिएला भन्ने चिन्ता थियो ।

ठूलो सपना देखेर हरित अभियान चलाएका थिए । उनलाई त्यसबेलाका अन्य जनप्रतिनिधिहरुले पनि साथ दिएका थिए । अहिलेका मेयरसँग धेरै अधिकार छ, त्यसबेला सीमित अधिकार मात्र हुन्थ्यो । सीमित अधिकार भए पनि केही गरेर देखाउने अठोट साथ हरित अभियान थालेका थिए ।

तर, कुनै वाधाले पनि छेक्न सकेन, आज नेपालमा इटहरीको खास पहिचान छ, सुन्दर रुखहरु, सडक किनाराका फूलहरुले गर्दा ।

अहिले सर्वध्वज प्रदेश नम्बर एकका सांसद छन् । उनले त्यसबेला जुन ठाउँबाट हरित इटहरी बनाउने र अशोक वृक्ष लगाउने आइडिया सिकेका थिए, त्यसबेलाका त्यहाँका मेयर चाहिँ अहिले प्रदेश नम्बर तीनका मुख्य मन्त्री छन् । उनी हुन् डोरमणी पौडेल । त्यसबेला हेटौंडाका मेयर थिए ।

त्यसबेला हेटौंडा नगरपालिकाले निकै राम्रो नाम र इज्जत कमाइरहेको थियो । सर्वध्वज इटहरीलाई पनि नेपालको विशिष्ट सहर बनाउन चाहन्थे । हेटौंडामा अशोक लगाइएको देखेर सर्वध्वज प्रभावित भएका थिए ।

तर, सर्वध्वजको हरित अभियानलाई ठूलो धक्का लाग्यो ।

मुख्य चोक र सडकका विरुवा नास हुन थाले । ‘विरुवाको जरामा तातो पानी हालेर मारेका रहेछन्’ त्यसबेलाको घटना सम्झँदै अहिले सर्वध्वज भन्छन् ।

जहाँजहाँ विरुवा उखेलियो, मारियो त्यहाँ अनिवार्य रुपमा पुन विरुवा रोप्ने अभियान चलाए । विरुवा लगाएर विशेष रेखदेखको व्यवस्था पनि गरे । मेयर सावाँ आफै विरुवा रेखदेख गर्न हिँड्थे ।

थोरै दुख गरेका थिएनन् सर्वध्वजले हरित नगर बनाउन । पहिलो पटक भारतबाट १३ वटा अशोक वृक्षका विरुवा ल्याउँदा धेरै मानिस हासेका थिए । दुई सय पचास रुपैयाँ गोटामा हुर्किसकेका विरुवा ल्याएका थिए ।

उनलाई थाहा थियो– आफ्नो पाँच वर्षे कार्यकालमा इटहरी पूर्ण रुपमा हरियो बन्दैन, अहिले हरित इटहरीको जग हालेमा भविष्यमा इटहरी अवश्य हरियो बन्नेछ । नभन्दै त्यस्तै भयो । उनले थालेको हरियो अभियानले गर्दा आज इटहरी नेपालकै आकर्षक सहर बनेको छ ।

फरक छ अशोक र शिरिष

तराईका सहर बजारमा सर्वत्र अहिले अशोक र शिरिष देख्न सकिन्छ । तर, इटहरीमा चाहिँ किन सुन्दर देखिन्छ ? किन इटहरीका अशोक र सिरिष राम्रोसँग सप्लाएका छन् ? किन चर्चित छ ? किन मनमोहक छ ?

यसको कारण खोज्न कि माटो भित्र हेर्नुपर्छ, कि सर्वध्वजलाई सोध्नुपर्छ । कारण रोचक छ ।

निकै मिहिन योजना बनाएर वृक्षरोपण गरिएको थियो । सर्वध्वज विरुवा लगाउने र त्यतिकै छाड्ने पक्षमा थिएनन् । जति वृक्षरोपण गरिन्छ तिनलाई जसरी पनि हुर्काउने योजना थियो । त्यसैले महंगो फलामे बारको घेरा हरेक विरुवामा लगाएका थिए ।

अहिले रोपिएका विरुवा भविष्यमा कस्तो देखिन्छ ? त्यसबेलै सोंचविचार गरेका थिए । हरेक विरुवा रोप्दा राम्रै खर्च गरेका थिए । वन कार्यालयको सहयोगमा वृक्षरोपण गर्दा डेढ वर्ग फिटको खाडल खनिएको थियो । खाडलमा पराल हालियो, परालमा आगो लगाइयो । परालको आगो र खरानीले खाडल हानिकारक कीटाणुरहित बन्यो । अर्थात् स्टेरिलाइज गरियो ।

त्यसपछि माटो भरियो । माटो ल्याइयो जंगलबाट । जंगलमा विभिन्न रुखको फेदबाट त्यसरी ल्याइएको माटोलाई ‘कुमारी माटो’ भनिन्छ । रोपिएका विरुवाको भविष्य तिनको जरामा हुन्छ र जरालाई सानैमा मल र मजबुती दिनुपर्छ भन्ने सर्वध्वजले बुझेका थिए । त्यसैले हरेक कुमारी माटोमा विरुवा लगाए । ‘अलिकति माटो कोट्याएर विरुवा रोपिएको थियो भने यति राम्रो रुख बन्दैनथ्यो’, सर्वध्वज भन्छन् ।

महंगो वृक्षरोपण गरियो भन्दै सर्वध्वजको आलोचना पनि भयो । ‘अहिलेको खर्चको औचित्य भविष्यले पुष्टि गर्छ र अहिलेको खर्चको फाइदा इटहरीले भविष्यमा पाउँछ भन्नेमा म विश्वश्त थिएँ’, सर्वध्वज भन्छन् ।
त्यसबेलाको लगानीको परिणाम हो– आज इटहरीको सहरी सडकका अशोक र शिरिष अन्य ठाउँको भन्दा फरक र उन्नत देखिन्छ । इटहरीलाई अशोक र शिरिषले सौन्दर्यमय बनाएको छ ।

आजको हरित इटहरीको जगमा सर्वध्वजको अर्काे सुक्ष्म रणनीतिले पनि शशक्त भूमिका निर्वाह गरेको छ । उनले धेरै टाढाटाढा विरुवा नरोपेर नजिक नजिक रोप्ने रणनीति अपनाए । आठदश फुटको फरकमा एउटा विरुवा । यसले गर्दा सुन्दरता झन बढ्यो ।

र, नाफा पनि

खर्चिलो थियो हरित अभियान । कर्मचारी र जनप्रतिनिधिहरुको श्रम र समय पनि धेरै नै लागेको थियो । खर्च धेरै भयो भनेर आलोचना पनि हुँदै थियो, अर्कातिर त्यही खर्चबाट आम्दानीको उपाय पनि रचेका थिए सर्वध्वजले ।

सडक किनारामा लगाइएको विरुवाको फलामे बारमा विज्ञापन बोर्ड राख्न दिने रणनीति अपनाए । नगरपालिकाले विज्ञापनबाट कमाउन पनि थाल्यो । वृक्षरोपणका लागि भएको खर्चभन्दा धेरै विज्ञापनको ठेक्काबाट आम्दानी हुन थाल्यो ।

अशोक हुर्काउन बनाइएको फलामे बारमा विज्ञापन राख्न दिएर वार्षिक ३ लाख ७० हजार रुपैयाँ इटहरी नगरपालिकाले ठेक्का दिएको सर्वध्वज सम्झन्छन् । अहिले यो रकम सानो होला तर करिब दुई दशक अघि ठूलो रकम थियो ।

त्यही ठेक्काको कमाईबाट दुई सय पचास रुपैयाँ गोटामा सात सय भन्दा धेरै अशोकका निकै राम्रोसँग हुर्किएका विरुवा भारतवाट आयात गरिएको सम्झन्छन् सर्वध्वज ।

समाज परिचालन

हो, इटहरीलाई हरियो बनाउन सर्वध्वजले अगुवाई गरेका थिए, त्यसबेलाका वडावडाका जनप्रतिनिधिले अगुवाई गरेका थिए । तर, मुख्य अगुवाई त स्थानीयले गरेका थिए । स्थानीयले साथ र सहयोग दिएका थिएनन् भने जनप्रतिनिधिको बलमा मात्र आजको हरित इटहरीको जग त्यसबेला बस्ने थिएन ।

केही व्यक्तिले असहयोग गरे पनि जागरुक र आफ्नो ठाउँलाई माया गर्ने स्थानीयवासीले विरुवा रोप्न र हुर्काउन सहयोग गरे । पूरै समाज परिचालित भयो । जस्तो कि महिला वचत तथा क्रृण सहकारी संस्थाले पूर्वी पृतना देखि दक्षिण महेन्द्र राजमार्ग र भृकुटी मार्गमा अशोक वृक्ष लगाउने र पुष्परोपणको काम गर्यो ।

समाजलाई हरित अभियानमा लगाउन अर्काे अनौठो निर्णय गरियो, पाँच सय रुपैयाँ अभियान । जसले आफ्नो आगनमा वृक्षरोपण गरेर पाँच फिटको बनाउँछ उसले पाँच सय रुपैयाँ पाउने ।
‘पाँच सय रुपैयाँ पाउने लोभले भन्दा पनि आफ्नो ठाउँलाई राम्रो बनाउनुपर्छ भनेर धेरैले घरआगनमा वृक्षरोपण गरे, आफ्नो घर अगाडिको सडकमा नगरपालिकाले रोपेका विरुवा संरक्षण गरे । जनता नै नलागेका भए आजको हरियो इटहरी बन्ने थिएन,’ सर्वध्वज भन्छन् ।

अशोक, शिरिष र फूलहरुले सुन्दर बनेको छ इटहरी । र, यो सुन्दरताको आडमा स्थानीयवासीमा विषेश भावना विकास भयो । त्यो भावना हो– हाम्रो इटहरीलाई अझ राम्रो बनाउनुपर्छ । त्यसैले इटहरीको अशोक र शिरिष झनझन फस्टाउँदैछ, इटहरी झन सुन्दर हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित

नेपालमा पनि “फरेष्ट थेरापी”!

२ घन्टा अगाडि २ मिनेटमा पढिने