सजिलोसँग मर्मत सेवा दिनुस्, डेढ अर्वको बजारमा प्रवेश गर्नुस्

तीनजना युवा यही व्यवसायमा रमाईरहेका छन्

असीम तिमल्सिना २०७४ फागुन १० गते १७:३१

समस्या नै समस्या

पहिला केही समस्याहरुलाई हेरौं ।

-घरमा धारा बिग्रिएको अनि पानी लिक भइरहेको ।
-घरलाई चिटिक्क रंग लगाउनु परेको तर मान्छे नपाएको ।
-आफु बस्ने कुर्चि भाँचिएको वा फर्निचरका अन्य सामान मर्मत गर्नुपरेको ।
-कम्प्युटर बिग्रिएर फेसबुक चलाउन नपाएको ।

यी आम शहरवासीका समस्या हुन् । तर अर्को ढंगले सोच्यो भने यी त आफैमा समस्या होईनन् । समस्या यता छ ।

-धारा बिग्रियो वनाउने मान्छे पाईदैन् ।
-बल्ल वल्ल मान्छे पायो काम गरेवापत जथाभावी शूल्क माग्छन् ।
-त्यसमाथि सामानको सुरक्षा हुन्छ भन्ने कुराको झनै ग्यारेन्टी छैन् । अनि उपभोक्तालाई सधैको हैरानी ।

तपाई हामीले भोगिरहेको यही समस्यालाई समाधान गर्न भनेर राजधानीमा एउटा व्यवसाय जन्मिएको छ । जसको नाम राखिएको छ ‘सजिलो मर्मत सेवा’ । यो सेवाले तपाईका घरका मर्मत सम्वन्धि सारा समस्यालाई एक कल फोनकै भरमा समाधान गरिदिन्छ । अरे वाह भएन त गज्जव ।

अझै रमाईलो कुरा के भने, यसको वजार राजधानीमा मात्र करिब डेढ अर्व रुपैयाको छ रे । हो, यसको वजार राजधानीमा मात्र १ सय ५० करोड रुपैयाको छ ।

कसरी जन्मियो कम्पनी ? 

पाल्पाका सुजित रेग्मी, गोर्खाका पुकार आचार्य र धनकुटाका कविस श्रेष्ठ तीन जना मिलेर सजिलो मर्मत सेवा खोलेका छन् । सजिलो मर्मत सेवा । पहिलो सजिलो दोस्रो मर्मत तेस्रो सेवा । अर्थात सजिलो गरि मर्मत सेवा दिने कम्पनी ।

कथा सुरु गरौं, काठमाण्डौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेण्टबाट । यहि कलेजमा हो, सुजित र कविसको भेट भएको । पुकार चाँहि सुजितको पहिल्यैदेखिका विजनेस पार्टनर थिए ।

कलेजमा एमविए पढ्दै गर्दा एकपटक उद्यमशिलता सीप सम्बन्धि कुनै नयाँ प्रोजेक्टको रिसर्च गर्नुपर्ने भएछ । उनीहरुले गरेको प्रारम्भिक अध्ययन अनुसार १ सय जना राजधानीबासी मध्ये ८० जना धारा, पानी, टुटेफुटेको वनाउने कम्पनी भई दिए हुन्थ्यो भन्ने सोच्दा रहेछन् ।

ढुगां खोज्दा देउता मिल्यो । कविस, पुकार र सुजितलाई लाग्यो त्यसो भए यही समस्यालाई किन समाधान नगर्ने अनि यसैलाई व्यवसाय किन नवनाउने ?

तीन जना मिलेर तीन लाख रुपैयाँ लगानी पनि गरे ।

आइडिया एक्सन नामक विजनेस इनक्युवेसन सेन्टरले अफिसको लागि ठाँउ दियो । उनीहरुले व्यवसाय शुरु गरे । त्यसपछि शुरु भयो उनीहरुका संर्घषका दिन ।

आखिर तिल पेलेपछि न हो तेल निस्कने । भयो त्यस्तै । आज सजिलो मर्मत सेवा राम्रोसँग चलिरहेको छ । स्थापनाको ५ औं महिना चलिरहँदा, उसले ५०० भन्दा धेरै सन्तुष्ट ग्राहक बटुलिसकेको छ । ९ जनाको कोर टिम छन् । २१० जना एसोसियट टेक्निसियनले ७ थरिका सेवा दिँदै आएका छन् ।

चुनौती र अवसर

तर, यो व्यवसायका केही चुनौती पनि छन् । मुख्य चुनौती यो कम्पनीमा आवद्ध हुँदा काम गर्ने कामदारलाई के फाईदा हुन्छ ? भन्ने कुरा वुझाउन नै कठिन छ । अलि काम जानेका टेक्निसियनहरुले यसैपनि ३०/४० हजार रुपैयासम्म मासिक कमाइरहेकै छन् । यत्रो कमाउने टेक्निसियनलाई संस्थामा आवद्ध गराउन र टिकाएर राख्न सजिलो छैन् ।

तरपनि उनीहरुले कामदारलाई टिकाउन सकेका छन् । यसका मुख्य २ वटा कारण छन् । पहिलो, ग्राहकसँग बार्गेनिगङ्ग गर्न नपर्नेे र दोस्रो कम्पनिबाट जाँदा छुट्टै सम्मान पाउने । ग्राहकहरु पनि त्यसै लोभिएका होईनन् । एउटै कम्पनीसँग काम गर्दा झन्झट कम हुने, शुल्कमा मनपरितन्त्र नहुने र आफुले भनेको समयमा सेवा पाईने जस्ता कारणले गर्दा ग्राहकहरु लोभिएका हुन् ।

सजिलो मर्मत सेवाले काम खोजिदिए वापत कामदारसँग १० देखी २५ प्रतिशतसम्म कमिशन लिन्छ । कम्पनीको आम्दानीको मुख्य स्रोत नै यही हो । तर, काम गराइ र ग्राहक सन्तुष्टि नियालेर कमिसन थपघट गर्न सकिने कम्पनीले जनाएको छ ।

यात्राको ५ महिनामात्र भयो । पत्याउनुहुन्छ ? उनीहरुले २० लाख रुपैया भन्दा बढिको कारोवार गरिसकेका छन् । डिमाण्ड दिनप्रतिदिन बढ्दो छ ।

तपाईहरु छक्क पर्नुभयो होला, अझै आश्चर्यचकित हुने कुरा त यहाँ छ । सञ्चालकत्रय भन्छन्, हालसम्म यस्तो सेवा प्रदायक उद्योगको कुल बजारको १ प्रतिशतलाई पनि उनीहरुले समेट्न सकेका छैन । यदि बजारको १ प्रतिशतलाई ओगट्न सके त्यो वार्षिक १ करोड ५० लाख रुपैयाको हुन जान्छ । अर्थात् वार्षिक एक अर्व ५० करोड रुपैयाको बजार । र यो बजारको हिस्सेदार तपाईपनि बन्न सक्नुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित

पाँच वर्षमा १ सय उद्यमी, हजारलाई रोजगारी !

११ घन्टा अगाडि ५ मिनेटमा पढिने

अाखिर को थिए सुकरात, कसरी बने दार्शनिक ?

१ दिन अगाडि ३ मिनेटमा पढिने

प्रमाणपत्र बोकेर बैंक जाने दिन आयो !

२ दिन अगाडि ४ मिनेटमा पढिने