तीनचार महिना काम गरेर वर्षभरी खर्च धान्ने एउटा काम

च्याउ खेतीले खिम्तीका किसानको जीवनस्तर र आत्मविश्वाश माथि उठेको छ

नवराज पथिक, रामेछाप २०७४ फागुन ६ गते १६:४०


घामपानीमा पसिना बगाउँदै खनजोत गर्न नपर्ने, कडा श्रम गर्न पनि नपर्ने । घर र आँगनमा काम गरे पुग्ने । तीनचार महिना काम गरेर वर्ष दिन खान पुग्ने । त्यति मात्र होइन, जेथो जोड्न र बचत गर्न समेत सकिने ।

होला त त्यस्तो कुनै काम ? अवश्य छ । त्यस्तो काम हो– च्याउ खेती ।

गाउँ हो रामेछापको लिखु गाउँपलिका वडा नं–६ को खिम्ती बेंसी । खिम्ती बेंसी च्याउ गाउँको नामले चर्चित हुन थालेको छ । गाउँका धेरै किसानले च्याउ खेती गरेर प्रशस्त आम्दानी गर्न लागेपछि खिम्तीका पहिचान फेरिएको छ, किसानको जीवनस्तर उठेको छ अनि आत्मविश्वाश बढेको छ ।

उषाकिरणको कमाल

खिम्तीका किसान जिविकामुखी खेती गर्थे । जिविकामुखी अर्थात् खेती गरेर सामान्य खान पुगे भयो । वर्षा याममा धान लगाउने, हिउँदमा मकै, गहुँ लगायतका वाली लगाउने । केहिले हिउँदमा अलिअलि तरकारी लगाउँथे ।

तर, परिवर्तन ल्याए स्थानीय महिलाहरुले । महिला सक्रियतामा उषाकिरण कृषि सहकारी स्थापना भयो । सहकारीमा आवद्ध महिलाहरुले आयआर्जनको उपाय खोज्न थाले । खोज्दै जाँदा उनीहरुले गज्जवको काम भेट्टाए– च्याउ खेती गर्ने । दुःख पनि धेरै गर्नु नपर्ने, घर बाहिर पनि जानु नपर्ने, घर आँगनमै थोरै जग्गामा पनि सानो टहरो बनाएर गर्न सकिने भएकाले उनीहरुले च्याउ खेतीमै लाग्ने निधो गरे ।

कतिपय किसानले एक सिजनमा पाँच हजार पोकासम्म च्याउ राख्छन् । यो हिसावले उनीहरुले एक सिजनमा १० लाख रुपैयाँ भन्दा धेरै आम्दानी गर्छन् ।

महिलाहरुले काठमाडौंबाट च्याउको वीउ ल्याए । जिल्ला कृषि विकास कार्यालय लगायतका विभिन्न कार्यालयले सीप र प्रविधि सिकाइदिए । कसैले घर नजिकै प्लास्टिकको टहरो बनाए, कसैले घरकै कोठामा च्याउ लगाए । सानो परिमाणमा लगाएको च्याउ खेतीले पनि महिलाहरुले आप्mनो खर्च चलाउन लागे । त्यतिबेलासम्म चासो नदिएका पुरुषहरुको दिमागमा पनि बत्ती बल्यो, उनीहरु पनि च्याउ खेतीमा सघाउन थाले । पूरै परिवार च्याउ खेतीमा लागे ।

अहिले गाउँका २० भन्दा धेरै परिवार व्यावसायिक च्याउ किसान बनेका छन् । अरुले पनि च्याउ खेती गरेका छन्, अन्य धेरैले च्याउ खेती थाल्ने तरखर गरेका छन् ।

यस वर्ष स्थानीय भोजबहादुर खड्काले च्याउबाट १० लाख रुपैयाँभन्दा धेरै कमाएका छन् । १० लाख कमाउन उनले तीन लाख रुपैयाँ जति लगानी गरेका थिए ।

देवीमाया थापा, विष्णुमाया कडरिया, दिलमाया कडरिया, हिरा थापा, उमादेवी पोख्रेल, गोमा दाहाल, प्रमिला सापकोटा लगायत खिम्ती बेंसीका धेरै किसानको घरमा च्याउ खेती छ ।

यसै बीच गाउँपालिकाले दुई हजार पाँच सय पोका च्याउको वीउ ५० प्रतिशत अनुदानमा स्थानीयलाई वितरण गरेको छ । एक पोकामा पाँच सय ग्राम वीउ हुन्छ ।

थोरै जग्गामा धेरै आम्दानी

च्याउ खेती गर्न अन्य तरकारी खेती लगाउन जस्तो जग्गा चाहिँदैन । बन्द कोठा भित्र गरिने खेती हो । त्यसैले घरको कोठा भित्र वा घरको छतमा प्लास्टिकको टहरो बनाएर वा आँगनमा प्लास्टिकको टहरो बनाएर खेती लगाउन सकिन्छ ।

उमादेवी पोख्रेल भन्छिन्, ‘घर र वरिपरिको आँगन बाहेक मेरो जग्गा छैन, यति ठाउँमै च्याउ खेती गरेर परिवार चलेको छ, अलिअलि वचत पनि भएको छ ।

च्याउ खेती थाल्दा राम्रै मेहेनत गर्नुपर्छ तर त्यसपछि स्याहारसुसार गरे पुग्छ ।

मेहनेत पनि त्यति चाहिँदैन । च्याउ राख्ने बेलामा सुरुमा केही मेहनेत गर्नुपर्छ । पराल भिजाउने, पकाउने, काट्ने लगायतका काममा केही मेहनेत पर्छ । यति गरेर पोका बनाएर राखेपछि पानी भने हालिरहनु पर्छ । अनि सरसफाइमा भने निकै ध्यान दिनुपर्छ ।

एउटा पोकाबाट चार पटकसम्म च्याउ टिप्न मिल्छ । एउटा पोकामा घटिमा चार किलो च्याउ फल्छ । अनि, एक किलो च्याउ दुई सय रुपैयाँमा विक्री हुन्छ । कतिपय किसानले एक सिजनमा पाँच हजार पोकासम्म च्याउ राख्छन् । यो हिसावले उनीहरुले एक सिजनमा १० लाख रुपैयाँ भन्दा धेरै आम्दानी गर्छन् ।

खिम्तीको च्याउको बजार रामेछाप सदरमुकाम मन्थली, दोलखाको चरिकोट तथा अन्य वस्ती तथा बजार हुन् । ‘यहाँका किसानले वर्षमा ३० लाख रुपैयाँ भन्दा बढीको च्याउ बेच्छन्’, सहकारीकी अध्यक्ष दिपशिखा दाहालले बताइन् ।

असोजदेखि फागुनसम्म

खिम्तीका किसान वर्षभरी च्याउ खेती गर्दैनन् । असोजखि फागुन पहिलो हप्तासम्ममात्र च्याउ खेती गर्छन् । चिसो याममा च्याउमा रोग लाग्ने सम्भावना न्यून हुन्छ तर वर्षा याममा रोग लाग्ने जोखिम उच्च हुन्छ । तीनचार महिना च्याउ खेती गरेर कमाउँछन् अनि अन्य महिना अरु नै काम गर्छन् खिम्तीका च्याउ किसान ।

उत्पादन अत्याधिक छ र आगामी दिनमा उत्पादन अझ बढ्ने देखिएको छ । उत्पादन बढ्दा मूल्य घट्ने चिन्ता छ किसानलाई । त्यसैले च्याउ सुकाउने प्रविधि गाउँमा भित्राउन सरकारी पहल आवश्यक छ भन्छन् किसानहरु ।

र, अन्त्यमा

च्याउ निकै राम्रो फाइदा दिने खेती हो । खासगरी युवापुस्ताले यो खेती थाले हुन्छ । यस्तो उपयोगी काममा आफ्नो गाउँठाउँमा अगुवाई गर्नेलाई समाजले पुरस्कार पनि दिन्छ । जस्तो कि उषाकिरण सहकारीकी अध्यक्ष दिपशिखाकै कुरा गरौं । खिम्तीमा च्याउ खेतीको अगुवाई गरेकी उषाकिरण गाउँपालिकाको उपाध्यक्ष निर्वाचित भएकी छिन् ।

दीपशिखा भन्छिन्, ‘एक वर्ष च्याउ खेती गरेर त्यसैको आम्दानीले मैले स्कूटी किनेकी हूँ ।’

प्रतिक्रिया

सम्बन्धित

नेपालमा पनि “फरेष्ट थेरापी”!

२ घन्टा अगाडि २ मिनेटमा पढिने