ट्रि हाउस: नखुल्दै चर्चित बनेको एउटा रिसोर्ट

फोटो नखिच्ने योजना फेल खायो, फोटो सार्वजनिक भएपछि मानिस ओइरिन थाले

सुम्निमा चाम्लिङ २०७४ फागुन ५ गते ५:०९

अहिले एउटा यस्तो रिसोर्ट बनिरहेको छ जो खुल्दै नखुली देशभरी चर्चित बनेको छ । यो नयाँ शैलीको रिसोर्ट सामाजिक संजालमा त भाइरल नै बनेको छ ।

रिसोर्ट हो ट्रि हाउस शैलीको ।

रुखमा घर बनाएर होटल, रेष्टुराँ तथा रिसोर्ट चलाउने शैली विश्वभरी प्रचलित छ । चितवनमा यस्ता केही रिसोर्ट खुलेका पनि थिए । तर, ओमु राईले नयाँ शैली अपनाइन् । र, ठाउँ पनि नयाँ ।

ओमुले रिसोर्ट खोलेकी हुन् पूर्व नेपालको चर्चित सहर धरानमा ।

धरान सहर बाहिरी किनारबाट उत्तरको डाँडामा छ ओमुको रिसोर्ट । एक विगाहामा फैलिएको छ । त्यहाँ तीनवटा रुखमा कोठा बनाइएको छ । रिसोर्ट संचालनमा भने आएको छैन तर ग्राहकको यस्तो घुईंचो लाग्यो कि सामान्य खाजाखाना बेच्न थालिहाल्नुपर्ने वाध्यता आइलाग्यो ।

भयो के भने रिसोर्टको अनौठो बनोट र नयाँपन देखेर मानिसहरु झुम्मिन थाले । त्यसपछि अलिअलि खाजाखाना बेच्न थालियो । ग्राहकलाई रिसोर्टको फोटो खिच्न मनाही गरिएको थियो । तर, यति विलक्षण रिसोर्ट देखेपछि कसको मन मान्छ र ? रोक्नै सकिएन । मानिसहरुले फोटो खिचेर सामाजिक संजालमा पोष्ट गर्न थाले । अनि, रिसोर्टको फोटो व्यापक बन्यो ।

उद्घाटन गरेपछि मात्र फोटो सार्वजनिक गर्ने योजना फेल खायो । उद्घाटन नहुँदै र निर्माण पूरा नहुँदै रिसोर्ट चर्चित बन्यो ।

यो रिसोर्टको आइडिया आएको हो ओमुले वाल्यकालमा हेरेको कार्टुन चलचित्रबाट । कार्टुनमा ट्रि हाउस देख्दा ओमुको मन रोमांचित हुन्थ्यो । कार्टुनको जस्तै ट्रि हाउस आफ्नो पनि भइदिए कस्तो हुन्थ्यो भन्ने लाग्थ्यो ।

वाल्यकाल बित्यो, किशोरावस्थामा प्रवेश गरिन् । मन मष्तिष्कमा ट्रि हाउस बसिरह्यो । युवाकाल लाग्यो, जीवनका अनेक जटिलताहरुसँग साक्षात्कार गर्न थालिन् अनि तनाव भुल्न पर्दा सम्झने चिज ट्रि हाउस पनि बन्यो ।

शिक्षिका बनिन् । दिमागबाट ट्रि हाउस गएन । कलेजको निर्देशक बनिन्, दिमागमा उही ट्रि हाउस बसिरह्यो ।

एकदिन साथीहरुसँग घुमफिर गर्न शिवजट्टा जाने बाटो मास्तिरको एउटा हरियाली डाँडामा पुगिन् । त्यहांको सुन्दर प्रकृति देखेर उनले कल्पना गरिन्– अहा, यो ठाउँमा ट्रि हाउस बनाउन पाए !

त्यसपछि वाल्यकालीन सपनालाई विपना बनाउने अभियानमा लागिन् ।

त्यो ठाउँमा एउटा होटल थियो, केहि कारणले बन्द भइसकेको थियो । त्यसैमा ट्रि हाउस खोल्ने विचार आयो ।

आफ्नो योजना परिवारलाई सुनाइन् । योजना परिवारलाई गज्जब लाग्यो । भन्छिन्– ‘त्यसपछि सपनालाई विपना बनाउने आँट आयो ।’

तर, कसरी गर्ने ? केही आइडिया थिएन । यही क्रममा कुराकानी भयो धरानकै व्यवसायी ज्ञानदिप लिम्बूसँग ।

ज्ञानदीप भन्छन्– ‘मलाई आईडिया गज्जब लाग्यो ।’

ज्ञानदीपलाई आईडिया गज्जब लागेपछि ट्रि हाउस दुईजनाको सपना बन्यो । अब ट्रि हाउसको सपनालाई विपनामा परिणत गर्न दुईजना लागिपरे ।

तर, सजिलो थिएन यो काम ।

कसरी बनाउने ट्रि हाउस ? कहाँ पाउने यस्तो चिज बनाउने दक्ष कर्मीहरु ? रनभुल्लमा परे । त्यसपछि उनीहरुले ट्रि हाउसको अध्ययनमै एक वर्ष खर्च गरे ।

उनीहरुले शिवजट्टा तलको अहिलेको एक विगाहा जग्गा १५ वर्षका लागि भाडामा लिए ।

रिसोर्टको नाम जुराए– शुभ गन्तव्य रिसोर्ट प्रालि ।

५० लाख रुपैयाँ लगानीको योजना बन्यो । रिसोर्ट निर्माण थाल्न लाग्दा उनीहरुले तोरीको फूल देखे । भाडामा लिइएको जग्गा तथा घरसम्म पुग्ने बाटो कच्ची गोरेटो थियो । मूल सडकबाट त्यहाँसम्म पुग्ने बाटो आफै बनाउनुपर्ने भयो । बाटो बनाए । ठूलो रकम सकियो ।

एकातिर उनीहरु बाटो बनाउँदै थिए भने अर्कातिर ट्रि हाउस बनाउन दक्ष कामदार पनि खोज्दै थिए । आपतै पर्यो, दक्ष कामदार पाइएनन् । उनीहरुले धुईंपाताल खोजेर दक्ष शिल्पी फेला पारे ताप्लेजुङमा । उनीहरुलाई ताप्लेजुङबाट धरान ल्याएर काम थाले ।

सुरुमा उनीहरुलाई लागेको थियो, सर्वत्र पाइने काष्ठकर्मीबाट ट्रि हाउस बन्न सक्छ । तर, त्यसो थिएन । बनाएर मात्र नहुने । त्यसमा पाहुना वस्छन्, हावाहुरी आउँछ, सुरक्षित र बलियो हुनुपर्छ । र, आकर्षक र मौलिक पनि देखिन आवश्यक थियो ।

इन्टरनेट चाहारेर ट्रि हाउसको डिजाइन त तयार पारेका थिए तर बनाउन महाभारत नै भयो ।

बडो मुस्किलसँग पहिलो ट्रि हाउस तयार भयो । ओमु र ज्ञानदीप दंग परे । केही विज्ञ तथा मान्यजनहरुलाई ल्याएर देखाए, सबैले बलियो, सुरक्षित र आकर्षक छ भने ।

पहिलो ट्रि हाउस तयार भएपछि ओमु र ज्ञानदीपको आत्मविश्वाश चुलिएको थियो । त्यसपछि दुईटा ट्रि हाउस बनाउन थाले ।

तीनवटा ट्रि हाउस तयार भयो । थप तीनचारवटा बनाउने योजना पूरा हुन नपाउँदै ट्रि हाउसले बजार पिट्यो, सर्वत्र हल्ला भयो, मानिस ओइरिन थाले । फोटो खिच्नकै लागि पनि मानिस आउन थाले ।

‘ओहो, अहिले तपाईंहरु यो ट्रि हाउस हेरेर आनन्द मान्नुहुन्छ तर हामीलाई यो बनाउन निकै गाहो पर्यो । अब अरु तीनचारवटा कसरी बनाउने भनेर चिन्तित छौं ।’

ट्रि हाउस अर्थात् रुखमा बनेको कोठामा उनीहरुले परिवारसहितका आगन्तुकलाई मात्र बस्न दिनेछन् । रिसोर्टमा एउटा सेमिनार हल पनि बनाइरहेका छन् । साहसिक पर्यटकलाई लक्षित गरेर रक क्लाम्बिङको पनि तयारी गरिरहेका छन् ।

डाँडामा एउटा भ्यू टावर पनि बनाउने योजनामा छन् ।

यति मात्र होइन, योजना अर्काे पनि छ– चिल्ड्रेन पार्क बनाउने । परिवार सहितका पाहुनालाई लक्षित गरेर बनाइएको रिसोर्ट हुनाले चिल्ड्रेन पार्क पनि बनाउन लागेको ओमु बताउँछिन् । योजना धेरै छन्, रकम धेरै खर्च भइसकेको छ । ५० लाख रुपैयाँ लगानीको योजना थियो, ६० लाख लगानी भइसक्यो । थप लगानीका लागि रिसोर्टले मुख ‘आँ’ गरिरहेको छ ।

यो रिसोर्ट पूर्ण संचालनमा आएपछि धरानको पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने विश्वाश छ ओमु र ज्ञानदीपको ।

उनीहरुको अर्काे योजना झन गज्जबको छ । योजना हो– वाटर रेष्टुराँ बनाउने । कस्तो हुन्छ वाटर रेष्टुराँ ? ओमु मुसुक्क हासेर जवाफ दिन्छिन्, ‘बनिसकेपछि देखिहाल्नुहुन्छ नि !’

[यो सकारात्मक कथा निर्माणमा ग्लोवल एकेडेमी अफ टुरिज्जम एण्ड हस्पिटालिटी एजुकेसन (गेट) नामक संस्थाले सहयोग गरेको छ । समाजका यस्तै अन्य सकारात्मक कथाहरु निमार्णका लागि ग्लोवल एकेडेमी अफ टुरिज्जम एण्ड हस्पिटालिटी एजुकेसन (गेट)ले जस्तै तपाई पनि आर्थिक सहयोग गर्न सक्नुहुन्छ । समाजकै सहयोगमा समाजकै सकारात्मक कथा भन्ने हाम्रो प्रयत्न छ । आउनुहोस् हातेमालो गरौं ।]

प्रतिक्रिया

सम्बन्धित

नेपालमा पनि “फरेष्ट थेरापी”!

२ घन्टा अगाडि २ मिनेटमा पढिने