पाटनको ३०० वर्ष पुरानो घरमा एक रात सुतेको १० हजार रुपैया माथि

इतिहास बोकेका तर भग्नावशेष बन्न अग्रसर यी पूराना घरको भविष्य छैन भन्ने ठानिन्थ्यो । तर, अहिले यीनै पूराना घरहरु धन वर्षाको केन्द्र बनिरहेका छन् ।

असीम तिमल्सिना २०७४ फागुन ३ गते १८:४८

थोत्रो र पूरानो थियो देवेन्द्र श्रेष्ठको घर । करिब तीन सय वर्ष पूरानो । जीर्ण थियो । घर हो पाटन मंगलबजार छेउको । पूराना घर भत्काएर वरिपरि धेरैले कंक्रिटको नयाँ घर बनाइसकेका थिए, कतिपयले बनाउन थालेका थिए ।

नयाँनयाँ घरहरुका बीच देवेन्द्रको घर अपमानति झैं उभिएको थियो । इतिहास तीनसय वर्षको थियो तर तर वर्तमान थिएन । किनभने थोत्रो थियो ।

ललितपुर महानगरपालिका अर्थात् पाटनमा देवेन्द्रका जस्ता पूराना घर धेरै थिए र छन् पनि । इतिहास बोकेका तर भग्नावशेष बन्न अग्रसर यी घरको भविष्य के ? अहँ, भविष्य छैन भन्ने ठानिन्थ्यो ।

तर, त्यसो भएन । यी घर ‘धन वर्षा’ हुने केन्द्र बने । धन वर्षा हुनुको कारण हो, पूरानो हुनु । पूरानो भएकैले आज देवेन्द्र श्रेष्ठ र उनका जस्ता पूराना घरहरु धन वर्षाको केन्द्र बनिरहेका छन् ।

पाटनका यस्ता पूराना घरहरु धनवर्षाको केन्द्र कसरी बने त ?

घर मर्मत गर, पैसा कमाउ

एकदिन देवेन्द्रलाई एउटा गज्जबको प्रस्ताव आयो । पूरानो घरलाई पूरानै मौलिक स्वरुपमा मर्मत गर्ने । अनौठो थियो प्रस्ताव । किन पनि अनौठो थियो भने पूरानो घर मर्मत गर्नलाई ३० हजार अमेरिकी डलर सहयोग पनि पाइने ।

मंगलबजार दरवार आसपास तथा वरपरका क्षेत्र मल्लकालीन वास्तुकलाका लागि प्रसिद्ध छ । तर, आधुनिक वास्तुकलाले मल्लकालीन वास्तुकलालाई विस्थापित गर्दै गयो । मंगलबजार क्षेत्र आधुनिक बन्दै गयो तर आधुनिकताको नाममा यो क्षेत्रको आत्मा भने मर्दै गयो ।

के गर्ने त ? पाटन पर्यटन विकास संगठनले पुराना सम्पदा जस्ता लाग्ने घरहरु जोगाउने अभियान थाल्यो । सो अभियानलाई युनेस्कोले साथ दियो । त्यसै क्रममा तीन शताव्दी पुरानो देवेन्द्रको घरको पूर्ननिमार्णका लागि युनेस्कोले ३० हजार अमेरिकी डलर सहयोग दियो ।

यूनेस्कोले दिएको रकममा आफ्नो ४० लाख रुपैयाँ थपेर सन् २००६ मा देवेन्द्रले घर पुर्ननिर्माण गरे । शानदार बन्यो घर । कति शानदार भने हेर्दै मन लोभिने, मल्लकालकै झल्को दिने बन्यो घर ।

तीन सय वर्ष पछाडि फर्कियो देवेन्द्रको घर । तर, बलियो भने अहिले बनेका घरहरु जत्ति नै । अनि, घरभित्रका सुविधा पनि आधुनिक । घर मल्लकालीन, सम्पूर्ण वास्तु पनि मल्लकालीन बन्यो ।

नेवा छें

यति विलक्षण वास्तु सम्पदालाई देवेन्द्रलाई होटलमा परिणत गरे । देवेन्द्रले जसरी नै पुर्ननिर्माण गरिएका अन्य घरहरु पनि धमाधम होटलमा परिणत हुन थाले । र, यस्ता होटललाई भनियो– हेरिटेज होम अर्थात् सम्पदा घर ।

देवेन्द्रले आफ्नो हेरिटेज होमको नाम राखे– नेवा छें ।

नेवा छेंमा मल्लकालीन वास्तु शैलीका कोठामा बस्न पाइन्छ । त्यसैले यो अन्य स्तरीय होटलहरु भन्दा पनि महंगो छ । यसमा तीन खालका कोठा छन् । डिलक्स, स्टाण्र्डड र स्टाण्र्डड विथ सेयर्रड बाथरुम ।

डिलक्स रुममा बसेको एक दिनको ६० डलर अर्थात् ६ हजार रुपैयाँभन्दा धेरै तिर्नुपर्छ । सबैभन्दा सस्तो कोठाको मूल्य एक दिनको २० डलर अर्थात दुई हजार रुपैयाँ भन्दा धेरै छ ।

मल्लकालीन सम्पदा तर सुविधा आधुनिक तारे होटलको, शुल्क गतिलै लाग्ने नै भयो । एक दशक देखि देवेन्द्रले आफ्ना पुर्खाबाट पाएको पूरानो घरको सदुपयोग गरेर धन वर्षा गरिरहेछन् ।

धन वर्षा कसरी भइरहेको छ भने पर्यटकीय सिजनका बेला नेवा छेंमा कोठा पाउनै मुस्किल छ, सधैं भरिभराउ हुन्छ । आठ वटा कोठा छन् । धर्मशास्त्रमा अष्टमंगलको ठूलो महत्व छ । मल्लकालमा अष्टमंगललाई झन धेरै महत्व दिइन्थ्यो । त्यसैले आठवटा कोठा बनाइएको हो ।

नेवा छेंको वर्षभरिको औसत अकुपेन्सी ६० प्रतिशत भन्दा धेरै छ । यति अकुपेन्सी हुनुलाई निकै राम्रो मानिन्छ ।

द ईन पाटन

बुद्धराम रञ्जितकारले आफ्नो एक सय ५० वर्ष पुरानो घरलाई आकर्षक ढंगले मर्मत गरे, पूरानो मौलिकता झल्कने बनाए । करिब एक करोड रुपैयाँ खर्चेपछि तयार भयो शानदार घर । जसलाई उनले हेरिटेज होम बनाए ।
नाम राखे– द ईन पाटन ।

पाटनका सुन्दर हेरिटेज होम मध्येमा पर्छ पाटन ईन । सन् २०१४ मा खोलिएकोे यो हेरिटेज होमलाई उनले निकै सुन्दर ढंगले सजाएका छन् । घरको प्राचीनता झल्कन्छ तर डेढ सय वर्ष पुरानो हो जस्तै देखिँदैन ।

पाटन ईनले हेरिटेज स्विट डबल वेडको शुल्क एक सय डलर राखेको छ । यति मूल्यमा त दरबार मार्गमा रहेको पाँचतारे होटल अन्नपूर्णमा बस्न पाइन्छ । अन्नपूर्णमा पनि हेरिटेज नाम दिइएका केही कोठा छन् जसको डबल वेडको शुल्क जम्मा एक सय १० डलर मात्र छ ।

सम्पदा, संस्कृति र शैली

तैपनि किन पर्यटकले यस्ता ठूला होटलका हेरिटेज रुममा भन्दा हेरिटेज होममा आकर्षित भइरहेका छन् ? यो प्रश्नको जवाफमा भन्न सकिन्छ, प्राचीनता प्रतिको मोह । जस्तो कि नेवा छेंमा मकै, खुर्सानी र फर्सी सजाएर तथा झुण्डाएर राखिएको छ । यो प्राचीन संस्कृति हो ।

हेरिटेज होममा प्रवेश गर्दा टाउको निहुराएर प्रवेश गर्नुपर्छ । किनभने ढोका होंचा हुन्छन् । मल्लकालीन घरको वनावट नै ढोका होचो हुने खालको थियो । घरमा प्रवेश गर्दा सम्मानसाथ शिर झुकाएर पस्नुपर्छ भन्ने परम्परागत मान्यता छ । त्यसैले पुर्ननिर्माण गरिएका हेरिटेज होमका प्रवेशद्धार पनि होंचा नै छन् ।

होचो ढोकाबाट प्रवेश गर्ने वित्तिकै चुकः भेटिन्छ । नेवारी भाषामा चुकः भनेको आँगन हो । वरिपरि पींढिमा ओछ्याइएको गुन्द्री र चकटी बसौंबसौं लाग्ने खालका छन् । झ्यालमा उत्कीर्ण काष्ठकला गजबका छन् । काठका खम्बा अनि झिंगटीका छानाको संयोजनले अपूर्व कला दर्शिएको छ । प्राचीन कला, संस्कृति र वास्तुकलाको संयोजन देख्दा पर्यटकहरु मनमा प्रश्न उठ्छ– यो पाँचतारे होटल हो कि नौ लाख तारा देखिने ठाँउ ?

तारा देखिने कुरा गरियो तर यस्ता हेरिटेज होमका कोठा धेरै उज्यालो हुँदैन । किनभने झ्याल साना हुन्छन् र थोरै हुन्छन् । हेरिटेज होममा धेरै कोठा पनि हुँदैनन् । कोठमामा चम्किलो प्रकाश हुँदैन । किनभने मन्द प्रकाशमै यी कोठाको सुन्दरता झल्कन्छ अनि पर्यटकले पनि मन्द प्रकाश नै मन पराउँछन् भन्छन् हेरिटेज होमका सञ्चालकहरु ।

कस्ता पर्यटक आउँछन् ?

हेरिटेज होममा प्राचीन वास्तु तथा संस्कृति बुझ्न चाहने तथा मन पराउने वौद्धिक पाहुनाहरु आउँछन् । पाहुनाहरु पढ्न, लेख्न तथा अन्य श्रृजनात्मक कामका लागि आउँदा रहेछन् । त्यसवाहेक समाजशास्त्रीय तथा मानवशास्त्रीय अध्ययनका लागि आउनेहरु पनि हुन्छन् । त्यस्ता पर्यटकहरुलाई लक्षित गरेर पढ्नका लागि कितावहरु पनि राखिएका हुन्छन् ।

अर्थात् खान सुत्नका लागि मात्र नभएर केही सिर्जनशील काम गर्न आउँछन् । उनीहरुको सिर्जनशीलतालाई झक्झकाउन हेरिटेज होमहरुले आर्ट ग्यालरीको पनि व्यवस्था गरेका छन् ।

मल्लकाललाई कला र शिल्पका दृष्टिले नेपालको स्वर्णकाल मानिन्छ । स्वर्णकालमा बनेका घरहरुप्रति विशेष आकर्षण हुने नै भयो । त्यसैले स्वर्णकालीन घरमा बस्न डलर अर्थात् आजको युगको स्वर्ण मुद्रा तिर्न पर्यटकहरु पटक्कै हिच्किचाउँदैनन् ।

नेवा छें र त्यसपछि

नेवा छेंले पुरानो घरलाई हेरिटेज होममा परिणत गरेपछि अरुले पनि त्यसै गर्न थाले । हाम्रो कथा टिमको प्रारम्भिक अनुमानमा पाटनमा मात्र यस्ता हेरिटेज होमहरु तीन सय वटा भन्दा धेरै छन् ।

स्वठः क्षेत्रमा लगभग एक घर एक हेरिटेज होम छन् भने पनि हुन्छ । कुनै घर पुनर्निमाण हुँदै छ भने बुझे हुन्छ, त्यो हेरिटेज होममा परिणत हुँदैछ । जस्तो कि कोबहालमा रहेको यस केटु होमलाई लिन सकिन्छ ।

लेखा परीक्षक पेसाका हरिहर मङ्गल जोशीको घर पुर्ननिर्माण भइसकेपछि उनलाई कोठा भाडामा दिन मन लागेनछ । छोरा निश्चलले जुक्ति दिएछन् घरलाई बेड एण्ड ब्रेकफास्टको रुपमा परिणत गर्ने अनि हेरिटेज होम जस्तै बनाउने ।

केटु होममा ७ वटा रुम छ । उनी पनि सिजनमा रुम दिनै नसक्ने अवस्थामा छन् । उनका ग्राहक पनि सवै विदेशी नै हुन ।

केटुमा वस्नलाई चाँही त्यति महँगो छैन् । किनकी यो नेवा छें र द इन पाटन जस्तो केटुको ईतिहास पनि छैन् अनि व्यावसायिक पनि छैन् । जोशीले आफैं बस्ने घरलाई हेरिटेज होममा परिणत गरेका मात्र हुन् । यसको लागि उनले घर बनाइसकेपछि थप ४० लाख रुपैयाँ लगानी गरेका थिए । अहिले केटु होमले वार्षिक १५ लाख रुपैयाँ कमाइरहेको छ ।

के टुको विशेषता के भने यहाँ अन्य हेरिटेज होममा जस्तो ब्रेकफास्ट तयार पारेर पर्यटकलाई दिईदैन् । बिहान सबेरै उठेर पर्यटक आफैं ब्रेकफास्ट तयार गर्छन् । ब्रेकफास्टलाई चाहिने ब्रेड, जाम, कफि, अण्डा जस्ता सामाग्री दिइन्छ । पाहुनाले आफैं बनाएर खानुपर्छ । त्यसैले यहाँ एकजना मात्र कामदार छन् ।

यस्ता हेरिटेज होमहरुले राम्रो व्यापार गर्न थालेपछि व्यवसायीहरु हौसिएका छन् । एकै व्यक्तिले ५—७ वटासम्म हेरिटेज होम सञ्चालन गरेका पनि छन् ।

डेढ अर्ब रुपैयाँ लगानी

एउटा घरलाई हेरिटेज होममा परिणत गर्दा सरदर ५० लाख रुपैयाँ लगानी लाग्दो रहेछ । यो हिसावले पाटन क्षेत्रमा रहेका हेरिटेज होम भनिएका यस्ता घरहरुमा करिब डेढ अर्ब रुपैया लगानी भएको देखिन्छ ।

संचालकहरु खुलेर वोल्न नमान्दा कमाईको पाटो खोतल्नै सकिएन । तर पनि केही अनुमान भने गर्न सकिन्छ । सरदरमा ९० डलर प्रतिदिनका दरले वर्षभरिमा ६० प्रतिसत अकुपेन्सी राख्दा द पाटन ईनले १० वटा कोठावाट कति कमाउछ होला ? अब अनुमान आफै गरौ ।

पुरानो घरलाई जोगाउनु । त्यसैलाई प्रयोग गरेर उद्यमी वन्नु । रोजगारी सिर्जना गर्नु । त्यो पनि आफ्नो संस्कृतिलाई संरक्षण गरेर । यो विछट्टै राम्रो काम हो । पुरानो घर हेरिटेज होममा परिणत गरेर डलर कमाउने यो अभियानलाई काठमाडौं उपत्यका बाहिरका गोरखा, पाल्पा, सिन्धुलीगढी तथा अन्य ऐतिहासिक ठाँउ र पर्यटकिय क्षेत्रमा विस्तार गर्न सके कस्तो हुन्थ्यो होला ?

गज्जब हुन्थ्यो होला, पैसैपैसा हुन्थ्यो होला । होईन त ?

[यो सकारात्मक कथा निर्माणमा ग्लोवल एकेडेमी अफ टुरिज्जम एण्ड हस्पिटालिटी एजुकेसन (गेट) नामक संस्थाले सहयोग गरेको छ । समाजका यस्तै अन्य सकारात्मक कथाहरु निमार्णका लागि ग्लोवल एकेडेमी अफ टुरिज्जम एण्ड हस्पिटालिटी एजुकेसन (गेट)ले जस्तै तपाई पनि आर्थिक सहयोग गर्न सक्नुहुन्छ । समाजकै सहयोगमा समाजकै सकारात्मक कथा भन्ने हाम्रो प्रयत्न छ । आउनुहोस् हातेमालो गरौं ।]

प्रतिक्रिया

सम्बन्धित

यसरी बनाइन्छ स्वादिष्ट नेपाली खाना बारा

९ घन्टा अगाडि १ मिनेटमा पढिने

‘पिकल लेडी !’

१ दिन अगाडि १० मिनेटमा पढिने