एउटा घरेलु उद्योग: जसको कच्चा पदार्थ सित्तैमा पाउन सकिन्छ

अलैंचीको बोटबाट गज्जबका सामान

लक्षिमा योन्जन, पाँचथर २०७४ पुष १९ गते १७:१३

नयाँ आविष्कार नै भन्नुपर्ला यो चिजलाई । हो, नयाँ आविष्कार । यो अविष्कारले पूर्वी नेपालका पहाडि जिल्लाको आर्थिक गतिविधिमा ठूलो फेरबदल ल्याउन सक्छ । यसले नेपालको घरेलु उद्योगलाई पनि नयाँ आयाम दिन सक्छ । अलैंचीको रेसाबाट सामान बनाउने यो नयाँ उपाय अर्थात् अविष्कारको केन्द्र हो ताप्लेजुङ ।

अलैंचीको बोट त्यसै बारीमा खेर गइरहेको थियो, खेर गएको बोटको रेसाबाट दामीदामी उपयोगी सामान बनाउन सकिन्छ । सनपाटको जस्तै, त्योभन्दा अझ दामी सामान बनाउन सकिन्छ ।

अहिलेसम्म अलैंचीको बोटबाट कुनै सामान बनाइन्नथ्यो, अलैंचीको मात्र उपयोग हुन्थ्यो । अब बोट पनि उपयोग हुने भयो ।

अलैंचीको बोटको उपयोगिता पत्ता लगाएर सामान बनाउने विलक्षण काम थालेकी छिन् ताप्लेजुङकी माया गुरुङले ।

तराईमा सनपाट, काँस लगायतका वनस्पतिका रेसाबाट विभिन्न सामान बनाइन्छ, अल्लोबाट पनि महंगा सामग्री उत्पादन हुन्छ । त्यस्तैत्यस्तै उपायले अलैंचीको बोटको रेसाबाट पनि सामान बनाउन सकिन्छ र यसले निकै राम्रो रोजगारी तथा अर्थाेपार्जन गर्न सकिन्छ भन्ने लाग्यो मायालाई ।

एकदिन उनी यात्रा गर्दै थिइन्, काठमाडौंबाट ताप्लेजुङ आउँदै थिइन् । वस यात्रामा राजमार्गका दायाँवायाँ हेर्दै आउने क्रममा काँस र सनपाटको सामान बनाइँदै गरेको देखिन् ।

त्यस्ता दृष्य अनेक ठाउँमा देखेपछि उनको मनमा प्रश्न उठ्यो, अलैंचीको बोटमा पनि रेसा हुन्छ, त्यसबाट सामान बनाउन किन सकिन्न ?

ताप्लेजुङ पुगेपछि बारीमा गएर अलैंचीको बोट हेरिन् । भुईंमा फालिएको अलैंचीको डाँठ हेरिन् । डाँठबाट रेसा निकालेर हेरिन् । रेसा देखेपछि ठहर गरिन्, यो रेसाबाट धेरै किसिमका सामान बनाउन सकिन्छ ।

घरेलु हस्तकलाका सामान उत्पादन गर्ने मायालाई लाग्यो, अवश्य सकिन्छ अलैंचीको खेर गएको बोटलाई उपयोग गर्न ।

वास्तवमा उनी घरेलु सामग्रीको प्रदर्शनीमा सहभागी हुनकै लागि काठमाडौं गएकी थिइन् ।

रेसाबाट निकै नरम र आकर्षक सामग्री बनाउन सफल भइन् । यो एउटा क्रान्ति नै थियो । युगौंदेखि फालिँदै आएको अलैंचीको बोट उपयोग हुने भयो ।

उनी चन्दन फाइबर उधोग सन्चालन गरिरहेकी थिइन् । उनले आफ्नो उधोगमा अलैँचीको डाँठ भेला पार्ने र त्यसको रेसा निकालेर चकटी बनाउन सकिन्छ भन्ने ठहर गरिन् । तर, कसरी गर्ने ?

यस्ता रेसा प्रसोधन गर्ने र विभिन्न सामग्री बनाउने तालिमका लागि घरेलु कार्यालयलाई भनिन् । घरेलु कार्यालयलाई पनि यो अनौठो काममा रुची लाग्यो । २०६८ सालमा घरेलुले वनस्पतिको रेसा प्रशोधन गर्ने तालिम दियो ।

त्यो तालिमको आधारमा मायाले अलैंचीको बोटबाट रेसा उत्पादन गर्न थालिन् ।

रेसाबाट निकै नरम र आकर्षक सामग्री बनाउन सफल भइन् । यो एउटा क्रान्ति नै थियो । युगौंदेखि फालिँदै आएको अलैंचीको बोट उपयोग हुने भयो ।

मायाले बनाएको सामान विक्री गर्न निक्कै गाह्रो भो । सामग्री उत्पादन गरेर सित्तैमा साथीभाईलाई दिएको सम्झना सुनाउँछिन् । तर, मायाले निरन्तर सामान उत्पादन गर्दै गइन् । सामानको गुणस्तर र फिनिसिङ राम्रो हुँदै गयो । त्यसपछि धमाधम विक्री हुन थाल्यो ।

अहिले अलैँची टिपेर फालिएको बोट भेला पार्ने, रेसा निकाल्ने, सामग्री बनाउने काममा ६ जनालाई रोजगारी दिएकी छिन् ।

अलैँचीको रेसाबाट सुन्दर गुन्द्री, टेबल म्याट, लेडिज साइड ब्याग, जेन्ट्स पर्स, मेनु कभर लगायत सामाग्री उत्पादन गरिरहेकी छिन् । केही सामान ताप्लेजुङको बजारमै विक्री हुन्छ, अधिकांश चाहिँ काठमाण्डौ सप्लाई गर्छिन् ।

अलैंचीको रेसाबाट उत्पादन हुने सामग्रीबाट अहिले वार्षिक सात लाख रुपैयाँ आम्दानी भइरहेको माया बताउँछिन् ।

मायाको यो नयाँ उद्योगको गज्जबको पक्ष के भने यसका लागि चाहिने कच्चा पदार्थ सित्तैमा पाइन्छ । जताततै बारीमा फालिएको अलैंचीको बोट सित्तैमा पाइन्छ । अलैंचीको फालिएको बोट गाईवस्तुले पनि खाँदैनन् । त्यसैले सित्तैमा पाइन्छ ।

अहिले मायाले सामान उत्पादन बढाउन नयाँ जुक्ति लगाएकी छिन् । उनले गाउँगाउँका महिलालाई ल्याएर रेसा निकाल्ने र सामग्री बनाउने तालिम दिन्छिन् । महिलाहरुले गाउँमै सामान तयार पार्छन् । त्यो सामान मायाले किन्छिन् ।

अब फैलन्छ

मायाको यो जुक्तिलाई घरेलु उद्योगमा संलग्न सरकारी तथा गैरसरकारी व्यक्तित्वहरुले विलक्षण मानेका छन् । अलैंचीको रेसाबाट सामग्री तयार पार्ने तालिम अलैंची उत्पादन हुने पाँचथर र इलाम जिल्लामा पनि दिइएको छ ।

पूर्वी पहाडका पाँचथर, तेह«थुम, इलाम, धनकुटा, संखुवासभा, भोजपुर, खोटाङ लगायतका जिल्लामा पनि अलैंची खेती हुन्छ । खेर गइरहेको अलैंचीको बोट प्रशोधन गरेर ती जिल्लामा पनि अलैंचीको रेसा उद्योग सुरु हुन गइरहेको छ ।

अन्य जिल्लाहरुमा पनि अलैंचीको रेसा निकाल्ने र सामान बनाउने प्रविधि विस्तार भएपछि नयाँ नयाँ सामग्री उत्पादन हुनेछ र गाउँगाउँमा रोजगार सिर्जना हुनेछ ।

खोल्साको सुन भनिन्छ अलैंचीलाई । कालो मोती पनि भनिन्छ । बोटको पनि उपयोग हुने भएपछि अलैंची खेति अझ विस्तार हुने अपेक्षा गरिएको छ ।

आफ्नो आविष्कार अर्थात् अलैंचीको बोटको रेसाबाट सामान बनाउने जुक्तिबाट माया गुरुङलाई फलिफाप भएको छ । दंग छिन् माया ।

प्रतिक्रिया

सम्बन्धित

पाँच वर्षमा १ सय उद्यमी, हजारलाई रोजगारी !

१२ घन्टा अगाडि ५ मिनेटमा पढिने

अाखिर को थिए सुकरात, कसरी बने दार्शनिक ?

१ दिन अगाडि ३ मिनेटमा पढिने

प्रमाणपत्र बोकेर बैंक जाने दिन आयो !

२ दिन अगाडि ४ मिनेटमा पढिने