असी पीस पाउरोटीले खोल्यो करोडपति बन्ने बाटो

पहिलो दिन पाउरोटी बेचेर दुईसय रुपैयाँ कमाए, त्यसपछि निरन्तर कमाइरहे, करोडपति बने

लक्ष्मी भण्डारी, सुर्खेत २०७४ पुष १८ गते १७:२१

जीवनमा केही नयाँ गर्नुपर्यो, केही कमाउनुपर्यो, रोजगारीको राम्रो मेलो समाउनुपर्यो भन्ने सोंचे एक युवाले । उनले रातभरी पाउरोटी बनाए । भोलिपल्ट साथीभाई इष्टमित्रलाई पाउरोटी बाँडे ।

जसले पाए उनले खाए । अनि, पाउरोटी मुखमा हाल्नेले भने, ‘अहा, क्या मीठो !’

अहा शब्द सुनेर दंग परे गणेशप्रसाद गौतम । खुसी भए ।

त्यो एक दिनको अहा र खुसी जीवनको आधारशिला बन्नेवाला थियो ।

त्यो दिन उनले ८० पीस पाउरोटी बनाएका थिए । त्यो दिन थियो ६ माघ २०४१ । गणेश सम्झन्छन्, ‘मध्यरातमा पाउरोटी बनाएको थिएँ ।’

कति किलो पीठोको असी पीस पाउरोटी बनेको थियो ? जवाफमा भन्छन्, ‘पाँच किलो पीठोको असीवटा पाउरोटी बनाएको थिएँ ।’

दोस्रो दिन

पहिलो दिन नै पाउरोटी बनाउने सफलता मिल्यो । बनाउन नेपालगन्जमा सिकेका थिए । साथीको पाउरोटी कारखानामा सामान्य रुपमा सिकेका थिए । भविष्यमा पाउरोटी उद्योग खोलौंला भनेर होइन, रहरले सिकेका थिए ।

त्यो रहरले गणेशको जीवनमा क्रान्ति हुनेवाला थियो ।

पहिलो दिनको सफलताले हौसिएका गणेशले दोस्रो दिन दस किलो पीठोको पाउरोटी बनाए । एकसय ६० पीस पाउरोटी बन्यो । बिहानै उठेर सुर्खेत बजारमा बेच्न गए । गज्जब भयो, सबै पाउरोटी विक्री भयो ।

पाउरोटी बनाएको दोस्रो दिन अर्थात् बेच्न थालेको पहिलो दिन नै उनले दुईसय रुपैयाँ नाफा गरे ।

त्यसपछि तेस्रो दिन आयो, चौथो दिन आयो, पाँचौं दिन पनि आयो । गणेशले पाउरोटी बनाउँदै बेचिरहे । निरन्तर बेचिरहे ।

अर्थात्, गणेशप्रसाद गौतमको सफल उद्यमी तथा करोडपति बन्ने यात्रा सुरु भयो ।

त्यसअघि

पाउरोटी बनाउन थालेपछि गणेशको जीवनमा के भयो भन्ने लगभग बुझिहाल्नुभयो । पाउरोटी बनाउनु अघिको चाहिँ केही चर्चा गरौं :

‘मैले पाउरोटी बनाएको त्यो रात अझै सम्झन्छु, त्यसपछि निरन्तर मेहेनत गरें, असाध्यै परिश्रम गरें अनि सफल भएँ ।’

२०१९ सालमा दैलेखमा जन्मिएका गणेशका कर्मचारी बुवाको नेपालगञ्ज सरुवा भएपछि नेपालगञ्जमै पढ्न थाले। त्यहिँबाट एसलसी गरेर आईए पढ्न सुर्खेतको बीरेन्द्रनगर आएका थिए ।

तर, बीरेन्द्रनगर उनको पढाईको थलो मात्र नभएर जीवन बिताउने थलो पनि बन्यो ।

बीरेन्द्रनगरमा पसल थाले । श्रीमतीले सघाउँथिन् । किराना पसल थियो । पसलको आम्दानीबाट सन्तुष्ट थिएनन् गणेश ।

छोरा सुरज जन्मिसकेको थियो । एक वर्षको भइसकेको थियो । पसलले मात्र हुँदैन भन्ने ठानेर पाउरोटी बनाउने विचार गरेका थिए ।

त्यसपछि

नेपालगञ्जमा साथीको कारखानामा अलिअलि सिकेको पाउरोटी बनाउने कामले यति विलक्षण सफलता दिन्छ भन्ने सोचेका थिएनन् ।

पाउरोटी बनाउन नेपालगञ्जका ती साथीको पनि सहयोग लिएका थिए । पाउरोटी बनाउन थाल्नासाथ विक्री हुन थालिहाल्यो ।

रातभर पाउरोटी बनाउँथे । बिहानै साइकलमा बोकेर स्थानीय चिया पसलहरुमा पाउरोटी दिँदै कलेज पढ्न जान्थे । अनि, फर्कंदा चाहिँ बिहान दिएको पाउरोटीको रकम उठाउँदै फर्कन्थे ।

एवं रीतले पाउरोटी उद्योग सुरु भयो । यसरी उद्योगकै रुप दिँदा करिब तीस हजार रुपैयाँ लागेको बताउँछन् गणेश ।

त्यसबेला बीरेन्द्रनगरमा अर्काे एउटा पाउरोटी उद्योग पनि थियो, तर, गणेशले खासै प्रतिस्पर्धा गर्न परेन । उनको उद्योग व्यापार अगाडि लाग्यो ।

पाउरोटी बनाउने मिस्त्री उनी आफै थिए, एक्लै थिए । पछि केही कामदार थपे, उनीहरुलाई पनि सिकाए । उनीहरु पनि मिस्त्री बने । पाउरोटी उत्पादन बढ्दै गयो, पाउरोटीले बजार लिँदै गयो ।

उनले पाउरोटी उद्योगको नाम राखेका थिए, सुरज पाउरोटी उद्योग । पहिले पसलको नाम गणेश जनरल स्टोर राखेका थिए । त्योभन्दा छोराको नाममा उद्योग राख्दा फाप्छ भन्ने लागेर सुरज नाम राखेका थिए ।

फाप्यो सुरज नाम, पाउरोटी उद्योग चम्कियो ।

अहिले

अहिले सुर्खेतमा सुरज पाउरोटी उद्योगको साम्राज्य छ, अग्रणी छ ।

त्यसबेला हातैले पाउरोटी बनाउथे, अहिले आधुनिक मेसिनहरु छन् । पाउरोटी मात्र बनाएर सुरु भएको उद्योगले अहिले केक कुकिज, विस्कुट लगायतका चिजहरु पनि उत्पादन गर्छ र ब्राण्ड हो सुरज ।

राति एक्लै पाउरोटी बनाएर उद्योग थालेका थिए, अहिले तीसजना कामदार छन् ।

पहिलो दिन दुईसय रुपैयाँ नाफा गरेका थिए, दिनप्रतिदिन नाफा बढ्दै गयो । त्यही नाफाले जग्गाजमिन जोडे, तीन छोरालाई पढाए । उद्योगलाई विशाल रुप दिए ।

अहिले सुर्खेतमा ६ वटा पाउरोटी उद्योग छ तर अग्रणी छ सुरज पाउरोटी उद्योग ।

पाउरोटीको आम्दानीले कति कमाल गर्यो भने अहिले गणेश विभिन्न किसिमका व्यवसाय गर्छन् । विभिन्न कम्पनी छन् र सबै कम्पनीको नाम हो सुरज ।

जस्तो कि सुरज बेकरी एण्ड स्टोर्स, सुरज पाउरोटी तथा विष्कुट उद्योग, सुरज मध्यपश्चिम इन्भेष्टमेण्ट, सुरज ट्राभल्र्स एण्ड टुर्सलगायतका कम्पनी छन् ।

‘अहिले हामीस“ग जे जति सम्पत्ति र लगानी छ त्यसको जरा भनेकै पाउरोटी उद्योग हो’ गर्वसाथ भन्छन् गौतम ‘हामीले जे जति कमाएका छौं त्यो सबै पाउरोटी बेचेरै हो।’

गणेशका तीनमध्ये एक छोरा अष्ट्रेलिया छन्, दुई छोराले उद्योग व्यापार समालेका छन् ।

गणेश भन्छन्, ‘मैले पाउरोटी बनाएको त्यो रात अझै सम्झन्छु, त्यसपछि निरन्तर मेहेनत गरें, असाध्यै परिश्रम गरें अनि सफल भएँ ।’

असी पीस पाउरोटीबाट करोडपति बन्ने यात्रा थालेका गणेशको मन्त्र हो, ‘धैर्य र मेहेनत दुवै हुनुपर्छ, इमानदारी हुनुपर्छ, कामप्रति समर्पण हुनुपर्छ, अनि अवश्य सफल बनिन्छ ।’

प्रतिक्रिया

सम्बन्धित

पाँच वर्षमा १ सय उद्यमी, हजारलाई रोजगारी !

११ घन्टा अगाडि ५ मिनेटमा पढिने

अाखिर को थिए सुकरात, कसरी बने दार्शनिक ?

१ दिन अगाडि ३ मिनेटमा पढिने

प्रमाणपत्र बोकेर बैंक जाने दिन आयो !

२ दिन अगाडि ४ मिनेटमा पढिने